शान्तिप्रक्रियामा भाँजो : सत्ता लम्ब्याउने चाँजो
• शिवराज पन्त
होला होला जस्तो भएर फेरी शान्ति प्रक्रिया रोकिएको छ | यसपाली यो प्रक्रिया रोक्न माओबादी नाङ्गो रुपमा उत्रियो | जनार्दन शर्माको जिव्रो प्रयोग गरेर कार्यकारी राष्ट्रपति कांग्रेसले नमाने शान्ति प्रक्रिया अघि नबढ्ने हाकाहाकी चुनौती दियो माओबादीले | त्यो चुनौती वास्तवमा कांग्रेसलाई नभएर शान्ति र संबिधान पर्खेर बसेका सम्पूर्ण जनतालाई दिएको हो माओबादी ले | सेना समायोजन सम्बन्धि सबै बहस र अप्ठ्याराहरुमा सहमति गरेर लडाकुको पुनर्बर्गिकरण सम्म सिद्धिएको थियो | बाँकी रहेको एउटी काम थियो पुनर्स्थापना र स्वेच्छिक अवकासमा जानेलाई तोकिएको सेवा सुबिधा दिने अनि समायोजन जानेलाई ब्रिज कोर्स गर्न सेनाको जिम्मा लगाउने |
तर यो काम सम्पन्न गर्न भट्टराई सरकारले चाहेन | शान्ति प्रक्रियाको समाप्ति भनेको भट्टराई सरकारको समाप्ति पनि हो | शान्तिप्रक्रिया सम्पन्न भएपछी सहमतीय सरकारको लागि आफुले राजिनामा दिने घोषणा गरेका छन् भट्टराईले | त्यसैकारण संबिधान निर्माणको कुरालाई ल्याएर शान्ति प्रक्रियाको शर्त बनाउने तल्लो स्तरको कामसम्म गर्न सरकार चुकेन |
माओबादी नेताहरुले उहिलेदेखि नै फलाक्दै आएका थिए संबिधान निर्माणमा अधिकांस सहमति भैसकेको छ | शान्तिप्रक्रिया पुरा गर्न कांग्रेस र अरु दल लचिलो भए ३ महिनामा संबिधान बन्ने दावी गर्दथे | जनताले चाहेको शान्ति र संबिधान नै दिन सकिन्छ भने किन अलिकति लचक नहुने भनेर कांग्रेस र अरु दलले हदै सम्मको लचकता अपनाए | शिव पोडेल प्रकरणमा बाहेक अन्य कुनै कुनै पनि कुरामा कांग्रेसले सरकार बिरुद्द प्रदर्शन र राजिनामा माग गरेन | एउटा लचक र सहयोगी प्रतिपक्षीको भूमिका कांग्रेसले निभाएको कुरा स्वयम् माओबादीकै नेता देवेन्द्र पौडेलले नेपाल टेलिभिजनको कार्यक्रममा बोलेका थिए | कसरि अहिले आएर माओबादीले अरुलाई दोष दिँदै शान्तिप्रक्रिया अवरुद्द पार्न सक्छ ? उता अवकास र पुनर्स्थापनामा जाने लडाकुले छिटो भन्दा छिटो आफुले पाउने रकम दिएर विदा गर्न नेतृत्वलाइ दवाव दिरहेका छन् | संबिधान लेखन पक्कै पनि बहस कै विषय हो, यसमा सहमतिमा पुग्न समय लाग्न सक्छ | तर यसको शान्ति प्रक्रियासँग कुनै नाता छैन | शान्ति प्रक्रिया सैद्दान्तिक रुपले समपन्न भैसकेको छ | यसको कार्यन्वयनमा पनि माओबादीकै ठुलो हात रहन्छ | सरकार माओबादी छ | रकम निकाशा वा अरु के के कुरा गर्नु पर्ने हो त्यो पक्कै पनि एमाले र कांग्रेसले गर्ने होइन, माओबादीले गर्ने हो |
