बोल्नै पर्नेहरु चुपचाप

नगरिक समाजका अगुवा र स्वतन्त्र छबी बनाएकाहरु, जनताले औधी माया गरेकाहरु देशमा संकट पर्दा मुख बन्द गरेर बस्दैनन् । बसेकापनि थिएनन् बिगतमा । खास दल, राजनितिक पार्टी, नेता, भविष्यमा पद पाइएला भन्ने लोभ भन्दा तिनलाई समग्र राष्ट्रको माया हुन्छ । त्यसैले अप्ठेरो पर्दा तिनले मुख खोल्छन् । जनता जगाउँछन् । सडकमा ओर्लिन्छन् । कलम समात्छन् । दल, सरकार र अत्याचारीको मुटु हल्लाउँछन् । किनभने संकटको बेला तिनका कुरा सुन्ने, पार्टी र नेता प्रति बित्रिष्णा हुँदा जनताको आसा र भरोसा गर्ने तिनै हुन्छन् । त्यसैले जनता तिनले जगाउँदा जाग्छन्, पत्याउँछन् । तर अहिले लाग्छ, देशमा केहि भएकै छैन । आनन्द छ । कुनै संकट छैन । नत्र यस्तो संकटपूर्ण अवस्थामा यी नागरिक समाजका अगुवा मध्ये धेरै कहाँ बिलुप्त भएका ? जनताले आसा गरेका, माया बोकेका, पत्याइएकाहरु बोल्नै पर्ने बेला किन चुपचाप बसेका ?

राजतन्त्र ढलाउने बेला जनता निराश भए । न त नेपाली कांग्रेसले जगाउन सक्यो । न एमालेलाई पत्याए । न सानातिना दलका कुरा सुने । न मै हुँ भन्ने नेताले भनेको टेरे । त्यो बेला सडकमा निस्किए नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, मह जोडी, नेपाल पत्रकार महा संघका अध्यक्ष विष्णु निष्ठुरी, डा देबेन्द्रराज पाण्डे, क्रिष्ण पहाडी, रामेश र रायन । कांग्रेसको चार तारे झण्डा मुनि भएपनि चोटिला गीत र ब्यंग्य लिएर सडकमा उत्रिए नन्द क्रिष्ण जोशी । श्याम श्रेष्ठ, पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, डा सुन्दरमणी दिक्षित, कनकमणी दिक्षित । यस्ता केहि अरुपनि थिए । सिकेलाल, पुरुषोत्तम दहाल, कनकमणी जस्ताका तिखा कलमले उर्जा दियो । यीनैको राप, ताप र कलमले सिंगो नेपाल जगायो । जनता जुरुक्कै उठे । तर अहिले ति पात्रहरु मध्ये श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला, पद्मरत्न, सुन्दरमणी र कनकमणी सक्रिए छन् । बाँकि कता गए ?

तर हाल नेपाली समाजमा कुनै न कुनै रुपमा सक्रिय देखिएका मध्ये पनि धेरैले स्पष्ठ रुपमा मुख खोलेका छैनन् । तिनले संघियता, जातिय र सांस्क्रितिक पहिचान, कस्तो राज्य, कस्तो संविधान आदिका बारेमा खुलस्त बिचार राखेका छैनन् मल्ल के सुन्दर, खगेन्द्र संग्रौला, पद्म रत्न तुलाधर, डा सुन्दर मणी दिक्षित, कनक मणी दिक्षित र श्याम श्रेष्ठले बाहेक । देश र समाजलाई अप्ठेरो परेको बेला चुप चाप बस्ने ? सहि बिचार, निकास र देशलाई अग्रगमनमा कसरि लान सकिन्छ भन्ने स्पष्ठ धारणा त अप्ठेरो परेलानै दिने हो नी । सजिलो परेको बेला त जोपनि उफ्रिन्छ । तर अहिले देश र समाजलाई अप्ठेरो परेकै बेला नरहरी, क्रिष्ण पहाडी र देबेन्द्र पौडेलहरु चुपचाप बस्ने ?

