मृत संविधान सभा र जीवन्त सपनाहरु

लक्ष्मण देवकोटा

संविधान सभाको अवसान भयो । हेर्दाहेर्दै हाम्रा लोभी र लालची नेताहरुले यसको हत्या गरे । वर्षौदेखि जनताको पक्षमा संविधान लेखिनका लागि संविधान सभा चाहिन्छ भनेर उठेको आवाज पटक पटक समय थपिँदा पनि यत्तिकै सेलायो । रँगमंचमा यसबखत संविधान सभाका हत्याराहरुले काइते स्वरमा माफि मागिरहेका छन् । हुनत संविधान सभा नभएपनि जनताको दिनचर्या चलेकै छ । तर देशलाई उन्नतिको बाटोमा लैजान सबै वर्ग र क्षेत्रका मानिसलाई सँविधानमै अधिकारसम्पन्न बनाउने अभियान रोकियो ।

मेरो विचारमा निश्चित कार्यकालमा सँविधान नलेखेपछि यो संविधान सभाको औचित्य उहिल्यै सकिएको थियो । बहुमत माओवादीको पक्षमा भएपनि उसँग प्रष्ट बहुमत नभएको हुनाले फेरी समय थपेर पनि संविधान लेखिन सम्भव भएन । वास्तवमा संविधान सभा कसले र किन विघटन गर्यो ? समयले यसको सही मूल्याँकन गर्नेनै छ । अहिलेलाई जनताहरुले यसको वास्तविकता बुझ्न जरुरी छ ।

समाजमा शदीयौंदेखि हेपिएका र ठगिएकालाई आकर्षक नारा दिएर माओवादीले जनयुद्ध शुरु गर्यो । वेरोजगारी समस्याले थिलोथिलो भएका युवाहरु, समाजमा शाषित भएर बाँचेका दलितहरु, हेपिएका र दबिएकाहरु प्राणको आहूति दिएर जनयुद्धमा होमिए । तिनै जोधाहाहरु हुन् जसले टाउकाकोमोल तोकिएका नेताहरुलाई आज लाजिम्पाटको आलिसान बँगलामा पुर्याइदिएका छन् । तिनै शहीदहरुको बलिदानीबाट जन्मिएको हो संविधान सभा ।

अहिले कमल थापाहरुको हड्डी हाँसेको छ । काँग्रेस एमालेलाई हाइसञ्चो भएको छ । संविधान सभा त उनीहरुको एजेण्डै थिएन । संघियतामा जान त उनीहरु चाहिरहेकै थिएनन् । त्यसैले संविधान सभाको विघटनसँगै सघियताको एजेण्डा अगाडि सार्ने माओवादी पराजित भएको छ । बाबुराम भट्टराईलाई बर्खास्त गरिएपनि राखिएपनि त्यो उतिसारो महत्वको विषय होइन । विषय त संविधान सभाका निम्ति त्यतिका मानिसहरुको बलिदानी दिएर, त्यति लडेर संविधान लेखिने अन्तिम धुकधुकी रहँदासम्म जुधिरहेको माओवादीलाई पछार्न सफल तत्वको विजयको सन्दर्भ हो । संविधान नबनेपछि अहिले सम्मका सबै कुरा बदर भएका छन् ।

सँविधान किन बनेन त ? वास्तवमा अहिलेको सँविधान सभाले नयाँ संविधान जारी गरेको भए त्यसको सफलताको जस माओवादीका टाउकामा जान्थ्यो । जुन कम्युनिष्ट भनेपछि टाउको दुखाउने पश्चिमाहरुको निम्ति खुशीको विषय छँदै थिएन । उदाउँदो महाशक्ति भारतका निम्ति नेपालमा शान्ति भएको देखिसहनु छैन । सकेसम्म लडाएर भिडाएर फाइदा लिने र नेपालको प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्ने उसको त रणनीति नै हो । त्यसो हुनाले संविधान बन्ने अन्तिम बेलासम्मपनि उनीहरुको चलखेल तिब्र भयो । वीरगंजमा भारतीय कन्सुलर बोलेको कुरो र जयन्त प्रसादको दौडधूपले छर्लँगै देखिने गरी भारतको चलखेल बाहिर आयो । सबैले देखिजानेकै कुरो हो यो । जनतालाई अधिकारसम्पन्न भएको देख्न नचाहने सम्भ्रान्त वर्गको सपना यसबखत पूरा भएको छ । हतियारको विषयमा किचलो थापेर समयको अन्तिम क्षणमा राज्य व्यवस्था समिति मार्फत किचलो मच्चाएर सँविधान बन्न नदिइएकै हो ।

