दुतावासमा दादागिरी (भिडियो सहित)

आइतबार म बेल्जियम आएँ । केहि साथीहरुले दुतावासमै आउनुस् भेटघाट गरौंला भनेका हुन् । तर मैले उपस्थित हुन मानिन । त्यहि साँझ थक्क थक्क लाग्यो । किनभने गणतन्त्र दिवस मनाइरहेका बेला दुतावासमा हाटहुट भएछ । कार्यक्रममै दुतावासका मिनिस्टर काउन्सिलरलाई जनप्रगशिल मञ्चका सुरेन्द्र भुसालले चोर औंलो ठड्याइ ठड्याइ थर्काएछन् ।

साँझ त्यो सुन्दा ‘हत्तेरीका त्यो नाटक हेर्न त पाइन्थ्यो जानु पर्ने रहेछ” भन्ने लाग्यो । बेल्जियमको नेपाली समूदाय अहिलेसम्म त्यो दिनको चोर औंलो काण्डले तातिरहेको छ । यसो कोहि भेट्दा “हैन के दादागिरी देखाएको सुरेन्द्र भुसालले” भन्छन् । कोहि “बिचरो मिनिस्टर काउन्सिलर  कुमार राज खरेल” भन्छन् । अनेक कोणबाट विष्लेशन गरिँदै छ । कार्यक्रमको पारा हेर्दा दुतावासले केहि अक्किल नपुर्‍यएको त हो नै । त्यसरि दादागिरीनै देखाउनुपर्ने र माफी माग्नुस् भनेर थर्काउनुपर्ने गल्ति गरेको भने देखिन्न । सत्ता र शक्तिको आडमा हो कि ठूलोबडे हुँ म त, बोल्न पाउनुपर्छ भन्ने मानशिकता हो कुन्नी । तर त्यत्रा नेपाली जम्मा भएको कार्यक्रममा त्यसरि औंले ठड्याएर थर्काउनु जायज थिएन ।

भएको के रहेछ त ?

आइतबार गणतन्त्र दिवस मनाउने कार्यक्रम थियो । दुतावासले नेपालीहरुलाइ निम्ता गर्‍यो । बेल्जियममा नेपाली भन्दा नेपालीका संस्था बढि छन् । ७२ वटा संस्थामा कार्यकारी समितिमै ११ जनाको दरले भाग लगाउँदापनि बेल्जियमका सबैजसो नेपालीलाई भाग पुग्छ ।  पदवाला, ढुलाबडा झैं देखिन्छ । संघ संस्थाबिच आआफ्नो शान, मान, बैमनस्यता, प्रतिस्पर्धा अनेक छ । हरेक संस्थैपिच्छेलाई बोल्न दिए भाषणमै तिन दिन लाग्छ । अनि दुतावासले भाषण गर्न दिएन । एन आर एन अध्यक्ष जानकी गुरुङलाई शुभकामना दिन लगाएछ । उनी नेपाली कांग्रेसकी मान्छे एन आर एन अध्यक्ष भएपनि । तर उनले सामान्य तरिकाले नै शुभकामना दिइन् । चुरो कुरो यहि हो । ए हामीलाई बोल्न नदिने ? एन आर एनको अध्यक्षलाई किन बोल्न दिएको ? हाम्लाई चाहिँ किन नदिएको ? मुख्य कुरो यहि हो । तर निहुँ बनाइयो अर्कै । “राजनितिक पार्टीहरुका सबै प्रतिनिधीलाई बोल्न दिने सोचाइ छैन । एक त त्यसले राजनितिक भाषण गर्न दिँदा यहाँ बिबाद निम्तिन्छ । अर्को कुरो गणतन्त्र दिवस मनाउँदा प्रधानमन्त्री राष्ट्रपतीलेपनि बोल्न दिँदैनन् । शुभकामना सन्देश ब्यक्तिगत रुपमा उपस्थित भएर साटिन्छ” भने मिनिस्टर काउन्सिलर  कुमार राज खरेलले । यो ठिकै हो ।

तर दादागिरीनै देखाउनु छ भने त जसरिपनि देखाउन सकिने भो । अहिले आएका राजदूत राममणी पोख्रेललाई नेकपा माओवादीले नियुक्त गरेको हो । जनप्रगतिशिल मञ्च बेल्जियम नेकपा माओवादी को भात्री संगठन । “हाम्रै पार्टीका मान्छे, हाम्रै पार्टीको सरकार, हाम्रै प्रधानमन्त्रीले नियुक्त गरेका । अलिअलि दादागिरी त चलाउनै पर्छ” भन्ने मानसिकता आइहाल्ने भो । आफ्नो पार्टीका राजदूत हुँदापनि त्यो एन आर एनले स्थान पाउने, जो नेपाली कांग्रेसकी सदस्यपनि हुन् । हामीले किन नपाउने ? तर निहुँ चाहिँ सुरेन्द्र भुसालले अर्कै बनाए ।

