जुन जाति होस्, शोषितपिडितको साझा शत्रु सामान्तवादी राज्यब्यवस्था

सोमना थारु / बेल्जियम

नेपालका जनजातिहरु राज्यको हरेक क्षेत्रमा शोषित र पिडित छन । तिनिहरु सामाजिक, राजनितिक, आर्थिक तथा अन्य हरेक क्षेत्रमा पछाडी पारीएका छन । हिन्दु अहंकारवादी र सामन्तवादी शोषणमा आधारित राज्य व्यवस्थाले जनजातिहरु तथा दलितहरुलाइ पछाडी पारेको हो । नकि कुनै जाति विशेषले हो । त्यो राज्य व्यवस्थाले उनीहरु माथि भेदभाव गरेकै हो र त्यो क्रम अझै कायमै छ । जनजातिहरु माथि शोषण, दमन, अन्याय, अत्याचार राज्य तथा शासक जातिद्धारा मात्र भएको छैन । जनजाति भित्रका सामन्त तथा जमिन्दारहरु द्धारा पनि जनजातिहरु आर्थिक हिसाबले शोषित र पिडित छन । त्यस कारण दलित जाति तथा जनजातिहरु लगायत सबै शोषित पिडितहरु एक जुट भएर प्रतिक्रियावादी व्यवस्था विरुद्ध संघर्ष गर्नु पर्छ, नकी कुनै जाति विरुद्ध । 

आर्य जातिमै पनि सबभन्दा सर्वश्रेष्ठ र उपल्लो मानिने ब्राहमणहरुको पनि सबैको अवस्था एउटै छैन । कोही ब्राहमणहरु ठुल्ठुला जमिन्दार छन । उनीहरुले किसान मजदुरका रगत पसिना चुसिरहेका छन भने अर्कोतिर जिवन आपनको निमित्त गिट्टी कुटने देखि लिएर भरिया मजदुरी गर्ने ब्राहमण यहि देशमा छन । त्यति मात्र नभई रोजी रोटीको लागी देश विदेशका गल्ली गल्ली चाहार्न विवश ब्राहमणहरु पनि हाम्रै अगाडी छन । अर्कोतिर जनजाति र दलितहरुमा पनि कोही भव्य आलिशान महलमा बस्ने छन भने कोही झोपडीमा र खुल्ला आकाश मुनि बस्ने छन । यहाँ धनि थारुले गरिब थारुलाइ ठगेको छ । यहाँ धनि गुरुङले गरिब गुरुङको उठीबास गरेको छ । धनि नेवारले गरिब नेवारलाइ चुसेको छ । यहाँ धनि बाहुनले गरिब बाहुनलाइ शोषण गरेको छ । एउटै जात भित्र खास गरि खस जाति भित्र सानो र ठुलोको विभाजन गरिदिएको छ । यसरी जातको आधारमा नजिक र टाढाको ठान्ने दृष्टिकोण गलत हो ।

बेग्ला बेग्लै जातका भए पनि एउटा गरिबको पिर मर्का अर्कोले बुझ्दछ । एउटा मजदुरको पिडा अर्को मजदुरले बुझ्दछ । वर्गिय समाजमा वर्गिय अन्तर्बिरोध प्रमुख कुरा हो । हामीले वर्गिय आधारमा नै आफ्ना शत्रु र मित्रुको पहिचान गर्न आवश्यक छ । जुनसुकै जातका भए पनि सामन्तवादी र साम्राज्यवादी शोषणमा परेका वर्गहरु हाम्रा मित्र हुन । आफ्नै जात भित्रका भए पनि अरुलाइ थिचो मिचो गर्ने सामन्त जमिन्दार र नोकरशाही पूँजीपतिहरु हाम्रा शत्रु हुन ।

यसकारण शोषित पिडित र अन्याय अत्याचारमा परेका चाहे ति खस जाति हुन वा गैर खस  हामीहरु वर्गीय रुपमा शोषित छौं । सामन्तवादी साम्राज्यवादी शक्त्तिहरुले संसारै भरि धर्म र जातिय सवाललाइ लिएर जनताहरुलाइ एक आपसमा जुधाएका छन । जनता विच विभाजन ल्याई शक्ति टुक्र्याउने र आफ्नो शोषण बलियो बनाउने यो उनीहरुको जालसाँजी हो ।

प्रतिक्रियावादीहरुले शोषक र शोषितको रुपमा व्याख्या नगरेर उच र निच जातिको रुपमा व्याख्या विष्लेषण गरेर हामी विचमा फुट ल्याउन असफल प्रयाश गरे पनि अब हामीले कुरा बुझी सकेका छौं । हामी फुटेर होइन, जुटेर सामन्तवादको विरुद्ध एक जुट भएर अगाडी बढने छौं । जबसम्म सामन्तवादी राज्यसत्तालाइ हामीले जरो बाटै उखेलेर फाल्न सक्दैनौं, तबसम्म हाम्रो मुक्ति हुन सक्दैन । हाम्रो दुश्मन कुनै जात विशेष नभई सामन्तवादी राज्य व्यवस्था नै हो ।

तपाइँको प्रतिक्रिया