अब डरलाग्दो भीरमा पुगेको छ माओवादी । हिजोको लडाका माओवादी आज छैन । हतियारहरु सबै बुझाएर निशस्त्र भएको छ माओवादी । उसँग शहरिया ठूलाबडाको उठवस छ । पैसाको खेलो छ त्यहाँ । ठेक्कापट्टादेखि लिएर तस्करी सम्ममा उ मुछिएको छ । बाँचे राज्य जितौला मरे शहीद भनेर कसम खाएर दुश्मनका अगाडि छाती थाप्नेहरु अपमानित भएर अरबका खाडीतिर लागेका छन् । हिजका सुकुमवासी माओवादी नेताहरु आज रेडलेबल नभै निद नलाग्ने हुकुमवासी भएका छन् । समय बदलिएको छ । आफ्नै दलभित्रको किचलोमा उ फसेको छ ।

चित्र बहादुर केसीले भने जस्तो देश जातीय द्वन्द्वमा फसेन । संघियता आएको भए जाती जातीको काटाकाट हुन्थ्यो भनेर संविधान सभाको विघटनमा सन्चले निदाउनुको कुनै अर्थ छैन । जातीय विध्वँश मच्चाएर काटाकाटको वातावरण ल्याउन चाहने संघियता विरोधीको ध्येय पो पूरा भएको हो । यसबाट घाटा हुने भनेकै मूल प्रवाहमा आउन नसकेका उत्पीडितहरुलाई नै हो । नयाँ नेपालको सपना देखेका लाखौँ युवाहरुलाई नै हो । स्वदेशमै मिहिनेत गरेर परिवारसँग हाँसिखुशी बस्न खोजेका लाखौँ प्रवासी जनहरुलाई हो । नेपाललाई अर्को झगडामा फसाएर फाइदा लिन खोज्नेहरुलाई त रमाइलै भएको छ ।

अब समाज ध्रुवीकृत भएको छ । आफ्नो एजेण्डामा फेल भएको माओवादी र पुरातन चिन्तनबाट फेरिन नचाहने प्रवृत्तिहरुका बीच फेरि एकपल्ट झडप हुनेछ । यसबखत यौटै कुरो जनताले देखेको जीवन्त सपनालाई मर्न दिनु हुँदैन । धैर्यता गुमाउने हो भने समाज फेरि अर्को डरलाग्दो द्वन्द्वमा फस्ने छ । यौटा कुरा भने स्पष्ट छ, एमाले काँग्रेसले संविधान सभाको म्याद थप्न खोज्दा पनि विरोध गरे । संविधान सभा भित्रै सहमतिका बाटाहरु खोज्दा पनि भागे । अहिले चुनावको घोषणामा विरोधै गरिरहेका छन् । मोर्चाबन्दी नै गरेर उनीहरुले विरोध शुरु गरेका छन् । यही प्रवृत्तिले नै प्रष्ट हुन्छ

संविधान सभा भित्रबाट संघियता र जातीय मुक्तिको नारा असफल बनाउने को हो भन्ने कुरा सत्ताबाटै जे पनि जितिन्छ भन्ने एमाले र नीतिनियम भन्दा पनि चाकरी चाप्लुसीमै पार्टी चलाउने काँग्रेसले गुमाएको साखसँगै माओवादी पनि जनताबाट चिप्लिएको छ । देशमा कसैले सञ्चो मान्ने अवस्था छैन । संविधान सभाको विघटनसँगै हाम्रां सपनाको पनि विघटन भएको छ । यो पराजय सबैको पराजय हो ।

(देवकोटा नेपाल पत्रकार महासंघका पूर्व पार्षद नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सचिव हुन् । उनले आफूलाइ लागेको विषयमा स्वतन्त्रपूर्वक नेपालप्लसमा नियमित स्तम्भ चलाउने बचन दिएका छन् । )

तपाइँको प्रतिक्रिया