आत्मसमर्पण किन हतारमा ?
सेना समायोजनकै मूल विषयमा राज्य संविधान बिहिन अवस्थामा अड्कियो करिब चार वर्ष । तर हिजो अकस्मात एमाले र नेपाली कांग्रेसलाईनै छक्क पार्दै जनसेना नेपाली सेनालाई जिम्मा लगाए प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले । जनसेनाको शिविर, कन्टेनरको हतियार सहित सबै नेपाली सेनालाई जिम्मा दिउँ भनेर एक्कासी प्रस्ताब गर्दा प्रतिपक्षी दलहरु छक्क नपर्ने कुरै भएन ।
शान्ति संझौताको शुरु देखिनै माओवादी र अन्य दलबिच सेना समायोजन नै प्रमुख मुद्दा रह्यो । यहि सेना समायोजनको गाँठो नफुक्दा संविधान बनाउने काम अवरुद्द भयो । माओवादीले सेना समायोजनमा आफ्नो हात बलियो पार्न चाहन्थ्यो । एमाले, नेपाली कांग्रेस र अन्य दल माओवादीलाई गलाउन, झुकाउन चाहन्थे । जनसेना, माओवादीका लागि गौरव अन्य दललाई घाँडो । माओवादीका लागि क्रान्तिकारी वीरहरु । अरुलाई आतंककारी र हत्यारा । त्यसैले झुक्ने, झुकाउने र अडान लिने, अनि अड्को थाप्ने काम भैराखे । ब्रिहत शान्ति संझौतामा सेना समायोजन भन्ने स्पष्ठ उल्लेख गरिएकालेपनि त्यो समायोजन नै हुनुपर्ने थियो । अर्थात जनसेना र नेपाली सेनालाई समान हैशियतमा ब्याख्या गरियो । यसो गर्दा जनसेनाले त्यो हैसियत खोज्नेनै भयो । तर माओवादीहरु गल्दै गए । थाक्दै गए । उनीहरु बिदेशी मालिक र प्रतिपक्षीका अगाडि लम्पसार पर्दै गए । आफ्ना शर्त राख्न सिपालु तर पुरा गराउन काँचा । प्रतिपक्षीसितको संझौतामा चलाख तर गल्नपनि उत्तिकै सिपालु । आफ्ना माग र अडानहरु चोइटिँदै, खिइँदै गए ।
अघिल्लो सातासम्म जनसेनालाई दिईने भनेको ब्रिज कोर्ष र छोटो हुनु पर्ने, जनसेनालाई कर्णेल र मेजर पद यति यति दिनु पर्छ भनेर कराउँदै आएकाहरु हिजो एक्कासि आफैंले प्रतिपक्षी दललाइ बोलाएर जनसेनाको शिविर, हतियार लगायत सम्पूर्ण शिविरनै नेपाली सेनालाई जिम्मा लगाए । सिधै भन्दा यति सजिलै झुके कि नेपाली कांग्रेस र एमाले लगायतका दललाई छक्क पारेको यसैले हो । यसमा माओवादीहरु झुके भन्न लाज, अप्ठेरो र असहज किन मान्न पर्दैन भने माओवादी आफैंले राखेका अडान पुरा नहुँदै पुरै जिम्मा लगाएका छन् समानान्तर ठानिएको नेपाली सेनालाई । र नेपाली कांग्रेसका नेता डा रामशरण महतले त भनिपनि सके ‘नेपाली सेनालाई लौ हाम्रो सुरक्षा गरिदेउ भनेर आफैंले हारगुहार गरेकाले सुरक्षा गरेको न हो’।
ब्रिहद शान्ति संझौतामा सेना समायोजन भनेर लेखिएकाले जब प्रचण्ड र बाबुराम पक्ष गल्दै गए, नेपाली कांग्रेस र एमाले लगायतका दलले गलाउँदै गए माओवादीमै बिबाद हुन थाल्यो । कमजोर र कडा धार देखिए । सेना समायोजनमा पार्टी अध्यक्षले अडान त्याग्दै जाँदा बिबाद गहिरिँदै गयो । यो बिबाद बढ्दै जाँदा जनसेनापनि दुई गूटमा बिभाजित हुँदै गए । सेना समायोजनमा पूर्व अडान त्यागेर जनसेना नेपाली सेनालाई जिम्मा लगाउँदा भिन्न मत भनिएका पक्षका जनसेनाले हतियार कब्जा गर्ने र संस्थापन पक्षका जनसेनामाथि आक्रमण गर्ने भयले हिजो हतार हतार नेपाली सेनाको जिम्मा लगाइएको भनिन्छ । तर यो उति पत्यारलाग्दो किन छैन भने शिविरमा राखिएको हतियारको कन्टेनर नेपाली सेनाले सुरक्षा गर्दै आएको हो । त्यसैले नेपाली सेनाको सुरक्षामा रहेको हतियार जनसेनाले कब्जा गर्न मुस्किल थियो । जनसेनालाई नेपाली सेनाको जिम्मा लगाएर टाउको हलुको पार्न मात्रै यो बहाना झिकेको देखिन्छ ।
आत्मसमर्पण किन र कसरी ?
