बडे कामरेडमाथि सबैका धारे हात

कुनैबेला लौ विश्वमै नौलो सिद्दान्त प्रतिपादन हुने भो प्रचण्डबाट भन्थे । यतै हाइ हाइ उतै हाइ हाइ । सडकमा प्रचण्ड । यातायातमा प्रचण्ड । कुवामा प्रचण्ड । पधेंरामा प्रचण्ड । घरमा प्रचण्ड । सडकमा प्रचण्ड । भित्तामा प्रचण्ड । झण्डामा प्रचण्ड । निधारमा प्रचण्ड । गालामा प्रचण्ड । चौतर्फी प्रचण्ड । चौघेरो प्रचण्ड । तर अहिले सोच्दा यस्तो लाग्छ, हैन त्यो भुतलदेखि आकाशसम्मै एकछत्र छाउने प्रचण्ड अहिले देखिने प्रचण्ड नै हुन् र ? किनभने उतिबेला हाइ हाइ गर्नेहरु अहिले झण्डै सबै जसो चिढिएका छन् । उनको जसरि प्रशंसा गरिन्थ्यो उसैगरि आलोचना गरिन्छ । समय बित्दै अजँदा झन झन दोहोलो काढिँदै छ । हुँदा हुँदा त उहि शक्तिमा पुगेका बाहेक उनीदेखि कोहि खुशि र प्रिय नरहने अवस्था देखिँदै छ ।

कामरेडका अन्धभक्त, छोटे पूजारी कामरेडलाई त अन्यथा लाग्ला नै । तर ब्यवहार हेरे त्यहि सिद्द हुन्छ । किनभने कामरेड प्रचण्ड शान्ति संझौताले विश्राम लिउन्जेल सम्म पनि जनसेनाका सर्बोच्च कमाण्डर थिए । दुई वर्ष भन्दा बढि त जनसेनाहरु नौ हजारभन्दा बढि समयोजन नभए मानिन्न भन्दै बसे । तर छ हजारलाई समायोजन गर्ने त भनियो । अन्तिममा तिन हजारमाथि जनसेना हाँजिर भएनन् । भएकापनि छोडेर हिँडे । जब ति बाहिर आए, समायोजनका नाममा पेलेको, दुख दिएको, पन्छाएको, रेखदेख नगरेको भनेर उनै प्रचण्डलाई धारे हात र कोप्चे मुखले सरापिरहेका छन् “तिमी धोकेबाज हौ”। बाँकिपनि फेरी शषस्त्र बिद्रोह हाँक्छौं भन्ने बुढा कामरेडको क्याम्पतिर ओत लाग्दै छन् । जति समायोजनमा छन् तिनले पनि गुन गाएका छैन । बरु टर्रो मुख लगाएर दुखेसोनै गरेका छन् । यसरि हेर्दा कामरेड प्रचण्ड समायोजनमै असफल भए ।

पार्टी कार्यकर्ताको कुरा गर्ने हो भने त भाषण गर्दा बुढा बैध्य बा र कठोर बिप्लबको नाम लिएर प्रचण्ड बम्किनुको अर्थ बुझ्न सकिन्छ । किनभने पार्टीमा जनयुद्दकालागि मरेमेटेका, त्याग र बलिदान गरेका जति उतै परे रे । अध्यक्ष कामरेडलाई पत्याएनछन् । यता अलि शिक्षित, अलि बौद्दिक भनेका बाबुराम कामरेडका क्याम्पमा छन् । कामरेड प्रचण्डका भागमा त मन्त्री पाइने, शक्तिमा पुगिने भएपछि क्याम्प बदलेका दिनानाथ, अर्थमन्त्री पुन, क्रिष्ण महरा लगायतका । कि प्रभु शाह जस्ता बदनाम । बाँकि शान्ति संझौता भएपछि लौ अब ज्यान जान्न, ठूलो पार्टीको सुरक्षित नेता हुन पाइन्छ । गाउँ स्तरकै नेता भएपनि भरिभराउ जनताका नेता । अब सरकारको डोरी अँठ्याउने माओवादीले । कहिँ न कहिँ त अवश्यै केहि हातलागि भैहाल्छ । यस्तै सोचेर आउने रहेछन् । बास्तबिकता त कामरेडहरुले भान्छा बेग्लै बनाएर हिँडेभने देखिएला नै । तर अहिले सुनिने के हो भने तिनलाई फेरी उताका बुढा कामरेड पक्षले “झारपात, गेगर, रहल पहल सोहोरिएका, सत्ताका लोभीपापीहरु” पो भन्ने रहेछन् । तिनै भित्रपनि प्रचण्ड कामरेडप्रति हुनसम्म गुनासो । पार्टीका कामरेडले नवशामान्तवाद, भ्रस्टाचारी, संशोधनबादको नौलो रुप भन्दै हुर्मत लिइरहेका छन् जसले हिजो प्रचण्डपथ भन्दै फोटो छातीमा टाँसेर हिँड्थे । पहिले भित्तामा फोटो टाँस्दै हिँड्थे । अहिले पाएसम्म प्रचण्डका फोटा च्यात्ने र कालोमोसो धस्दै हिँड्ने गर्दै छन् । प्रचण्डलाई दुई कोस परैबाट अभिवादन गर्ने हरुलेनै कालो झण्डा बोकेर स्वागतमा देखा पर्दै छन् ।

