“म एक्लो वृहस्पति”
● शशी पौडेल / बेलायत
उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथ प्रर्दशक विशेश्वर प्रसाद कोइरलाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्के पछि पटक पटक व्यक्त गरिएको हो । विपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि विपीले त्यसवेला आफुलाई आफ्ना सहयोद्धा एंव सहयात्रीबाट अलग्गिएको अनुभव गरेका थिए । तर पनि विपी आफ्नो निष्ठा र प्रतिवद्धताहरुकै बीचमा बाँचेर “एक्लो वृहस्पति” को अनुभूतिको संवेदनाशीलतालाई यसरी प्रकट गरेको पाइन्थ्यो–“राष्ट्रिय मेलमिलाप नत राजतन्त्रसंगको सम्झौता हो नत संघर्ष”
राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर वीपी र गणेशमानजी संगै नेपाल फर्किए । त्यतिवेला नेपाली कम्यूनिष्ट आन्दोलनका घरोहर पुष्पलालसंग व्यापक छलफल भएको थियो ।
गत बर्ष दुई संगठनहरुले छुट्टाछुट्टै ढंगले वीपी र पुष्पलाल स्मृति दिवशहरु मनाए । नेपाली जनसम्पर्क समिती बेलायतले वीपीको ३० औं स्मृतिदिवश अली भव्य र एउटा लक्ष्य, केही आर्थिक संकलन गर्ने र सोसलिष्ट इन्टरनेशनलको सदस्यता वापत बाँकी रहेको वक्यौता चुक्ता गर्ने उद्धेश्यले अभिपे्ररित भै निकै मेहनत गर्यो । तर यसरी भब्य रुपमा बीपीको संझना गरिरहँदा बक्ताका रुपमा मञ्चमा पुगेका शेखर कोइराला देखिका ब्यक्तिहरुले गणेशमान र शैलजा आचार्य प्रति संझना गर्ने आबश्यकता संझेनन् । त्यस्तै पुष्पलालको भने नेपाली लोकतान्त्रिल मंच बेलायतद्धारा आयोजित कार्यक्रममा उनको सम्झना र उनीप्रति श्रद्धाञ्जलीमात्र दिने रहेको थियो ।
२०२५ साल देखि २०३३ सालसम्म वीपीले आफ्ना दिनहरु भारतको वनारसमा विताउनु पर्यो । गणेशमानजी बिशेश्वर प्रसाद कोइरालाका साथ २०२५ साल कार्तिक महिनामा सुन्दरीजल जेलबाट रिहाई भएपछि निर्वासित हुनु परेको थियो । निर्वाशित कालमा पनि भारत पक्षले वीपी, गणेशमानको सुरक्षाको कारण देखाई नेपाल भारत सीमाको नजीक बस्ने नदिने चलखेल भएको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा यदि गणेशमान सिहंको नाम छुटाएर कसैले वीपीको मात्र नाम लिन्छ भने त्यो अपुरो हुने छ । किनभने वीपी सरकारमा रहँदा गणेशमान पनि सरकारमा थिए । वीपी जेलमा हुँदा गणेशमान पनि जेलमा थिए । वीपी निर्वासमा हुँदा गणेशमान पनि निर्वासमा थिए । वीपी राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्किदा गणेशमान पनि संगै थिए । लगभग आठबर्षको जेलजीवन पछि उनीहरु दुवैजना सुन्दरीजल जेलबाटसंगै रिहा भएका थिए ।
विपी र गणेशमानका प्रसंग उठाउँदा लाग्छ , उनीहरुको दुईवटा शरिर भएता पनि नशानशामा एउटै रगत संचार भएको थियो । दिमागमा एउटै सोचाई र चिन्तन थियो, यो मुलुकलाई कसरी तानाशाहीको चंगुलबाट मुक्त गर्न सकिन्छ भन्ने । उनीहरुको हृदयमा नेपालीहरुप्रति एउटै माया थियो, कसरी समग्र नेपालीहरुलाई हातमुख जोड्ने समस्याबाट मुक्त गर्न सकिन्छ भन्ने । उनीहरुको हृदयमा नेपालप्रति एउटै सम्मान थियो, कसरी नेपाललाई सम्भाव्य विदेशी हस्तक्षेपबाट जोगाउन सकिन्छ भन्ने । उनीहरुको खुट्टामा एउटै कदम थियो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकासको ध्वजा फहराउने । हो दुई व्यक्तित्वबीच कहिलेकाहिँ राजतन्त्रका बिषयलाई लिएर विवाद नभएको होइन । तर यस्ता अवस्थामा विपीको राजनैतिक विश्वासपात्र आफ्नै भाञ्जी शैलाजा आचार्यले एउटा विचारको पुलको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्थिन् ।
