प्रचण्डको काइते प्रस्ताब

अजय खनाल / काठमाडौं

जनयुद्द चल्दा आफै पार्टी अध्यक्ष थिए प्रचण्ड । शान्ति संझौतामा ल्याउँदापनि आफै थिए अध्यक्ष । संविधान सभाको निर्वाचन हुँदै अहिलेसम्म पार्टीको अध्यक्षता गरिरहेका प्रचण्ड अहिलेसम्म पार्टी अध्यक्षनै छन् । त्यो हिसाबले पार्टीलाई बलियो बनाउने, पार्टीका मूल लक्ष्य हाँसिल गर्ने, सहि ढंगले नेत्रित्व गर्ने जिम्मेवारी उनैको हो । उनले केन्द्रिय समितिमा प्रस्तुत गरेको राजनितिक प्रस्ताबले भन्छ, प्रचण्ड त्यसमा चुके । उनी आफैले स्विकार गरेका छन्: उनको अध्यक्षतामा पार्टी फूटको संघारमा पुग्यो ।

तर आफैं पार्टी अध्यक्ष भएर यो अवस्था पुग्नुको न त जिम्मेवारी लिएका छन् न त त्यसको मूल कारण खुलाएका छन् । पार्टी आचरणका, पार्टीको मूल नीति र कार्यनीतिका कमजोरी उल्लेख गरेर उनले मूर्त भाषामा सुधार गर्नुपर्छ भन्ने खालको राजनितिक प्रस्ताब पेश गरेका छन् जसलाई कुनै अप्ठेरो नमानी काइते भाषाको छली र कपटी भन्न मिल्छ ।

उनको राजनितिक प्रस्ताबमा छ “आज पार्टीको संगठनात्मक स्थिति भयावहरूपले विघटित र विसर्जित भइरहेको छ । क्रान्तिका लागि सर्वहारावर्गको लडाकु अग्रदस्ताको भूमिका खेल्ने, नयाँ ढंगको पार्टीका त कुरै छाडौं पार्टी हुनुको नाताले पूरा गरिने न्यूनतम औपचारिकताको पनि स्खलन भइरहेको छ । यथार्थमा पार्टी मरिरहेको छ, गुटहरू मौलाइरहेका छन्, गुटहरूभित्र पनि उपगुटहरू अझ झाँगिएका छन् र उपगुटहरूभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ । सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी, जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, लेवी, कोटा, आर्थिक पारदर्शिता त्याग बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेकै छ । के यो कित्ता के त्यो कित्ता सर्वत्र व्यक्तिगत स्वार्थ हावी हुँदै गइरहेको छ ।”

त्यसो हुनुको करण के थियो ? यी कमजोरीका प्रमुख कारण प्रमुख नेत्रित्वकर्ताका हिसाबले प्रचण्डनै हुन् । शान्ति वार्तामा उभिनासाथ प्रचण्ड स्वयंले गूट र उपगूट खडा गरेका थिए । वरिपरि पार्टीका केहि चाकरीबाजहरु लगाएर उनी आफैंले आफ्नो चाकरी गराउने, पार्टीका असल कार्यकर्तालाई पाखा लगाउने र छट्टुहरुलाई पोस्ने काम प्रचण्ड स्वयंबाट थालनी गरिएको हो । त्यसैले पार्टीमा गूट उपगूटका मूल स्रोत र संवाहक आफैं हुँदा हुँदै त्यो वास्तबिकतालाई ईमान्दारिताकासाथ पार्टी समक्ष खुलाउन नसक्नु उनको र बरु त्यसलाई लुकाउनु उनको काइते पारा हो । बेमानी हो । 

