कामरेडी भिडन्तको गाँठी कुरो
(राजधानी दैनिकमा आज प्रकाशित कार्टून)
गुट उपगुट अन्त्य गर्ने भन्थे कामरेडहरु । मञ्चबाट अघिलो दिन “अब सबै गुट उपगुट अन्त्य हुन्छ “भनेर गुर्रिएपनि । तर लाजको मर्नु भो भोलीपल्टै । देशको प्रधानमन्त्री, पार्टीको उपाध्यक्ष र अध्यक्षनै बिस्तारित बैठकमा असुरक्षित रहे । कार्यकर्ताको मुड्की र कुर्सीनै हानाहान गरेपछि प्रहरी प्रशासनलाई हारगुहार गर्नुपर्यो । कस्सो कामरेडहरुको ज्यान जोगाए प्रहरीले, वाइसियलले ।
तर किन भएको हो लडाई ? बिचारकालागि ? जनतालाई राहत दिनकालागि ? देशलाई अग्रगमनमा लानकालागि ? राष्ट्रिय अडान लिने क्रममा गरमागरम भएर बहस ? देश र जनताकालागि कसले बढि त्याग गर्ने भन्ने विषयले ? यो जगत हँसाउने कामरेडी मारमुंग्री सत्ता र शक्तिमा को बलियोसित उपस्थित हुने भन्नकालागि हो ।
पहिले पो प्रचण्ड र बाबुराम भट्टराईको नीति अलग थियो । प्रचण्ड भारतसित सुरुङ युद्द गर्ने देखि राष्ट्रिय अखण्डताको लडाई र भारतसितका नेपालका असमान सन्धि संझौता भंग गर्ने भन्थे । तर प्रधानमन्त्री पदको गुलियो चाटेर ओर्लिएपछि प्रचण्डका ति आदर्श र अडान धुलिसाथ भए । अहिले मुल नीति उनको जसरि हुन्छ निर्वाचित राष्ट्रपती बन्ने । नपाए प्रधानमन्त्री बन्ने । पार्टीमा कब्जा जमाउने । त्यसैले भारतीयका अगडि उनी चाकरी र चुपचापको नीति अँगालेका छन् । भारतीयको बिरोध गरे सत्तामा पुग्न पाइन्न भन्ने भट्टराई नीति उनले खोसेपछि शुरु हुन्न त टक्कर ?
प्रधानमन्त्रीको पदमा पुग्दा सर्वाधिक लोकप्रिय देखिएका उनलाई भारतीयको आड भरोसा, शक्ति र बल मिल्यो । भारत भट्टराईलाइ टिकाउमा उत्रियो । भारत बिरुद्द अनेक बहादुरी र धमास देखाएका प्रचण्डलाई ठेगान लगाउन भारतलाई झन सजिलो भयो बैध्य पक्षिय छोडेर हिँडेपछि । सधैं बैध्य पक्षको समर्थन लिएका प्रचण्डलाई कमजोर भएकै मौका पारेर भट्टराई पक्षियले पेल्न खोजे । पार्टी कार्यदिशा भट्टराई सापको । सत्तामा भट्टराई साप । सत्ताको मुल चाबी भारतीयको जुन उनैलाई प्राप्त । छोड्छन् यस्तो बेला भट्टराइ पक्षले ? तर प्रचण्ड कमजोर हुँदापनि अघिकै दम्भ, पेलान र चलखेलमा उत्रिरहे । भारतको टिकाउ अभियानको बल पाउँदापनि प्रचण्ड पक्षको पेलान कायम रहेपछि सहेनन् । प्रचण्ड भारतसित निकट हुन, चाकरी गर्न नरम नीति लिने र अघिल्ला दस्ताबेजमा उठएकै अडानहरु छोडेर उत्रिएपछि दुई पक्षबिच शक्तिका लागि मारमुंग्री हुने नै भयो । भारतसितको उनको नयाँ भक्ति र नरमपना शक्तिमा पुग्ने मनशायले आएको भट्टराइ पक्षले नबुझ्ने कुरै भएन । आफ्नो निति प्रचण्डले खोसिदिएकोमापनि भट्टराई पक्षिय आक्रोशित भएका हुन् । सरकार, पार्टी, जनवर्गिय संगठन जहाँपनि कब्जा जमाउने प्रचण्ड नीति बाबुराम पक्षले कसरि सहने ?
जनताको मुक्ति गर्नु त रहेन । राष्ट्रियता बलियो भैसक्यो । जनयुद्दले उठाएका माग सबै पुरा भैहाले । अब भनेको सरकारमा जाने । आआफ्ना कार्यकर्ता, निकट, नातापाता, समर्थक, शुभचिन्तक र नेतालाई गतिलो स्थान दिने । बलियो बनाउने । ठाउँ ठाउँमा स्थापित गराउने हो । संसदिय चुनावमा आफ्ना पक्षलाइ बलियो बनाउन अहिले देखिनै स्थापित गराउन थाल्नुपर्छ, जरा गडाउनु पर्छ । त्यसकालागि नीति एकै भएपछि दोहोरो टकराव तिब्र हुन्छ । अहिले भएको त्यहि हो । यो भिडन्त र मारमुंग्री कुनै सनक र आबेशको परिणाम होइन । लेखिराख्नुस्, यो भिडन्त आगामी केहि समयमा झन झन तिब्र हुने छ । कामना गरौं कम्युनिस्टहरु यसरि भिडेर बेइज्जति नगरुन् । तर यो अभिलाशा पुरा हुन्न । ति फेरीपनि भिड्ने छन् किनभने प्रचण्ड र बाबुराम पक्षिय दुबैको ध्येय अब सत्ता र शक्ति हत्याउने हो । सत्ताकालागि दुई शक्तिको उद्देश्य समान भएपछि मांरमुंग्री नभएर हुन्छ के त ?





