मुलुक हाँक्न त सकिएन विश्व क्रान्ति हाँक्ने ?
नेपालको जनयुद्द सानो तिनो पाराले सफल भयो र ? नेपालमा राजनितिक क्रान्तिनै पो पूरा भो त ! जनआन्दोलन दबाउनेलाइ पुरस्कार । जनयुद्द दबाउन लागेकालाई प्रोमोशन । नेपालको उत्पादमा लागेको भारतीय करलाई वास्ता नगरि भारतीय मालिकलाई रिझाउन बिपा सम्झौता । वरिपरि चाकरीबाजहरुको झुण्ड । जनयुद्दपछिपनि तिनै मण्डलेहरुको राज । ठेक्कापट्टा र कमिशन । बिदेश भ्रमण । स्थानिय निकायमा अख्तियारले पोल नखोलेसम्म भ्रस्टाचार मच्चाएर खानुसम्म खाए । राज्यका ठाउँ ठाउँमा घुसखोरी, कमिशन र गुण्डागर्दीलाई अझ प्रश्रय दिए । सरकारमा, शक्तिमा गएका नेताका जिवनशैली रातारात नव धनाढ्यको जस्तो भयो ।
कम्युनिस्टहरुको जिवनशैली निम्न वर्गिय जनताको भन्दा माथि हुनुहुन्न भनिन्छ । तर विकसित देशका धनाढ्यलेपनि चढ्न नसक्ने पजेरो र बलेरो यीनै कामरेडलाइ नभै भएन । पाएसम्म राज्य लूटेर सरकारसित मासिक ८० हजारसम्म घर भाडा भन्दै लिने पार्टीकै अध्यक्षले देश लुट्न पाए सम्म यसरि लुट्नु पर्छ भनेर बाटो देखाए । भएका र भेटिएकाजति आफन्त र चाकरीबाजहरुलाई हुने र मिल्ने पद दिएर थान्को लगाए । तर जनयुद्दमा घाइते भएका, घरबार त्यागेका, ज्यानको बाजि लगाएकाहरुलाई अहिले पनि एक छाक खान कहाँबाट ल्याउँ भन्ने भैरहेको छ । तर पहुँच पुगेका, सरकारमा गएकाको स्थिति रातरात करोडौंपतीमा चुलिएको छ । यसैकालागि रहेछ जनयुद्द ? आफ्नो देशमा राजनितिक क्रान्ति पूरा गरेर यत्रो छलाङ मारेका कामरेडहरुले अब विश्व कम्युनिष्ट आन्दोलनकै नेत्रित्व गरेर विश्वभरि छलाङ मार्ने योजना सुनाएका छन् ।
त्यसैले माओवादी अध्यक्ष प्रचण्डले भनेका होलान्, अब नेपालमा क्रान्ति पूरा भयो । अब आर्थिक क्रान्ति गर्ने । आर्थिक सुधार गरेर देशमा चमत्कार ल्याउने । आफ्नो देशमा क्रान्ति पूरा गरेकालेहोला अब प्रचण्ड कामरेडले त्यो भन्दा लामो र अझ कष्टसाध्य बाटो रोजेका छन्, विश्व कम्युनिष्ट आन्दोलन हाँक्ने भन्दै । त्यसैले उनीहरुले फेरी नयाँ नारा र मह पोख्दै छन्, त्यो हो विश्वकम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने रे । विश्व कम्युनिष्ट आन्दोलन नै हाँक्ने रे ।
उनी आफैंले त्यो भेद त खोल्न भ्याएका छैनन् । तर कामरेडका क्रान्तिकारी योजना सार्वजनिक गर्न के मुस्किल भयो र ? कामरेडका दाहीने देब्रे कुममा झुण्डिने अर्का थरी कामरेडहरु प्रशस्तै छन् । कामरेडका जुँगा हल्लिन नपाउँदै टपक्क टिपेर तिनले जनतालाई सुनाइहाल्छन् । नेपालमा क्रान्ति पूरा भएकाले अब विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने भन्दै कामरेड प्रचण्डका कुम कुम र पाखुरीमा तुर्लुंग झुण्डिने क्रान्तिकारी, त्यागी कामरेडहरुले सुनाएको क्रान्तिकारी योजना, अर्को क्रान्तिकारी छलाङ हो यो ।
माओवादी यतिखेर फुट्यो भने सक्किने दुबै पक्ष हो । यो नत देशका लागि हितकर छ । न जनताकालागि शुभ संकेत नै हो । माओवादी पक्ष मिल्नुको उपयुक्त बिकल्प छैन नै । तर प्रधानमन्त्री डाक्टर साप र अध्यक्ष कामरेडका छत्र छायाँमा मोटाउने, पालिने, कुम पाखुरिमा चौबिसै घण्टा पिङ खेलेर हुर्के बढेका कामरेडहरुको ढाँट देख्दा अचम्म लाग्छ । एकथरी जनतालाई केहि भएन । जनतामाथि धोका भयो भन्दै छन् । अर्काथरी देशमा राजनितिक क्रान्ति पूरा भएकोले अब आर्थिक चमत्कार गर्ने र विश्व हाँक्ने गफ दिन्छन् । जनताले कस्ता गफ पत्याउनु ? कसलाई विश्वास गर्नु ?
