एकथरी कामरेडको उठिबास अर्का थरीको मस्ती

धेरै साथीहरु र शुभचिन्तकहरुले निराश नहुन आग्रह गर्दै उत्साहित गरिरहनुभएको छ । सबैप्रति आभारी छु । तर स्वाभिमानको जीवन साँच्चै संकटमा पुगेको छ । कोठा भाडा तिर्न नसकेको समस्या छँदै थियो, चामल र तरकारी पसलको उधारो तिर्ने कुरा त कता हो कता, त्यो बाटो हिँड्नै छाडियो लाजले । उपचारको निम्ति गाउँबाट ८० वर्षीय बुढी आमा आउनुभएको छ । केले गर्ने उपचार ? चोलो सिलाको ज्याला तिर्न नसक्दा हप्तौ बितिसक्दा पनि लिन गएको छैन् । सानो छोरालाई दूध खुवाउनु त रहरै पो हुने भयो ! अब मसँग बिकल्प एउटै मात्र छ, केही हजार पुस्तक छन, तिनलाई सेकेण्ड ह्याण्डमा बिक्री गर्नु ।

माओवादीको भात्री संगठन अखिल नेपाल बिध्यार्थी संगठन (क्रान्तिकारी) का पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले केहि दिन अघि निकै मार्मिक प्रसंग टाँसे आफ्नो फेस बूकको भित्तामा ।

साँच्चै उनका यी पीडा मन छुने खालका छैनन् त ? यस्तो पीडा खप्ने के उनी एक्ला हुन् ? जनयुद्द गरेर देश र समाज बदल्ने, दुख र गरिवका सुखका दिन ल्याउने भन्ने सपना त भासिएनै । हिजो संगठनलाई कुशलतापूर्वक हाँकेका ईमान्दार नेताहरुको बिल्लिबाठ भएको छ । कोठा भाडा तिर्न नसकेर घरबेटीका आँखा छलेर हिँड्ने धेरै छन् । तरकारी र चामल जोड्न नसकेर अब ईमान्दार कार्यकर्ताले ढाँटछल गर्नुपर्ने बाध्यकारी अवस्था छ । गाउँघरमा गएर दुख बिसाउने कुरो भएन । तिम्रो सरकारले के गर्‍यो ? भनेर र्‍याखर्‍याखती पार्छन् । जवाफ के दिने ? गाउँबाट अब ति उल्टै भाग्नुपर्ने अवस्था छ । पार्टीमा प्रचण्ड कामरेडले करोडौं कुम्ल्याएको हाकाहाकी आरोप लागेको पालुङटार भेलामै हो । त्योपनि लिखित रुपमा । तर हिसाव दिनु पर्दैन, मुख खोल्नु पर्दैन । पुच्छर लुकाएर, टाउको निहुराएर चुपचाप बसेरै टरेको छ ।

अहिले सत्तामा छन् प्रधानमन्त्री बाबुराम भट्टराई । पार्टीमा हालिमुहाली, मुली प्रचण्ड छन् । सरकारमा उनैका चाटुकारको हालीमुहाली छ । जनताका छोरा छोरीबिरुद्द सुराकी गर्नेहरु, हिजो त्यहि जनयुद्दलाई दुत्कार्नेहरु अहिले बाबुरामको सरकारका प्रिय पात्र बनेका छन् । तिनले जनयुद्दबाट प्राप्त सरकारको लगानी खाइरहेका छन् । तिनैलाई पोस्न दौडिरहेका छन् डा साप । प्रचण्डलाई करोडौंको महलमा बस्न पुग्यो । उनका भाइ भतिजा, ज्वाई र छोरीले उपयुक्त स्थान पाए । टाठाहरुले, नेताको वरिपरि भन्किनेले आफ्ना नजिकका, नातापातालाईपनि सरकारी, संस्थान र नीजि कम्पनीमा भएपनि जागिरेमा घुसाए । प्रचण्डका छोरा सबै थोक पुगिसरि भएपछि अलि करोडौं खर्च गरेर सौखिन मानिने हिमाल आरोहणमा लागेका छन्  ।

