जातिय राज्य : हामीलाई जुधाएर नेताको खाने दाउ

• अपिल देवकोटा / बेल्जियम
म कुनै समय बिदेशमा काम नपाएर आजित भैसकेको थिएँ । मसँग खान बस्न सम्मपनि पैसा थिएन । त्यतिबेला मेरो घर अगाडिका एकजना सहृदयी गुरुङ दाइसँग भेट भयो । उहाँले बेल्जियममा खान बस्न मात्रै होइन कामको पनि राम्रो व्यवस्था गरिदिनु भयो । हामी बीचको सम्बन्ध दाजु भाइको जस्तो अति प्रिय र निकट छ । आजको दिन सम्म हामी एकअर्कोलाइ सकेको सहयोग गर्दै आइरहेका छौ । अनि हामी बीचको सम्बन्ध रगतको नाता जस्तै अटुट रहिआएको छ । भलै म बाहुन हुँ । 

उतिबेला मेरो बुवा पसल गर्नु हुन्थ्यो ग ऊँमा । गुरुङ गाऊँको बीचमा भएकोले ग्राहक धेरै गुरुङहरु नै थिए । उनिहरु प्राय हाम्रो पसलमा उधारोमा राशन लाने गर्थे । तिनिहरु मध्ये धेरै हामी भन्दा गरिब थिए । मेरो बुवालाई उनीहरु अभिभाबकको रुपमा हेर्थे । उनीहरुको खाँचो बुवाले ऋण गरेर भए पनि टार्नु हुन्थ्यो । हामी ऋणमा डुब्यौं । तर उनीहरुलाई भोकै बस्न दिएनौं । आज सम्म पनि तिनीहरु मध्ये धेरैले त्यतिबेला खाएको राशनको पैसा दिन सकेका छैनन् । अहिले त हाम्रो पसल पनि छैन । अनि उक्त पैसा पनि हामीले माग्न छोडिदियौं।

 

यी त सामान्य उदहारण हुन् । हामी कसरी एक अर्कामाथि निर्भर छौं । चाहे हामी बाहुन छेत्री होस अथवा गुरुङ मगर । हाम्रो सामाजिक संरचना गजबको छ । हामी अरुको दुख देख्न सक्दैनौं । सानो कुराले पनि हाम्रो मन खान्छ । हामीले खाने खाना एकै प्रकारको छ । हामी पढ्ने स्कूल एउटै छ । एकै मुलको पानी पिउँछौं । हामिहरुको दु:ख सुख एकै प्रकारको छ । त्यसैले एकअर्कोको दुखमा साथ दिँदै आएका छौं । जिउँदाका जन्ती र मर्दाका मलामी हौं हामी । 
तर, दुख लाग्दो कुरो, खै किन हो, राजनीतिले हामीलाई जितेको छ अहिले । सायद हामी बीचको सम्बन्ध यस्तै रहन्छ या रहँदैन, अब भन्न नसकिने स्थति आइपुगेको छ । सदियौं देखिको रिस्तामा दाग लगाउने प्रयास गरिएको छ । के थाहा, भोलि गुरुङ गाउँको बिचमा हामी बस्न पाउने हो कि होइन । प्रिय गुरुङ दाईहरुलाई म आफ्नो भन्न पाउने हो कि होइन । गुरुङसेनी आमाहरुले हालेको त्यो ठूलो सेल खान पाउने हो कि होइन । 

अब साँच्चिकै सोच्ने बेला आएको छ, के जात र धर्म मानवियता भन्दा माथि छ र ? एउटा थारु दुर्घटनामा पर्दा उद्धारको लागि उसले थारुलाई नै कुर्नु पर्ने हो र ? मधेसीको समोसा पसलमा मधेसीले मात्र खाने हो र ? नेवारको घरमा नेवार मात्र भाडामा बस्नु पर्ने हो र ?

हामी कहाँ नेर चुक्यौं त ? अमेरिकामा उनताका हुने वर्ण घृणा अहिले नेपालमा जात घृणाको रुपमा फस्टाउँदो छ । जनजातीहरु बाहुन बाहुन भन्दै घृणा गर्ने अनि बाहुनहरु जनजाती भन्दै घृणा गर्ने ? हामी साँचो अर्थमा एक प्रकारको रंगभेदको कसरत गर्दै छौं होइन र ? 

जनजातीहरु भन्छन “भ्रस्टचारीहरु बाहुन हुन् । यिनीहरुले देश खाए” आदि । यो सहि हो, राजनीतिमा लागेका धेरै बाहुनहरु भ्रस्टचारी भए । अरु बाहुनहरु त उही आम नेपाली जस्तै गरिबी र अभाब संग जुधिरहेका छन् । राजनीतिमा लागेका बाहुनहरु मात्र होइनन, जो कोहि पनि भ्रस्टचारी हुन सक्छन । ति नेवार गुरुङ थारु मगर क्षेत्री कोहिपनि हुन सक्छन । किनकि हाम्रो राजनीतिक संस्कार त्यस्तै प्रकारको छ । राजनीतिमा लागेकाहरुको कमाउने थलो भएको छ । तर आधार भुमिमा रहेर कुरा गर्ने हो भने, जनजाती र बाँकि नेपाली सबैको स्थिति एउटै हो । तर हामी किन झगडा गरिरहेका छौं ? हाम्रा तथाकथित नेताहरुलाई भ्रस्टचार गराउनको लागि ? के तिनीहरुको व्यक्तिगत उन्नतिले आम नेपालीको जिबन गति परिबर्तन हुन्छ र ?

 हामीलाई प्रस्टै ज्ञान भएको कुरा हो, हामीलाई जुधाएर फेरी कुनै नेताले खाने दाउ खोजिरहेका छन् । तर हामी किन त्यो बुझ्न सकिरहेका छैनौ ? भोलि मिल्नुपर्ने हामी हो । समाज निर्माण गर्नु पर्ने हामीले हो । तर अहिलेको सोह्रौं शताब्दीवाला भाले जुधाईले केहि परिबर्तन ल्याउने वाला छैन । हामी यसमा प्रस्ट हुन जरुरि छ । एक अर्कालाई घृणा गर्ने वाताबरण स्रिजना गर्ने बाहेक अरु केहि हात लाग्ने वाला छैन ।

समस्या छ समाजमा । तर सम्बोधन गर्ने तरिका अहिलको जस्तो होइन । हाम्रा नेताहरुमा द्रिष्टि छैन । नैतिकता छैन । त्यसैले साधारण सोच भएका मान्छेहरुलाई उचाल्ने गर्छन । अनि तिनीहरुको मानसपटलमा खेलवाड गर्छन । आफ्नो स्वार्थपूर्ति गर्नका लागि । उदहारणकै रुपमा हेरौं, मधेसीहरुको आरक्षण कसरि त्यहाँ रहेका उच्चा बर्गीय मधेसीले दुरुपयोग गर्दैछन ? पोडे, कुमाल लगायतका पिछडिएका जातिले के पाए त ? एकल मधेसको मागमा रहेका मधेसीले आत्मनिर्णयको माग गरिरहेका छन् । तिनीहरुको नियत के हो ? एस्तो नियत नबुझ्नेहरुले तिनीहरुको मागलाई समर्थन गरिरहेछन् । दिक्क लाग्छ , यस्ता मान्छेहरुको कुरा सुन्दा । मलिलो जमिन र सम्पूर्ण आयस्रोतको ठेक्का आफैं लिएर बाँदर लड्ने पाखोको छुट्टै राज्य बनाएर कसलाई के मिल्छ ? 
राज्य विभाजन गर्नु नै छ भने र सहि विभाजन गर्ने यदि सक्षम नेपालीहरु छैनन् भने यो कुराहरुलाई सम्बोधन गर्न विदेशबाट विशेषज्ञ ल्याएर समस्याको समाधान खोजे हुने हो । आफ्नो कमजोरी पनि स्वीकार्न सक्न पर्यो । तर कानको डाक्टरलाई मुटुको अप्रेसन गराउने किसिमको समाधानले भोलि नेपाललाई ठुलो गृहयुद्धमा धकेल्ने छ । छिमेकीहरु अन्तरिक्षमा जाने योजना बनाउँदा, हामी बार्ता टोलि बनाउने योजनामा ब्यस्त हुनु पर्ने स्थिति नहोला भन्न सकिँदैन । 

खासमा संघियताको बेमौसमी बाजा बजाएर नेपाली जनताहरुलाई फुटाउने काम सुरु गरियो । अहिलेको खास आवश्यकता आर्थिक क्रान्ति हो । खाना र बस्न नपाएका नागरिकहरुलाई गास बासको सुनिश्चितता गराउनु हो । हर्के गुरुङको आर्थिक स्थिति किन सुध्रिन सकेन, केलाएर सहि उपाए सोच्ने बेला हो । किन समाजमा मन बिरेहरु अझै मारिन्छन । ठोस समाधान खोज्ने बेला हो । गुरुङ मगर नेवारहरुको भाषा संरक्षण गर्नको लागि आबस्यक कदम चल्ने बेला हो । खाडीमा खेर गएको जनशक्तिलाई राष्ट्रको बिबिध गति बिधिमा लगाएर निर्यात युक्त सामग्रीको उत्पादन क्रान्ति गर्नु हो अनि मात्र त बिदेसी सम्मान पाइन्छ । तर अफसोस, फेरी बाहुन छेत्री, नेवार थारु गुरुङ मगर लिम्बुका चोचेमोचेहरुलाई धनि बनाउन हामी जातिय राजनीति र प्रदेस निर्माणकोलागि ब्यस्त छौं । म निर्क्यौलकासाथ ठोकुवा गर्छु, यदि यस्तो जातिय राजनीति बनाइयो भने देशमा चरम रंगभेद बढ्ने छ । गृहयुद्ध हुने छ । अनि देशले आर्थिक क्रान्ति त परै जाओस स्वन्त्रतालाई पनि सम्झौता गर्नु पर्ने छ । तर खै बुझोस् कसले ? प्रचण्ड भिड प्रेमी नेता निस्के । बाबुराममा हुति रहेन । काँग्रेस बुढो भयो । अनि एमाले रोगि निक्ल्यो । 

मैले मेरा गाउँमा रहेका धेरै गुरुङ मगर मित्रहरुसंग यो बारेमा छलफल गरें । तर तिनीहरु स्वयं जातिरज्य बिरुद्ध छन् । अबको मुख्य प्रश्न भनेको आखिर कसले यो जातियतालाई मलजल गरि राखेको छ त ? मलाई दुख लाग्छ, नेपाली भनेर दाजु भाइ जस्तै बसी आएका हामी नेवार, थारु बाहुन छेत्री गुरुङ साथीभाइहरुको सम्बन्ध कतै जातियताको रुप नलिओस । भोलि राइ संग ऋण लिँदा राइ भएको प्रमाणपत्र लिनु नपरोस । थारुको मलामी जादा थारु भएको प्रमाण पत्र लिनु नपरोस । हुन त यस्तो हुँदैन भनेर तथाकथित बिज्ञहरुले भन्छन । तर कालिदासले जस्तो रुखको हाँगामा बसेर फेद काटी रहेको देख्दा देख्दै कसरि विश्वास गर्ने ?

तपाइँको प्रतिक्रिया