२२ दलको हुति देखियो, अब माओवादीको पालो
(भित्र केहि प्रतिक्रिया हेर्नुस्)
बाबुराम भट्टराईको सरकारलाई सडकबाटै ढाल्ने फाइँफुट्टी लगाएका थिए २२ दलले । सडकबाटै सरकार अपदस्त गर्ने गफ हाँकेर के गर्नु ? हिजो खुलामञ्च्मा भएको आमसभाले देखायो “बिचराहरुको शक्ति कति रहेछ ।” शक्ति प्रदर्शन भन्दै २२ दल जम्मा भए । २२ दल भनेपछि त जनताको अपार समर्थन, विश्वास र भरोसा हुनुपर्ने हो । तर तिनको कार्यक्रम हेर्दा सरकार पक्षलाई हौस्याएको हुनुपर्छ । किनभने २२ दलले शक्ति देखाउने भन्दै गरेको आमसभामा ३५ देखि ४५ हजार भन्दा बढिको सहभागिता देखिएन भनिँदै छ ।
आमसभा आयोजक पार्टीहरुतिर यस्सो निकट लागे बढाएर भन्लान् । आमसभा आव्हानकर्तालाई मन नपराउनेले १० हजार भन्लान् । तर आज ब्यक्त गरिएका स्वतन्त्र बिचार, त्यहाँ पुगेका पत्रकार र कुनै पार्टीसित पनि खासै साइनो र निकटता नगाँसिएकाको मूल्यांकन सुन्दा पनि २२ दलको शक्ति प्रदर्शन प्रभावकारी देखिएन । प्रदर्शनको हालत बिजोग थियो ।
२२ दलसित कति रहेछ त जनमत ? २२ राष्ट्रिय दललाई मन पराउने, साथ दिने जनता कति रहेछन् ? एउटा दलसित करिब दुइ हजार जनता । एमाले र नेपाली कांग्रेसका होलान् अधिकांश । बाँकि नाम नै नसुनेका दलका कति हुने ? त्यसो त नेपाली कांग्रेस र एमालेलेनै पनि २०४६, २०५२, ६०, ६२ सालसम्म यस्तो आमसभा आव्हान गर्दा खुला मञ्च टन्न भरिन्थ्यो । मान्छेहरु पानीमा भिजेरपनि सुन्थे । तर अहिले ? जतिसुकै धाक लगाएपनि जनताको विश्वास टुटिसकेको रहेछ । पटक पटक सत्तामा गए । ठगे । खाए । देश बेचे । उद्दोग बेचे । कलकारखानापनि धराशायी बनाए । महँगी बढाए । भ्रस्टचार गरे । देशका नदीनाला बेचे । देशलाई कंगाल बनाए । जन आन्दोलन भयो । फेरिपनि संविधान बनाउने भनेर चार वर्ष भत्ता खाए । झण्डा हल्लाउँदै गाडीमा सरर मस्ति लिए । देश बिदेश घुमे । तर बनेन संविधान । दोष एकले अर्कोलाई दिएपनि पार्टीहरु कुनै चोखा छैनन् भन्ने बुझे जनताले । के सुन्ने तिनका कुरा ? वाक्कै भैसके जनता । २० वर्ष भन्दा लामो समयदेखि नेत्रित्वमा बसेका थिए हिजो भाषण ठोक्ने नेता । अनि तिनका उहि हरेक दिन बासी, अरु दललाई गाली गरेर आफू पन्छिने भाषण के सुन्नु ?
वाक्क त पक्कै माओवादी सरकारबाटपनि भएका छन् जनता । के दियो र माओवादी सरकारलेपनि ? त्रास दियो । महँगी दियो । अनिश्चितता दियो । अरुलाइ दोष लगाउन सिपालु बन्यो । चुनावमा खाएका बाचा भुल्यो । सरकारमा गएका नेता किर्ना झैं ढाडिए । सोखिन बने । चार वर्ष सम्म सुशासन दिन्छु, देशलाई स्विजरल्याण्ड बनाउँछु भनी भनी बिदेश घुमेका माओवादी नेताले संविधान दिन सकेनन् । संविधान सभानै बचाउन सकेनन् । अनि उसित जनता के वाक्क छैनन् होला र ? अब माओवादीले असार १ गते राखेको छ प्रदर्शनी । उसको कस्तो हुन्छ हेर्न बाँकि छ ।
तर फरक के भने उ सित २२ दल छैनन् । आफ्नै पार्टीमापनि क्रान्तिकारी धारको नेत्रित्व गर्ने भनिएका मोहन बैध्य पक्षपनि बाबुराम र प्रचण्डले घोषणा गरेको संविधान सभाको निर्वाचनको पक्षमा छैनन् । त्यसैले तिनको प्रदर्शनीपनि हेर्न लायकको हुने छ नै । आखिर माओवादीले जनतालाई दिएको के छ ? दिने के नै छ र जनता चुनावकालागि भनेर र्याल चुहाउँदै सुन्न आउने ? तर सत्ता र शक्तिमा बसेकोले सबै प्रयोग गरेर, मान्छे ओसासेरपनि “लौ देख्यौ हाम्रो पक्षमा जनता ? देख्यौ निर्वाचनका पक्षमा जनता?” भनेर देखाउनपनि मान्छे ओसारिओसारी भिड जम्मा पार्न सक्छन् ।
हिजो २२ दलले खुला मञ्चमा शक्ति प्रदर्शनका लागि गरेको आमसभाबारे फेसबुकमा ब्यक्त केहि धारणा हेर्नुस् है त ?
रबीन्द्र मिश्र
नेपाली कांग्रेस र एमाले जस्ता ठूला लगायत २२ वटा दलले आयोजना गरेको ‘शक्ति प्रदर्शन’ आमसभामा ४० हजार मानिसहरूको पनि सहभागिता नभएको त्यहां पुगेका पत्रकारहरू बताउंदैछन्। सालाखाला हिसाब गर्ने हो भने एउटा दलको भागमा २ हजार भन्दा पनि कमको सहभागिता पर्न आउंछ। ती पनि आम सर्वसाधारण नभएर संभवत: अधिकांश पार्टीका कार्यकर्ता होलान्। यसले के कुरालाई संकेत गर्दछ ? आयोजकहरूले भन्नेछन्, चर्को गर्मीका कारण सहभागिता कम भएको हो। तर उनीहरूले ६२/६३ र त्यो भन्दा अघिका शक्ति प्रदर्शन सम्झिए हुन्छ जतिबेला चैत/बैशाखको धुपमा लाखौं मानिसहरु सडकमा उत्रिएका थिए।
खुट्टी देख्दै छनक पाइयो । आगामी निर्वाचन……।
सन्देश सुबेदी
यो त खुट्टी होइन उपरखुट्टी हो सँबिधान सभाको, जनताको अभिमतको । जनादेशको घोर अपमान भन्न रुचाउँछु म त यसलाई
राम महर्जन
नेता पिट्ने कार्यक्रम भएको भए धेरै हुन्थ्यो नी




