कांग्रेस वा एमालेले प्रधानमन्त्री पाए देशले निकास पाउँछ कि क्या हो ?

पद, पैसा, कुर्सी र शक्तिका लम्पट नेता न परे । जतिखेरपनि यीनले पद बाहेक कुरै गर्दैनन् । अहिले को प्रधानमन्त्री हुने भन्ने उति ठूलो कुरो होइन । देशलाइ चाहिएको अग्रगामी संविधान हो । जनयुद्द र जन आन्दोलनबाट जनताले ल्याएका मागलाई स्थापित गर्ने संविधान । त्यसपछि दिगो शान्ति । तर अचम्म, माओवादी त्यो प्रधानमन्त्री पद ज्यानजाला नछोड्ने । नेपाली कांग्रेस र एमालेलाईपनि त्यहि प्रधानमन्त्री पद नभैनहुने ।

देशका समस्या प्रधानमन्त्री पद भन्दा अरुनै अजंगका छन् । संविधानबिहिन अवस्थामा देश चलिरहेको छ । तरपनि यी तिनवटै दलको मथिंगलमा प्रधानमन्त्रीको कुर्सी बाहेक अरु छँदै छैन । विद्वान डा सापलाईपनि अब माओवादीले सत्ता नपाउला भन्ने सायद पक्का छ । संविधान नभएका बेला हाइसञ्चोले टाँस्सिने मौका पाएका बेला के छोड्ने ? प्रचण्डले त भनिनै सके ‘सरकार एमाले र नेपाली कांग्रेसको बिर्ता हो र ?’

प्रधानमन्त्री एक्लैले संविधान बनाउने होइन भन्ने सबैलाई थाह छ । दलहरु नमिले प्रधानमन्त्री एक्लोले के गर्ने हो र ? यसको जानकारी नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई पक्कै थाह छ । किनकि उनीपनि के के न गर्छु भन्दै प्रचण्डको लगौंटी समातेर प्रधानमन्त्री भएकै हुन् । तर प्रधानमन्त्रीले बनाउने होइन रहेछ संविधान भन्ने उनैले माखो नमारी बिदा भएबाट प्रस्टै छ । अहिले उनै झलनाथ भनिरहेका छन् ‘प्रधानमन्त्रीले राजिनामा नदिएसम्म यो सरकारसित बार्तापनि हुन्न’। माधव नेपालको नौटिकी त झन वाक्कै हुनेगरि भोगिएकै हो । तरपनि संविधान बनाउने काममा माँखो हल्लिएन त । अचम्म छैन त ? आफुले माखो मार्न नसकेको अनुभव हुँदाहुँदै अर्को प्रधानमन्त्रीले चाहिँ त्यहि काम गर्नुपर्ने ?

प्रधानमन्त्री पदकालागि कांग्रेसको ताल हेर्ने, सुन्नेहो भने अहिलेनै हाँसेर मुर्छा परिन्छ । एकथरी चाकरीबाज पार्टी सभापती शुसिल कोइरालाको दैलोमा पुगिसकेका छन् ‘अब प्रधानमन्त्री हजुरनै बन्नु पर्छ’ भन्दै । उता पार्टी उपसभापती रामचन्द्र पौडेल बाजेले त त्यो छोड्ने कुरै भएन । बाहिर होस् कि पार्टीमा जति पटक पनि हार्न तयार होलान् उनी । तर नेपाली कांग्रेसले सरकारको नेत्रित्व पाए प्रधानमन्त्री बन्ने हुइँया उनैले पिटेका छन् । त्यसैलाई छिर्कि लगाउन होला, देउवा पक्षका प्रकाश शरण महतले ठोकेरै भने ‘अब माओवादीले तुरुन्त राजिना मा दिएर नेपाली कांग्रेसको नेत्रित्वमा सरकार बन्नु पर्छ । त्यो सरकारको नेत्रित्व शेरबहादुर देउवाले गर्ने निश्चित भैसकेको छ’।

