बेल्जियममा निधीको बेइज्जत : बिदेशमा भुत्रो खोज्दै हिँडेको ?

“ददीजी, यस्तो संकटपूर्ण अवस्थामा बहादुरीका साथ, साहस गरेर प्रजातन्त्रको पक्ष र तानाशाहीका बिरुद्दमा तपाईहरुले गर्नु भएको कामको म सराहना गर्छु । हामी सबै मिलेर यसको बिरोध गर्नुपर्छ र प्रजातन्त्र स्थापना गर्नुपर्छ । यस्तो बेलामा बिदेशमा बसेरपनि तपाईहरुले गर्नुभएको योगदानको पार्टीहरुले सहि मूल्यांकन गर्ने छन् । देशमा प्रजातन्त्र बहाली भएपछि तपाईहरु जस्ता ब्यक्तिको कदर हुने छ ।”

-बिमलेन्द्र निधी

उनले मलाई एक पटक ईमेल मार्फत सानो चिठि जस्तो पठाएका थिए । राजाले शासन लिएको बेला । पत्रीकामाथि सेन्सर थियो । पत्रकारलाई भकाभक पक्रेर जेल कोचिएको थियो । रेडियो र पत्रीकाका मूल ढोकामा बर्धी सहित बन्दूकधारी सुरक्षाकर्मी बस्थे । त्यो बेला आफू बिदेशमा । ईन्टरनेट को समस्या थिएन । त्यहि बेला नेपाल इन्फो भन्ने ब्लग चलाइयो । त्योबेला त्यसले निकै खुराक दिन्थ्यो प्रजातन्त्रका पक्षमा । यीनै बिमलेन्द्र निधी जस्ता, नेताका पक्षमा । माओवादीलाई मूल धारमा ल्याउ, संविधान सभाको निर्वाचन गर, राजालाई हुत्याउन एकजूट बन भन्ने सिधा भाषामा । बिमलेन्द्र निधी अन्य नेता झैं पाठक रहेछन् । उनले त्यहि बेला ईमेल लेखेर पठाए ।

खुबै लेखियो । पाएसम्म बटुलियो बिदेशी संस्था, पत्रपत्रीका र ब्यक्तिगत संवन्धबाट समाचार । रिपोटर्स सान फ्रान्टियर्स मात्रै होइन केहि बिदेशी कूटनितिज्ञलेपनि दिन्थे समाचार । कहिले दिल्लीबाट आउँथ्यो काठमाडौंको खबर । जे होस, देशबाट राजा कुलेलम ठोके । बिमलेन्द्र निधी जस्ता नेताको दिन आयो । हामीलाई नेपालका नेता बोलाएर भाषण ठोकाउनु र तिनका भाषण सुन्नु दुबै थिएन । त्यसैले वास्ता गरिएन । तर लाग्थ्यो, यो निधी कम्तिमा अलि ईमान्दार हो कि ! अलि देश र समाजप्रति चिन्ता गर्नेमा पर्छ कि ? तर होइन रहेछ । यो त झन धमिरो रहेछ यो देशको । वैरी रहेछ जनताको । उसको सक्कली रुप बेल्जियमका साहसिक साथीहरुले उदांगो पारिदिएपछि पो आँखा खुले ।

नेपाली कांग्रेस पार्टीले व्हिप नै जारी गरेको छ, कुनैपनि नेता बिदेश भ्रमण नजाउ भनेर । त्यो फुकुवा भएको छैन । तर लाज नहुनेलाई के मतलव ? जनताको डर, आदर र सम्मान नभएपछि के लाग्छ ? देश चुस्न पाए चार हात गोडा टेकेर चाट्नेसित के गर्नु ? देश भड्खालोमै जाओस् त के भो ? आफूले घुम्न, मस्ति गर्न, दाम बटुल्न र बिदेशमा के के न गरें भन्दै भाषण ठोक्न पाए भैगोनी । आखिर देश जसरि जहिले भासिएपनि मस्ति हुने यीनैको हो । झन नेपाली कांग्रेसबाट बिजय गच्छदार, जय प्रकाश गुप्ता, महन्त ठाकुर जस्ता थुप्रै मधेशीहरु नेपाली कांग्रेस पार्टी छोडेर हिँडेपछि त बिमलेन्द्र निधीलाई खुदो भएको छ । यसलेपनि छोड्ला कि भनेर नेपाली कांग्रेस यसै त्राहीमाम छ । अनि जे गरेपनि के भन्नु ? यसैको दुरुपयोग गर्नुसम्म गर्दै रहेछन् निधी ।

(यहि हो टनाटन मान्छे भएको नीधीको कार्यक्रम । फोटो- शेर बहादुर छन्त्याल)

