माओवादी सरकारका यि पनि त हुन नी सकारात्मक काम

 (फर्वरी १२ मा माओवादीले एउटै गरेन राम्रो काम ? लेखको बाँकि भाग)

रञ्जन

cpn-maoist-flag.jpgभलै देशभरि सरकारले औषधी पुर्‍याउन त सकेको छैन नै तरपनि देशभरिका स्वास्थ्य चौकीहरुमा उपचार निशुल्क गराएको छ । कम्तिमा औषधी पुगेका ठाउँमा त गरिबले पैसा तिर्नु परेको छैन सानोतिनो उपचारका लागि । जहाँ औषधी पुर्‍याउन सकेको छैन सरकारले कम्तिमा त्यहाँ जनता “हामीलाई औषधी देउ” भन्दै आवाज त उठाएका छन । घच्घच्याएका छन र सरकारलाई औषधी पुर्‍याउन बाध्य पारेका छन ।

पहिले एक त निकै कम जिल्लाबाट मात्रै बन्थ्यो राहदानी । अहिले सबैजसो जिल्लाबाट बन्छ । अनि कति तिरिन्थ्यो घुस एउटा पासपोर्ट बनाएको ? के घुस बिना बन्थ्यो पासपोर्ट ? अनि कति दिन, हप्ता र महिना धाउन लगाउँथे नाथे एउटा पासपोर्टको लागि ? अहिले के उस्तै छ त ? कम्तिमा पासपोर्ट त उहि दिन बन्छ जिल्ला जिल्लाबाट । अनि एक रुपियाँपनि घुस दिनु पर्दैन पासपोर्ट बनाउन । अपबादलाई छोडेर । अनि पासपोर्टका लागि कति नेताका दैला चहार्नु पर्थ्यो लौ न सिफारिस गरिदिनुपर्‍यो भन्दै । अनि नेपाली कांग्रेस वा एमाले समर्थक नभए त्यहि पाउनपनि कति मुस्किल पर्थ्यो ?

त्यहि पासपोर्ट बनाएपछि बल्ल तल्ल बिदेश जान खोज्दा कति ठग्थे दलाल र मेन पावर कम्पनीहरुले ? म अहिले ठग्दैन भन्दिन । ठगिरहेका छन तर के त्यसमा कमी आएको छैन ? उल्लेख्यरुपमा कमी आएको छ पहिले भन्दा । कमसेकम एमाले र अझ खासगरि नेपाली कांग्रेसको जस्तो कित जिल्ला र स्थानिय तहकै नेता कार्यकर्ता संलग्न भएर ठग्ने कित तिनका नेताले ठगहरुलाई संरक्षण गर्ने त अहिले भएको छैन ।

तपाईहरुलाई संझना छ एमाले र नेपाली कांग्रेस वा पञ्चेको सरकारले ईन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्दा बजारमापनि घटाएको ? अन्तर्राष्ट्रिय बजार भाउ बढ्यो भने बढाउने तर घट्यो भने कहिल्यै घट्थेन । तर अहिलेको सरकारले कम्तिमा अन्तर्राष्ट्रिय बजारमा घट्दा केहि घटाउने त गरेको छ । यति छोटो समयमा त्यसलाई समायोजन गर्न खोज्नुपनि त सकारात्मक कुरानै हो नी ।

माओवादी सरकार आयो भने पर्यटन ब्यवसाय ध्वस्त पार्छन कम्युनिष्टको सरकारलाई पैसा जाने भयो भने पर्यटक आउँदैनन् भनेर खुब हौवा पिटिन्थ्यो होइन ? तर माओवादी नेत्रित्वको सरकार बनेपछि झन पर्यटक बढे नी होइन ? माओवादीले सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाएर १० लाख पर्यटक नेपाल ल्याउने घोषणा गरेको त्यसको लागि बिभिन्न तयारी गरिरहेको बिमान खरिदलाई प्राथमिकता दिएको पर्यटन सुधारका काम गरिरहेको अनि पर्यटन ब्यवसायको पक्षमा को रहेछ माओवादी कि पहिलेका भ्रष्टाचारी सरकार ? 

