सुरुङ युद्दपछि भारतकै लागि संसदिय युद्द
नेपाली जनतालाई कति सम्म पटमूर्ख, अबुझ र भेंडा बाख्रा ठान्छन् माओवादी नेता प्रचण्डले भन्ने यो गतिलो उदाहरण हो । सायद चित्र बहादुर केसीले भनेझैं ‘खास्टोले छोपेको बिरालो म्याउँ गर्छ’ भनेझैं । पछिल्लो पटक शान्तिवार्तामा आउनु अघिसम्म सबैभन्दा भारत बिरोधी प्रचण्डनै थिए । अर्थात सबैभन्दा राष्ट्रबादी नेता उनै देखिन्थे । भारतसित सिंगौरी खेलेर होइन असल संवन्ध बनाएर, कूटनितिक चातुर्य र चलाखीले संवन्ध राम्रो बनाएर नेपालको हितमा प्रयोग गर्नुपर्छ भनेर डा बाबुराम भट्टराईले भनेका बेला प्रचण्डले के आरोप लगाए ? भट्टराई भारतीय बिस्तारवादको पक्षपोषक हो । भारतीय स्वार्थमा चल्ने पात्र हो । राष्ट्र बिरोधी हो । त्यहि आरोप लगाउँदै उनले सोझा साझा जनतालाई मात्रै भुटेनन्, पार्टीका बडेबडे नेतालाइ समेत भुटेर सुरुङ युद्दको घोषणा गरे भारतबिरुद्द ।
नेतालाई बुइँ चढाउँन पाउँदा किर्नो झरेझैं सञ्चो मान्ने कार्यकर्ता न हुन्, उनको बोली भुइँमा खस्न नभ्याउँदै लागे नेपालका डाँडा पाखामा सुरुङ खन्न । भारतबिरुद युद्द गर्ने भन्दै नांगा पहाडहरु भ्वाङ पार्न । प्लास्टिकले बारेर सेल्टर बनाउन थाले । थोत्रा मोत्रा बन्दुक बटुलेर प्लास्टिकका सेल्टरतिर हानिन थाले लडाकू । युद्द त युद्द नै हो, तर अहिले तिनै प्रचण्ड भारतको पक्षमा संसदिय युद्द लड्न खोज्दै छन् ।
सुरुङ युद्द आव्हान गर्दा प्रचण्ड के भन्थे ? अब राष्ट्रिय मुक्ति आन्दोलन लड्नुपर्छ । हाम्रो सार्वभौमिकता, राष्ट्रिय अखण्डता भारतले संकटमा पारेको छ । त्यसैले भारतबिरुद्द राष्ट्रिय मुक्ति आन्दोलन छेडेर नेपाललाई मुक्त गर्नुपर्छ । भारतसित युद्द नलडी हाम्रो देश स्वतन्त्र हुन्न, मुक्त रहन्न । उनी उदाहरण दिन्थे “हामीले भियतनाममा झैं बनाइदिन्छौं” । उनी भारतसित त्यहि मुक्ति आन्दोलनकालागि सुरुङ खन्न लगाउँथे । भारतले हान्न आउँछ अनि ति सुरुङमा लुक्ने र बदला लिने । तर अहिले उनै प्रचण्ड भारतको पाउ मोल्न खोज्दै छन् । उनले हाकै भने ‘भारतको सक्रिय सहभागीता र समर्थनबिना नेपालमा शान्ति र संबिधानलाई तार्किक निष्कर्षमा पुर्याउन कठिन हुन्छ ।’
उनैका बचन, अडान र बोलीलाइ आधार मानेर हेर्दापनि स्पष्ठ देखिन्छ, खास्टोभित्रको बिरालो न रहेछन् उनी । छोपिएर बस्दा महान राष्ट्रवादी । हाम्रो भौगोलिक अखण्डताको सच्चा पहरेदार । एकमात्र साहसी नेता । भारतसित आमनेसामने, मुखामुख गर्न सक्ने । भारतीय शाषक वर्गसित आँखा जुधाउन सक्ने हिम्मतिला । भारतसित कहिल्यै नझुक्ने । तर अहिले खास्टो उघ्रियो । उनको सक्कली रुपपनि