हाम्रा शत्रू बाहुन क्षेत्री हैनन्, सिंहदरबारमा बस्ने एकात्मकवादी शोषक

कुमार लिङ्देन ‘मिराक’

लिम्बुवानको लडाइँ कुनै व्यक्ति वा पद परिवर्तन गर्ने, चुनाव जित्ने वा हार्ने नभई पूरै व्यवस्था नै परिवर्तन गर्ने लडाइँ हो । लिम्बुवान अरुजस्तो ढाँटछल गर्ने सङ्गठन र आन्दोलन नभई इमान्दार, जुझारु र सशक्त सङ्गठन हो । ‘कुनै व्यक्ति वा सरकार परिवर्तन हुँदा पनि यहाँ याक्खा भाषाको पढाइ हुन सकेन । कसैले पनि याक्खालेनको बारेमा कुनै चिन्ता र चासो व्यक्त गरेनन् । एकात्मकवादीहरु खाली कुर्सी र पदमै लुछाचुडी गरिरहेछन् । तर हामी लिम्बुवानहरु सम्पूर्ण लिम्बुवानवासी जातजातिको उत्थान, विकास र हक अधिकारको सुनिश्चिता र समृद्ध लिम्बुवानको लागि अनवरत लागिरहेका छौं । एकात्मक काठमाडौ र उसले नियुक्ती गरेको सीडीओ र प्रहरीले होइन, यहाँका जनताले चाहेको र चुनेको वा आफैले आफ्नो शासन गर्ने व्यवस्थाको लागि यसरी लडिरहेको लडिरहेका छौं हामी ।

ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार र याक्खा स्वायत्त क्षेत्रसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न आन्दोलन गरिरहे का छौं । आज लिम्बुवानको सिमाना चारैतिर पूरै खुल्ला छ । सेना र प्रहरीहरु भने लिम्बुवानको मुटु मुटुमा तैनाथ गरेर राखिएको छ । यसको अर्थ र मत्वल के हो ? लिम्बुवानलाई दबाउन कोसिस गरिँदैछ खबरदार ! कोहीलाई पनि यो हर्कत नगर्न चेतावनी छ । आफूहरु देश टुक्र्याउने होइन यो देशलाई साँच्चिकै समृद्ध संघीय गणतान्त्रिक नेपाल बनाउने अभिलाषासहितको अभियानमा हामी लागेका छौं । 

‘कस्तो अनौठो कुरा गरिरहेछन् आज यी एकात्मकवादीहरु – मधेश राज्य हुने तर लिम्बुवान नहुने रे ! यदि मधेश मात्र हुने र लिम्बुवान नहुने कुरा भयो भने त्यसको पाँच मिनेटमा के हुन्छ त्यतिखेर थाहा हुनेछ । यो कुरा बाहिर आयो भने पाँचमिनेटमै धेरै ठूलो विध्वंसात्मक जनविद्रोह हुनेछ । त्यतिखेर यी सेना प्रहरीको केही थाम्ने छैन । भोलि हुने लिम्बुवान र याक्खा स्वायत्त क्षेत्रकोलागि मुडे शनिश्चरेको अफिसमा ३ वटा झण्डाहरु फहरिने छन् । त्यसमा एउटा नेपालको, अर्को लिम्बुवान र याक्खालेनको झण्डा फहरिने हुनेछन् । यो भन्दा सहअस्तित्व झल्किने, सबैलाई समेट्ने उपाय अरु के हुनसक्दछ ? तर, लिम्बू, याक्खा र याम्फूको भोटैमात्र समेट्ने तर उनीहरुको चाहना र भावनाहरुलाई नसमेट्ने कुरा अब रतिपनि सहन सकिँदैन ।

आजको युगमा कोही खेद्ने खेदिने र दब्ने दमाउने कुरा एक्दमै असम्भव कुरा हो । भोलिको लिम्बुवानका सबै लिम्बुवानवासीहरु लिम्बुवानको मुख्यमन्त्री हुनसक्छन् । भोलिको लिम्बुवान लोकतान्त्रिक, समावेशी र समानुपातिक हुनेछ । ‘विगतमा लिम्बुवान जम्मा १६२ वर्षम्म स्वायत्त भूमि थियो । त्यसपछि १८३१ देखि २०२१ सम्म १९० वर्ष स्वायत्त थियो । यसरी लिम्बुवान ३५२ वर्षम्म एक हिसाबले संघीय स्वायत्त थियो । र, यही इतिहासको आधारमा भोलिको लिम्बुवान पनि नेपाल अर्न्तर्गत नै स्वायत्त राज्य रहनेछ । त्यसकारण हाम्रो लडाइँ साम्प्रदायिक र जातिवादी होइन । हामी त अरुणपूर्व नौ जिल्ला लिम्बुवानको राजनीतिक लडाइँ लडिरहेका छौं ।