उत बनेपा पुगेका प्रकाशमान सिं उसैगरि गर्जेका छन् ‘प्रधानमन्त्रीले राजिना मा दिनु पर्छ र अबको सरकारको नेत्रित्व नेपाली कांग्रेसले गर्छ’ भन्दै । यी कसैलेपनि संविधान बनाउने कुरो गरेका छैनन् । प्रधानमन्त्रीको पदकालागि नेपाली कांग्रेसको अहिलेदेखिकै दाबी देख्दा लाग्छ, यीनले ज्यान फाल्छन् । आफु आफुमै बिगतमा झैं मारमुंग्री मच्चाउँछन् । यीनको ध्याउन्न भनेको उहि प्रधनमन्त्री पद हो । सरकारमा पुग्ने हो । संविधान नबने झन आनन्द, सरकारमै बसिरहन पाइन्छ ।

संविधान सभा भंग भयो । अब संविधान कसरि बन्छ ? दलहरुले संविधान बनाउन के कस्तो त्याग गर्नु पर्छ । आफ्नै पार्टीका असन्तुस्ट पक्ष, बाहिरका जनजाति लगायत समूहका माग र राष्ट्रिय समस्या कसरि हल गर्न सकिन्छ ? कस्ता सहमतीको खाँचो छ ? यीनको ध्यान पटक्कै छैन । एकोहोरो उहि प्रधानमन्त्रीको कुर्सी, उसले गर्ने बिदेश भ्रमण, तोक आदेश, झण्डा हलाउँदै चढिने चिल्लो कार र शक्ति देखेका छन् । उहि सरकारमा जाने । मोज गर्ने । प्रकाश शरण महतले त झुठो आश्वाशन बाँडिपनि सके ‘देउवाको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेसको सरकार बने देशले निकास पाउँछ’ भनेर । तर देउवाले निकास त के देलान् र बरु बाँकि रहलपहल जनताका अधिकरपनि कि ज्ञानेन्द्र कि त दक्षिणतिर लगेर पो बिसाउलान् ।

संविधान बनाउने कुरा किन नगरेका होलान् ? यीनलाई कि त दिगो शान्ति र जनताका मागसित सरोकर नै छैन । केहि गर्न सकिन्छ भन्ने ह्याउ र क्षमता नै छैन । कि त आफ्नो सरकार बनेपछि संविधान छैन भन्दै वर्षौं प्रधानमन्त्री पड्काउने दाउ । उहि माओवादीले संविधान सभामा सबैभन्दा बढि सिट जितेपछि नेपाली कांग्रेसले जसरि सरकार छोड्न ज्यान फालेको थियो । उसैगरि संविधान नबने त सञ्चोले सरकार चलाइराख्न पाइने भो । भन्न चाहिँ माओवादीले संविधान सभाको निर्वाचान घोषणा गरेर सत्ता कब्जा गर्न खोज्यो भन्ने । तर भित्रि मनशाय चाहिँ आफ्नोपनि त्यहि हुन सक्छ ।

संविधान सभा भंग भयो । संविधान छैन । यसलाई मौका ठानेर पद नछोड्ने जुन हठ पालेका छन् बिद्वान प्रधानमन्त्रीले त्यो देख्दा एमाले र नेपाली कांग्रेसलाई त्रासपनि हुन सक्छ । अब बाबुरामले वर्षौं वर्ष प्रधानमन्त्री नछोड्न सक्छ । मधेशी र यो माओवादी भएर सराकारमा टाँस्सिएइरहन सक्छन् भन्ने अनुमानलेपनि हुन सक्छ । किनभने गफ र आश्वाशन जतिदिएपनि बाबुरामले पद त्यागि हाल्ने छनक तत्कालकालागि देखिन्न । नत्र यीनले किन संविधान बनाउने कुरो एक रत्ति नगरि प्रधानमन्त्रीको राजिनामा मात्रै उचालिरहेका ? के प्रधानमन्त्रीले राजिनामा दिएर अर्को पुग्दैमा सबै समाधान नयाँ प्रधानमन्त्रीले गर्ने हो र ?

तपाइँको प्रतिक्रिया