सर्वहारा वर्गको नेत्रित्वदायी भूमिका खेल्ने जुधारु नेता र साहसी कार्यकर्तालाइ उनले अँचेट्दै गए । उनले नेकपा माओवादी शान्ति संझौतामा आएपछि पूर्व सिडियो, अञ्चलाधिश र राजावादी सम्मलाई फूलमाला पहिराएर, जनयुद्द गर्दा आतंककारी भन्दै धारे हात लगाएकाहरुलाई ससम्मान भित्र्याए । पार्टीमा त्यहि गूट उपगूट खडा गरेर आफ्ना वरिपरि चाकरीबाजको झुण्ड तयार पार्ने उनले त्यो दाउ रचेका थिए। क्रान्तिकारी नेता र पार्टी कार्यकर्तालाई कमजोर बनाएर आफ्नो बहुमत पुर्‍याउनै उनले लामो योजना अनुसार पार्टीमा सबैखाले स्खलितहरुलाई भित्र्याएका थिए । पार्टीमा जब बिचार बहस, क्रान्तिकारे स्पिरिट, देश र जनताप्रति प्रतिबद्द, वर्षौं जनयुद्द लडेर, ज्यानको बाजी लगाएर आएकाहरुलाई पाखा लगाइन्छ । तिनका ठाउँमा छट्टु, स्वार्थी र प्रतिक्रियावादीका मतियारहरुलाई प्रतिस्थापित गरिन्छ तब त्यस्तो पार्टी नमरे कस्तो पार्टी मर्छ त ?

उनले ‘त्यो गूट उपगूट भित्रपनि ब्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ’ भन्न समेत भ्याएका छन् । यसको प्रमुख स्रोत, मुख्य भूमिकाकर्ता को हो ? प्रचण्ड आफैं । माओवादी जब शान्ति वार्तामा आयो तब उनी आफैंले चितवनमा कुखुरा पालेर बसिरहेका भतिजा देखि जनयुद्दमा कुनै साइनो र लगानी नभएका बहिनी ज्वाइँ सम्मलाई भारतबाट ल्याएर स्थापित गराउन थाले । महत्वपूर्ण पदमा पुर्‍याए । कसैलाई सभासदको टिकट बाँडे । कोहि सरकारी सुबिधा हत्याएर उनैको सचिव बने । कसैलाई अन्य राजनितिक पदमा नियुक्ति गरियो । फरक बिचारधारा र भिन्न सोच भएका, पार्टीमा वर्षौदेखि लड्दै र भिड्दै आएका, स्वच्छ मनले देश, जनता र पार्टीको हितमा काम गर्दै आएका आफ्नै सहयात्रीलाई खुइल्याउन उनले अनेक प्रलोभन दिएर आफूतिर ताने । आफ्नै सहकर्मीलाई चाकरीबाजहरुको झुण्ड प्रयोग गरेर उनले खुइल्याउन लागे । अनि पार्टी अध्यक्षबाटै चाकरी र ब्यक्तिगत, पारिवारिक स्वार्थले उचाइ लिएपछि अरुको हालत के हुन्छ ?

उनले सामूहिक निर्णय लत्याउँदै गए । पार्टीमा छलफल गर्नु आवश्यक पर्न छाड्यो। पार्टीमा एउटा निर्णय हुन्छ । तर दलका बैठकमा पुगेर उनी तानाशाहले झैं एकल निर्णय गरेर आउन थाले। पार्टी निर्णय अनुसार चल्नुपर्छ भन्नेहरुलाई उनले पेल्न थाले । चाकरीबाजहरुको लहै लहै र उक्साइमा उनले एक्लो निर्णय गर्दै आए । पार्टी अध्यक्ष भएको नाताले पार्टीमा उनलाई छलफको आवश्यकता पर्न छाड्यो । गूट र उपगूटका छुट्टै भेला आयोजना गर्न थाले ।  व्यक्तिगत जिम्मेवारी भन्दा गूटगत स्वार्थलाई हेर्न थालियो, त्यसैलाई प्रश्रय गर्न लागियो । जनवादी केन्द्रीयता देखाउने दाँत भए । आलोचना गर्नेलाई शत्रुका रुपमा हेर्न थाले र त्यस्तालाई पार्टीबाट निकाल्ने र निस्क्रिय पार्ने गर्न थाले । आत्मालोचनालाई कमजोरीका रुपमा लिने र त्यसलाई सार्वजनिक गरिदिएर कमजोर पार्न थालियो । लेवी उठाएर होइन पार्टीमा पूँजीपती र तस्करसित पैसो उठाएर चलाउने र चाकरीबाजहरुलाई पोस्ने गर्न थाले । जनयुद्दमा लडेर आएका, दुख भोगेकासित उनको उठबस हुन छाडेर बिदेशी गुप्तचरसित उनले संपर्क बढाउन थाले ।

