किन खुशि हुँदै नेपाल फर्किए पूर्व राजा ?

नेपालबाट युरोप आउने बेला पूर्व राजा ज्ञानेन्द्र शाहको अनुहार मलिन थियो । निराश झैं देखिन्थे । उति साह्रै बोलेकापनि थिएनन् । अनुहारमा चमक थिएन । तर आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन लागेका उनी नेपाल फर्किँदा मुस्कुराउँदै गएका छन् । युरोप भ्रमणबाट उनी ज्यादै हर्षित र सोचेभन्दा बढि आशाबादी भएको उनका समर्थक र राजाबादीहरुको भनाई छ । राजाबादी र आफ्ना निकटक सित बसेर प्रफुल्ल मुद्रामा बातचित गरेको उनको अनुहार र हाउभाउलेपनि त्यहि संकेत गर्छ । त्यो भन्दपनि बढि उनी राजनितिक रुपले बढि हर्षित भएका हुन् ।

उनी फ्रान्स ओर्लिएदेखिनै पुराना राजाबादीहरुले निकै भेट्न खोजेका थिए । तर यो पटक उनको उद्देश्य राजनितिक रुपमापनि यूरोपेली नेतासित भेट्ने भएकाले उनीसित भेट्नेहरुमा नियन्त्रण र कडाई गरियो । पहिले पहिले सहज रुपमा भेट्दै आएकाहरु मध्येपनि धेरैले यो पटक भेट्न पाएनन् । त्यसको कारण बिबादमा तान्लान् र राजनितिक भेटघाटको विषयलाई सार्वजनिक होला भन्ने भयले हो भनिन्छ । उनले यूरोपेली स्तरका केहि नेतासित भेटेको भनिएपनि को को सित भेटे भन्ने चाहिँ गोप्य राखिएको छ ।

तर उनले केहि नेपालीहरुसितको भेट भने अलि खुला रुपमा गरे । जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फ्रान्सलगायत केहि देशका कट्टर समर्थकहरुलाई भने उनले फ्रान्समै बोलाएर भेटेका थिए । राजावादी स्रोतले दिएको जानकारी अनुसार यो पटक उनले तुलनात्मक रुपमा बढि युवाहरुलाई प्राथमिकतामा राखेका थिए । नेपालीहरुबिच केहि पटक भेटघाट राखिएको थियो । भेटमा उनका समर्थकले देश बर्बाद भएको, राजनितिक पार्टीहरुले देश बर्बाद पारेको, देशको राष्ट्रियता खत्तम पारेको, देशमा महँगी र भ्रस्टाचार बढेको गुनासो गरेका थिए । देशको शान्ति र सुरक्षा भताभुङ्ग भएको, नेताहरुले देश लुटेको, देशको कसैले चिन्ता नगरेकाले मौसुफ चुप लागेर बस्नुहुन्न भन्ने सुझाव दिएका थिए । संघियताले देश खत्तम हुने, धर्म निरपेक्ष भनेर बिदेशीले चलखेल गर्न पाएको र जातिय राज्य भए देश टुक्रिने हुनाले त्यो कुनै हालतमा हुन नहुने तर्क गरेका थिए । राष्ट्रिय अस्तित्वनै गुम्न लागेकालेपनि मौसुफ सरकारले ख्याल गर्नुपर्‍यो भनेका थिए बैठकमा ।

युरोपका धेरै देशमा राजतन्त्र कायम रहेकालेपनि राजतन्त्र भएका मुलुक बढि विकास हुने तर्क गर्नेपनि थिए । यदि राजा सक्रिय नभए नेपाली रष्ट्रियता र देशै नरहने स्थिति भएको भन्दै केहिले पूर्व राजा शाहलाई तत्कालै सक्रिय हुन सुझाव दिएका थिए । नेपाली जनताको मन मनमा अझैपनि राजा र राजतन्त्र रहेपनि राजनितिक दलहरुले षडयन्त्र गरेर राजतन्त्र गएको भनेकाले त्यसलाई मान्न नहुने तर्क गर्नेहरुपनि थिए ।

