चिनियाँ प्रधानमन्त्रीको भ्रमण र हाम्रा नेताको दक्षिणी मानसिकता
चिनियाँ प्रधनमन्त्री मंसिरको अन्तिममै आउनुपर्ने थियो । अन्तिम अवस्थामा आएनन् । दुई देशका योजना र गोप्यता सार्वजनिक गरेकाले रद्द गरेको भनिएपनि यथार्थ के हो कसैलाई थाह छैन । किनभने चिनले आफ्नै आन्तरिक कारण देखाएको थियो । माओवदी र सरकारको खोट मात्रै देख्नेले जबर्जस्ति सरकारलाई दोष लगाए । त्यो रद्द हुनुमा चिनले आफ्नै कारण देखाएपछि त्यसलाई हुँदै होइन भन्नुमापनि कुनै तुक छैन । यद्दपी त्यसमा प्रधानमन्त्री बाबुराम भटराईको कमजोरी रहेन भन्ने त छैन नै ।
कम्तिमा त्यसको सकारात्मक पक्ष के भने भारतीय शासकहरुले भएको भए आफ्नै कारणले रद्द हुँदापनि यस्सो छिद्र पाएसम्म नेपाललाईनै दोष लगाउने थिए । तर चिनले यस्तो असल छिमेकिको गुण देखायो कि छिमेकिको कमजोरीनै रहेछ भनेपनि आफूले लियो । त्यसैले यो सकारात्मक पाटो हो ।
• भारतीय मानसिकता, भारतीय दास मनोब्रित्ति छ हामी धेरैमा । मुख्य त नेतामा छ त्यो । ख्याल गर्नुस् त, भारतीय सहयोगमा एउटा पुस्तकालय वा धारो हालिदिनु पर्यो भने भारतीय राजदूतहरुले के गर्छन् ? वर्षभरि कोकोहोलो मच्चाउँछन् । पत्रिका र टिभी लगेर गाउँमा स्थानियलाई जम्मा पारेर भाषण ठोक्छन् । अबिर जात्रा गर्छन् । नेपालको आन्तरिक मामिला बारे चाहिने नचाहिने बोलेर बिबादमा आउँछन् । महिनौं अघिदेखि के के हो के शर्त तेसारेर हैरान पारेपछि बल्ल सहयोग हात पर्छ ।
• तर चिनको सहयोगको पारा हेर्नुस् त । कुनैपनि हाहा र हुहु, भाषण र गाली गलौज, धाक र धम्कि बीना चिनियाँ प्रधानमन्त्री नेपाल आए । अनेक शर्त तेसारेनन् । सौम्य तरिकाले आए । जम्मा पांच घण्टामा त्यत्रो सहयोग दिए । यद्दपी यसको ग्रिहकार्य पहिलेनै भएको थियो होला नै। तैपनि भारतीय नेता हुन्थ्यो भने दूतावासमा गोप्य मन्त्रणा गर्थे हरेक पार्टीका नेतालाई छुट्टा छुटै बोलाएर । अनि भरतीय नेताले भेटेपछि कोरेली गाइ झैं देशको शान्ति र संविधान लगायत सरकार बिरुद्द बुर्कुसी मारेर बिच्किन्थे नेता । भारतीय नेता आएपछि कि त सरकार नै बदलिन्थ्यो । कि केहि महिनासम्म पार्टी पार्टे बिच मारमुंग्री मच्चिन्थ्यो । हुन त त्यसको दोषी हाम्रा नेतापनि हुन् नै । जे भएपनि कोलहल मच्चिन्थ्यो सरकारमा, पार्टीहरुमा । चिनियाँ प्रधानमन्त्रीले त्यसो गरेनन् । यो अर्को असल छिमेकीको पाटो हो ।
