एमालेको निकास भित्र सत्ताको हस्को ठ्वाँस्स
बेला बेला त खुबै नाटक गर्छन् एमालेका नेताले । जनता अगाडि देखेपछि त जे भन्दे’नी हुन्छ । जस्तो भनेपनि पत्याउँछन् । हनुमान शैलीमा केहिले ताली पिटेपछि साराले पत्याउँछन् । समग्र नेपाल भनेको निधार जत्रो खुला मञ्च हो । सारा नेपाली भनेका त्यहि खुला मञ्च भर्न टुप्पीसम्मको बल निकालेर, बसका छत र ट्याक्टरका ट्याल्लरमा खाँदेर ल्याएका नेपाली मात्रै हुन् भन्ने लाग्दो हो एमालेका नेता गणलाई । त्यहि भएर तिनले न बिगत नियाल्छन् । न बर्तमानमा टेकेको धर्ती हेर्छन् । न भविष्यको सहि मूल्यांकन गर्न सक्छन् । बिगतको हात्ती जत्रो पार्टी खिइएर बोको जत्रो भैसक्यो । चेत्नु त कहाँ कहाँ । अझै छली भाषण ठोकेर जनतालाई मूर्ख बनाउने । अझै आफू र पार्टीको साख गिराउने ।
जिवनका अधिकांश उर्वर काल राजधानीमा बसेर राजनिति गर्दापनि संविधान सभामा राजधानीका जनताले लोप्पा खुवाएर रित्तो पारे । जनताको विश्वास घट्दो छ । एउटा आम सभा गर्न अब देश भरिबाट कार्यकर्ता घोग्र्याएर, मुन्ट्याएर, लोभ्याएर र लौ राजधानी सित्तीमै हेर्न पाइन्छ भन्दै ल्याउनु परेको छ । यस्तो पार्टीले कांग्रेस र माओवादीलाई बाटो देखाउने, सच्याउने रे !
उल्लूपनि कति बनाएका जनतालाई । नेपाली कांग्रेस र माओवादीले केहि गर्न सकेनन् रे । अब एमालेले निकास दिने रे । तर के निकास दिने त ? केहि छैन । अन्धा कार्यकर्ताले सोधेनन् के हो निकास ? कसरि निकास ? परर ताली पिटे सक्कियो । देशलाई निकास संविधान बनाएर दिनु छ । स्थायी शान्ति दिनु छ । त्यो दुइटै एमालेलाई कसरि दिने थाह छैन । किनभने एमालेले संविधान कस्तो बनाउने भनेर खाका सम्म बनाएको छैन । अनि कसरि दिने निकास ? संविधान कस्तो बनाउने त भन्दा एमालेका नेता ‘हामी यस्तै भनेर जबर्जस्ति गर्दैनौं, सहमतीमा गर्छौं’ भन्छन् । संविधान जस्तो कुरो यस्तो हुनु पर्छ भन्नेनै छैन । अरुले जस्तो प्रस्ताव गर्यो त्यसैमा यस्सो जिब्रो चपाएर समर्थन गर्यो, लेठै खत्तम ।
निकास कसरि दिने ? न कांग्रेसको जस्तो स्पष्ठ नीति छ । न कांग्रेसको जस्तो वर्गको प्रतिनिधित्व छ । न कांग्रेसको जस्तो अडान छ । न माओवादीले झै यस्तो संविधान भन्न सक्या छ । न कार्यकर्ता छन् माओवादीका जस्ता । न संगठन छ माओवादीको जस्तो । न देशको विकास यसरि गर्ने भन्ने कुनै लिखित नीति छ । उद्देश्य सरकारको कुर्सीमा केन्द्रित छ । नेताको पारा उहि हो । वामदेव गौतम, केपी ओली, ईश्वर पोख्रेल, माधव नेपाल, भिम रावल त पार्टी हाँक्ने नेता छन् । जिन्दगी बित्यो बामपन्थि राजनीति गरेको । दिन प्रतिदिन गन्हाएका छन् । देशलाई के दिने ? जनताले निर्वाचनमा लोप्पा खुवाएका अधिकांश नेताले पार्टी हाँकेका छन् । नाथे १२ हजार जनताले नपत्याउनेले देश हाँकेर निकास दिने रे । कसले पत्याउँछ ?
