अझै कमजोर र नालायक बन्छ एमाले

610x.jpgनेकपा (एमाले) को महाधिवेशन बुटवलमा भइरहेको छ । यो महाधिवेशनले भविष्यकालागि नीति निर्माण गर्ने छ । योजना बनाउने छ । संगठनलाई कस्तो बनाउने ? देशको खाका कसरि कोर्ने ? नेपालको गणतन्त्रात्मक संबिधान कस्तो बनाउने ? संक्रमणकालिन अवस्थाको अहिलेको नेपाललाई कसरि दिशा दिने ? अहिलेको गम्भिर अवस्था र चुनौतीलाई कसरि चिर्ने ? त्यसकालागि पार्टीको नीति मुख्य पक्ष हो । अनि त्यसलाई लागू गर्न सक्नु अर्को चुनौती हो । त्यो चुनौती पार गर्न र सहि नीति बनाउनकालागि नेत्रित्वकर्ताहरुमा भर पर्छ । गतिलो नेत्रित्व छान्नकालागि कार्यकर्ताहरु चनाखो हुनु पर्छ । तर के एमालेको अहिले प्रमुख नेत्रित्वका लागि दाबी गर्ने तिन प्रमुखहरु ति सबै चुनौतीलाई पार गर्न सक्षम छन ?

पार्टी अध्यक्ष को हुने भन्ने दौडमा पूर्व महासचिव माधव कुमार नेपाल, कांग्रेस निकट र पहिले दरबार निकटको आरोप लाग्ने गरेका केपी ओली र अहिलेका महासचिव झलनाथ खनाल छन । यि तिनजना मध्ये माधवकुमार नेपाल सहि नेत्रित्व दिन असफल भइसकेका छन । चौध वर्ष उनले नेकपा (एमाले) को महासचिव चलाए। तर यिनैको पालामा आतंककारी कानुन ल्याउने जस्तो जनतामारा काम भयो । कहिल्यै रचनात्मक प्रतिपक्षको भूमिका एमालेले खेल्न सकेन बहुदलिय प्रजातान्त्रिक कालमा, जसलेगर्दा देशमा नेपाली कांग्रेसको सरकारले धेरै जनघाती काम गर्‍यो । बहुदलिय ब्यवस्थानै असफल भयो ।

यिनी एक त जनताको परिक्षणबाट असफल भैसके । गत निर्वाचनमा चौध वर्षसम्म राजधानीमा बसेर त्यत्रो पार्टीको महासचिव भएका ब्यक्ति माओवादीका जिल्ला स्तरिय नेतासित हार मात्रै खाएनन आफ्नै ग्रिह जिल्लावासीले पनि हराए । त्यसैले, दुइ वटा जिल्लाका जनताले नरुचाएका यस्ता ब्यक्तिले झन पार्टी अध्यक्ष सहि ढंगले चलाउन सक्दैनन ।

अर्का नेता केपी ओली अहिले देशमा भएको जातिय, भाषिय, लिंगिय, वर्गिय माग, असन्तुष्टि र चाहनालाई संबोधन गर्ने क्षमता राख्दैनन । उनी नयाँ नाम दिएर पुरानै ढंगले शासन गर्न चाहन्छन । अनुदार मानिसहरुको निकटमा रहेर काम गर्न रुचाउँछन । असन्तुष्ट पक्षलाई समेटेर लैजान सक्ने क्षमता छैन । जनयुद्द लडेर आएको पार्टीलाई साथ लिएर प्राजातान्त्रिक मार्गमा हिँडाउनुपर्नेमा बिच्क्याएर पून जंगल फर्काउनै उद्दत देखिन्छ उनको क्रियाकलाप । नीतिमा पटक्कै मेल नखाले नेपाली कांग्रेससित देखिने यिनको निकटता र नीतिमा मेल खाने माओवादीप्रति आक्रामक यिनको गतिबिधी शंकास्पद मानिन्छ । यिनमा नत कुशल संगठनात्मक क्षमता छ नत पार्टीको नीति निर्माणमा । पूजिवादी राज्य व्यवस्थालाइ नै जनताको बहुदलिय जनवाद भन्ने नाम दिएर तत्कालिन पार्टी महासचिव मदन भण्डारीले प्रस्तुत गरेको नीतिलाई यतिका वर्षपछिपनि ह्रस्व दिर्घ समेत छुन हुन्न भन्दै पुरानै मान्यतामा ज्यान फालिरहेका छन ओली ।