वीपी र गणेशमानको निर्वासनकालको सम्झना गर्दै एक ठाहिँमा वीपीका भाइ एंव प्रजातान्त्रिक आन्दोलनका सहयोद्धा गिरिजा प्रसाद कोइराला लेख्छन्– “विपी वनारसमा हुनुहुन्थ्यो । २०१७ साल देखिनै निर्वासित भएर पुष्पलालजी पनि वनारसमै रहनु भएको थियो । पछि २०२८ साल देखि म पनि निर्वासित हुनुपर्यो । त्यही निर्वासनकालमा मैले पुष्पलालजीलाई अझै नजिकबाट चिन्ने मौका पाएँ । उहाँ विपीलाई भेट्न आउनुहुन्थ्यो । वीपी पनि उहाँलाई भेट्न जानु हुन्थ्यो । देशको वस्तुस्थितीवारे पुष्पलालजीसंग छलफल हुन्थ्यो ।”
हो गिरीजावावुले भने जस्तै त्यतिवेला पुष्पलाल र वीपी कोइराला संयुक्त मंचमा आएर आआफ्ना विचारहरु प्रस्तुत् गर्थे । यसरी विचार प्रस्तुत् गर्दा पुष्पलाल संयुक्त आन्दोलनमा जोड दिन्थे । तर वीपीको जोड भने संयुक्त रुपमा नभएर जो जसको जहाँ प्रभाव छ त्यसले ती ती ठाउँमा आन्दोलनहरु शुरु गर्ने भन्नेमा रहन्थ्यो । वीपीको यो जोडको यथार्थता के हुन सक्थ्यो भने– कम्यूनिष्टहरुसंग मिलेर जाँदा पश्चिमा उदार पूजीजीवी राजनैतिक शक्तिको समर्थन नेपाली कांग्रेसले पाउन सक्तैन कि भन्ने कुरा प्रति विपीको सर्तकता ।
तर पुष्पलालको जोड भने वाहिरी समर्थनमा हैन । नेपाली जनताको सक्रियतामा रहन्थ्यो । त्यतिवेलाको नेपालको आन्तरिक राजनीतिका कारण वीपी र पुष्पलाल नेपालको राजनीतिमा सर्वाधिक चर्चित भए । उनीहरुकाबीच आवत जावत र भेटघाट भइरहदा राजनीतिका गंभीर बिषय भन्दा बढी अनौचारिक कुरा पनि हुने गर्थ्यो । तर यदि औपचारिक छलफल गर्नु पर्यो भने सामान्यता अचानक भेटेजस्तो गरी अन्य कुनै ठाउँमा भेट गराउने पुलको काम शैलजा आचार्यले गर्ने गर्थिन । शैलजा आचार्य वीपीको भान्जीमात्र नभएर विपीले राजनीतिमा सवभन्दा बढी विश्वास गरेकी व्यक्ति थिइन् । यसो हुनुको खास कारण चाही नेपालको राजनीतिमा वाहिरी शक्तिहरुको त्यसमा पनि विशेष गरेर शितकालिन शक्तिहरुको अत्याधिक चासो बढ्दै गएको कुराप्रति वीपीको सजकता रहेको हुनुपर्छ ।
२००७ सालको त्रिपक्षीय नेपाली कांग्रेस, राणाहरु र निर्वासित राजाबीच दिल्लीमा जवाहरलाल नेहरुको मध्यस्थतामा भएको सम्झौताप्रति असहमती जनाउँदै पुष्पलालले भनेका थिए– राणा र राजालाई विश्वास गर्ने कुनै आधार छैन । उनीहरुले कुनै पनि बेला वैधानिक सुधारका कुरा खारेज गरेर मध्ययुगीन शैली लागू गर्ने छन् । उनले भने जस्तै हुबहु प्रधानमन्त्री बनाइएका मोहन सम्शेरले सबैखाले वैधानिक सुधारका कुराहरु खारेज गरे । यस्तै २०१५ सालको निर्वाचन पछि प्रधानमन्त्री पदमा निर्वाचित विपी कोइरालालाई पुष्पलालले राजालाई बढी विश्वास नगर्न अनुरोध गरेका थिए । दुर्भाग्य २०१७ साल पौष १ गते आयो । त्यसपछि राजनीतिलाई द्वन्दवादी दृष्टीकोणले हेर्नु पर्छ भन्ने संकेत वीपीले प्राप्त गरेको हुनुपर्दछ । त्यसैले उनले नेपालका राजनैतिक बिषयमा कुनैपनि निर्णय गर्नु पर्दा पुष्पलालसंग छलफल गर्ने परम्परा वसाले । यसैकारणले हुनु पर्छ वीपीले राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल पर्किएपछिको प्रतिवन्धित अवस्थामा र पुष्पलालको मृत्युको खवर सुने पछि आपूmलाई “एक्लो वृहस्पति” को महसुस गरेको । यस अर्थमा विपी जयन्ती भनाइरहँदा यदि कसैले पनि पुष्पलाल, गणेशमान सिहं र शैलजा आचार्यप्रति श्रद्धान्जलीका दुइ शब्द पुष्पगुच्छा स्वरुप टक्राइँदैन भने वीपीजयन्तीको सार्थकतामा कमी आउने छ ।
यस अवसरमा वीपी, पुष्पलाल, गणेशमान र शैलजाप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण चाहान्छु । नेपाली नेताहरुमा सदवुद्धी पलाओस् र पुष्पलालले भनेजस्तै संयुक्तता र एकताले मात्र मुलुकले आजको कठिन परिस्थितीबाट मुक्त पाउने छ ।
(बीपीको म्रित्यु भोलि २१ जुलाईका दिन भएको हो । उनैको संझनामा लेखिएको हो यो लेख )




