प्रतिपक्ष र पत्रकारले अंग्रेजी नबुझ्दा संसदमा लफडा !
हाम्रा मन्त्री, हाम्रा सांसद र हाम्रा कतिपय पत्रकार ! कति ट्याक्क मिलेको राजतिनिक दल र नेता अनुसार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले एक थोक भनेछन् । अनि पत्रकारले अर्कै थोक सुने । रिपोर्टरले जे लेखेर ल्यायो पत्रीकाको डेस्कमा सत्य तथ्य जाँच्न बस्ने सम्पादकले पनि आँखामा पट्टी बाँधेझैं सदर गरिदिए ।
‘नेपाल चिन वा भारतमा मर्ज हुन सक्छ’ जस्तो महत्वपूर्ण विषय प्रधानमन्त्रीले भने कि भनेनन् भनेर जांच्न उनको अभिब्यक्ति सुनेको भए कुरै सकिने । तर सम्पादक महोदयहरुले किन लेठो गर्ने त्यस्तो । सन्सनीपूर्ण मसला पाइयो भनेर झन पत्रीकाको टाउकैमा हाइलाईट गरिगरि छापे । अनि हाम्रा झोले, भिखमंगा मानसिकता भएका, पशुको जस्तो चिन्तन बोकेका, पढ्न लेख्न र जान्न बुझ्न नपर्ने केहि नेतालाई पुगिहाल्यो ।
पत्रीकामा लेखेको देखेपछि तिन्ले ‘प्रधानमन्त्रीले साँच्चै त्यो भनेको हो कि होइन ? के रहेछ भनेको भनेर पत्ता लगाउन उनले बोलेको अडियो पनि सुनेनन् । अनि थाले संसदमै नाराबाजी गर्न । तर डा बाबुराम भट्टराईले अंग्रेजीमा एक थोक भनेछन् । पत्रकारले सायद बुझेनन् त्यो अंग्रेजी । वा हाम्रा झोले नेताले अंग्रेजी नबुझ्दा अर्कै अर्थ लागएर संसदमै हंगामा मच्चाउन थाले ।
उनले के भनेका रहेछन् त ? प्रधानमन्त्रीका राजनितिक सल्लाहकार देबेन्द्र पौडेलले बिज्ञप्ती निकाल्दै भनेका छन्- ‘आजको युगमा आर्थिक समृद्धिबिनाको राष्ट्रियता सामन्ति राष्ट्रियता नै हो । दुई छिमेकी राष्ट्र चीन र भारत करिव तीन दशकदेखि दोहोरो अंकको आर्थिक वृद्धिदरसहित छालमय गतिमा अगाडि बढिरहेका छन् । सुनामी गतिमा अघि बढिरहेका दुई छिमेकी राष्ट्रको बीचमा अनेकौं सम्भावनाहरु बोकेर अघि बढिरहेका छन् । हाम्रो देशको अर्थतन्त्र भने चिप्लेकिराको गतिमा घस्रिरहेको छ, विज्ञप्तिमा भनिएको छ, यही तथ्यलाई मध्यनजर गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रसंघको ६६ औं महासभालाई संवोधन गर्ने क्रममा होस् वा सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दा राष्ट्रियता सम्वन्धी सूत्रवाक्यको रुपमा एउटा कुरालाई जोड दिनुभएको छ- ‘नेपाललाई दुई ठूला देश चीन र भारतको अर्थतन्त्रको पुल बनाउनुपर्छ, उनीहरुलाई जोड्ने माध्यम नेपाल बन्न सक्नुपर्छ ।’यसो गर्न नसकिएमा मूलतः आर्थिक रुपमा नेपाल पछि पर्ने र अन्ततः तीव्रगतिले छाल झैं विकसित चीन र भारतको अर्थतन्त्रमा नेपाली अर्थतन्त्र ‘सवमर्ज’ (डुब्ने) हुने खतरा दिनानुदिन बढ्दै गइरहेको छ ।’
कुरो स्पष्ठ छ, उनले भन्न खोजेको त भारत र चिनले तिब्र आर्थिक विकास गरेकाले त्यो अनुसार नेपालले पनि आर्थिक विकास नगरे हाम्रो अर्थतन्त्र डुब्न सक्छ । यो त सत्य कुरो हो । तर पत्रकारले के गर्यो ? त्यो सब (sub) झिकेर मर्ज (merge) मात्रै लेखेर समाचार बनायो ।
बाबुराम भट्टराई मार्फत माओवादीलाई खुइल्याउन कम्मर कसेका छन् नै केहि पत्रीका र प्रतिपक्षी । प्रतिपक्षीको त धर्म नै हो सत्तापक्षलाई कमजोर बनाउने । तर कमजोर बनाउनेपनि त एउटा तरिका हुन्छ । उसले गरेका खराब कामको बिरोध मार्फत । तर राष्ट्रिय स्तरका पत्रपत्रीकाले भने त्यसो गर्न सुहाउने थिएन । उसको काम जुन नेता, पार्टी वा संस्थाबाट आएपनि जे भनेको हो त्यहि दिनु पर्छ । प्रतिपक्षीलाई सघाउन, माओवादीको बिरोध गर्न कै लागि बंग्याएर लेख्ने हो भने त राजनितिक कार्यकर्तानै भए भैगो !