जनसेनालाई झुकाइयो । आत्मसमर्पण गराइयो भन्ने जुन आरोप भिन्न पक्षबाट जोडले लगाइएको छ । त्यो जायज छ । किनभने शान्ति संझौतामै सेना समायोजन भनिएकाले नयाँ भर्ती लिएझैं जनसेनाको शारिरिक नापतौल, पढाइ र ज्ञान नेपाली सेनाले जोखेर समायोजन गर्ने भन्ने अर्थ लाग्दैन । अर्को कुरो के हो भने जनसेनाले नेपाली सेनालाई शत्रु, प्रतिक्रियावादीको रक्षक र दलाल सेना, राजतन्त्रको पहरे भन्दै आएको हो । आमने सामने लडेर आएका जनसेना अब नेपाली सेनाको तालिमबिना छिर्न नपाउने भए । जुन सेनालाई पैसाको लागि लडेको, प्रतिक्रियावादीका सेना भन्ने आरोप लगाएर आए त्यहि सेनाले अब तालिम दिने भयो । तिनको निर्देशन र खटनमा चल्नु पर्ने भयो । ब्रिज कोर्ष नगरि जनसेनालाई नलिने भन्नु नै ति सक्षम छैनन् भन्नु हो । त्यो ब्रिज कोर्ष नेपाली सेनाले दिएर जो सफल हुन्छन् बल्ल नेपाली सेनामा भित्रिइन्छन् ।
ब्रिज कोर्षकै क्रममा नेपाली सेनाले पुरानो रिसिबी साँध्छ । ‘हामीलाई सिध्याउन लड्नेको होइन सालेहरु, ज्यानमाराहरु । अहिले त हाम्रै निर्देशनमा आउनु पर्यो हैन ?’ भन्दै धम्काउँछ । तालिमका क्रममा अत्याउँछ । नमाने लपेटा लाउँछ । पुरानो रिसिबीको बदला ब्यवहारबाट लिन्छ । तिनलाई हेप्छ भन्ने त्रास धेरैमा छ । यहि ब्रिज कोर्षकै क्रममा नेपाली सेनाले अत्याएर र हेपेर धेरैलाई भाग्ने बनाउँछ भन्नेहरुपनि छन् । यो पुरै सत्य नहोला । तर आफ्नै ज्यान लिन उद्दत भएकाहरु आफ्नै नियन्त्रण र निर्देशनमा आएपछि त्यो मनोभावनाले काम नगर्ला भन्न सकिन्न । आफैंसित लडेकाहरुको निर्देशन खुरुखुरु मान्नु पर्दा जनसेनाकै आत्मसम्मान गिर्न सक्छ । ति आफैं हारेको र दबिएको मानसिकतामा पुग्छन् ।
मेजर र सहायक लेफ्टिनेन्ट भनेकै सेनामा ठूलो पद होइन । सरकारी सेवामा प्रवेश गर्न एकै चोटी सचिवमा लड्न पाइन्न । शाखा अधिक्रित पदमा लडेर जानुपर्छ । शाखा अधिक्रित हुन पढाइले पुगेर लोक सेवा आयोगको परिक्षा पास गरे हुन्छ । जनसेनालाई मेजर पद दिने भनिएकोपनि त्यस्तै हो । सेनामा भर्ति हुने अफिसर स्तरको पद । अझ त्यहाँ छिरेपछिपनि ब्रिज कोर्ष लिनुपर्ने भनेपछि त सेनामा भर्ति हुने जोकोहिले पुरा गर्नु पर्ने तालिम र शर्त जस्तै भैहाल्यो । त्यत्रा वर्ष जनसेना बनेर लडेको, तालिम लिएको र त्यो सैन्य अनुभवको आदर खोइ त ? तालिम लिइ लिइ त जोपनि छिर्न पाइहाल्छ नी जनसेना नै किन हुनु पर्यो र ? यहि तर्क गरेर जनसेनालाई आत्म समर्पण गराइयो भनिएको हो अहिले ।
यो किनपनि आत्म समर्पण हो भने माओवादीले जनताका छोरा छोरीलाई बुर्जुवा शिक्षा बहिस्कार भन्दै जनसेनामा लगेका थिए । बुर्जुवा शिक्षाको काम थिएन । जनवादी शिक्षा लागू गरिन्छ हाम्रो राज्य आएपछि भनिएको थियो । तर अहिले के भयो ? जनसेना समायोजनमा त्यहि बुर्जुवा शिक्षा नभै भएन । शिक्षा र तालिम, उमेर र ज्ञान हेरेर दर्जा तोकिने भनियो । यहि बुर्जुवा शिक्षा बहिस्कार भनेर जनसेनामा लैजाने । जनताका छोराछोरीलाई पढ्न नदिने । तर अहिले त्यहि बुर्जुवा शिक्षाकै आधारमा दर्जा तोकिने, सक्षम र असक्षम, कुन स्तरको भनेर तोक्ने निर्णय गरेकालेपनि यसलाई आत्मसमर्पण भनेका हुन् ।