खरेलले जलपान कार्यक्रममा व्यक्तिगत रुपमा एकआपसमा गणतन्त्र दिवसको खुशी साटासाट गर्न सकिने बताएका थिए । यो अवशरमा गफगफ गर्न सकिन्छ । तर राजनैतिक विचारहरुबाट गणतन्त्रको व्याख्या गर्न थाले देशमा देखिएको अन्यौलता माथि झन प्रहार हुनसक्छ । दुताबासको कुटनैतीक मर्यादा भित्र पनि त्यो पर्दैन । यति भनेपछि सुरेन्द्र भुसालले त्यसलाई आफुखुशि अर्थ लगाए ।

उनले चाहिँ राजनैतिक दलहरुलाई बोल्न दिए झगडा हुन्छ भन्ने अर्थ लगाएर हप्काउन थाले “बोल्न नदिए केही भएन तर त्यसो भन्नु हुँदैनथ्यो । तपाइले माफी माग्नुस्, माफी नमागी हुन्न” भनेर खुब जंगिए । एक्कासि चर्को चर्को स्वर सुनेपछि नेपालीहरुनै के भएछ भनेर जिल्ल परेका थिए । नेपालको कर्मचारीतन्त्र । नेतालाई लगाएर उठिबास लगाउला भन्ने पिर । झन माओवादीकै राजदूत आएका । डराएछन् काउन्सिलर । उता कार्यक्रम भाँडियो भने झन आपत । अनि हत्ता न पत्त “यदि मेरो कुराले उहाँको भावनामा चोट पुगेको हो भने म माफी माग्छु” भनिहाले मलिनो स्वर लगाएर । उपस्थित अन्य नेपालीहरुले  कुमार राज खरेलले गल्ति नगरेको भनेर आड दिन खोज्दा खोज्दै उनी आत्तिएर माफी मागिहाले ।

लुते देखिए काउन्सिलर । हुन त उनको यो महानता, आदर्स र बुझक्कि पन अनि सदाशयतापनि हो उनको । तर्कहिनसित के जोरि खोज्नु ? आफ्नै मान घट्छ । स्तर खस्किन्छ । तरपनि उनले माफी माग्नु नै जरुरी चाहिँ थिएन । किनभने यस्ता दादागिरीमा झुक्दै गए दुतावस निरिह बन्छ । राजनितिक पार्टीका कार्यकर्ता, संघ संस्थाका सदस्य र नेताका खेतालाले चलाउन थाल्छन् दुतावास । तर दुतावासपनि सक्षम, पारदर्शी र निस्पक्ष भने हुनै पर्छ ।

यो घटनामा दुतावासले कहाँनिर गल्ति गर्‍यो भने संघ संस्थाका प्रतिनिधीलाई बोल्न नदिने भनेपछि एन आर एन अध्यक्ष जानकी गुरुङलाईपनि बोल्न नदिएको भए राम्रो हुन्थ्यो । एन आर एन पनि त सरकारी निकाय त हैन नै । अझ नेपालमै कानुनी हैसियत पाइनसकेको संस्था । एन आर एन र अरु संस्था सबैका आआफ्नै परिधी र पहिचान छन् । प्रतिस्पर्धा चल्छ एक अर्काबिच । तर पनि एक महिला, एन आर एनकी अध्यक्ष बनेकि, उनले सबै नेपालीका तर्फबाट शुभकामना दिँदा अन्यथा मानिहाल्नुपर्नेपनि थिएन ।

सडकमा नारा लगाएबापत दुतावास चलाउने ?

