भट्टराईले पद नछोड्दै तानातान र रुवाबासी

अयोध्याका राम १४ वर्ष वनबास गए । त्यसपछि बल्ल उनले राज्य पाएका हुन् क्यारे ! १४ वर्ष वनबास जाँदापनि राम रोएका थिएनन् । यता अहिलेका राम पनि कम त्यागि होइनन् । तर १७ पटक सम्म निर्वाचनमा गएर हार्दापनि नरोएका राम अहिले भने अस्पत्तालमै रुवावासी गरेका छन् प्रधानमन्त्री पदको लागि । १७ पटक हार्न तयार भए प्रधानमन्त्री पदको निर्वाचनमा । पार्टी सभापती सुशिल कोइरालालाई जिताउन गत महाधिवेशनमा होमिए अहिलेका राम अर्थात रामचन्द्र पौडेल । देउवालाई हार खुवाउन उनलेपनि सर्वस्व लगाए । त्यो प्रधानमन्त्री पद पाउने शर्त र लोभमा थियो ।

कपास जसरि फुलेका कुमार सुशिलले पौडेललाई उधारो प्रधानमन्त्री पदको लोभ देखाएर उतिखेर नगदमा सभापती पदको समर्थन लिए । तर अहिले प्रधानमन्त्री पद नेपाली कांग्रेसमा आउला कि झैं पात मात्रै हल्लिनासाथ उनै रामचन्द्र अस्पत्तालको बिस्ताराबाट रुवाबासी गरेछन् । त्यो रुवाबासी उनै सुशिलको कारण बनेको छ । यो रुवाबासी सँगै निश्चितनै नभएको प्रधानमन्त्री पदकालागि नेपाली कांग्रेसमा तानातान शुरु भैसकेको छ ।

नेपाली कांग्रेसको गएको महाधिवेशनमा सभापती पदकालागि रामचन्द्र पौडेलले सघाउने । त्यसबापत पौडेललाई सुशिलले प्रधानमन्त्री बन्न सघाउने । यो सहमती सार्वजनिक भएको हो । तर अहिले ? सुशिल कोइराला आफैं प्रधानमन्त्री बन्न तम्सेका छन् । रामचन्द्र यहि कारणले पहिलेको सहमती तोडेको भन्दै अस्पत्तालमै रोएका रहेछन् । यो कुरोको पत्तो लगाएको चाहिँ हिजोको जन आस्था साप्ताहिकले हो । अहिले सुशिलले ‘मैले रामचन्द्रलाई गत प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेकै हो । देउवा पक्षको ब्यवधान सहेरपनि १७ पटक हार्दासम्म रामचन्द्रलाई साथ दिएकै हो । सधैं रामचन्द्रलाई मात्रै त कहाँ उचालेर हिंड्न सकिन्छ र ? फेरी पार्टी केन्द्रिय कमिटीले निर्णय गर्‍यो भने त मान्नै पर्‍यो नी’ भन्ने रहेछन् । उता रामचन्द्र चाहिँ ‘हार्ने बेला चाहिँ बेइज्जति गराउन उचालि उचालि लडाए, अहिले पार्टीको पालो आएका बेला चाहिँ सुशिलले सहमती तोडेर धोका दिए’ भन्ने रहेछन् । बिरामी भएर आइ सि यु मा रहेका रामचन्द्रले त्यहि चिन्ता मानी मानी रोएका रहेछन् अस्पत्तालमै।

त्यसो त, प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा दिइहाल्ने पक्का छैन । प्रचण्डले “राजनितिक सहमती भए तुरुन्त राजिनामा दिन लाउँछु, माओवादी बाधक बन्दैन’ भनेपनि दश जिब्रे शेष नागका जस्ता प्रचण्डको भनाइ भोलीनै बदलिन सक्छ । फेरी नेपाली कांग्रेसलेनै पाउनुपर्छ प्रधानमन्त्री भन्नेपनि कहिँ लेखेको छैन । राजनितिक सहमती र समिकरणको कुरो न हो । भोली एमाले र माओवादी, मधेशी केहि दल एमाले र नेपाली कांग्रेस वा मधेशी दल र फेरी माओवादीकै बर्चस्व देखियो भने ? प्रधानमन्त्री पद जसले पनि पाउन सक्छ । मुख्य कुरो अब देशलाई कसरि राजनितिक निकास दिने भन्ने हो । तर नेपाली कांग्रेसमा प्रधानमन्त्रीको पद पार्टी कार्यालयकै ढोकामा उभिएझैं झैं तानातान गर्न थालेका छन् ।

माओवादीले प्रधानमन्त्री पद छोड्ने कुरो हुनासाथ सर्वसम्मत उम्मेदवार मै हुँ, मैलेनै अबको उत्तम निकास दिन सक्छु भन्दै देउवाले दाबी गरे । उनैलाई साथ दिँदै डा प्रकाश शरण महत जुरुक्क गरे । डा नारायण खड्का लगायत अरु एकाध जनाले देउवाको पक्ष समाते । तर रुन्चे रामचन्द्रकालागि बोलिदिने चाहिँ कोहि देखिएन । बरु सुशिल कोइरालालाई प्रधानमन्त्री बन्नु पर्छ भन्दै उचाल्न थाले । क्रिष्णप्रसाद सिटौला, खुम बहादुर खड्का, प्रकशमान सिं लगायत नेताले अहिले सुशिल कोइरालालाई कान फुकिरहेका छन् । बलेको आगो ताप्ने स्वार्थीहरु न हुन्, देउवा कांग्रेसलाई फुटाउन देखि अहिलेसम्म साथ दिँदै आएका, देउवाका प्रबक्ता समेत बनेका डा म्रिगेन्द्र रिजालपनि अहिले सुशिल कोइरालानै प्रधानमन्त्री बन्नुपर्छ भन्दै उचालिएका छन् । उता देउवाको साथ छोड्लान् जस्तो छ । सुशिल प्रधानमन्त्री बन्ने छनक देखेर उचालिएका होलान् सायद कुनै मन्त्री पदकालागि ।

यो तानातान रामचन्द्र, सुशिल पक्ष र देउवाका बिचमा अझै कस्सिएर जाने देखिन्छ । मन्त्री पद पाइएला भनेर कतिले क कसका क्याम्प बदल्ने हुन् । ककस्ता खेल हुने हुन् । संवैधानिक संकट टार्ने, देशलाई राजनितिक निकास दिने, संविधान कसरि बनाउने, जनतालाई कसरि राहत दिने भन्दापनि भट्टराईको राजिनामा माग्ने काम मन्त्री पद पड्काउने, सत्तामा बस्नेतिरै उन्मुख देखिन्छ । साँच्चै नेपाली कांग्रेसको प्रधानमन्त्रीत्वमा सरकार गठन हुने अवस्था आउन्जेल सम्म अस्पत्तालको बास पुगेका रामचन्द्र र अझै कति रुने र तानातान गर्ने हुन् । एमालेमा केपी ओलीको प्रधानमन्त्री बन्ने दाबी र एमाले पार्टी भित्रको अनेक खाले चलखेल त भिन्नै छँदै छ । यो तानातानले गणतन्त्रलाई अझ कति बदनाम गर्ने हो । जनतालाई अझै कति वाक्क पार्ने हुन् ।

तपाइँको प्रतिक्रिया