को को रैछन त माओवादीभित्रैका गुप्तचर ?

 (भारतमा कहाँ बाट कसरि पक्राउ परेका थिए माओवादी नेता ? यो लेखमा थुप्रै शंका उपशंका, आरोप, यथार्थता, वास्तविकता रहेकाले आज यसलाई पून प्रकाशित गरिएको हो । पहिलो पटक फर्वरी ६, २००९  मा नेपालप्लसमा प्रकाशित थियो यो ।) 

“भारतिय गुप्तचरहरुले वामदेव क्षेत्रीलाई किन कारबाही गरेकोभन्दै आक्रोशित हुन्थे । देशभित्र २०५८/२०५९ ताका नै गिरफ्तार भएका साथीहरुलाई शाही सेनाले तँ प्रचण्डको मान्छे कि बाबुरामको ?’ सोध्थ्यो र भट्टराई पक्षधर भनिएका मुमाराम खनालसँग अन्तरबिरोध रहेकालाई बढि दमन गर्ने गरेको सूचना चन्द्रमान श्रेष्ठ, कुमार शाहलगायत अधिकांशबाट आउँथ्यो ।”   

 (आफ्नो ज्यानको माया नमानी, घर परिवार र सारा सम्पत्ती अनि सुख सुबिधा त्यागेर जनताको लागि हिँडेका मानिसले आफ्नै पार्टीको सुराकी गर्लान भनेर कसले पत्याउने ? तर माओवादी भित्र रहेछन् त्यस्ता मान्छे थुप्रै । अरु त के वामदेव क्षेत्री, दिनानाथ शर्मा र स्वयं बाबुराम भट्टराईसमेतलाई त्यसरि शंका गरिने रहेछ। एक थरीले अर्को थरीलाई सिध्याउन गुप्तचरी गरेर आफ्नै कमरेडहरुलाई पक्राउ समेत गराउने रहेछन । भारतको दिल्लीमा त्यसैगरि एक थरीले सुराकी लगाइदिएर ११ जना माओवादी नेता पक्राउ परेको लगायतका तथ्यहरु समेटेर किताब लेखेका छन त्यहि पटना जेल भोगेका माओवादीकै केन्द्रिय सदस्य अनील शर्माले ।

 

त्यस्तै तथ्यहरु समेटेर बाहिर छरपस्ट पारेको त्यो किताब प्रकाशित नगर्न डा बाबुराम भत्तराईले दबाब दिएका थिए । तर उनको दबाब चिरेर पुस्तक निस्कियो । पुस्तक पढ्दा सहजै बुझिन्छ-किन बाबुरामले त्यो पुस्तक ननिकाल्न दबाब दिएका रहेछन भन्ने । कतिपय ठाउँमा त त्यो पुस्तक पढ्दा शरिर नै झसंग हुन्छ कस्तो यातना खपेछन भनेर । कहिलेकाहिँ ओहो भारतले नेपालमाथि झण्डै हवाई आक्रमण गर्नै लागेको रहेछ भनेर सातो जान्छ अहिले पनि । पुस्तकमा नेपाल-भारत संबन्ध, माओवादी भित्रको खिचातानी, सुराकि, स्वार्थ, युद्दका विविध रमाइला र डरलाग्दा पक्ष समेटिएका छन । पुस्तकको नाम राखिएको छ-संझनामा भारतीय जेल । म पुस्तक हुबहु राख्न सक्ने पक्षमा त छैन नै । तर त्यसका केहि भागलाई बुँदागत रुपमा केहि अंकसम्म यहाँ राख्ने छु।) 

 

दुश्मनको कब्जामा 

 

हामी ११ जनालाई विभिन्न पाँच ठाउँबाट गिरफ्तार गरिएको थियो । चित्रबहादुर श्रेष्ठ र कुमार दाहाललाई साईबरबाट, लोकेन्द्र बिष्टलाई सार्वजनिक टेलिफोन बुथबाट, हितबहादुर तामाङ र सुमन तामाङलाई एउटा होटेलबाट, श्यामकिशोरप्रसाद यादवलाई अर्को होटेलबाट र हामी पाँच जनालाई अर्पित होटेलबाट गिरफ्तार गरिएको थियो ।

 