त्यस दिन सुरेन्द्र भुसाल जंगिँदा जनप्रगतिशिल मञ्चका दधीराज घिमिरे पनि उफ्रिएका रहेछन् हल्का तरिकाले । “राज्यले हाम्रो पार्टीका कामरेडको टाउकाको मुल्य तोक्दा हामी यहाँको सडकमा जुलुस निकाल्थ्यौं, नारा लगाउँथ्यौं”। यो त बडा गज्जबै भयो । हामी नारा जुलुस गर्नेले, सडकमा बिरोध जनाउनेले दुतावास चलाउन पाउनुपर्छ भन्न खोज्या हैन त ? हामीले नारा जुलुस गर्ने तपाइहरु दुतावासमा मनपरी गर्ने हाम्ले नगरेर ? के बेल्जियमको सडकमा न्याय र समानता, राष्ट्रिय, जन अधिकारका लागि नारा जुलुस गर्ने भनेको सत्ता वा शक्तिकै लागि हो ? कामरेडहरुले बेल्जियमको सडकमा नारा जुलुस गरेको राजदूतहरुलाई थर्काउन, लौ हेर हाम्रो शक्ति कति छ भनेर देखाउन र राजदूतावासमा आफुखुशि निर्णय गराउन हो ? त्यसो भए आफ्नो देशका लागि गरिएका आन्दोलनमा जो जो सहभागि हुन्छन् ति सबैले कुनै पद पाउनु पर्ने ? दुतावासलाई आफू खुशि चलाउन पाउनुपर्ने ? बेल्जियममा सारा नेपालीलाई सुपुर्दगी गर्दा यी सुरेन्द्र जी कतै देखिएका थिएनन् । त्यो बेला खै त दुतावासमा गएको नेपालीको हितकालागि ? अहिले राजदूत आए माओवादी समर्थक भन्नासाथ दुतावासमा अधिकर खोज्न जाने ? बेल्जियमका एक नेपालीले हिजो साँझ भने ।

बेइज्जत कसको ?

त्यो चोर औंलो ठड्याइ र माफी मगाइले यदि कसैको बेईज्जत भएको छ भने सुरेन्द्र भुसाल, दधीराज घिमिरे र जनप्रगतिशिल मञ्च बेल्जियमकै छ । बेल्जियमका धेरैले सुरेन्द्र भुसालले दादागिरी देखाएको भनिरहेका छन् । उता काउन्सिलर  कुमार राज खरेललाई बिचरा भनिरहेका छन् । यीनको बेइज्जत किन पनि भएको हो भने त्यहि दिन नेपालमा संविधान सभा भंग भएको थियो । गणतन्त्रनै घाटमा पुगेका बेला यी नेपाली कुन मनले, के पाउन, केकालागि, कुन खुशियालीमा गएका हुन् गणतन्त्र दिवस मनाउन ? यस्तो गणतन्त्र पो चाहिएको रहेछ जनप्रगतिशिल मञ्चलाई ? अनि त्यसमा वाह गणतन्त्र, हाइ गणतन्त्र, हामीले रगत बगाएर ल्याएको गणतन्त्र, बेल्जियमका सडकमा जुलुस निकालेकोले आएको गणतन्त्र भन्नु परेको भाषण ठोकेर ?

दूतावासका सामान्य कर्मचारी हुन् बिचरा  कुमार राज खरेल । उनमाथि सत्ता र शक्तिको धमास देखाउनु जरुरी छैन । र दुतावासमा कमजोरी भैअहलेपनि राजदूत हुन्छन् प्रमुख जिम्मेवार । ति सामान्य कर्मचारीलाई “माफी मानै पर्छ, नत्र सम्बन्ध राम्रो हुन्न” भनेर माफी मग्न लगाएर उनले के गरेका ? शक्ति र सत्ताको शान देखाएका ? तर राजदूतलाई नभनेर राजदूत स्वयं उपस्थित कार्यक्रममा साआन्य कर्मचारीमाथि जाइलाग्नु भनेको कुनै तुस र बैनस्यताकै परिणाम हुनु पर्छ भन्ने लाटाले पनि बुझ्छ । देशमा नेपाली जनताले रगत र पैसा बगाएर ल्याएको लोकतन्त्र आफ्नै कामरेडका हातबाट लुछाईमा परेको छ, आफ्नै शिर्ष नेता नालायक देखिएका छन् । यहाँ चाहिँ सामान्य कर्मचारीलाई चोर औंलो तेसारि तेसारि शक्तिको धमास दिने ? एउटा जिम्मेवार संस्थाको अध्यक्षको हालत यहि हो ? अब माफी माग्ने नै हो भने सुरेन्द्र भुसालले पो माग्नु पर्छ त । के बिदेशका नेपाली संस्था, झन राजनितिक सुझब्झ अपनाउनु पर्ने संस्था र त्यसको अध्यक्ष जस्तो पदमा बस्नेले यस्तै संस्कार सिकाउने हो ? सामान्य कर्मचारीको हुर्मत लिएर आफुखुशि चलाउन खोज्ने हो ? के सिक्ने सुरेन्द्र कामरेडबाट बाँकि नेपालीले ?

के के भनेर जंगिए भुसाल ? के भनेर माफी मागे काउन्सिलरले ? भिडियो हेर्नुस् ।

(मुल फोटो : शेर बहादुर छन्त्याल । भिडियो ब्रसेल नेपाल डटकमबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया