माओवादीपनि भारतीय ड्याङकै मुला
राष्ट्रियता र राष्ट्रिय अखण्डता भनेर सबैभन्दा कुर्लिने, हुर्रिने, गुर्रिने पार्टी हो माओवादी । वास्तवमा भारतको चर्को बिरोध गरेकै भरले उसले लोकप्रियता चुल्याएको हो । तर यो माओवादीपनि उहि ड्याङको मुला रहेछ । भारतीयको ड्याङमै फलेको मुला । डा बाबुराम भट्टराईलाई भारतीय दलाल, भारतीय मार्काको, भारतीय गुप्तचरको भनेर आरोप त उहिल्यै देखि लाग्ने गरेको हो । उनको भारतप्रति देखिने नरमतालेपनि त्यो शंका गरिएको हुँदो हो । तर प्रचण्ड त भारत बिरुद्द सुरुङयुद्दका नायक । भारतको बिरोध नगरि उठबस नै हुँदैनथ्यो उनको । तर अहिले त्यो सबै देखावटी रहेछ भन्ने देखियो ।
उता सरकारमा जान्नम् । तिमेरु सबै भारतीय दलाल, भारतीय गुप्तचरका खेलाडी भन्दै आरोप लगाएका बिद्रोही भनिने माओवादीलेपनि चुँसम्म नबोली सन्चो मानेको देख्दा माओवादी सबै भारतीय ड्याङकै मुला हुन् कि भन्ने देखिएको छ ।
सायद नेपालमा जति राजनितिक पार्टी टुसाउँछन् ति भारतकै बिउ हुन् । ति जति सिञ्चित हुन्छन् दक्षिणकै मल जलले हलक्क हुन्छन् । यदि ति ओइलिए भने तिपनि उतैको दानापानी रोकिएर हो । त्यसैले दानापानीको ब्यवस्था नहुन्जेलसम्म ति रिसाएको बाघ झैं गुर्रिन्छन् भारतलाई सत्तो सराप गर्दै । जब दानापानी मिल्छ अनि ति भारतीय राजदूतको तलुवा सुँघेर कोठा कोठामा अंम्रित छर्किँदै हुल्छन् । हाम्रा राजनितिक पार्टीको सामुहिक बैठकमा भारतीय राजदूत जयन्त प्रसादलाई त्यसैका लागि हुलेका हुन् ।
पार्टीहरुबिच सहमती गर्ने भन्दै अस्ति प्रमुख तीन दल र मधेसी मोर्चा गरी चार समूहको बैठक भनियो । तर त्यहाँ प्रचण्ड, बाबुराम, सुशिल कोइराला, झलनाथ, केपी ओली, माधव नेपाल र मधेशी मोर्चाका गुरु रहेछन् भारतीय राजदूत जयन्त प्रसाद । देशको चिन्ता, नागरिकको भलो, ईमान्दारिताको राजनिति गर्ने भए पो दलहरुले एक्लै सहमती गर्थे । तिनले आजन्म भारतीय दलालहरुको दानापानी धोकेका छन् । तिनको नसा नसामा भारतको लगानी छ । तिनले जे बोल्छन् त्यो भारतीयहरुले घोकाएको हुन्छ । केहि सहमती गर्नु पर्यो भरतीयले घोकाएको भन्दा फरक भने ति बोल्नै सक्दैनन् । एक अर्कामा मुख हेराहेर गर्छन् र बैठक भोली, पर्सीलाइ सारियो भन्छन् । अनि आफ्ना भारतीय गुरुलाई सोध्छन् । अनि बल्ल गुरुको निर्देशनमा निर्णय गर्छन् । अब त जनतालाई संविधान बनाउनु परो, सहमती गर्नु परो, साझा सरकार बनाउनु पर्यो भन्दै देखाउनु परेको छ । त्यो ढिला भो अनि के गर्ने ? बैठकमै लगे आफ्ना भारतीय गुरु राजदूतलाई ।
दिउँसोसम्म अविश्वास प्रस्ताव ल्याउँछु भनेर उफ्रिरहेका थिए कांग्रेस र एमाले। दिउँसो भारतीय राजदूत बैठकमा गएपछि त लल्याक लुलुक्कै भएर ‘लौ यहि सरकारमा जान्छम्’ भन्दै पो निस्केछन् । ‘जोरी खोज्छौ भने लौ आओ’ भन्दै माओवादीले बिरोधीलाई पेल्न लगेको भारतीय राजदूतलाई । एमाले र नेपाली कांग्रेसका एकाध नेता होलान् स्वच्छ । यि दुई पार्टीका त अधिकांश भारतीय नेताका टाङमुनीका रौं सरह न हुन् । तिनलाई वर्षौं देखि पालेको भारतले छोड्छ ? अनि नव चाकरीबाज, नव गोठाला, नव पहरेदार, नयाँ चौकीदार माओवादीसित सरकारमा जाओ मेरा मनुवा हो भन्दै राजदूत जयन्तले चोर औंला देखाइदिए । एमाले र कांग्रेसका लुटेराहरु हस हजुर भन्दै सहमती गरिहाले ।
जनयुद्द काल भरि भारतमै बसेका आनन्द मानीमानी । माओवादीलेनै भनेका हुन्, जनयुद्दकालमा शुरुतिर सुरक्षा हुँदा हो रे प्रचण्ड नेपाल बसेको । त्योपनि जम्मा एक वर्ष । बाँकि भारतमै बितेको रहेछ । लाटासोझा मगरका छोराछोरीलाई बन्दुक भिराएर आफ्नालाई पढाउँदै, सुरक्षित बन्दै भारत बसेका प्रचण्ड र बाबुराम । तिनका अन्नदाता, अहिलेको पदका स्रोत भैहाले । बैध्य बाकोपनि उतै न हो भूमी सुरक्षित हुने । अहिले शसस्त्र बिद्रोह गर्छु भनेर थर्काइरहेका छन् । त्यो शुरु गरे भारत चाहियो । नत्र चार दिनमा झ्यालटुङ पारेर ल्याइहाल्छ । त्यसैलेपनि बैध्य बा नबोलेका होलान् । यदि त्यसो हैन भने बाले बोलुन् ।
यो त अति भो । कति हाल्ने जनताको आँखामा छारो । कांग्रेसले उध्योग, कलकारखाना, मान्छे, चेलीबेटी, पानी, नदी सारा बेचेर खायो । एमालेले त्यसै गर्यो । यी त नांगिएकै हुन् जनताको आँखामा । माओवादीले त अब संविधान बनाउने थलोमै भारतीय गुरुलाई ल्याउन लाग्यो । संविधानमै भारतीय स्वार्थ घुसाएर एकै चोटि सबै बेच्न खोजेको हो कि क्या हो ? नत्र हाम्रो मामिलामा निर्णय गर्दा कसरि बोलाए प्रचण्ड र बाबुरामले भारतीय राजदूतलाई ? धन्न पत्रीकाले केहि पत्तो पाइरहेका छन् । नत्र त हाकाहाकी सिंह दरबार बाहिरै बसेर यीनले देश बेच्थे होला ।
(फाईल तस्विर साभार: नेपालन्युज डट कम)