अपरान्ह ४:३० देखि ५ बजे आधा घण्टाभित्र बिभिन्न पाँच स्थानबाट ११ जनालाई नाटकिय ढंगले समातिएको थियो । आधा घण्टाका बिचमा विभिन्न स्थानबाट यत्रो गिरफ्तारी कसरी संभव भयो ? सोधपुछका क्रममा थाह भयो, दुई दिनदेखि हाम्रो पिछा गरिरहेका रहेछन । त्यो कसरि संभव भयो ? काठमाडौंदेखि अमेरिकासम्म संपर्क गरिरहेको भनिएका र धेरै दिनदेखि पटनामै रहेका देवेन्द्र पराजुली र कल्पना धमला कसरि बच्न सके ? के भनिन्छ भने एउटै होटेलमा बसेका श्यामकिशोरप्रसाद यादव गिरफ्तार भए तर उनलाई किन छोड्यो ? पटनामा रहेका पूर्वीकमाण्डका कमरेडहरुको पिछा हुन किन सकेन ? देबेन्द्र पौडेल (क सुनिल) ले पटना आउन रेल चढिसकेको खबर थियो । कसरि बच्नुभयो उहाँ एकजना मात्र ? शिवप्रसाद कुशवाह (क जमिन) जिल्ला ईन्चार्ज प्रयाससँग सम्पर्क नगरि, हतियार किन्ने कुरा उनीसँग हुँदै नभएको अवस्थामा हतियार किन्न भनेर किन आए ? यस्ता कयौं प्रश्नहरु हाम्रो मनमा उठिरहेका थिए ।

राती साँढे ८ बजेबाट फेरि सोधपुछ गर्न थाले । सोधपुछका क्रममा लाग्थ्यो-उनीहरुसँग हाम्रो सबै सूचना छ । मलाई विशेष गरेर प्रकाशन, सञ्चार र सांस्क्रितिक क्षेत्रका कुरा सोध्थे । हाम्रो जिम्मेवारी सोध्दै यातना दिँदै गर्थे । सोनामलाई हात र कम्मरमा, कुमारलाई आँखामा, मलाई हातका औंला र कानमा पिट्थे । हामी रिहा भएपछिपनि काम गर्न नसकून भनेर शारिरिक रुपमै बेकम्मा पार्ने नियतले उनीहरु हाम्रो सांगठनिक जिम्मेवारी पूरागर्न अनिवार्य हुने अंगहरुमा छानीछानी यातना दिइरहेका थिए । धम्क्याउने, यातना दिने, फकाउने, प्रलोभन दिने, खरिद गर्ने अलग अलग टोलीहरु थिए । शारिरिक र मानसिक यातनाहरु पालैपालो चलाइरहेका थिए । उनीहरु प्राविधिक विषयमा केन्द्रित हुन्थे । हामी राजनीतिकरुपमा प्रस्तुत हुन्थ्यौं ।

राती अबेरसम्म सोधपुछ गरेपछि त्यसदिन सोध्न छाडे । अर्को दिन बिहानबाट फेरि त्यहि क्रम दोहोरियो । शहिदका फोटाहरु गुप्ताङ्गमा दलेर हामीलाई अपमानित गर्ने क्रम रोकिएन । हाम्रो नेत्रित्वलाई मनपरि गालीगलौज गर्थे । एकजनाले भन्यो-तेरो प्रचण्ड पनि अब धेरै टाढा छैन बुझिस !त्यो प्रश्नले भने हामी सबैलाई झसङ्ग पार्थ्यो । नेत्रित्व भनेको आन्दोलनको मस्तिष्क हो । मस्तिष्कमाथि नै आक्रमण भयो भने शरिरका अन्य अंगहरुले काम गर्न सक्दैनन । आन्दोलनमा धेरै थरी मानिसहरुको सहभागिता छ । तर पछाडि फर्कने बाटोनै नराखेर हेलिनेहरु कम छन । हाम्रा लागि अब आन्दोलनबाट पछाडि हट्नु म्रित्यु हो । जनयुद्द असफल भयो भने वर्ग दुश्मनले हाम्रो हाड धुलो बनाउनेछ । त्यसैले आन्दोलनको भविष्यसँग हाम्रो भविष्य अभिन्नरुपमा गाँसिएको छ । सहिद, बेपत्ता र घाईते तथा तिनका सपना, वलिदान र पीडालाई एकातिर थन्क्याएर आफैंलाई धुरी बनाएर हेर्दापनि म यसरी सोच्ने गर्छु । त्यसैले नेत्रित्वको निकट दुश्मन पुगेको बेला उनीहरुको त्यो धम्कीले म साँच्चै बिचलित हुन्थें ।