देश सायद सबै भन्दा संकटपूर्ण अवस्थामा छ अहिले । अहिले झैं नेपाली समाज सायद यस अघि कहिल्यै बिभाजित थिएन । देश कता जाने ? कस्तो बन्ने संविधान ? सांस्क्रितिक पहिचान सहितको राज्य बन्ने ?  जातिय पहिचान के हुने ? कस्तो संघिय राज्य बन्ने ? संविधान बन्ने कि नबन्ने ? बने कस्तो बन्ने ? कसका पक्षमा बन्ने ? नबने देश के हुने ? अन्यौलनै अन्यौल छ । यस्तो बेला नागरिक समाजका ब्यतिहरु चुप्प नलाग्नु पर्ने हो । जनताले माया गरेका कलाकार, जनताको मनले खाएका ब्यक्तिहरु चुपचाप नलाग्नु पर्ने हो । तर ति चुप्पै छन् । तिनको मौनता देख्दा तिनलाई हाइसञ्चो छ । तिनलाई पिर छैन । राजतन्त्र फालेर गणतन्त्रमा देशलाई ल्याउन कम्मर कसेकाहरु जनताका वास्तबिक माग र अधिकार सुरक्षित नभै पन्छिएका, पाखा लागेका छन् । एक किखिमले भन्दा जे देखाएर, जुन प्राप्तिकाको लागि आश्वस्त पारेर जनता जगाए त्यो प्राप्त नहुँदै अन्यौतामा धकेलिएका बेला ति जनताको नजरबाट गुप्तबास भएका छन् ।

गणतन्त्र स्थापित भएपछि हाम्रा नागरिक समाजका अगुवाहरुपनि बिभाजित भए । कोहि एमाले बने । कोही माओवादीतिर । कसैलाई नेपाली कांग्रेसकै नीति मन पर्‍यो । तर भयो के भने नेपाली समाज राजनितिक पार्टी र बर्ग बिभेदमै सिमित रहेन । जनजातिका अधिकार, सांस्क्रितिक पहिचान, जात र आधिबासीकाको पहिचानमा गएर अल्झियो । संघियता र जातिय पहिचानका विषयमा अहिले नेपाली समाज बिभक्त भएको छ । त्यसैले यी अगुवाहरुले सायद अहिले मुख नखोलेका होलान् । आ…. बोले के बोल्ने ? जनजातिका पक्षमा बोल्दा बाहुन क्षेत्रीको बिरोधी भइन्छ भन्ने लाग्दो हो । जातिय पहिचान, सांस्क्रितिक पहिचानलाई मान्यता दिनु हुन्न भन्दा कि त मन नै नरमाउँदो हो कि त जनजतिको बिरोधी भइन्छ भन्ने त्रास हुँदो हो । यीनले संघियता नबुझेर पक्कै होइन, मौन बसेका । जातिय, सांस्क्रितिक पहिचान दिँदा के हुन्छ भन्ने ज्ञान नभएरपनि पक्कै मुख नखोलेका होइनन् । तरपनि श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला, पद्मरत्न तुलाधार, मल्ल के सुन्दर, सुन्दरमणी दिक्षित, कनकमणी दिक्षित बाहेक अरुले मुख खोलेका छैनन् ।

सिकेलाल, नरहरी र महजोडीको उपस्थिति त देखिन्छ समाजमा कुनै न कुनै रुपमा । तर फरक नपर्ने रुपमा । अहिलेको समस्या र एजेन्डाका बारेमा स्पष्ठ नखुलिकनै उपस्थित छन् ति । अचम्म त के छ भने पार्टी कारबाही खेपेरै भएपनि गणतन्त्रको एजेन्डा पार्टीमा प्रबेश गराउने नरहरी आचार्य संघियता र जातिय, सांस्क्रितिक पहिचानका बारेमा मौन जस्तै छन् । किन होला ? आचार्यको कुनै न कुनै रुपको उपस्थितिले सबै पार्टी र स्थानिय स्तरमा ठूलो महत्व राख्छ । तैपनि यी चुप छन् ।

तर बुझ्नु पर्ने के छ भने देशबाट राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदैमा यीनको भूमिका सक्किएको छैन । गणतन्त्र आयो भने समग्र जनताको भलो हुन्छ भनेर यीनले दिएको आश्वासन, देखाएको समतामुलक समाजको निर्माण अझै भएको छैन । जनताका बास्तबिक समस्या अझै हल भएका छैनन् । त्यसैले यीनको सक्रिय भूमिका अझै पुरा भएको छैन । त्यसैले यीनले मुख खोल्नै पर्छ । र नेपाली जनतालेपनि यीनलाई चुप्प बस्न दिनुहुन्न । यी चुप्प लाग्नु भनेको बिगतमा यीनले जगाएको जनताको सक्रियतालाई अनादार गर्नु हो । संकटपूर्ण घडीमा पानी माथिको ओभानो हुने दुस्साहस हो । त्यसैले म भन्छु संघियता, संघिय राज्य, सांस्क्रितिक र जातिय राज्यमा तिम्रो मत के हो ? अडान के हो ? बोल क्रिष्ण पहाडी, बोल डा देबेन्द्र पाण्डे, विष्णु निष्ठुरी, रामेश र रायन लगायत जनताले पत्याएका कलाकार र नागरिक समाजका अगुवाहरु !

तपाइँको प्रतिक्रिया