अहिले सरकारले जलबिद्दुतको क्षेत्रमा केहि गर्न खोजिरहेको छ । आफैं आफ्नो खुट्टामा उभिन सक्ने नीति ल्याउन खोज्दै छ । जनताको प्रत्यक्ष लगानीमा बिद्दुतिय योजना ल्याउँदै छ । यो राम्रो होइन ? हिजो नेपाली कांग्रेस र एमालेले के गरेका थिए ? कमिसन खाँदै बिदेशीलाई दिँदै । ठेक्कामा कमिसन, लाईसन दिँदा कमिसन, निर्माण कंपनी छान्दा कमिसन । अहिले सरकारले पारदर्शी रुपमा जनताको प्रत्यक्ष लगानीमा गर्न खोज्दै छ र त कांग्रेसलाई हिजोको कमिसन संझेर पोलिरहेको छ । एमालेले हिजो सरकारमा बसेका बेलामा झैं खान पाएको छैन र त घुर्की र निहुँ खोजिरहेछ । नत्र के एमालेले अहिले भन्दा पहिले राम्रो गरेको थियो र आज गर्न नपाएकोले निहुँ खोजेको हो त ? अनि के फोरमका गच्छेदार र जयप्रकाश गुप्ताले राम्रो गर्न नपाएकाले घुर्की देखाउने गरेका हुन त ? हिजो झैं माओवादी संलग्न सरकारले लुट्न नदिएकाले उनीहरुलाई चित्त बुझिरहेको छैन ।

माओवादीको नेत्रित्वमा सरकार बन्यो भने बिदेशीले एक पैसा दिँदैनन । नेपाली जनता नुन खान पनि नपाएर मर्छन भन्ने हल्ला खुब फिँजाएको थियो नेपाली कांग्रेसको सरकारले । के साँचो रहेछ त ? कसरि हिजो भन्दा आज धेरै कर उठ्दै छ । कसरि हिजो भन्दा आज बिदेशीले झन पत्याएका छन ? के त्यसरि नपत्याएको भए पहिलेको भन्दा झन ठुलो बजेट घोषणा गर्न संभव हुने थियो त अहिलेको सरकारलाई ? बिदेशीले पत्याउँदैनन भनिएको सरकारलाई झन बढि पत्याउनु सकारात्मक पक्ष होइन ? बरु नेपालीं कांग्रेसको सरकारलाई पो कम पत्याएका रहेछन त होइन ?

नेपाली कांग्रेस र एमालेले देशका नदीनाला कति बेचे बिदेशीलाई ? आफ्नो भूमी र सम्पदा बेचेर दाम कुम्ल्याएका थिए । देशका असमान सन्धि संझौतालाई आफ्नो देश अनुकूल बनाउनुपर्छ भनेर आवाज उठाए ? तर हेर्नुस त माओवादी नेत्रित्वको सरकार बन्नासाथ प्रधानमन्त्री प्रचण्डले नेपालको हित बिरुद्द भएका असमान सन्धी संझौताहरु पूनर्मूल्यांकन गरेर दुई देश अनुकूल हुनुपर्छ भनेर दह्रो अडान राखे भारत समक्ष । भारतिय पक्षलाई त्यसमा राजीपनि गराए । यदि नेपाली कांग्रेस, फोरम र एमालेसमेत मिलेर माओवादीलाई साथ दिने हो भने राष्ट्रिय सहमती कायम गरेर अहिलेनै ति असमान सन्धि संझौता खारेज गर्न सकिने अवस्था माओवादीले बनाएको छ । आफ्नो राष्ट्रियता र राष्ट्रिय हितकालागि यो भन्दा ठुलो काम अरु के हुन्छ ? 