देश काल परिस्थितिमा एकदमै गम्भीर र संवेदनशील मोडमा आइपुगेको छ । त्यसैले सम्पूर्ण संघीय गणतन्त्र, धर्मरिनपेक्षता र लिम्बुवानवादी जनताहरु सजग हुने बेला हो यो । अहिले संविधान नबनाउने एकात्मकवादी र त्यही पुराना एकात्मकवादी राजावादी शैलीको न्यायालय सर्वोच्च अदालत मिलेर संविधान सभालाई भङ्ग गरी फेरि घुमाउरो तरिकाले ४७ सालको संविधान ब्यूँताउने डरलाग्दो षडयन्त्र गरिरहेका छन् । यी एकात्मकवादीहरुलाई खासमा यो नयाँ संविधान चाहिहएको छैन । किनकि उनीहरुलाई त्यही एकात्मक शासन व्यवस्था नै पुग्दो छ । उनीहरुलाई त्यही शासनमै मोजमस्ती छ । आखिर काठमाडौंमा महल बनाएका छन् । आफ्नो छोराछोरीलाई विदेशमा पढाउन पाएकै छन् । अनि किन चहियो तिनलाई नयाँ संविधान ? खासमा यो नयाँ संविधान त यहाँका शोषित पीडित आदिवासी जनजाति, दलित उत्पीडितहरुलाई धेरै चाँडै चाहिएको छ । तर एकात्मकवादीहरु त्यो हुन दिइरहेका छैनन् ।

हाम्रो लागि कुनैपनि जाति र व्यक्तिहरु हाम्रा शत्रू होइनन् । क्षेत्री बाहुन हाम्रा शत्रू होइनन् । हाम्रा शत्रू त काठमाडौको सिंहदरबारमा हामीलाई शोषण गरेर बस्ने एकात्मकवादी शोषकहरु हुन् । यहाँ नेपाललाई बिगार्ने ३ वटा वाद, भाइरस वा चिज छ । त्यो राजावाद, पूँजीवाद र साम्यावाद हो । जबसम्म यी राजवादी, पूँजीवादी र साम्यवादीहरुको पछाडि हिँडिरहन्छौं तबसम्म हामी भिखारी सिवाय अरु केही पनि हुनेवाला छैनौं । यी ३ वटा विचार, दर्शन वा विचारलाई जबसम्म डिलिट वा ध्वस्त गर्दैनौं तबसम्म हामी मुक्त हुने छैनौं ।

हामी कुनै पदमा सधैं टाँसीरहने विधिको पक्षमा छैनौं । अब हामी नै हाम्रो पार्टी भित्रपनि २ पटकभन्दा बढी अध्यक्ष हुन नपाउने प्रस्ताव ल्याउँदैछौं । म आफै त्यो प्रस्ताव ल्याउँदैछु ।  काठमाडौंमा बस्ने केही क्षेत्री बाहुनहरुले हाम्रो हक अधिकार खोसे । हामीलाई शोषण दमन गरे । तर, त्यसो भन्दैमा हाम्रा छिमेकी बाहुन क्षेत्रीहरु जो अहिले हामीसँगै छन् उनीहरुसँग हामीले कुनै शत्रूता देखेका छैनौं । तरपनि, हामीले भोलिको लिम्बुवानमा हामीले हिजो बाहुनले पेल्यो भन्दैमा भोलि हामी बाहुनलाई त्यसरी नै पेल्ने पक्षमा छैनौं । मार्क्सवादी र कम्युनिष्टहरुले खाली पेल्ने कुरा मात्र गर्छन् तर मिल्ने कुरा गर्दैनन् । हामी त उत्पीडित जातिका नेता नेल्शन मण्डेलाको दर्शन मान्छौं । मण्डेलाको नीतिमा गोराले हिजो कालालाई पेले पनि पछि कालाले गोरालाई नपेल्ने नीति भएजस्तै हामी कसैलाई पेल्ने र कसैमाथि शोषण दमन गर्ने पक्षमा छैनौं ।

अहिले अष्ट्रेलियामा नेपालका आदिवासीको भाषामा रेडियो प्रशासण हुन्छ । लालुहरुको देश भारतको सिक्किमा आज लिम्बूभाषा उच्चशिक्षासम्म पढाइ हुन्छ । तर नेपालमा कक्षा ५ सम्म पढ्न पढाउनको लागि पनि सरकारसँग भीख मागिरहनुपरेको छ । यो कस्तो देश हो ? यो कस्तो शासन व्यवस्था हो ? आज सुनिदै छ- बाहुनहरु संघीयताको र लिम्बुवानको विरुद्धमा एक हुन खोजिरहेका छन् रे ! त्यसोभए अब बाहुनहरुको विरुद्धमा आदिवासी जनजातिहरु एक हुनपर्ने हो ? यसरी एक जातिको विरुद्धमा अर्को जाति एकहुन थाल्ने हो भोलि यो देशको हालत के हुन्छ ? कसैले सोचेको छ ? त्यसैले हाम्रो लडाइँ कुनै जाति, भाषा र धर्मको विरुद्धमा होइन । हाम्रो लडाइँ संघीयता, धर्मनिरपेक्षता र अरुणपूर्व ९ जिल्ला लिम्बुवानको पक्षमा हो ।

(संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तरगत संघीय याक्खालेन स्वायत्त परिषदको प्रथम स्वायत्त सम्मेलनको उद्घाटनसभामा संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष मिराकले प्रमुख अतिथिको तर्फबाट राखेका मन्तब्यको संपादित अंश)

तपाइँको प्रतिक्रिया