हिजो रोल्पा र रुकुमतिर बसेर जनयुद्द सकिएपछि हामी सत्तामा । त्यसपछि झिलिमिलि भनेका थिए । तर अब प्रचण्ड त्यहाँ पुग्नेपनि भाषण ठोक्न एकाध घण्टाकालागि हो । त्योपनि चिलगाडीमा । उताकाले जनयुद्द गरेपछि हाम्रो बिकट गामठाम भुल्यो, बलिदान कुल्चियो भन्दै धारे हात लगाइसके । जनजातिलाई सप्पै अधिकार । आत्मनिर्णय । सांस्क्रितिक पहिचान । जातिय उत्पिडन निमिट्यान्न । मजदूरको शोषण गर्नेलाई ज्यान जाला छोडिन्न । सुकुम्बासीलाई जग्गा । महिलाको अधिकार पूर्णरुपमा सुरक्षा । बेपत्ता नागरिक खोज्न शक्ति सम्पन्न आयोग । जनयुद्दका अपराधीलाई कारवाही । देखे भएका, सोधेका, मागेका जति सबै पुरा गर्छु भने । तर अहिले ? जनयुद्दमा दमन गर्ने, बेपत्ता पार्नेलाई कारवाही गरे त हाम्रा कमरेडपनि पर्छन् नी रे । सुकुम्बासीलाई हिजो सकेजति कब्जा गरेर बस भने । आज छोड्नु पर्छ रे । कहिँ त हात्ती लगाएरै लघारे । भ्रस्टाचार शुन्यमा झारेर भ्रस्टाचार रहित मुलुक बनाउँछु भन्थे । देशको भ्रस्टाचार त के रोक्ने आफैंमाथि तिन अर्व हिनामिना गरेको लिखित आरोप लाग्दापनि सन्चो मानेर आफैं बसे । आफैं बस्ने घर भ्रस्टाचार र अँध्यारो कारोवारको दहमा डुबेको छ । बाहिर कसरि कुन नैतिकताले भ्रस्टाचार रोक्ने ? अनि कसरि को हुने प्रचण्डका मान्छे ?

न बोलीको अडान छ । न निर्णयको पालना छ । न पार्टी निर्णय लागू गर्न सकेको छ । यता कार्यकर्ता खर्च नपाएर डेरा भाडा तिर्न नसकेर लुक्दै हिँड्ने । उता छोरो करोडौं बटुलेर हिमाल अरोहण गर्ने । कार्यकर्ता टाउको लुकाउन नपाएर रुँदै हिँड्ने । पार्टीका मुली उनी ज्ञानेन्द्रलाईपनि तल पार्ने आलिशान भवनमा सयर गर्ने । खाट चाहिने लाखौंको । घडी चाहिने उस्तै । अनि कार्यकर्ताले गुनासो पोखे टेन्सन भएर सुबिधा सम्पन्न रिसोर्टमा आराम गर्नु परिहाल्ने ।

यता कांग्रेसलाई राष्ट्रघातीपनि भन्ने । उता राष्ट्रघाती मधेशी पार्टीकै पक्षमा लागेर नागरिकता धमाधम भारतीयलाई बाँड्न मेसो मिलाइदिने । अरु पार्टीकाई हरौटे नेता संसदमा छिरेको भन्ने । आफ्नो लगौंटिया पाउँदा तिनै हरुवा र कलंकितलाईपनि मन्त्री पदमा बसाईहाल्ने । न बोलीको ठेगान न ब्यवहारमा पक्का । अनि को हुन्छ कामरेडका पक्षमा ? दिन जति बित्दै छन् धारे हात लाउनेहरु बाक्लिँदै छन् । कामरेड झन एक्लैँदै छन् । न पार्टी, न देश, न जनता । कसैले केहि नपाउने भएपछि हाइ हाइ होस् पो कसरि ?

(सागर श्रेष्ठले खिचेको तस्विर)

तपाइँको प्रतिक्रिया