कुनै एक परिवारवादको अन्त्य नी ? गिरिजाले हेर्नुस त कति भाँडे देश ? जहाँपनि गिरिजावाद । कोइरालाको पेवा जस्तो थिएन ? गिरिजा परिवार भनेपछि त हलो जोत्दै गरेको कुनै लठुवापनि हत्त न पत्त आएर मन्त्रीको कुर्सीमा बस्न पा उने । पार्टीमा स्थान पाउने । गणेशमान लाई रुवाएर होस कि भट्टराईलाई निकालेर होस । दमननाथलाई पाखा लगाएर होस कि नरहरीलाई अँचेटेर होस सधैं त्यहि कोइराला परिवारकै हालीमुहाली । के त्यो सेखी, त्यो धाक, त्यो बर्चस्व तोडेर केहि शिक्षा दिने काम माओवादीले गरेको होइन ? यसले के अरु पार्टी, सरकार, प्रजातान्त्रिक पद्दती र स्वयं नेपाली कांग्रेस पार्टीलाई फाईदा पुगेको छैन ?

कांग्रेस जस्तो सबैभन्दा पुरानो पार्टी सधैं सत्तामा टाँस्सिइरहने तर केहि गर्न नसक्ने । प्रतिपक्षमा बस्नै नजान्ने, नसक्ने । उ प्रतिपक्षमा गयो । अब केहि सुध्रिन्छ कि त सिद्दिन्छ । उसले अस्तित्वका लागिपनि केहि सिक्नै पर्छ । सरकार बाहिर बस्ने के हो अब जान्दछ उसले । प्रजातान्त्रिक पद्दतीकालागि फाईदा पुग्छ यदि कांग्रेसले सत्ता बाहिर  बसेर केहि सिक्यो र जिम्मेवार प्रतिपक्षको भूमिका निभायो भने । कांग्रेसलाई त्यो स्थितिमा पुर्‍याउने को त ?

यि त मुख्य अहिले तत्कालै देखिएका केहि सकारात्मक संकेत हुन् । माओवादी नेत्रित्वको अहिलेको सरकारका कमजोरीनै छैनन म भन्दिन । तर ति ज्यादै कम छन । माओवादी सरकारले ,यो भन्दापनि धेरै असल कामहरु गरेको छ । जनताले प्रत्यक्ष अनुभव गर्ने, रहत महसुस गर्ने कामहरु ल्याउन खोजिरहेको छ । छ महिनामै जनताका पक्षमा राम्रा नीतिहरु ल्याउनु राम्रो संकेत हो । केहि वर्ष काम गर्न दिए अवश्यै माओवादी नेत्रित्वको सरकारलेकेहि गरेर देखाउँछ। त्यसमा शंकै छैन । कम्सेकम दशौं वर्ष लुटेर खाएका एमाले र कांग्रेस पार्टीले छ महिनामै यो सरकारको आलोचना गर्न सुहाउँदैन । जनताले आलोचना गरेपनि । माओवादी सरकारले एमाले र कांग्रेसको पहिलेको सरकारलेझैं कम्सेकम राम्रो गर्न नसकेपनि नराम्रो गरेको छैन ।

माओवादी सरकार आयो भने पर्यटन ब्यवसाय ध्वस्त पार्छन कम्युनिष्टको सरकारलाई पैसा जाने भयो भने पर्यटक आउँदैनन् भनेर खुब हौवा पिटिन्थ्यो होइन ? तर माओवादी नेत्रित्वको सरकार बनेपछि झन पर्यटक बढे नी होइन ? माओवादीले सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाएर १० लाख पर्यटक नेपाल ल्याउने घोषणा गरेको त्यसको लागि बिभिन्न तयारी गरिरहेको बिमान खरिदलाई प्राथमिकता दिएको पर्यटन सुधारका काम गरिरहेको अनि पर्यटन ब्यवसायको पक्षमा को रहेछ माओवादी कि पहिलेका भ्रष्टाचारी सरकार ?

(प्राप्त लेखको आधा भाग सम्पादनकालागि सहयोग गरिदिने साथी दिपक बस्यालजीलाई धेरै धन्यावाद -नेपालप्लस)

तपाइँको प्रतिक्रिया