प्रचण्ड हत्या प्रयास: किन बल्ल सार्वजनिक गरियो ?
यहि साता प्रकाशित जनआव्हान साप्ताहिकको दाबी अनुसार प्रचण्डको हत्या प्रयास गरिएको थियो संविधान सभाको निर्वाचन हुनु अगाडिनै । जनआव्हान संस्थापन पक्ष निकट पत्रीका मानिन्छ । उसले लेखेको छ “मुलुकमा संबिधानसभाको माहौल बनिरहेको थियो । २०६४ चैत १६ गते बिहान १० बजे तत्कालिन सेनापति रुक्माङ्गद कटवालले एकाएक सिंहदरवार परिसरमा भैरवनाथ गणबाट रेन्जर फोर्स र थप सैनिकहरु एलर्ट गराए । एलर्ट गराउनुको कारणबारे तत्कालिन सैनिक अधिकारीलाई कटवालले भने- बुद्धनगरस्थित माओवादी हेडक्वाटर उडाइदिऔं । यसरी कटवालले हेडक्वाटर उडाउने आदेश दिइरहँदा प्रचण्ड पनि कार्यालयमै थिए । स्रोतका अनुसार कटवालले एम १६ सहितका ३ हजार सैनिकलाई अर्लटमा राखेका थिए ।
शान्ति प्रकृया भाँडने उदेश्यसहित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत जानकारी नदिई आक्रमणको योजना बनाएपनि योजना गोप्य रहन सकेन् । एक सैनिक अधिकारीबाटै तत्कालीन अनमिन प्रमुख इयान मार्टिनसम्म सुचना चुहियो, मार्टिनले भारतीय राजदूत शिवशंकर मेननलाई फोन गरे । मेननले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई फोन गरि माओवादी हेडक्वाटरमा नेपाली सेनाको हमला हुन थालेको खवर गरिदिए । सिंहले कट्वाललाई फोन गरि पछि हट्न चेतावनी दिएपछि बल्ल कट्वाल पछि हटेका थिए ।” तर के यो सत्य होला ? किन चल्यो यतिनै खेर यो हल्ला ?
मदन भण्डारी र जिवराज आश्रीतको हत्यालाई हेर्दा प्रचण्डको हत्या प्रयास शान्ति प्रक्रियामा आएपछिपनि नभएको होला भन्न सकिन्न । त्यो प्रयास अबपनि नहोला भन्न सकिन्न नै । तर उतिबेला माओवादी स्रोतले पत्तो पाएको यो हत्या प्रयास अहिलेनै सार्वजनिक गरिनुले प्रचण्डलाई थप बलियो र लोकप्रिय बनाउन चलाइएको हल्ला जस्तो देखिन्छ ।
नत्र प्रचण्डका प्रेस सल्लाहकार ओम शर्मा सम्पादक रहेको जनआव्हान साप्ताहिकले बल्ल अहिले सर्वजनिक गर्यो किन ? यो खबर उतिखेरै पाएका रहेछन् । किन सार्वजनिक गरेनन् ? माओवादीका त्यो बेला देखिनै दर्जनौं मेडिया थिए । सेना प्रमुख रुक्मांगत कटुवालालाइ बर्खास्त गरेका बेला माओवादीमाथि अझ ठूलो संकट परेको थियो । त्यो बेला कटुवाललाई कमजोर पार्नु अझ महत्वपूर्ण थियो । हुने र पाएसम्म त्यो प्रयास गरेका पनि माओवादीले । तर त्यतिखेर किन लुकाएर राखे यस्तो षडयन्त्र थाहा पाएरपनि ? त्यसैले शंका गर्नुपर्ने ठाउँ प्रशस्त छन् । अहिले नै सार्वजनिक गरिनुका कारणचाहिँ यी हुन सक्छन्-
● पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’ रक्षामन्त्री थिए त्यतिखेर । पार्टी अध्यक्ष बिरुद्द सेनापतीले यस्तो षडयन्त्र गर्दापनि रक्षामन्त्रीले कुनै कारवाही गरेनन्, बिरोध जनाएनन् भन्ने आरोप बादललाई लागोस्, पार्टी कार्यकर्ताबाट उठाइयोस् भनेरपनि प्रचण्ड पक्षबाट बुनिएको योजना हुन सक्छ । बादल र फरक मत पक्षकालाई कमजोर बनाउने उद्देश्यले ।