राजतन्त्रलाई बलियो बनाएर सक्रिय गराउन संसारभरि छरिएका नेपालीहरु एकजुट हुने, नेपालमा राजतन्त्र ब्युँताउन यूरोपमा रहेका नेपालीहरु एकजुट हुने र जस्तोसुकै सहयोग र भूमिका खेल्नुपरेपनि तयार रहेको भन्दै पूर्व राजालाइ हौस्याइएको थियो । स्रोतका अनुसार अब छिट्टै जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, बेलायत लगायतका मुलुकमा राजाबादी संस्थाहरु गठन गरिने भएको छ । भएकाहरुलाई अझ बढि सक्रिय पारिने छ । उनीहरुले यूरुपेली राष्ट्रहरुसित नेपालमा राजतन्त्र स्थापनकालागि लबिङ गर्नुपर्ने तर्कपनि गरेका थिए । केहि नेपालीहरुले त्यसकालागि प्रयास गर्ने निर्णय गरेको भनाईपनि स्रोतको छ ।

भोजमा नेपालप्लसको चर्चा

नेपाल फर्किनु अघि पूर्व राजा शाहले पेरिसको सँजलीजे स्थित सर्वाधिक चर्चित रेस्टुरेन्ट ला फुकेटमा डिनरकालागि बोलाएका थिए । त्यहाँ जर्मनी, नेदरल्याण्ड, फ्रान्स, बेल्जियमका उनका निकट र भविष्यमा सहयोग गर्न सक्नेहरुलाई बोलाइएको थियो । त्यहाँ उपस्थितहरु देखेर ज्ञानेन्द्र शाह निकै हर्षित मुद्रामा थिए । त्यस साँझ नेपालप्लसको चर्चा भएको थियो । फ्रान्स आउँदा दोहा विमानस्थलमा उनी रोकिनु परेको खबर र केहि नेपालीसित खिचिएको तस्विरबारे चर्चा भएको हो । केहि नेपालीले नेपालप्लस चलाउने ब्यक्ति मपनि चिन्छु भन्दै कुरा गरेका थिए । त्यस समाचार र फोटोको चर्चा गर्दै केहि नेपालीहरु हाँसेका थिए । त्यस फोटो र समाचार बारे राजाका निजि सचिव सागर तिम्सिनाले बढि सरोकार देखएका थिए ।

ला फुकेट पेरिसकै सबैभन्दा चर्चित रेस्टुरेन्ट हो । यो रेस्टुरेन्टमा फ्रान्सका चर्चित गायककार, अभिनेता, ब्यापारीहरुले कुनै ठूलो सफलता पाउंदा वा कुनै भब्य काम गरेको खुशियाली मनाउँदा यसैमा पार्टी गर्ने गर्छन् । फ्रान्सेली राष्ट्रपतीमा बिजयी भएलगत्तै यहि रेस्टुरेन्टमा गएर निर्वाचनमा प्रमुख भूमिका खेल्ने र आफू निकटकासित खाना खाएर रमाउने, निकट हुने चलनपनि छ । यसमा धेरै देशका राष्ट्र प्रमुख, ब्यापारी, नेता, अभिनेता, कलाकारहरुले खाना खाएका छन् । यो फ्रान्सकै उत्क्रिष्ठ र महँगो रेस्टुरेन्टपनि हो ।

असन्तुष्टलाई संगठित गरिने

अहिले एकिक्रित नेकपा (माओवादी, एमाले र नेपाली कंग्रेस लगायत तराईबादी सबै पार्टीमा कार्यकर्ताहरु पलायन भएको, जनता वाक्क भएकोले यसलाई अवशरका रुपमा लिने योजना राजाबादीहरुको छ । स्वदेश र बिदेशमापनि राजनितिक पार्टीका कार्यकर्ता पलायन भएको, निराश बनेको र तिन का पक्षमा खुलेर लाग्न नसकेकाले तिनलाई संगठित गर्नुपर्ने भन्दै आवाज उठाएका छन् । देशलाइ माया गर्ने, चिन्तित, पढे लेखेका र बौद्दिकहरुसित ब्यापक रुपमा सम्पर्क बढाउने, बहस गर्ने र आलोचनात्मक रुपमै भएपनि निकट हुने कोसिस गर्ने योजना राजबादीहरुको छ । बिगतमा राजनितिमा लागेर हाल निराश बनेका पार्टीका कार्यकर्तालाई अब आफुहरुले समर्क गरेर तान्ने योजना बनाएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले अर्को एउटा महत्वपूर्ण भ्रमण र भेटघाट गरेको खबर नेपालप्लसले पाएको छ । त्यसको पुष्टि गर्ने प्रयास हुँदै छ । हेर्दै गर्नुहोला ।

(दुबै फोटो टेक नेपालीको फेसबुकबाट लिईएको हो)

तपाइँको प्रतिक्रिया