मन्त्री ज्यूले दुबै आँखा खल्तीमा हालेर हिँड्नु भाथ्यो ?

भिसा बिना कतै भ्रमण गरे के हुन्छ ? गैह्र कानुनी । गैह्र कानुनी काम गर्नेलाई छुट्कारा हुन्छ ? किन नहुने ? तर नेपालमा । यूरोपमा हुन्न । यूरोपेली देशले नेपालमा झैं मनपरी गर्नेलाई छुट दिँदैनन् । गैह्र कानुनी काम गर्दै हिँड्नेलाई प्रहरीले झ्यालटुङ पारेर लान्छ । हाम्रा पर्यटन मन्त्री लोकेन्द्र बिष्टलाईपनि आबुधाबीको प्रहरीले पक्रेको हो । तर मन्त्रीले हैन भने । त्यहाँको दुतावासले होइन भन्यो । त्यो मन्त्रीसित डराएर, नेपालको बेइज्जती होला भनेर ।

बास्तबिकता के हो ? आबुधाबीमा रहेका केहि नेपालीले नेपालप्लसलाई जानकारी दिएका छन्। उनीहरुको अनुसार यो समाचार त्यहाँको दुतावासनिकट स्रोतले दिएको हो । मन्त्री बिष्ट जब जर्मनीका लागि उड्न थाले तब भिसा नभएको पत्तो लाग्यो । बिमान कम्पनीका कर्मचारीले सुरक्षा अधिकारीलाई खबर गरिदिए । त्यसपछि उनलाई सुरक्षाकर्मीले समातेर लगे । प्रहरीको सुरक्षा नियन्त्रणमा परेपछि अब बेइज्जती हुन्छ भन्ने सोचेर उनले यता उति सम्पर्क गर्न खोजेका थिए । तर सकेनन् । बिमानमा जान प्रतिबन्ध त गरेनै । उनलाई प्रहरीले भिसा बिना जर्मनी उड्न खोजेको भन्दै नियन्त्रणमा लिएपछि बल्ल मन्त्री बिष्टले ‘म नेपालको मन्त्री हुँ’ भनेका थिए । त्यहाँ रात परेको थियो । नेपालमा खबर गर्न र नेपालस्थित जर्मन दुतवासमा सम्पर्क गरेर समस्या समाधान गर्न रातको समय परेकाले कठिन भएको बतएका थिए । आफू मन्त्री भएको र कार्यालय खुल्ने समय भएपछि दुतावास र परराष्ट्र मन्त्रालयबाट भिसाको समस्या हल गरिने भन्दै तर्क गरेका थिए ।

नेपालको मन्त्री भएपनि भिसा नलिकनै भ्रमण गरेको भन्दै अध्यागमनका अधिकारीहरु अचम्मित भएका थिए । कूटनितिक पासपोर्ट बोकेको र उनले मन्त्री हुँ भनेपछि असल ब्यवहार गरेका रहेछन् । उज्यालो नहुँदासम्म मन्त्री बिष्टलाई प्रहरीहरुले राखेका थिए । आबुधाबीबाट जगन्नाथ सिलवालले दिएको जानकारी अनुसार दुतावासका कर्मचारीहरुले मन्त्री बिष्ट पक्राउ परेको तर सार्वजनिक बेइज्जतिको डरले पक्राउ परेको नबताएका हुन् । “मन्त्री ज्यु पक्राउ त पर्नु भएको हो नी तर भन्न भएन। भिसा बिना आर्काको देश जान खोजेपछि पक्राउ गर्दैन ? तर मन्त्रीलाई पुलिसले पक्र्यो भन्नु भएन त’ दुतावासका कर्मचारीको भनाई उल्लेख गर्दै सिलवालले भने ।

तर यता मन्त्री बिष्टले भने आफ्नो कमजोरीलाई लुकाउन, आफ्नो गल्तिलाई छोप्न परराष्ट्रका कर्मचारीमाथि पो कारवाही गर्ने धम्कि दिएका छन् । लौ परराष्ट्रका कर्मचारीले गल्ति गरेर भिसा लिएनछन् रे । तर उनको पासपोर्ट के उनैलाई दिएका थिएनन् । उनले आफ्नो पासपोर्ट हेर्न सकेनन् ? कि पासपोर्ट र अन्य कागजपत्र हेर्ने आँखा उनले गोजीमा हालेर हिँडेका थिए ? भिसाको लागि सम्पूर्ण कागजी प्रक्रिया आफैंले गर्ने नभएपनि कम्तिमा बिमानस्थलमा आफ्नो पासपोर्ट त हेर्न सक्थे ।

उनलाई लाग्यो होला, नेपालमा झै धाक धम्कि लाएर चल्छ संसारभरि । मन्त्री, सभासद, पार्टी अध्यक्षको निकट, ठूलो पार्टीको नेता भएपछि नेपालमा जुन मनपरी तरिकाले चल्छ अरु देशमा पनि चल्छ । नेपालमा मन्त्री भनेपछि सारा प्रशासन र सुरक्षा अधिकारी थुरुरु भएझैं अरु देशमापनि हुन्छन् । कुटनितिक पासपोर्ट मनपरी चलाउन पाइन्छ । तर बिदेशमा त सुरक्षा अधिकारीहरुले आफ्नो काम निर्भिक भएर गर्छन् प्रायगरि। मन्त्री होस् कि वकिल, पार्टीको अध्यक्ष होस् कि सभासद । कानुन अनुसार जाँच्छन् । नियम अनुसार हेर्छन् । मिले सबैलाई मिल्छ । नमिले मन्त्रीनै होस् धम्कि दिएर कमै चल्छ । यो कुरा हाम्रा मन्त्री बिष्टले कहिले बुझ्ने ? आफुले बुझेर लिएको पासपोर्ट आबुधाबी पुगेर राति उड्ने बेला सम्म नहेर्ने । अनि त्यसको गल्ति चाहिँ कर्मचारीका थाप्लामा हालेर आफू चोखिने ? स्वदेश फर्केपछि फेरी मन्त्री पदको, शक्तिको दुरुपयोग गर्ने ? कर्मचारीलाई कारवाही होइन बरु पर्टी र देशको बेइज्जति गरेको भनेर माओवादी पार्टीले पो कारवाही गर्नुपर्छ त यी हुस्सु मन्त्रीलाई ।

तपाइँको प्रतिक्रिया