यहि हो कामरेडहरुको गूट उपगूट तोडिएको ?
मोहन बैध्य पक्षले अर्को पार्टी गठन गरेपछि माओवादीमा एक खाले नेता हर्षित भए । भने ‘यसले केहि फरक पर्दैन । पार्टी झन अगाडि बढ्छ ।’ तर भेलामै मारमुंग्री भो । हानहान । कुटेर एम्बुलेन्स बोलाउनुपर्ने । प्रहरीले बुट बजार्दै नेताको सुरक्षा गर्ने । भागाभाग गरेर अन्यत्र बैठक बस्नुपर्ने । सानोतिनो कोत पर्वको रिहर्शल जस्तो । नेताको बोली झर्न नपाउँदै जस्तोसुकै निर्देशनपनि मान्न ज्यान दिने कार्यकर्ताले तिनै नेतालाई कस्सो ढन्डेसो फुत्काए । आआफ्ना गुटकाले आफ्ना नेताको सुरक्षा गर्ने र अर्कोमाथि जाइलाग्ने रोचक नाटक देखाए ।
एकातिर गुट अन्त्य भन्ने तर अर्कोतिर चाहिँ आआफ्ना पाराले तर्क राखे । यता नरायणकाजीको भिन्न मत । उता बाबुराम भटराईको अलग धार । प्रचण्डले त छोड्ने कुरै भएन झन । एमालेबाट आएकाको अलग्गै गन गन । हामीलाई सौताको ब्यवहार गरियो भनेर झनै भिन्न गुनासो । तरपनि भन्न छोडेनन्, सबै गुट उपगुट अन्त्य भो भनेर । तर भएको रहेछ त ? फेरि माघमा हुने महाधिबेशनकालागि अहिलेनै बखेडा शुरु भैसक्यो ।
प्रचण्डको दाउ र षडयन्त्र न हो । उनले आफ्नै पक्षका कार्यकर्ताको संख्या बढाएर १७५ जना महाधिवेशन प्रतिनिधी भन्दै सार्वजनिक गरे । यसो सूची हेर्दा त प्रचण्ड पक्षकै भनिएका अलि सोझा, अलि ईमान्दार र स्वच्छहरुको समेत नाम रहेनछ । त्यस्ता धेरैको नाम छुटाएर चाकरी गर्ने, उनको धेरै गुनगान गाउने, वरिपरि लाग्नेको नाम बढि रहेछ । प्रचण्डको समर्थकनै हुंदापनि अलि आलोचनात्मक ढंगले विष्लेशण गर्नेको नाम कम रहेछ । अनि के छोड्थे तिनले ? बिरोध जनाए । प्रचण्डकै समर्थकको त तुप्पी ठडिएपछि बाबुराम र नारायणकाजी पक्षको झन कम्पारा तात्दैनन् ? उनीहरुले त्यो सूची अमान्य भनेर धोती लगाइदिए । तर शुरु भो आआफ्ना गुटका मान्छे घुसाउने मेसो । तानातान । “यो यो वरिष्ठ हो । यो यो मेहनति हो । यो यो हुन् पार्टीमा बढि योगदान दिने” भन्दै माघमा हुने महाधिवेशन प्रतिनिधी छनौटकालागि नाम पेश गर्ने मेसो ।
आआफ्ना गुटका मान्छे छिराउदा छिराउँदै १७५ जनाको महाधिवेशन प्रतिनिधीको सूची त पुग्यो, २५१ जनाको । तरपनि चित्त बुझेन नेतालाई । अनि त्यस मध्ये ३१ जना जतिको नाममा अझै बिबाद भयो । त्यसलाई टुंगो लगाउन हम्मे हम्मे परेको छ गुट अन्त्य गरिसकेका कामरेडका मुख्य तिन गुट र अन्य झिना मसिना गुटहरुलाई । त्यतिलेपनि नपुगेर आफ्ना गुटका नेतासित गुनासो गर्नेपनि उत्तिकै रहेछन् । पार्टीको महाधिवेशनमा प्रतिनिधी छनौटमा अझ बखेडा हुने अवस्था छ भन्छन् कामरेडहरुनै । १७५ बाट बढाएर २५० जना बनाउंदापनि तिनका आफ्ना आफ्ना मान्छे अझै घुसाएर पुगेको छैन । नाथे महाधिवेशन प्रतिनिधी छनौटमै यत्रो बखेडा गर्ने अनि कसरि हुन्छ गुटको अन्त्य ? भए भरका गुटलाइ यथावत राख्ने, मल र पानी हालेर झन मौलाउन दिने, गुट बनाउन मुल कामरेडहरुलेनै ज्यान फाल्ने अनि कसरि हुन्छ गुट उपगुटको अन्त्य ?




