लाज नभएको ग्रिहमन्त्री, बेकामको सुरक्षा संयन्त्र

बबरमहल जस्तो ब्यस्त ठाउँ । पिठ्युँमै छ सिंहदरबार । देशको मुख्य प्रशासनिक केन्द्र । छेउमै प्रहरी कार्यालय छ । बाटैमा प्रहरीहरु उभिएका हुन्छन् । आयल निगमकै गेटमा दिउँसै सयौं मान्छे हिँड्दा हिँड्दै बम बिस्फोट गराएर आनन्दले बाटो लागे अपराधीहरु । धादिङका दुई निमुखा लगायत अर्कि महिलाको ज्यान लिए अपराधीले । यस्तो ब्यस्त ठाउँमा कसरि बम हान्न सके ? राजधानीको मुटुमै आक्रमण गर्ने हिम्मत अपराधीहरुलाई कसरि आयो ? के सुरक्षा ब्यवस्था राम्रो भएको भए यसरि आक्रमण गर्न सक्छ कसैले ? सरकारको सुरक्षा संयन्त्र नाम मात्रको छ बन्ने नबुझिकन कसैले यस्तो आँट गर्न सक्छ ?

तर देश भरिका नागरिकको ज्यु धनको सुरक्षाको जिम्मेवारी लिएका ग्रिहमन्त्री भने लाजै नमानी यसलाई सुरक्षा ब्यवस्थामा भएको कमजोरी मान्न तयार छैनन् । सरकारको सुरक्षा प्रणाली कमजोर भएकोले होइन रे यो । तर प्रश्न उठ्छ, सुरक्षा ब्यवस्था चुस्त र दुरुस्त भए अपराधीहरु किन पक्राउ परेनन् त ?

सुरक्षा निकायको काम के हो ? अपराधीलाई पक्राउ गर्नु भन्दापनि अघि त्यस्ता घटना हुनै नदिनु । रोक्नु । असफल पार्नु । तर अपराधीका यस्ता योजना पहिलेनै थाहा पाएर असफल पार्नु त परै जाओस, सुरक्षा अधिकारीले सञ्चार माध्यममा घण्टौं अन्तर्वार्ता दिएर हाकाहाकि जिम्मेवारी लिँदासमेत पक्राउ गर्न सकेको छैन । टिभी र रेडियोलाई अन्तर्वार्ता दिँदै अझ ठूला ठूला बिस्फोटन गराउँछौं भनेर हाकै धम्कि दिँदापानि ग्रिह मन्त्रालयको सुरक्षा संयन्त्रले देख्दैन, भेट्दैन । तैपनि ग्रिहमन्त्री बिजयकुमार गच्छदार चाहिँ सुरक्षा ब्यवस्था गतिलै भएको फोस्रो धाक दिन्छन् ।

यस्तै अपराधिक घटनाको पूर्व जानकारी लिन राज्यले गुप्तचरहरु पालेको छ । राष्ट्रिय अनुसन्धान बिभागमा सयौं गुप्तचरको सेवा र सुबिधामा सरकारले करोडौं करोड खर्च गर्छ वर्षेनी । तिनको सेवा र स्तर अनि सिप व्रिद्दि गर्न भनेर थप सेवा सुबिधा दिन्छ । बिदेश भ्रमण गर्छन् । तर खै त यस्ता अपराधिक घटनाको गुप्तचरी गर्न सकेको तिनले ? खै अपराधीहरुको स्रोत र संयन्त्र पत्ता लगाएर पक्राउ गर्न सकेको ? सरकारले यस्ता अपराधका सूचना लिन भनेर पालेकाले खै त सुराकी गर्न सकेको ? गुप्तचरी गर्न बसेकाहरुको काम के हो ? तिनले के गरेर बस्छन् ? किन सधैं चुकिरहेका छन् ? यस्ता नाथे गुप्तचरहरु पाल्न किन राज्यको ढुकुटी खर्च गर्ने ? किन तालिम दिने बिदेश पठाएर ?

दिउँसै, कार्यालय समयमै बम पड्काउने योजना पत्ता लगाउन नसक्ने गुप्तचर । नेपाल प्रहरीका त छन् नै । नेपाली सेनाकापनि छन् । तर ति सबै बेकाम रहेछन् । पड्काइ सकेपछि तिनलाई पक्राउ गर्न नसक्ने सुरक्षा अधिकारी झन असफल । राज्य सञ्चालनको प्रमुख केन्द्रमै आक्रमण गर्दा त अपराधी पक्राउ पर्दैनन् भने देशका अन्य भागको अवस्था के होला ? यस्तो नाथे सुरक्षा संयन्त्रले कसरि नागरिकलाई सुरक्षा दिने ? कसरि देशका अन्य भागको सुरक्षा गर्ने ? राजधानीको प्रमुख केन्द्रमै आक्रमण गरेर अपराधीले सरकारको कार्यक्षमतालाई चुनौति दिएका छन् । नांगो पारिदिएका छन् सरकारको सुरक्षा प्रणालीलाई । तर लाज नभएका ग्रिहमन्त्री न परे । नैतिकताका आधारमा राजिनामा दिनुको साटो उल्टो लाजै नमानी सरकारलाई थ्रेट दिन खोज्या हो, सुरक्षा प्रणाली नराम्रो कमजोर भएको होइन रे ।

तपाइँको प्रतिक्रिया