हिजो खोल्सा खोल्सीमा चप्पल फुकालेर नांगो गोडा हिँडेका नेता आज सरकारमा पुगेपछि हेलिकोप्टरमा घुम्दै छन् रोल्पा रुकुम । तर त्यहाँका जनताको नांगो पहाड न बदलिएको छ । न तिनले चप्पल लगाउन पाउने हैसियत बनाइदिएका छन् । झण्डा हल्लाउँदै गाडी कुदाउन र सरकारी धनमा सुबिधा लिएर देश बिदेश घुम्न पुगेकै छ । हिजोका पतेराले चुसे जस्ता अनुहार किर्ना झैं ढाडिएका छन् । नेताका घरमा चाकरीबाज, चैते र दलालहरुको भिड लाग्छ बिहानैदेखि । कार्यकर्ताका कुरा सुन्ने तिनसित फूर्सद छैन । किनभने तिनसित भेट्यो कि गुनासो सुन्ने हो । कमिशन दिने, टेण्डर पार्ने र आर्थिक घोटाला गर्ने योजना लिएर ति नेता भेट्न जाँदैनन् । त्यसैले तिनका आवाजसम्मपनि दबिएका छन् ।

ईमान्दार कार्यकर्ता हिजो आवश्यक थिए । आज छैन । किनभने जमाना बदलियो । सरकारमा पुग्नु थियो । सत्ता र शक्ति हत्याउनु थियो । तिनले हत्याए । मोटाउनु थियो । भविष्यका लागि केहि जोगाड गर्नु थियो गरे । अब लेखनाथ न्यौपाने जस्ताका आवाज सुन्ने लेठो गरेर केहि हात लागि हुन्न । क्रान्तिका गफ जति सुकै गरेपनि अब क्रान्ति भैहाल्दैन । किनभने हजारौंको बगेको रगतको मूल्य जनताले खोज्छन्, सोध्छन् पहिले । पटक पटक रगतको खोलि बगौन सित्तैमा को तयार हुन्छ ? प्रचण्ड र बाबुरामलाई झैं फेरि अर्का एकाध जोडीलाई सत्तामा अँचेटेर पुर्‍याउन । किर्ना झैं सत्ता र शक्तिको आडमा ढाडिएका नेताको मानसिकता अब २०४७ सालकै संविधन ब्युँताएपनि क्रान्तिमा जाने छैन । बलिदान गर्छौं भन्नु त तिनको कुर्सीका लागि घुर्काउने रहर मात्रै हो । ति घुम्ने सिंहदरबार, नारायणहिटी, वालुवाटार वा उद्दोगी ब्यापारी र कुर्सीकै निकट हो । अधिकांश नेता त्यसैका पक्षमा लागेका छन् । न्यौपाने जस्ता दुई चार जनाले ङार ङुर गरेर केहि हुनेवाला छैन ।

ईमान जमान, बिगतको बाचा, पार्टीको नीति, पहिले जनता र पार्टी कार्यकर्ताका अगाडि खाएको कसम सबै बागमतीको ढलसितै बगिहाल्यो । त्यसैले अहिलेको मूख्य कुरो नै सत्ता र शक्ति हो । लेखनाथ न्यौपानेहरु जनयुद्दका छोक्रा हुन् । रस चुस्नेहरुले छोक्रा हेर्दैनन् । त्यसैले यस्ता छोक्राहरु धेरै छन् जो तडपिरहेछन् हिजोका बाचा सम्झेर । भागिरहेछन् घर भाडा तिर्न नसकेर । लुकिरहेछन् उधारो ल्याएको चामल र सागको पैसो तिर्न नसकेर । बाबु आमा र श्रीमतीको लोप्पा खाइरहेछन् ‘तेरो जनयुद्दले के गर्‍यो?’ भन्ने बचन सहँदै ।

तपाइँको प्रतिक्रिया