सर्वसत्तावादको बिरोध भन्दै सर्वसत्ताबादनै लाद्ने दाउ त हैन ?
हामीले भनेको नटेरे तराई टुक्रा पारिन्छ । एक मधेश एक प्रदेश नमाने तराईलाई अलग पारिन्छ भन्दै देश टुक्रा पार्ने मधेशी दल नामका बिखण्डनबादीलाई चोख्याउने काम गरे माओवादीले । राष्ट्रियताका विषयमा कम्युनिष्टहरु कट्टर हुन्छन्, बढि सचेत हुन्छन् भन्ने मान्यतालाई धोती लगाएर सत्ताकालागि जस्ता सुखै बिखन्डनकारीलाईपनि काखि च्याप्न तयार हुन्छन् नेपालका क्रान्तिकारी कम्युनिष्टहरु भन्ने देखाए माओवादीले । त्यहि दक्षिणको हावामा लुटपुटिएर देश टुक्रा पार्न तम्सिनेहरु अहिले माओवादीका प्रिय बनेका छन् प्रजातन्त्रकालागि सँगै लडेकाहरु भन्दा ।
बिद्वान प्रधानमन्त्रीले त हाकै भनिपनि सके “मधेशी दल र माओवादीले अग्रगमनको प्रतिनिधित्व गर्छन् भने कांग्रेस र एमालेले पक्षगमनको ।” सत्ता जोगाएर कुर्सीमा टाँस्सिनैकोलागि देशलाई बिखण्डन गर्ने धमास दिनेहरुलाइ अग्रगमन देखे विद्वान प्रधानमन्त्रीले । उनलाई पनि उछिनेर, उनैको सिको गरेर वा उनीभन्दापनि अझ अगाडि बढेर अर्का प्रतिक्रियावादीहरुलाई सक्रिय पार्दै छन् कांग्रेस र एमाले ।
सौताको रिसले लोग्नेको गला रेट्ने भन्ने उखान छ क्यारे नेपालीमा । अहिले नेपाली कांग्रेस र एमाले त्यसै गर्न तम्सिएका छन् । आज उनीहरुले सरकार बिरुद्द आमसभा आव्हान गरेका छन् । प्रजातन्त्रकालागि रे आजको आमसभा । सरकार र माओवादीको सर्वसत्तावाद बिरुद्ध रे । तर सर्वसत्ताबाद बिरुद्द भन्दै आव्हान गरेको आमसभामा अतिथि चाहिँ सर्वसत्ताबादीहरुलाई नै बनाएका छन् । यो मुलुकको सर्वसत्ताबादी सूर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द भन्दा बढि को होला ? यस मुलुकमा चन्द र थापाले जति सर्वसत्ताका लागि कसले मरिमेट्यो होला ? अहिलेपनि त्यहि सर्वसत्ताकालागि ति मरिमेटेको कसलाई जानकारी छैन होला ? शेरबहादुर देउवा जस्तो भएको बहुदलिय प्रजातन्त्र लगेर राजाका पाउमा चढाउने सर्वसत्ताबादी अरु को होला ? कि नेपाली कांग्रेसको चार तारा मुनी ओत लाग्नासाथ सर्वसत्ताबादको असली अनुहार छ्याँङ्ङ हुन्छ ? कि सरकार ढाल्ने बेला सबै खाले सर्वसत्ताबादी पखालिन्छन् ?
आज नेपाली कांग्रेस, एमाले लगायतका दलले आव्हान गरेको आम सभामा प्रमुख बक्ता मध्येनै सूर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द्र र शेरबहादुर देउवा । यीनले आज लोकतन्त्र बारे जनतालाई भाषण दिने । सर्वसत्ताबाद बिरुद्द बोल्ने आम जनताका अगाडि । नेपाली कांग्रेस र एमालेको लोकतान्त्रिक विश्वास, भरोसा र प्रजातन्त्रको मुकुण्डोलाई थापा र चन्दको भाषणले बगाएर लैजाने छ । सर्वसत्ताबादका बिरुद्द बोल्ने यी भन्दा असल बक्ता को होलान् जसले नेपाली कांग्रेस र एमालेलाई थप नांगो पार्ने छ । त्यसो हुनु भनेको लोकतान्त्रिक शक्तिहरुनै अझ कमजोर हुने हो, प्रजातन्त्र बिरोधीहरु थप बलिया हुने हुन्, चोखिने हुन् भन्ने यीनको घैंटामा कहिले बतास लाग्ला ?
हिजो तिनै सूर्य बहादुर थापा र लोकेन्द्र चन्दको सर्वसत्तावाद बिरुद्द लडेका हुन् कि होइनन् नेपाली कांग्रेस र एमाले ? तिनैले सर्वसत्ताबादी भनेर आव्हान गरेको आन्दोलनमा जुरुक्क उठेर ज्यान दिएका हुन् कि होइनन् जनताले ? आज कसरि चोखिए ति ? जनताको मुक्तिको लागि आन्दोलन गरेका जनतामाथि राजाको सर्वसताबादकालागि दमन गर्ने लोकेन्द्र बहादुर चन्द र सूर्य बहादुर थापा कसरि प्रजातत्रवादी भए ?
एमाले अध्यक्ष झलनाथ खनालले दाबी गरेका छन् “आजको आम सभा मुलुकका सबै लोकतान्त्रिक, देशभक्त र शान्ति र संविधानबादी शक्तिहरुलाई एकतावद्ध गराउनको लागि हो ।” आफू सत्तामा नहुँदा बित्तिकै कसरि सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द्र लोकतान्त्रिक, देशभक्त र संविधानबादी भए ? जिवनभर राजतन्त्रको सर्वस्त्ताबादका लागि जनतालाई दमन गर्दै आएका, हत्या हिंसा मच्चाउँदै आएका थापा र चन्द्र कांग्रेस र एमालेकालागि लोकतान्त्रिक कहिलेदेखि बनेका हुन् ?
सरकार असफल सिद्द भैसकेको छ । यसलाई राख्ने होइन कि राष्ट्रिय सरकार गठन गर्नुनै उपयुक्त हो । संवैधानिक तरिका र सहमतीमा नछोडे जनताको बलले निश्काशन गर्ने दिन आउला नै । तर आफु सरकारमा जानकैलागि, सरकार बिरुद्द उत्रिनकै लागि देशघाती, प्रजातन्त्रका वैरी र सर्वसत्तावादीलाई चोख्याउने कांग्रेस र एमालेको नियतलाई के भन्ने ? सर्वसत्ताबादीहरुलाई लोकतान्त्रिक भन्दै चोखिने वातावरण बनाएर कांग्रेस र एमालेले कतै अर्को सर्वसत्ताबाद लाद्न खोजेका त हैनन् ?
(फोटो: नागरिक न्युज)