जेल, हिरासत, शारिरिक र मानसिक यातना मेरा लागि नयाँ कुरा थिएन । अरु साथीहरुपनि धेरैजसो जेल-हिरासतको कहर झेलेका थिए । लोकेन्द्र विष्टलाई त जेलको पर्यायनै भने हुन्थ्यो । भारतले हामीलाई नेपाल पठाउन सक्छ र नेपालको पुरानो सत्ताले मार्नसक्छ भन्नेपनि सोचिन्थ्यो । झापाका चतुरमान राजवंशीलाई मार्ने शर्तमा भारतीय शासकले नेपाली शासकलाई बुझाएको थियो । उनीहरुले हामीलाई चतुरमान राजवंशी बनाइदिन्छौंभनेर धम्क्याउँथे ।

हाम्रो गिरफ्तारी: संयोग कि नियोजित ! 

हामीलाई समग्र विश्लेषणका आधारमा त्यो गिरफ्तारी कुनै संयोग नभएर नियोजित हो भन्ने लागेको थियो । जसका आन्तरिक र बाह्य कारणहरु थिए । सिलीगुढीमा त्यसबेला अरु नेताहरुपनि थिए तर गिरफ्तारीमा क किरणमात्र पर्नुभयो, जो भारतप्रति अलि बढिनै आक्रामक र क्रान्तिकारी मुख्यालयको मुख्य सहयोगी हुनुहुन्थ्यो । नारायण शर्मा, दीनानाथ शर्माहरु वर्षैंदेखि सपरिवार एकै ठाउँमा छोराछोरीहरु नियमित विद्दालय, क्याम्पस पठाएर एक प्रकार खुला ढंगले बसेका थिए । वामदेव क्षेत्री दिल्लीकै सरकारी कर्मचारी थिए । उनीहरु भारतिय गुप्तचरको आँखामा पर्दैनन । तर दिल्ली पुगेकै दिन मात्रिका यादव र सुरेस आले गिरफ्तार पर्छन । यता पटनामा अन्तरबिरोधको एक पक्ष पुरै गिरफ्तार हुन्छ र अर्को पक्षको रौंपनि हल्लिँदैन ।

देवेन्द्र पराजुली र अरु केहि साथीहरु एउटै होटेलमा भएको पछि थाह भयो । तर त्यो होटेलमा भएका अरु गिरफ्तार भए । हामीलाई गिरफ्तार गरेको रात पटनाका सबै होटेलहरुमा छापा मारेको खबर प्राप्त भएको थियो तर त्यो छापामारीमा एकथरीलाई छुन सकेन । हामी सिमानामा पुग्दा नपुग्दै पटनामा नाम नछापी दुई जना महिला र पुरुष नेपाली माओवादी गिरफ्तार भएको समाचार स्थानिय पत्रीकाहरुले लेखेका रहेछन । हामीसँगको सोधपुछका क्रममा भारतीय प्रहरीहरुले पटनामा तिमिहरुका दुई जना गिरफ्तार भएका मान्छे चिन्छौ?’ भनी सोध्थे । भारतिय गुप्तचरहरुले वामदेव क्षेत्रीलाई किन कारबाही गरेकोभन्दै आक्रोशित हुन्थे । सोनामलाई यति कम उमेरमा कसको आशीर्वादले सचिवालय (पोलिटब्युरो) मा पुगिस ?’ भन्थे । कमरेड सोनामलाई त्यहि प्रश्न एकथरीले पार्टीभित्र उठाइरहेका थिए । देशभित्र २०५८/२०५९ ताका नै गिरफ्तार भएका साथीहरुलाई शाही सेनाले तँ प्रचण्डको मान्छे कि बाबुरामको ?’ सोध्थ्यो र भट्टराई पक्षधर भनिएका मुमाराम खनालसँग अन्तरबिरोध रहेकालाई बढि दमन गर्ने गरेको सूचना चन्द्रमान श्रेष्ठ, कुमार शाहलगायत अधिकांशबाट आउँथ्यो ।

क्रमश:

(दोस्रो भाग यहाँ क्लिक गरेर हेर्नुस्)

तपाइँको प्रतिक्रिया