प्रधानमन्त्रीलाई खुइल्याउन चाहनेको लहै लहै लागेर नेपाली कांग्रेसका धुरन्धर विद्वान डा राम शरण महत देखि रामचन्द्र पौडेलसम्म उफ्रिए । उता शेरबहादुर देउवाले जिल्ला जिल्लामा पुगेर भाषणमा जनता उचाले । यता एमालेका भिम रावल देखि केपी ओलीसम्म बम्किए । विष्णु पौडेल र झलनाथ खनालसम्म जंगिए । एमालेका अतिनै धुरन्धर ठानिएका घनश्याम भुसालले त कान्तिपुरमा लेख नै छपाए । यीनका बुद्दी, यीनको बुझाइ । यीनको नियत । यीनको बौद्दिकता । यीनको अंग्रेजी भाषाको स्तर । पुरै झोले र गरिव लाग्छ । यस्ता लम्पट त प्रतिपक्षी छन् कहाँबाट रचनात्मक काम होस् । कसरि सहि प्रतिपक्षीको भूमिका खेलियोस् ।
हुन त प्रतिपक्षीले बिरोध गरेपछि प्रधानमन्त्रीले सच्याए भन्न मिल्छ नै । तर त्यसमा सत्यता किन कम छ भने प्रधानमन्त्री कार्यालयबाट बिज्ञप्तीनै आएपछि उनको अडियो र भिडियो नै प्रमाणका रुपमा सार्वजनिक गर्न सकिन्छ । प्रधानमन्त्रीले बोलेका, उनी पुगेका सबै कार्यक्रमको टिभी र रेडियोले रेकर्ड गरेका हुन्छन् । प्रधानमन्त्रीले बोलेका कुरा पाइएन भन्न त मिल्दैन । किनभने उनले बोलेका सबै कुरा सूचना बिभागबाट रेकर्ड राखिन्छ। कम्तीमा सरकारी टिभी र रेडियो त पुग्नै पर्छ । त्यो बाहिर नआएकाले पनि कांग्रेस र एमालेले केहि पत्रीकाको पछाडी लागेरै प्रधानमन्त्रीलाई नंग्याउने दुस्प्रयास गरेका हुन् भनेरै बुझ्नुपर्ने हुन्छ ।
केहि पत्रीका र पत्रकार नियतबस प्रधानमन्त्रीको बदनाम गर्न लागेको बुझिन्छ । तर सत्यता भनेको सत्यतानै हो । यस्तो क्षणिक हंगामाले केहि बेर भ्रम छर्न त सकिन्छ । तर यसबाट कसलाई घाटा ? पत्रीका पढेकै भरमा त्यसैलाई सय प्रतिशत सत्य हो भनेर बुझ्दै नबुझि, प्रधानमन्त्रीले बोलेका कुरा आफूले सुन्दै नसुनी कुर्लने नेपाली कांग्रेस, एमाले र पत्रीकाको बेइज्जत होइन ? तिनको स्तर कुन हदको रहेछ भनेर देखिएन ? कि त बाबुराम भट्टराईले त्यो भनेकै हुन् भने त्यसलाई सार्वजनिक गरिदिनु पर्यो ।