निकास दिन्छौं राष्ट्रलाई भनेपछि त जनतालाई सार्वजनिक रुपमा यसरि देशलाई निकास दिन्छौं । यसरि सफल पार्छौं । यो हो उपाय भन्न सक्नुपर्दैन त ? केहि छैन के भन्नु ? यीनको दिमाखमा देशलाई हाँक्न सक्ने तत्व नै छैन । अनि भाषणै पिच्छे कांग्रेसलाई दक्षिणपन्थी भन्दै सरापे । माओवादीलाई उग्रपन्थी भनेर कुर्लिए । कांग्रेस र माओवादीलाई गाली गरेपछि निकास आ उला झैं गरेर सक्कियो ।
संविधान बनाउन, दिर्घकालिन शान्ति स्थापना गर्न यो यो गर्नु पर्छ । कांग्रेस र माओवादी यहाँ यहाँ चुके । यसरि संभव छ हामीलाई साथ दिनुस् भनेर जनता जगाउन सक्नु पर्ने होइन निकास दिनेले ? दिमाखमा सत्ताको कुर्सी घुमेको छ । कुर्सीमा जान पाए करोड झ्याम्म पार्थें भन्ने मानसिकता छ । माओवादी र मधेशीहरु सरकारमा गएर मोज लुटे, आफू चिल्लै परियो भन्ने सुर्ताले हुटहुटी पारेको छ । कार्यकर्तालाई के भनेर अल्झाइराख्ने होला भन्ने उपाय चाहिएको छ । बास चाहिएको त्यत्ति हो । देशलाई निकास दिने भए पो निकासका उपाय हुनु ।
भ्रस्टाचारमा नफसेका उहि रवीन्द्र अधिकारी र ठाकुर गैह्रे जस्ता दुई चार जना फुचुने नेता छन् । जनताका अगाडि बदनाम, भ्रस्ट, बोलीको ठेगान नभएका, वर्षौं वर्ष देखि सत्तामा बसेर लूट भूट (मान्छे भुट्ने) मच्चाएका । देशको माटो बेचेर समेत पोल्टा भरेका नेता छन् । जो अलि गतिला छन् ति फुचुने र राजेन्द्र श्रेष्ठ जस्ता तिनको न बोली बिक्छ । न जिम्मेवारी छ । अनि कसरि होला यस्तो पार्टीले माओवादी र कांग्रेसलाई निर्देश गर्ने । निकास दिने कसरि ? आफूसित केहि भए न हो निकास दिने । देशको संविधान यस्तो हुनुपर्छ । यसरि दिर्घकालिन शान्ति प्राप्त हुन्छ भन्ने भए पो निकास दिनु । आफैं नांगो छ उसले अरुलाई लूगा बाँड्ने ? बरु यो निकास भित्र एमालेको फेरी सत्ताको दाउ, लोभ र र्याल लुकेको छ । माओवादी र कांग्रेसले देशलाई निकास दिन सकेनन् । अब हामीले सरकारको नेत्रित्व गरेर निकास दिन्छौं भन्ने यो चोट्टा दाउ पो हुन सक्छ ।
यो नभै नभएकोपनि झलनाथ खनाल र केपी ओलीलाई हो । माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भैसके । अब तेस्रो बरियताक्रमको म भएकाले मै प्रधानमन्त्री हुनु पर्छ भन्ने ओलीको दाबी सार्वजनिक भैसकेकै हो । झलनाथलाईपनि ओलीलाई आफूतिर तानेर माधव नेपाललाई कमजोर बनाउनु छ । त्यसैले यो निकास भित्र सत्ताको हस्को ठ्वाँस्स निस्केको छ ।
(फोटो- अनलाईन खबर)




