हाम्रै नेता भारतका दलाल भारतीयलाई के को दोष ?
नेपालीमा एउटा उखान छ, आफ्नी छोरी नखरमाउली छिमेकीलाई दोष । हाम्रा नेता ठ्याक्कै त्यहि गरिरहेका छन् लाजै नमानी । बीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस डी मेहतालाई पो कारबाही गर्नु पर्ने रे । वीरगञ्जको एक होटलमा रात्री भोज गरेर नेपाली काँग्रेस, नेकपा एमाले र मधेसवादी दलहरुका नेतालाई कन्सुलर एस डी मेहताले एक मधेस प्रदेशको लागि आन्दोलनको आँधिबेहरी ल्याउन उक्साएको भनेर लाजै नमानी कारवाही गर्नुपर्छ पो भन्दै छन् त । अनि हाम्रा भारतीय राजदूतका नयाँ मित्र प्रचण्ड फेरी राजदूतलाइ बोलाएर मेहताको गतिबिधि बारे जानकारी माग्ने । आफ्नै नेता, आफ्नै पार्टीका कार्यकर्ता भारतीय वाणिज्यदुतको तलुवा चाट्न गए कांग्रेस र एमाले अनि मधेशी दलका । सके तिनले गुहारेका हुँदा हुन् ‘लौ न आइदेउ’ भन्दै । अनि त्यसरि गुहार्ने आफ्ना नेता र कार्यकर्तालाई चुँ बोल्न नसकेर भारतीय वाणिज्य दूतलाई पो कारवाही गर्ने रे ।
नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी दलले गरेको रात्रि भोजमा के भारतीय वाणिज्यदूत निम्तो बिना पुग्यो ? हाम्रै पार्टीका नेताले बोलाएको कार्यक्रममा उसलाई के उद्देश्यले बोलाइयो ? किन बोलाइयो ? यदि रात्रि भोजमा नेपालको राजनितिक मामिलाका विषयमा आपत्तीजनक कुरो बोलेको हो भने उत्तिखेरै कांग्रेस, एमाले र मधेशी दलले किन आपत्ती जनाएनन् ? “यो हाम्रो मामिला हो, तिम्रो अधिकार छैन बोल्ने” किन भन्न नसकेका ? आफ्नो देशको आन्तरिक राजनितिक विषय बारे किन बिदेशीका अगाडि खोलेका ?
संयोग अधिकार छैन भो भने, सधैं भारतीय राजदूत माओवादीको बैठकमा पुग्थे मन्त्र लिएर, प्रसाद बोकेर बाबुराम बिद्वान र विश्वकै महान नेता प्रचण्डकालागि । त्यो प्रसाद खुवाएर आशिस दिन्थे, कस्तो प्रदेश बनाउने ? कति प्रदेश बनाउने ? सरकारमा कसलाई ल्याउने ? नागरिकता कति भारतीयलाई दिने ? कुन निहुँमा दिने । तर बिरगंजमा भएको रात्री भोजमा मेहताले माओवादीलाई पिठ्युँ फर्काएर बाँकि तिन दलका नेतालाई मात्रै भेटेर मन्त्रणा गरे । सायद प्रचण्ड कामरेडको पार्टी नछुटेको भए प्रचण्डले स्पष्ठिकरण सोध्ने लेठो गर्थेनन् । जब आफुलाई एक्ल्याएको महसुस गरे तब जंगिएर स्पष्ठिकरण लिन खोजे । नेपालको मामिलामा त्यति स्वच्छ हुन्थे भने, बिदेशी हस्तक्षेप, प्रभाव र दबाबलाई सहँदैनथिए भने पार्टीकै बैठकमा किन भारतीय राजदूतलाई पार्टीको नेताझैं निम्ता गरिगरि सँगै राख्थे कामरेड प्रचण्डले ?
बिरगंजमा भएको घटनामा मुख्य दोषी को हो ? नेपाली कांग्रेस, एमाले र मधेशी नेता । अनि प्रचण्डको हुति भए स्पष्ठिकरण लिनुपर्ने को सित हो ? आफ्नो देशको आन्तरिक मामिलामा बिदेशीलाई गुहार्ने, घुसाउने, उचाल्ने देशघातीहरुसित, राष्ट्रघाती, जनतामाराहरुसित होइन ? बिदेशीलाई ल्याएर आफ्नो देशको गोप्य कुरो खोल्ने, उचाल्न लगाउने आफ्नै सरकारका दल, आफैंसित सहकार्य गरेका पार्टी, आफ्नै दौंतरीलाई केहि बोल्न नसक्ने । अनि उता भारतीय महावाणिज्य दूतलाई स्पष्ठिकरण लिने किन ? स्पष्ठिकरण त जसले निम्तो दिएर, भारतीय कुटनितिज्ञलाई उचाले तिसित पो लिनु पर्छ । एमाले र मधेशी दललाई सोधे राष्ट्रिय सरकार धारपमा पर्ला भन्ने डर । मधेसी दललाई त झन चुँ सम्म गर्न भएन । उताबाट जयन्त्र प्रसादको फोनले तु झपारीहाल्छ ।
साखुल्य बन्न र नेपाली जनताको आँखामा छारो हाल्नका लागि अहिले कांग्रेस र एमालेका नेता मेहतालाई देश निकाला गर्नु पर्छ भन्दै छन् । हिम्मत भए कारवाही त आफ्ना भारतीय गुप्तचर, भारतका पाल्तु, दक्षिणका राष्ट्रघाती चौकिदारहरुलाई पो गर्ने हो । पार्टीले स्पष्ठिकरण लिएर कारवाही गर्नु पर्ने हो । आफ्नी छोरीले पल्लो घरको जवानलाई आँखा मर्काउने, पुठ्ठा बटारेर देखाउने, छाती खुल्ला गरिदिएर नजिक बोलाउने गर्छे भने आफ्नी छोरीलाई पो सम्झाउने, तह लगाउने होइन र ? आफ्नी छोरी छचन्नाउँछे भने दोष चाहिँ पल्लो घरको जवानलाई दिन मिल्छ ? हो एमाले, कांग्रेस र मधेशी नेताले गरेको पनि यहि हो । उनीहरुलेनै बोलाएर आफ्नो देश बिरुद्द बोल्ने ठाउँ र बातावरण दिएका हुन् । त्यसैले समस्या हामी, हाम्रै पार्टी, नेपालकै राजनितिक दलका नेतामा छ । कारवाहीको भागी तिनै हुनुपर्छ हिम्मत छ भने । होइन भने जनतालाई नाटक देखाउनुको कुनै तुक छैन ।




