बैध्य पड्केपछि बाबुराम हिस्स
पार्टी फुटे पछि हिजो पहिलो पल्ट नयाँ पार्टीका अध्यक्ष मोहन बैध्य ‘किरण’ लाई भेट्न गए एकिक्रित माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई । भारतीय दलाल भनेर घोषणा गरिएका उनीसित बैध्यको कस्तो कुरो भो होला ? मैले केहि माओवादी नेतासित बुझ्न खोजें । पुरा खबर त छरिइसकेको रहेनछ । तर बैध्य निकटका पत्रकार र केहि नेतालाइ बैध्यले बताएका रहेछन् ।
हिजै एक्कासि भट्टराईले बैध्यलाई फोन गरेर भेट्न आउन खोजेका रहेछन् । ‘यहि हो मौका खँगार्ने, साफ गाली गर्ने’ भन्ने सोचेर होला उनले सहजै स्विकार गरेछन् । साँच्चिकै भेटघाटमा बैध्यले भट्टाराईलाई मजैले गाली गरेछन् ।
‘पार्टी फुटाउनुहुन्थेन, सानातिना मतभेदलाई मिलाउन सकिन्थ्यो’ भन्दै गुनासो गरेछन् भट्टराईले । बैध्यले तुरुन्तै त्यसलाइ अस्विकार गरेछन् । जनयुद्दले स्थापित गरेका सारा मान्यता र माग छोडेको । नेपाली कांग्रेस र एमालेका एजेन्डामा गएको । पार्टी नीति र कार्यदिशा बिरुद गएको लगाएतका आरोप लगाए बैध्यले । भट्टराईले धेरै जसो सुनिरहे । शान्ति र संविधानको कार्यदिशा पार्टीको भएको र अब निर्वाचन हुन नदिए, जनताका माग खोसिए स्वत : बिद्रोह हुने भन्दै थामथुम पार्न खोजे भट्टराईले । तर बैध्यले सोधेछन् ‘न पार्टी रह्यो । न पार्टीका माग रहे । न जनसेना रह्यो । केले गर्ने बिद्रोह ?’ भट्टराई बोल्न सकेनन् ।
पार्टी एकिकरण गर्नु पर्छ भनेर भट्टराईले प्रस्ताब गर्दा बैध्य हाँसे । उनले अहिलेका एकिक्रित माओवादी नेताको रबैयाले अहिले एकात हुनसक्ने संभावना नरहेको स्पष्ठ बताए । बरु बैध्यले सोधेछन् ‘केका लागि एकता ? जनयुद्दका सबै मान्यता सिध्याएर एमाले जस्तै बन्न, जनतालाई धोका दिन एकता?’
भट्टराईले पार्टी एकिकरण गर्न नसकिएपनि हाल राष्ट्रिय मुद्दामा सहकार्य गर्न अनुरोध गरे । बैध्यले सोधेछन् ‘के छ त्यस्तो राष्ट्रिय मुद्दामा हुन सक्ने सहकार्य ? राष्ट्रियतनै धरापमा पार्ने निर्णय गर्ने यो सरकारसित के हुन्छ सहकार्य ? तपाइले बिपा लगायतका राष्ट्रघाती काम गर्नु भो अनि के राष्ट्रियताको मामिलामा सहकार्य गर्ने ? मधेशी दलसित राष्ट्रघाती सहमती गरेर सरकारमा बस्नु भएको छ कसरि हुन्छ सहमती ? एकिक्रित माओवादीलाई तपाई र प्रचण्डले पुरै राष्ट्रघाततिर लैजानु भएको छ । अनि के हो राष्ट्रिय सहमती ?’ बैध्य पड्किएछन्, बाबुरामले पार्टी, देश, जनता, सहिद परिवार र सबैलाई धोका दिएको, पार्टीलाई भारतीय बिस्तारबादीका अगाडि खत्तम परेको भन्दै ।
भट्टराईले सहकार्य गर्न प्रस्ताव गर्दा बैध्यले भनेछन् ‘सहकार्य गर्न त सकिन्छ । जनपक्षीय र अग्रगामी एजेण्डामा सहकार्य हुन सक्छ । तर त्यस्तो जनपक्षिय एजेन्डानै एकिक्रित माओवादीले छोड्दै गएको छ । सरकार पुरै राष्ट्रघाती काम गर्दै छ । भारतको पिछलग्गु बन्दै गएको छ । अग्रगामी एजेन्डा सबै छोडेको छ अनि कहाँ केमा गर्ने सहकार्य ?’ भट्टराईले आगामी संविधान सभाको निर्वाचनमा मिलेर जान प्रस्तब गर्दा बैध्यले पुरै नकारेछन् । तर दुबै पक्ष वार्तालाइ निरन्तरता दिने सहमती गरेर बाहिरिएछन् ।