• हाम्रा नेता दक्षिण तिरका कति चाप्लुसिकार, कति चाकरीबाज, भारतीयका कति बफादार र पाल्तु जनावर जस्ता रहेछन् भन्नेपनि देखायो यो भ्रमणले । यद्दपी बेनको भ्रमणबाट हाम्रा नेता सुधारिएकापनि हुन सक्छन् नै । भारतीय नेता आएको बेला नेपाली कांग्रेसका कुन कुन र कति नेताको लर्को लाग्थ्यो देखेकै हो नी हैन ? त्योपनि समान्य मन्त्री र विदेश सचिव आउँदापनि । प्रधानमन्त्री आएको भए त कांग्रेस, मधेशी मोर्चा र एमालेको त पार्टी कार्यालयमा फोन उठाउने ब्यक्तिसम्म हुँदैनथ्यो । ति सब लर्को लागेर विमानस्थल बाहिरबाटै आकाशमा हेर्न पुग्थे विमान कहिले आउला र दगुर्दै हें हें हँ जी भन्दै स्वागत गर्न । तर हिजो चिनियाँ प्रधानमन्त्री आउँदा ति विमानस्थल दगुरेनन् । यो त ठिकै हो । तर सिंहदरबारको भोजमापनि पार्टी सभापती सुशिल कोइराला मात्रै पुगे । मधेशी नेतामा विजय गच्छदार र तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर मात्रै पुगे । हुन त सरकार भिड जम्मा पार्न नचाहेर होला नै । तैपनि भारतीय आएको भए त मारमुंग्री मच्चाउँदैपनि पुग्थे नै । पुगेको देखेकै हो।
• मधेशी पार्टीका सबै जसो नेता पुग्थे भारतीय अधिकारी कोहि आएको भए । किन ? स्पष्ठ छ, यसैलेपनि थप प्रस्ट पार्छ कि भारतीयको चाकरी नगरे, पाउमा निधार नठोके सत्तामा पुगिन्न । नेपालको सत्तामा पुग्ने नपुग्ने नेपालको भर अभर होइन । नेपाली जनताको निर्णय होइन कि भारतीयलाइ कति मालिस लगाउन सकिन्छ त्यसले निर्धारण गर्छ । तर चिनले त्यस्तो यसलाइ तान्ने र अर्कोलाई पछि लतार्ने । एउटालाई उचाल्ने र अर्कोलाइ पछार्ने गर्दैन । त्यसैले चिनका प्रधानमन्त्रीलाई चाकरी गरेर के काम ? त्यहि भएर बेनको भ्रमणमा ति दलका नेता पातलिए । यो भ्रमणले थप बुझ्न सजिलो पार्यो, भारतीय चाकरीमा रमाउने कुन कुन पार्टी, कस्ता कस्ता नेता रहेछन् ।
• चिन अहिलेनै विश्वको चौथो शक्तिशाली देश । विश्वमा सबैभन्दा बढि आर्थिक विकासमा दौडिरहेको मुलुक । त्यस्तो मुलुकको प्रधानमन्त्रीलाई हाम्रालाई झैं कहाँ फूर्सद छ गाडा गोरुको उद्घाटन हेर्न जान ? कहाँ त्यस्तो देशका प्रधानमन्त्रीलाई हाम्रालाई झैं सैलुन कक्ष उद्घाटन गर्न जाने समय ? आफ्नो देशमा राजनितिक अन्यौलता हुँदा कहाँ अरुको देशका मठमन्दिर चहार्दै हिँड्छन् ? विश्वको आर्थिक, सामजिक र राजनितिक मञ्चमा चिनियाँ नेताको दुई घण्टे भ्रमणपनि धेरै हो, विशाल हो । प्रशस्त हो । आज चिनियाँ प्रधानमन्त्रीलाइ आफ्नो देशमा पाइला टेकाएर आर्थिक र सामाजिक क्षेत्रमा संलग्न गराउन विश्वका धेरै मुलुक लालायित छन् । तर सबैले यस्तो मौका पाउंदैनन्, पाएकापनि छैनन् । त्यसैले चिनियाँ प्रधानमन्त्री कति समयलाई आए