जनसेना अयोग्य कि जनसेनाका नेता ?
(नयाँ- सरकारले अयोग्य भनेका लडाकूसित दुई बुँदे सहमती भएको छ । तिनलाई उचित ब्यवस्थापन गर्ने, बिकल्प दिने भनेर सरकार आएपछि तिनले घोषणा गरेको नेपाल बन्द र अन्य आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । मारमुंग्री नमच्चाएसम्म, नेपाल बन्द घोषणा नगरेसम्म सरकारले टेरपुच्छर लगाएको थिएन। ढिलै भएपनि सहमती हुनु राम्रो हो)
जनयुद्दकालमा चौकी उडाए जनसेनाले । हायल कायल पारे प्रहरीलाई । जनसेनाको नाम लिँदा प्रहरी कतै पोष्ट नै छोडेर कुलेलम ठोक्थे । भएका भिडन्तमा जनसेनाको हात माथि पर्यो । कतिपय यस्ता भिडन्तपनि गरे जहाँ सुरक्षाकर्मीको सर्वस्व हुन्थ्यो भने जनसेनाको हातपनि कोतरिँदनथ्यो । यसरि दश वर्ष जनयुद्द गरुन्जेल नेपाली प्रहरीलाई हराए । पछि नेपाली सेनासित भिडन्त पर्न थाल्यो । यी भिडन्तमापनि जनसेना हारेनन् । गाउँघरमा बनेका भरुवा बन्दूक हुँदै प्रहरीलाई हराएर तिनले नेपाली सेनासितपनि भिडे । दुबैले एक अर्कालाई हराउन सकेनन् । माओवादीका नेताको सर्वस्वनै जनसेना थिए । जनसेनाकै प्रमुख बलमा तिनले गाउँका सरकारी संरचना खेदे । गाउँबाट प्रतिक्रियावादीका मतियार भन्दै मान्छे लखेटे । जमिनदारका जमिन हत्याए । बैंकका पैसा थुत्ने तिनै जनसेनाको पाखुरी थियो । राजाको शासनलाई टक्कर दिने स्रोतपनि तिनै थिए । अहिले डाक्टर सापको प्रधानमन्त्री पद तिनै जनसेनाको बहादुरीबाट प्राप्त भएको हो । प्रचण्डको शक्ति, फूर्ती र अब राष्ट्रपती ताक्ने आँखाको स्रोत तिनै जन्सेना हुन् । जनसेनाको पाखुरी हुँदनथ्यो भने वर्षमानको अर्थ मन्त्री पद उनले पाउँथेनन् । बलेरो र पजेरोमा नेपालको झण्डा हल्लाउँदै, गगनचुम्बी महलमा बस्ने हैसियत पनि तिनको हुँदैनथ्यो । सरकारमा बसेकालाई यत्रो परिवर्तन गराउन सक्ने, यत्रो हैशियत दिलाउन सक्ने जनसेना । नेता र पार्टीलाई यो हैशियतमा पुर्याउनेहरु कसरि अयोग्य भए ?
माओवादीले तिनलाई स्कूल जाँदा जाँदै कापी कलम फाल्न लागएर जनसेनामा भर्ती गराए । कसैलाई ‘कोहि त भने जहाजमा सरर, कोहि को भने पसिना तरर’ जस्ता जनवादी गित सुनाएर आफूतिर ल्याए । कसैलाई फकाए । कसैलाई तर्साए । पढ्ने उमेरमा बुर्जुवा शिक्षा भन्दै लल्कारेर काँधमा बन्दूक बोकाए । त्यति बेला ति सक्षम ठहरिए । नेपाली सुरक्षाकर्मीसित लड्दा ति योग्य ठानिए । माओवादी नेताको निर्देशनमा बन्दूक देखाएर बैंक लूट्दा ति योग्य थिए । सरकारी सेनाको गाडि एम्बुसमा पार्दापनि ति सक्षम थिए । पार्टीले जहाँ जसरि निर्द्शन दियो ति बहादुरीका साथ लडे । जहाँ जहाँ खटे ति सक्षम ठानिए । हाम्रो सरकार आएपछि समानता हुन्छ । देशमा कोहि भोको नांगो हुन्न भनेर सिंगो समाज बदल्न भन्दै तिनलाइ भिडाए । तर माओवादी सरकारमा आएपछि समाज बदल्न त परैको कुरो तिनै जनसेना समेत अयोग्य मानिए । देश र समाज त बदलिएन नै तिनको जिवनपनि बर्बाद पारे । अहिले ति यता न उताका भएका छन् ।
देश र समाज बदल्छौं भनेर लगेपछि आफू समानकाले स्थान पाउने । नेताले पद पाउने । तिनका आफन्तले जागिर पाउने । पार्टीमा जिम्मेवारी पाउने । पार्टीको लेबीले पालिने । कसैले रकम पाउने । अनि चार हजारले चाहिँ केहि नपाउने ? बिदाइ गर्ने बेला ‘साथी हो तपाइहरुको लागि पार्टीले भिन्नै किसिमले बिकल्प सोच्छ’ भनेर् गुलियो चटाएर पठाएपछि बिर्सिदिने ? ज्यान फालेर देश र जनातकालागि भन्दै लड्यो अनि अन्तिममा कुनै बिकल्प अलपत्र पारिदिने ?
जनसेना त सक्षम थिए नी । तिनले लडेको युद्दले गर्दा प्रचण्ड प्रधानमन्त्री बने । उनका आफन्तले ठाउँ पाए । छोरी र ज्वाइँको मालामाल भयो । छोरो र भतिजासम्मले स्थान पाए । जनमोर्चा जनमोर्चा भन्दै सडकमा बरालिएका बाबुरामलाई प्रधानमन्त्री बनाए । कसरि ति जनसेना अयोग्य भए ? उनैले युद्द लडेर बनाएका नेता सक्षम मन्त्री हुने ति चाहिँ अयोग्य कसरि ?
युद्द जितेर आइसकेपछि अयोग्य भन्दै अलपत्र बनाउनु थियो, सरकारी सुरक्षाकर्मीले भने अनुसार अयोग्य मान्न माओवादी तयार हुने हो भने तिनलाई किन भटाभट लिइयो ? तिमीहरु योग्य छौ भन्दै जनसेना बनाएर वर्षौं पछि अयोग्य भन्ने नेता अयोग्य कि जनसेना अयोग्य ? लड्नका लागि पसेका तिनले योग्य तरिकाले लडेर तिनका नेतालाई कुर्सीमा पुर्याए । ति कसरि अयोग्य ठहरिए ? यदि तिनलाई अयोग्य मानिने हो भने तिनको बिकल्प माओवादी नेताले दिनुपर्छ कि पर्दैन ? तिनको बलमा आफू सरकारमा जाने, मन्त्री पद पड्काउने अनि तिनैलाई अयोग्य भन्दै कुनै बिकल्प नदिकन छोड्ने ?
पहिले सरकार बिरुद्द लडे । अब तिनै जनसेना हामीलाई बिकल्प देउ भन्दै आफैँलाई लडाकू बनाउने नेतासित गारगुहार मागिरहेका छन् । कहिले सडक बन्द गराएका छन् । कहिले हाम्रो बिजोक भो भन्दै पत्रकार सम्मेलन गरिरहेका छन् । दशौं वर्ष जनयुद्द लडेका तिनले अब माओवादी नेता र उसैको सरकार बिरुद्द लड्नुपर्ने भयो कि भएन ?




