द्रव्यको दलदलमा माओबादी

 ● शिवराज पन्त

माओबादीभित्र हुने गरेको चरम आर्थिक चलखेल एक एक गर्दै बाहिर आइरहेका छन् | जनयुद्द र त्यसपछिका सत्तामा भएका वा सत्ताबाहिर रहेका बेलापनि माओबादी भित्रको आर्थिक चलखेल र घोटालाहरु बाहिर सम्म आएर छताछुल्ल हुन्थे | अर्थ संकलनको लागि माओबादीले चन्दा, ठेक्कापट्टा, अपहरण र हत्या सम्मको अपराधमा संलग्न भएको देखिएको छ | कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या एउटा आर्थिक हिनामिना कै परिणाम थियो | पार्टीले राख्न दिएको रकम हिनामिना गरेको आरोप उनलाई लागेको थियो | उनको अपहरण पछी हत्या भएको थियो | माओबादी नेता कृष्ण महराको अडियो टेप बाहिर आयो | त्यसमा उनि कुनै चाइनिज तस्कर वा एजेन्टसंग पार्टीलाई संबिधान सभा जिताउन पैसा मागिरहेका थिए | 

उता अस्ति भरखर शिविरमा नरहेका लडाकुको नाममा माओबादीले डेढ अरब रुपियाँ हिनामिना गर्यो | यो कुरा न जनताले बिर्सन सकेका छन् न माओबादीले यसको जवाफ दिन सकेको छ | माथिल्लो देखि तल्लो तहसम्मका कुनैपनि नेताले यसको बारेमा चुँ सम्म गरेका छैनन् | देशकै ठुलो र सरकारको नेतृत्व गरेको पार्टीले यस्तो गम्भीर विषयमा साँधेको मौनताले स्पष्ट गर्छ, धनको चस्का लागेको छ माओबादीलाइ | संगसंगै प्रचण्डले करोडौं पर्ने महल किनेर उतै वास गरे | यसले जनताको शंकालाई थप बल पुराएको छ, किनभने प्रचण्डले वा माओबादीले यसको श्रोत खुलाएको छैन |

अरुलाइ शामन्ती, धनाढ्य र घुसखोरी भन्ने माओबादीका युवा कार्यकर्ता पनि पार्टीमा भएको आर्थिक चलखेल र अध्यक्षमा आएको जीवनशैलीको परिवर्तन प्रति बोल्न सकेका छैनन् |  मात्र हनुमान झैं नतमस्तक छन् पार्टी प्रति र अध्यक्ष प्रति | यसले प्रचण्डले आफ्ना सबै कार्यकर्तालाई केहि न केहि हिस्सा दिएर खुशी नै पारेका रहेछन भन्ने प्रष्ट हुन्छ |  माओबादीका सबै तहका नेता कार्यकर्ता राज्यश्रोत दुरुपयोग गरी केहि न केहि मात्रामा लाभान्वित भैरहेको कुरा पुष्टि हुन्छ | 

तर समस्या आर्थिक लोभका कारणले माओबादीबाट राज्यकोषको दुरुपयोग भयो मात्र होइन | यो आर्थिक लाभ बांडफांड नमिल्नाले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रिया संकटमा परेको छ | लडाकुलाई राज्यले दिएको आर्थिक सहयोगमा माओबादी ठुला नेता र कमाण्डरहरुको आँखा गडेको छ | लडाकुको चेक खोस्ने कामले गर्दा माओबादी लडाकुको संख्या र त्यो भित्रको असलियत बाहिर आएको छ | माओबादीले शिविरमा सक्कली लडाकु राखेकै होइन रहेछ | सक्कली लडाकुलाई वाईसिएल बनाइ चुनावमा खटाएको र गाउँ गाउँमा गइ घरघरमा आफ्ना काम गरिरहेका सर्वसाधारणलाई आर्थिक र बिभिन्न लोभ देखाइ शिविरमा राखेर अनमिनको आँखामा धुलो छर्न प्रचण्ड त्यतिबेला सफल भएका रहेछन | त्यहि भएर पो ‘लडाकुको सम्मान’ को रट लाएर नथाक्ने बैद्द, नन्द किशोर पुन, बलदेव शर्मा जस्ता व्यक्ति सम्म पनि लडाकुको चेक खोसिंदा नबोलेर उल्टै पार्टीको आन्तरिक विषय भन्दै गुपचुप गर्न खोजिरहेका रहेछन | हुन् पनि पार्टीमा कुनै योगदान नगरेका र साँचो अर्थमा युद्द नलडेका व्यक्तिलाइ लाखौँ रकम दिएको देखेर कमान्डरहरुको मन किन नपोलोस ? तर नक्कली नै सहि, ५ बर्ष जति शिविरको कष्टकर जीवन माओबादीको लागि व्यतित गरेपछि ५ देखि ८ लाख रकम त्यति धेरै होइन | चेक नखोसी, ससम्मान, सुखद भविष्यको कामना शुभकामना दिएर विदाई गर्ने उदारता माओबादीले देखाउन सकेको भए अवस्था त्यति दुषित हुने थिएन | आखिर बाहिर बसेपनि वाइसिएलले पनि ठेक्का पट्टा आदि माध्यम बाट थुप्रै कमाएका छन |

उता वाइसिएलले आफुहरु सक्कली लडाकु भएको र पार्टीले संबिधान सभा चुनावको लागि खटाएको अनि लडाकु सरह सुबिधा पाउने आस्वाशन पार्टीले दिएको तर अहिले खालि हात फिर्ता गरेर धोका दीइएको भन्दै आन्दोलनमा उत्रेका थिए | तर पार्टीले नै प्याकेज दिने भएपछी उनीहरुको आन्दोलन स्थगित भएको छ | यसबाट माओबादीको हरेक तह र बिभाग आर्थिको लोभको दलदलमा फसेको देखिन्छ | 

यति हुँदाहुँदै पनि जनता सडकमा ओर्लिसकेका छैनन्  | प्रतिपक्षीले पनि बिगतको आफ्नो गिरेको साखको कारण आर्थिक विषयलाई लिएर बन्द हड्ताल गर्न सकेका छैनन | यहि मौकामा शान्ति र संबिधान प्रति अग्रसर भएर जनतालाई शान्ति संबिधान दिने हो भने अझै पनि माओबादीका यी काला कर्तुतहरु जनताले पचाउन सक्ने छन् | बिगतमा अरु दलको पनि जनताले पचाएकै हुन् | जनतालाई थाहा छ शान्ति र संबिधान निर्माणमा कतै बाट अप्ठ्यारो छ भने त्यो स्वयम् माओबादी बाट छ  | अरु दललाई यो दोष दिन सक्ने ठाउँ अहिले छैन | यसकारण देश र जनताले आउँदा दिनमा भोग्ने  सुखद दिनको साख वा दुखद दिनहरुको दोष माओबादीलाइ नै जान्छ |

तपाइँको प्रतिक्रिया