भन्नु भन्दापनि किन आए ? के के छलफल भयो ? के निर्णय भयो ? नेपालको आर्थिक, सामाजिक, कूटनितिक क्षेत्रमा कस्तो प्रभाव पार्छ ? विश्व समूदय उनको भ्रमणले कस्तो छाप पार्छ ? कति महत्व राख्छ ? कस्ता संझौता गरिए भन्ने कुरोले मुख्य भूमिका खेल्छ । उनी आएर एक हप्ता बसुन् तर आर्थिक, समाजिक क्षेत्रमा, राजनितिक सांस्क्रितिक र लगानीका क्षेत्रमा केहि काम भएन भने त्यसले कुनै अर्थ राख्दैन । त्यसैले चिनियाँ प्रधानमन्त्रीको यो भ्रमणमा नेपाल र चिनबिच जुन संझौता भएका छन् त्यो नै महत्वपूर्ण हो । त्यसलेनै देखाउने हो चिनले नेपाललाई कति महत्व दिन्छ भन्ने ।
• नेपाली कंग्रेस र एमालेका नेता माओवादी जनयुद्दका बेला राजधानीमै हेलिकोप्टर लिएर उडेकोपनि हामीले देखेका हौं । आफ्नै देशमा भएको द्वन्दमा तिनलाई आफ्नै सुरक्षानीतिमा विश्वास र भरोसा थिएन । चिन त तिब्बती राजनितिक रडाकोले चिन्तित मुलुक । र एमाले र नेपाली कांग्रेसको सरकारका बेला सबैभन्दा बढि तिब्बत बिरोधी हर्कत, नारा जुलुस, घुसपैठ र चलखेल भएको थियो । हामी आफ्नो मुलुक कुनैपनि छिमेकि बिरुद्द प्रयोग हुन दिँदैनौ भनेर जतिसुकै ओंठ हल्लाएपनिआखिर राजाको शसनमा चिन यति बिघ्न सशंकित थिएन । त्यस्तो हर्कत थिएन पनि तिब्बतीहरुको चिनबिरुद्द । चिनलाई सशंकित पार्ने काम नै मुख्य त नेपाली कांग्रेसको सरकारले गरेको न हो । त्यसपछि एमालेको शासनमा । त्यसैले, बेनको अघिल्लो भ्रमण रद्द हुँदा छिमेकीलाइ विश्वासमा लिन सकेन भनेर कांग्रेसले जुन कोकोहोलो मच्चाउँछ त्यो उसैको कमजोर नीति, भारत परस्त काम र अविश्वासको परिणाम अहिले अन्य सरकारले भोग्नु परेको हो । बरु चिनियाँ प्रधानमन्त्रीलाई नेपाल ल्याएर नेपालको सुरक्षा दह्रो छ, नेपालका सुरक्षाकर्मी सक्षम छन् भन्ने सन्देश विश्वभरि फैलाउन सक्यो । यो नै यस सरकारको उपलब्धि हो ।
• नेपालमै अपराधिक घटना ब्रिद्दी र असुरक्षा देखेका चिनियाँ प्रधानमन्त्रीले यहाँको सुरक्षा स्थितिबारे सशंकित हुनु अस्वभाविक होइन । झन स्वतन्त्र तिब्बतका मुख्य प्रबर्धक दलाई लामाका दूतसित भेटेका ब्यक्ति ग्रिहमन्त्री छन् । यस्तो अवस्थामा पनि प्रधानमन्त्री बेन नेपाल आउनु ठूलो कुरो हो । सायद अहिले मधेशी वा नेपाली कांग्रेसको मात्रै वा तिनको छ्यासमिसे सरकार हुन्थ्यो भने बेन आउन मुस्किल थियो । यस्तो अवस्थामा नेपाल ल्याएर त्यत्रा आर्थिक विकासका काममा सहयोग जुटाउनु माओवादीको ठूलो क्षमता र प्रभाव नै हो भनेर हिच्किचाउनु पर्दैन ।
(फोटो साभार- पाल्म बिच पोस्ट)