अहिले शान्ति प्रक्रिया रोकेर जति नै तर्क दिन खोजे पनि यसमा माओबादीको दुइवटा नराम्रो नियत लुकेको छ | एउटा त सत्ता बचाई राख्ने र अर्को भनेको पार्टी फुटाएर जानै लागेको बैद्द गुटलाइ ललिपप दिएर अड्काउने | काँग्रेस र अरु दलसंग सहमति गर्नु र नरम भाषा प्रयोग गर्नु भनेको बैद्द्को सिद्दान्त अनुसार आत्मसमर्पण हो | सेना समायोजन हुनु शान्तिप्रक्रिया पुरा हुनु भनेको आत्मसमर्पण हो | बैद्दले खोजेको त सेना र हतियार संगै लिएर चुनावमा जाने, सबै बुथ कब्जा गर्ने, चुनाव जितेको घोषणा गर्ने र नयाँ निरङ्कुशता नेपालमा थोपर्ने | यो नै हो जनविद्रोह र सत्ता कब्जा भनेको | यो असम्भव देखेपछी प्रचन्डले शान्ति र संबिधानको पार्टी नीति पारित गरे | तर बैद्द्लाई खुशी पार्न फेरी प्रक्रिया अवरुद्द गरेर सत्ताको आयु लम्ब्याउने खेलमा प्रचण्ड लागे | ठुलो पार्टीको अध्यक्ष भएको नाताले प्रचण्ड जनता प्रति जिम्मेवार हुनुपर्ने | तर दुर्भाग्य उनलाई आफ्ना भाई भारदार र जत्थाकै बढी विश्वास छ | जनतालाई माओबादीले अहिलेसम्म विश्वास गर्न सकेको छैन | त्यहि भएर उसलाई हतियारको मोह ज्युँ क त्यूँ छ |
सत्ताको आयु लम्ब्याउने मुख्य कारण चाही पार्टीलाई धनार्जन गर्नु हो | भ्रष्टाचार, कमिसन, ठेक्कापट्टा जे जसरि भएपनि पैसा चाहिएको छ माओबादीलाइ | सरकारमा आफ्नै मन्त्रिहरु र आफ्नै धेरै सभासद छन् | तिनलाई जति जागिर लम्ब्यायो त्यति पार्टीलाई फाइदै भो | लडाकुको नामबाट पनि बिभिन्न तरिकाले रकम पार्टी र नेतृत्वलाई जाने कुरा हामीले प्रत्यक्ष देखिहाल्यौ | त्यसकारण लडाकु पनि जति धेरै बेर काखी च्याप्न सक्यो त्यतिनै फाइदा | अब त्यति धेरै पैसा किन चाहियो माओवादीलाई भन्ने प्रश्न आउन सक्छ | यदि बिद्रोह र कब्जाको रणनीति सफल हुन् नसके चुनाव हुन्छ | जनतालाई धोका दिएपछि, यसरी निराश बनाएपछि, ढाँटछल गरेपछि फेरी जनताले भोट दिन्नन भन्ने माओबादीलाइ राम्रोसंग थाहा छ | अब लडाकु र हतियार नभएपछी धम्कि र त्रासको लौरो पनि काम लाग्ने वाला छैन | त्यसकारण ‘प्लान बि’ सोचेको छ माओबादीले | त्यो हो चुनावमा पैसाको खोलो बगाउने | उबेला मिठा मिठा आस्वाशन र नारा बाँडेर आफ्नो वशमा पारेको त्यहि गरिब जनतालाई अब द्रव्य लालचमा पार्ने | नोट को बिटोले भोट किन्ने सोच छ माओबादीको | त्यसकारण माओबादीका हरेक क्रियाकलापहरु आफ्नै योजना अनुसार अघि बढिरहेका छन | उनले कोलाहल मच्चाउन चाहे भने जनार्दन शर्माहरुलाई अघि सारेर भांडभैलो गर्ने भाषण गर्न लगाउँछन | यदि शान्त रहन चाहे भने देवेन्द्र पौडेललाइ अघि सारेर लचिलो हुने | सबै कुरो मिलिसक्यो | प्रतिपक्षी दलकोपनि साथ् रह्यो भन्न लगाउँछन | त्यसकारण यिनको बोलीको कुनै ठेगान छैन |