देखापर्यो । भारतीय पत्रीका हिन्दूसित अन्तर्वार्ता दिँदा दिँदै उनले अन्तरआत्मका कुरा खोले । आफ्नो रुप देखाए । अर्थात त्यसलाई भारतको चाकरी भन्नपनि सुहाउला । हिन्दूसित आत्म खोलेर भने उनले “‘१२ बुँदे सम्झौता दिल्लीमै हस्ताक्षर भयो । यसको मतलब त्यसमा भारतको सक्रिय सहयोग थियो । त्यो बिना १२ बुँदे सम्भव थिएन । भारतको सहयोगबिना संबिधानसभाको संभव थिएन । गणतन्त्र घोषणामा पनि समस्या आउन सक्थ्यो । अहिले शान्ति र संबिधानलाई तार्किक निष्कर्षमा पुर्याउन पनि भारतको सहयोग भएन भने निकै जटिल र कठिन हुन्छ ।”
१२ बुँदे दिल्लीमै । आफ्नो बसाई दिल्लीमै । छोरी ज्वाइँ भारतकै निवासी । गणतन्त्र भारतकै सहयोगमा । भारतको सक्रियता नभएको भए राजापनि नजाने । गणतन्त्रले पनि मुख देखाउन नपाउने । अब उसले सहयोग नगरे न संविधान बन्ने रहेछ । न शान्ति प्रक्रियाले ठाउँ पाउने रहेछ । भारतको सहयोग, सक्रियता र संलग्नताबिना त केहिपनि संभव नै रहेनछ नेपालमा । सबै भारतीय आशिर्वाद, सहयोग, सक्रियतामा मात्रै हुन्थ्यो भने किन संविधान सभा भन्दै जनतालाई गुहार्नु पर्यो ? किन संविधानकालागि नेपाली जनताको मत लिनुपर्यो ? खुरुक्क भारतलाई सोधे भैहाल्यो नी । आखिर भारतले नचाहे नेपाली जनताले जस्तो संविधान बनाउन खोजेपनि त संभव रहेनछ ।
यस्तो जान्दा जान्दै किन राष्ट्रियताको रक्षा भन्दै कुर्लिनु परेको ? किन सुरुङ युद्द आव्हान गर्नु परेको ? किनभने नेपाली जनतामा भारतबिरोधी भावना छ । त्यो भावनालाइ नगद नगरे सत्ताको भर्याङ उक्लिन पाइन्न । भारतसित नरम भावना राख्नेलाई नसरापेसम्म जनताको मत सोहोर्न मुश्किल पर्छ । भएभरका तिकडम र गाली सबै प्रयोग गर्यो । शक्तिमा आयो अनि थाल्यो भारतलाईनै खुशि बनाउन । आखिर सत्तामा बलियो देखिएपछि किन चाहिए जनता ? किन आदर गर्नुपर्यो आफ्नो बोलीको ? किन सम्मान गर्नुपर्यो आफ्ना नीतिको ? मूर्ख, भेडा कार्यकर्ता, चाकरीबाज, आसेपासे, पदका लागि पोल्टो थापेर बस्ने, वरिपरि भन्किराख्ने सहयोगी नेताले आखिर त्यस्तो सोध्ने लेठो गर्ने होइनन् क्यारे बिगतमा के बोलेको थियो भनेर !
त्यसैले बिगतमा सुरुङ युद्दका नायक प्रचण्ड अहिले संसदिय युद्दमा भिडेका छन् भारतलाई खुशि बनाउन । सबैभन्दा अगाडि बढेर उनले भारतको हाइ हाइ गरिरहेका छन् । भारतको पक्षमा प्रशंसा शुरु गरेका छन् । संसदिय दलहरु मध्ये सबैभन्दा ठूलो दलका नेता उनी । त्यसैले थालेका छन् संसदिय युद्द भारतका पक्षमा । युद्द जो बलियो छ उसैले जित्ने न हो । उनी अहिले बलिया छन् र त भारतका पक्षमा यो युद्द जित्न सकिन्छ भनेर कस्सिएका छन् ।