जसले जे भनेपछि जनताले प्रत्यक्षरुपले राहत कुनै कुरोमा महसुस गर्न पाएका छैनन् । त्यसैले माओवादी सरकारले दिएको केहि छ भने थप समस्या, थप महँगी, थप संशय र निराशा मात्रै हो । राष्ट्र बिखन्डन गर्ने, दशकौंदेखि भ्रष्टचारमा लिप्त, विदेशी प्रतिक्रियावादीका चौकीदारलाई चोख्याउ पाखुरी थापिदिएर बसेको छ । ढिलो चाँडो तिनलाई चोख्याएको अपजस माओवादीकै थाप्लोमा पर्छ ।
तर अध्यक्ष कामरेडका छायाँ सँगसँगै टाँस्सिनेहरु ‘माओवादी यति अगाडि बढ्यो कि अब पार्टी एक ढिक्का भएर विश्व आन्दोलन हाँक्नुपर्छ’ भन्छन् बा ! अब यसैपनि माओवादी फुट्ने भो भन्ने हेक्का भएकोले ‘पार्टी चोइटिएर केहि गर्न सकिएन’ भन्दै पन्छिन तिनले जनतालाई यो प्रलोभन बाँडेका होलान् कि छुट्टिएर जानेले गर्दा विश्व कम्युनिस्ट आन्दोलनलाई धोका भयो’ भनेर आफ्नो आङको जुम्रा उतातिर सारिदिन खोजेका होलान् ?
नेपालका साँढे दुइ करोड (जनयुद्द शुरु गर्दा त सायद दुई करोड मात्रै थिए होला) जनताको दुख हेर्न नसक्ने । नेपाल जस्तो सानो मुलुकलाई बदल्न नसक्ने । आफैंले गरेका बाचा भुल्ने । नेपालीका अगाडि दिएका आश्वासनलाई कुल्चने । जनतालाई पन्छाएर आफ्नै मस्ति हेर्ने । दशौं वर्ष सँगै दुख सुखमा साथ दिएका समकालिनहरुलाई लत्याएर चम्चे र मण्डले, प्रतिक्रियावादीका मतियारलाई अँगाल्ने । देश, जनता र समाज नबदलि आफैं बदलिने । राष्ट्रको सम्पत्ती पाएसम्म अध्यक्षलेनै कुम्ल्याउने, आर्थिक घोटाला मच्चाउने (माओवादी पार्टीको रकम हिनामिनाको आरोप लागेको निकै भयो तर उनले सार्वजनिक रुपमा हिसाब किताब दिन ईन्कार गरेका छन्), छलेर राष्ट्रिय ढुकुटी आफ्ना लागि प्रयोग गर्ने कामरेडले के विश्व क्रान्ति हाँकेर त्यहि सिकाउने हो ?
राष्ट्र चल्नु र हाँक्नु एकै कुरो होइन । अहिले राष्ट्र चलेको हो । राष्ट्र हाँकिएको छैन । यस्ता पाराले देश चल्न कुनै हिम्मतिलो नेता चाहिँदैन । दैनिक प्राशासनिक काममा कलमको मसि घस्न नेता चाहिन्न । त्यसैले देश घसारिएको मात्रै छ अहिले हाँकिएको छैन ।
आफैंले दशौं वर्ष युद्द लडेको भूमी र यसका आवश्यकता चिन्न नसक्ने । विश्व समूदायमा नेपालका समस्या के हुन् र कसरि अगाडि बढाउन सकिन्छ भन्ने ज्ञान नभएका । आफू जन्मिएको भूमी र आफैंले दशकौं हाँकेको युद्दलाई पार लगाउन नसक्नेले विश्व कम्युनिस्ट आन्दोलन हाँक्ने ? आफ्नै मुलुकमाथि परेको थिचो मिचो र अप्ठेरालाई उठाउन नसक्नेले विश्व भरिकै प्रतिक्रियावादीमाथि औंलो उठाउने ? नेपाल जस्तो सानो मुलुकमा आफैंले गरेको राजनिति सफल बनाउन नसकेर विश्व कम्युनिष्ट आन्दोलन हाँक्ने ? यो भन्दा हाँस्यास्पद केहि हुन सक्छ ?
यीनलाई फेरीपनि नेपाली जनतालाई कुनै न कुनै रुपमा ढाँट्नु परेको छ । जनतालाइ आश्वासन दिएर जनता ठग्नु परेको छ । जनताका अधिकार सुनिश्चित नभएसम्म अन्तिम सास बाँकि रहुन्जेल छोडिन्न भन्ने यीनै थिए । अहिले नेपाली जनतामाथि अझ भार थोपरेर यी भागे, नालायक सिद्द बने । अनि यीनले फेरी विश्व कम्युनिष्ट आन्दोलन हाँक्ने भन्दै जनतालाई सुनाउने ? आफ्ना देशमा आफैंले स्रिजना गरेका समस्या बग्रेल्ति पोखिएका छन् । तिनलाई सम्हालन नसक्नेले विश्वक्रान्तिको नेत्रित्व गर्ने गफ !