भण्डारीले त्यो पारिद गराउँदा देशको सामाजिक, आर्थिक, राजनितिक, जातिय, सांस्क्रितिक सबै अवस्था, माग र परिस्थिति भिन्न थियो । अहिले त्यसमा आकाश जमिनको अन्तर छ । त्यस्ता नीतिहरु समय सापेक्ष गरिनु पर्छ परिमार्जन गरेर । तर उनी त्यसैलाई अक्षरत लागू गर्नुपर्छ भन्ने पक्षमा छन । त्यसले के देखाउँछ भने ओलीमा कुनै नयाँ बिचार, द्रिष्टिकोण छैन । उनी देशलाई अझै मदन भण्डारीकालमै राख्न चाहन्छन । उनी आफैंपनि गत निर्वाचनमा जनताले हराएका ब्यक्ति हुन । सामन्य सभासद पदमा जनताको मन जित्न नसकेका ब्यक्तिले कसरि राष्ट्रिय पार्टीको नेत्रित्व गर्ने ? आफैं पराजित भएर अरु बिजय भएकालाई के सिकाउने ?

अर्का झलनाथ खनालपनि त्यति शसक्त उमेरदवार होइनन । भलै अघिल्ला दुईको अनुपातमा यि जनपरिक्षामा सफल भएका हुन गत निर्वाचनमा । यिनले पार्टी महासचिव पद सम्हालेदेखि स्पष्ठ द्रिष्टिकोण, नीति र दिशा दिन सकेका छैनन । माओवादीले वासियल बनाए र यिनलेपनि यूवा दस्ता चाहिन्छ भन्दै त्यसैको सिको गरे । माओवादीले पछिल्लो समयमा मजदूर दस्ता निर्माण गर्‍यो अनि उनलेपनि त्यसैको सिको गरेर मजदूर दस्ता निर्माण गर्न लागे । आफैं सरकारमा बसेको एमाले । उ मन्त्रि परिषदमा बसेर निर्णय गर्छ तर उता बिपक्षी दलसित बसेर त्यसैको बिरोध गर्छ । आफु पहिले सरकारमा बस्दा अध्यादेशकै भरमा देश चलाएको बिर्सेर अहिले सरकारमै बसेर सरकारले ल्याएको अध्यादेशको बिरोध गर्छ । नेपाली कांग्रेसको कुरा सुन्छ त्यसैमा स्वर मिलाउँछ । यता माओवादीसँग छलफल गर्छ अनि बैठकमा त्यसैमा सहमती जनाउँछ । त्यसैले झलनाथ खनालपनि पार्टी हाँक्न सक्ने, देशलाइ सहि दिशा दिन सक्ने क्षमताका नेता होइनन नै । यद्दपी ति तिन मध्ये जनताको परिक्षामा उत्तिर्ण भएका र बिपक्षीदेखि अन्य दलसम्मलाई मिलाएर लौजान सक्ने उदार दिलका मानिन्छन।

के एमालेमा सक्षम ब्यक्ति छैनन त ? छन । पार्टीमा स्पष्ठ द्रिष्टिकोण, बैचारिक तिखारोपन, सहि नीति बनाउन सक्ने क्षमतावान ब्यक्तिहरु नभएका होइन । घनश्याम भुसाल, गोकर्ण बिष्ट, शंकर पोखरेल, योगेश भट्टराई, प्रदिप ज्ञवाली, राम कुमारी झाँक्रीलगायतका युवा नेताहरुमा त्यो क्षमता छ । अहिलेको संक्रमणकालिन नेपाललाई कसरि दिशा दिने, हरेक जाती, वर्ग, भाषाभाषी, समुदायका मागलाई कसरि संबोधन गर्ने भन्ने अलि स्पष्ट नीति र कार्यक्षमता पनि छ । तर पार्टीका अधिकांश कार्यकर्ता कोरेली ओगटेर बस्ने बुढा गोरु जस्ता ति तिन नेताका वरिपरि छन । यो सक्षम युवा दस्ता अल्पमतमा छ । पार्टीमा सक्षम त्यो युवा वर्गले नेत्रित्व गर्न नपाउनु एमाले र देशकै लागि घाटा हो । तर त्यो वास्तबिकता एमालेका आम कार्यकर्ताले बुझेको देखिँदैन ।

त्यसैले अहिलेको महाधिवेशनले यिनै तिन मध्ये एक जनालाई बिजयी गराउने निश्चित जस्तै छ । यिनको नेत्रित्वले एमालेलाई कहिँ पुर्‍याउँदैन जहाँको त्यहिँ राखिरहने छ । त्यसको अर्थ भविष्यको एमाले अझ कमजोर र नालायक बन्ने निश्चित छ । तपाईहरुलाई यो अलि एक पक्षिय जस्तो लाग्न सक्ला तर वास्तबिकता त्यहि हो । पर्खेर हेरौंला ।

तपाइँको प्रतिक्रिया