● जनयुद्द शुरु भएपछि सबैभन्दा कठिन मोडमा छन् यतिखेर माओवादीका अध्यक्ष प्रचण्ड । उनको पार्टी नीति बहुमतमा भएपनि अप्ठेरोमा छ । त्यसैले प्रचण्ड कमजोर अवस्थामा छन् । पार्टीमा आफैंले नजिक ठानेका नारायणकाजी श्रेष्ठ र उता पार्टीमा जो सँग नजिक हुँदै आएको बैध्य पक्षको पेलान छ । त्यसैले प्रचण्डलाई थप बलियो र लोकप्रिय बनाउन यो हल्ल चलाइएको हुन सक्छ ।
● पार्टी अध्यक्षलाई सिध्याएर माओवादीलाई खत्तम पार्न लागेकोले एकजूट हुनुपर्छ । पार्टी अध्यक्षलाई निशाना लगाएपछि बाँकिलाई पनि प्रतिक्रियावादीहरुले छोड्दैनन् । प्रतिक्रियावादीले पार्टी अध्यक्षलाई नै सिधाउन खोजेका बेला हामी माओवादी एकजूट भएर परास्त गर्नुपर्छ तिनको षडयन्त्रलाई भन्ने हत्कण्डा बनाउन हुन सक्छ ।
● प्रचण्डको राजनितिक प्रस्तावबारे तिब्र बहस, वादविवाद र पार्टीमा बिग्रहको चर्चा तातिरहेका बेला त्यसबाट ध्यान मोड्न हुन सक्छ ।
● प्रचण्डले शान्ति प्रक्रिया, संविधान र समग्र देशको स्थिर राजनितिक स्थिरताको लागि राम्रो काम गरेका रहेछन् र पो मार्ने खोजिएको रहेछ त भनेर जनमानसमा भावनात्मक समर्थन बटुल्न हुन सक्छ ।
● कटुवालले लामो समयदेखि माओवादी बिरुद्द बोलेर माओवादीलाई चुनौती दिँदै आएका छन् । त्यसलाई चुनौती दिनपनि यो हल्ला चलाइएको हुन सक्छ । वा माओवादी बिरुद्द निरन्तर लागिरहेकाले उनलाई कुनै कारवाही गर्नकालागि एउटा वातावरण मिलाउन खोजिएकोपनि हुनसक्छ ।
● माओवादी जनसेना समायोजनका बिरुद्दमा देखिँदै आएका कटुवालको साख नेपाली सेनामा गिराउन खोजिएको हुन सक्छ ‘देशको ठूलो पार्टीको नेताको हत्यामा संलग्न हुन खोजेको’ भन्ने देखाएर । सेनाको मनोभावना तान्न खोजिएकोपनि हुन सक्छ आफूतिर । किनभने सेना समायोजनको महत्वपूर्ण यो अवस्थामा ति बिरोधी सबै हर्कत र अभिब्यक्तिलाई मत्थर पार्नुले जनसेना समायोजन प्रक्रियामा थोरै भएपनि अर्थ राख्न सक्छ ।
● कटुवाल कुनै नयाँ पार्टी खोलेर वा कुनै दलको छहारीमा गएर नेपाली राजनितिमा आउन खोजेको चर्चा चलेको धेरै भयो । प्रारम्भिक चरणमा उनी आफैंले यस्तो अभिब्यक्ति दिएकापनि हुन् । राजनितिमा उनको संभावित प्रवेशलाई ख्याल गरेर उनलाई अलोकप्रिय बनाउनपनि हुनसक्छ । वा अब बन्ने कुनै सरकारले राजदूत वा कुनै निकायमा नियुक्त गर्न सक्ने भएकाले त्यसलाई रोक्ने एउटा माध्यम बनोस् भनेरपनि बेलैमा यस्तो आरोप लगाइएको हुनसक्छ ।
● राजनितिक पार्टी खोलिहालेको खण्डमा यस्ता अपराधी र षडयन्त्रकारीको पार्टीमा के जाने भनेर जनतालाई पहिलेनै उनको पार्टीप्रति वित्रिष्णा जगाइदिनपनि हुन सक्छ ।
● लामो समय बन्द भएको पत्रीका हो जनआव्हान । त्यसलाई चर्चित बनाउन कुनै धमाकावाला समाचार भए सहज हुन्छ । त्यसैले यो समाचारलाई अलि फूलबुट्टा भरेर दिएकोपनि हुन सक्छ पत्रीकालाई शुरुमै चर्चित बनाउनकालागि ।