देश सबैभन्दा चुनौतिपूर्ण अवस्थामा छ अहिले । एकातिर संविधान बनाउने बेला । द्वन्दलाई के कसरि संवोधन गर्ने, द्वन्दले बिश्राम लिँदाका आश्वासन पुरा हुने कि नहुने ? कस्तो प्रान्तिय राज्यको खाका कोर्ने ? संविधान कसरि राम्रो बनाउने ? जनताको परिवर्तनको आकांक्षालाई कसरि संविधानमा उल्लेख गर्ने ? यो दुई महिना झन चुनौतिपूर्ण छ । तर यस्तो बेलामा निधी श्रीमती र छोराहरु च्यापेर हनीमुन शैलीमा बिदेशका चिल्ला सडक चहार्दै यूरोप भ्रमणमा । यस्तालाई कस्तो बिरोध गर्ने ? च्याप्प समातेर मुखै मुखमा थुक्नु पर्ने हो । जुत्ताको माला लाएर यूरोपेली शहर घुमाउनु पर्ने हो । त्यति नगरेपनि बेल्जियमका नेपालीहरुले हुर्मत लिएछन् निधीको सार्वजनिक रुपमा बेइज्जति गरेर ।

भुइँफुट्टा, फटाहा, चाकरीबाज, चम्चावाज र नेताका कुरीमा समेत तेल घस्न जाने डँकैत शैलीका केहि चम्चेहरु भैहाल्छन् जहाँपनि । तिनको काम नेतालाई अघि पछि लाउनु । चकारी गर्नु । फोटो खिचाउनु । तिनको झोला बोक्नु । शहर घुमाउँदै जाँड खुवाएर बखान लाउनु हो । सँगै फोटो खिचाएर आफू के के न बनें भनेर देखाउनु । त्यस्तै चम्चे र कोत्रिएको दिमाख भएका निधीका चम्चेले बेल्जियममापनि भाषण सुन्न भनेर हल लिए । तर सबैलाई सधैं कहाँ गुमराहमा राख्न सकिन्छ ? सबै नेताका चाकरीबाज मात्रै कहाँ हुन्छन् ? पार्टीको नीति मान्नुपर्छ, देशमा असहज भएका बेला यूरोपको पारिलो घाम खोज्दै हिँड्नुहुन्न भन्ने अलि बिबेकिपनि त हुन्छन् । हो नेपाली कांग्रेस समर्थक त्यस्तैले हुर्मत लिए बिमलेन्द्र निधीको । निधीको भाषण सुन्ने नाममा चाकरी बजाउने सुर कसेकाको बेइज्जाति भो । सके निधीले असक्षम भनेर कारवाहीको सिफारिस गर्ने होला तिनको । अनि तिनलाई खपी नसक्नु भएर त्यो कार्यक्रम बहिस्कार गर्नेलाई धाक धम्कि दिन थालेका रहेछन् । बिदेशमा पनि उहि गुण्डा गर्दी ।

देश एकदम कठिन अवस्थामा रहेको, नेपाली कांग्रेसले आफ्ना सभासद, नेतालाई देश नछोड्न व्हिप जारी गरेको र संविधान बनाउन देशमाइ बस्नु पर्ने बेला हनिमुन शैलीमा बिदेश चहारेको भनेर तिनले बिरोध गरेछन् । चानचुने हुन् र ? थोरै छन् र बिरोध गर्नेमापनि ? यसरी नेता जीलाई वहिष्कार गर्नेहरुमा गैरआवासीय नेपालीहरुको संस्था विपी स्मृति प्रतिष्ठान, नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्षहरु धुर्व राज पौडेल, गोपाल सापकोटा, इन्द् क्षेत्री पकवान, उल्का घिमिरे, हिमालय टाइम्सका प्रतिनिधि महेन्द् पौडेल, नेपाल तरुण दल वेल्जियम, नेपाल तरुण दल महिला विभाग उप प्रमुख सीता सापकोटा, नेपाली जनसम्पर्क समितिका पूर्व उपाध्यक्षहरु माधव सापकोटा, प्रेम गुरुङ, धन शाही, सुदर्शन सिखडा, रमेश सापकोटा, कमल सिटौला लगायत रहेछन् ।

हल टन्न भरेर देखाउँला र अरुलाई भेडा बाक्रा झैं देखाएर निधीको चाकरी गर्दै पैतलामा सधैं टाँस्सिएर बसौंला भन्नेको सपना चकनाचुर । त्यत्रो हलमा जम्मा २३, २४ जना । कसैले औंलो ठड्याएर बिरोध गरे । कोहि जुरुक्क उठे । कसैले सत्तो सराप लाए । तर देश लुट्ने, जनतालाई ढाँट्ने, पार्टीलाई झुक्याउने, आफ्नै नीति कुल्चने र बिदेशका नेपालीलाई अबुझ ठान्ने यस्ता हरिलठ्ठक, स्वार्थी, आदर्शहिन नेतालाई यसैगरि बेइज्जती गर्नुपर्छ । यो बेला कुनै एक दल होइन, जुनसुकै दलका नेता आउन् तिनलाई सबै मिलेर यसै गर्नुपर्छ । लाज शरम पचेका, नेताको गुप्तांगमै झुण्डिन तयार चाकरीबाजहरुका कुरा सुन्ने हो भने मूर्छा परिन्छ हाँसेर । तस्विर साक्षी छ कति रैछन् मान्छे । तर भव्य सफल भो रे । कोचाकोच थिए रे निधीका कुरा सुन्न ।

तपाइँको प्रतिक्रिया