आर्थिक पारदर्शिता त नाम निशानै नहुने संस्क्रितिको थालनी भयो । अरु त के जनसेनाका नामबाट उठाएको, पार्टीको चन्दाबाट उठेको लाखौं करोडौं रकम कहाँ गयो, कहाँ के कसरि खर्च गरियो ? त्यसको लेखाजोखा गर्नुपर्छ भन्ने अहिलेसम्म प्रचण्डलाई परेको छैन । पार्टीमा प्रचण्डले पार्टी रकम हिनामिना गरेकोले छनबिन होस्, सार्वजनिक होस् भनेर माग उठेको निकै भयो तर उनी स्वयंले त्यसमा चासो राखेका छैनन् । त्यसको कारण के भने उनी स्वयंले करोडौं हिनामिना गरेका छन् । पार्टीमा त्याग र बलिदान गरेकाहरुलाई पाखा लगाएर चटके र स्वार्थीहरुलाई टपक्क टिपेर स्थापित गर्ने काम प्रचण्डबाटै भएको हो।

पार्टी स्थापना कालदेखि मेहनत गरेका, क्रान्तिकारी बिचार र स्पिरिट भएका, बैचारिक रुपमा तेजिला तर ईमान्दार कार्यकर्ता पलायन कसले गर्दा बनायो ? पार्टी अध्यक्षका हिसाबले उनैले गर्दा होइन ? सर्वहारा वर्गको पार्टी भन्ने । तर आफूलाई आराम गर्न महँगा होटेल जानुपर्ने । आफू सरकारी धनको दुरुपयोग गर्दै महँगो भवनमा बस्ने । बिदेशीले पनि जिब्रो टोक्ने महँगा गाडी चढ्ने । उनको जिवनशैली पुरै सामान्ति संस्क्रितिको बन्यो । कार्यकर्ता सामान्य जिवन गुजार्न नसकेर रोएका बेला उनले आफू र आफन्तको जिवनशैली नव धनाढ्यको जस्तो बनाए ।

नौलो नेपाल र आमूल परिवर्तनको नारा दिएर युद्दमा होम्न उचालेका उनले अहिले चार हजार भन्दा बढि जनसेनालाई अयोग्य भन्दै रित्तो हात फर्काए । अहिले आफैंले प्रतिक्रियावादी सेना भनेका नेपाली सेना समक्ष जनसेनालाई आत्मसमर्पण गर्न लगाए, बाँकिलाई बिघटन गराउँदै छन् । प्रतिक्रियावादीका उक्साहट र षडयन्त्रमा यो सबै हरकतमा समर्थन जनाउने प्रचण्ड होइनन् ? कसले बनायो ? प्रचण्डले होइन ? लेखनाथ न्यौपाने जस्ता पाखा लागेर ज्ञानेन्द्रका पुच्छर आर के मैनाली, प्रभु शाह जस्ता नालायकहरु प्रचण्डका प्रिय भएपछि पार्टी कस्तो हुन्छ ? यसको जिम्मेवार को हो ? पार्टी अध्यक्षका हैसियतले आफैंले लिने हो कि मूर्त र काइते भाषा प्रयोग गर्दै राजनितिक प्रस्ताव पेश गरेर प्रतिक्रियाबादीको चाकरीमा अझै कस्सिने हो प्रचण्ड ?

उनको राजनितिक प्रस्ताबका हरेक बुँदालाई केलाउनु जरुरि छैन । उनले पार्टीमा समस्या देखाएका छन् तर जिम्मेवारी लिएका छैनन् । देखिएका कमजोरी समग्र पार्टीका नेता र कार्यकर्ताका टाउकामा हालेर आफू बच्ने काइते पारा छ उनको दस्ताबेजमा । त्यसैले पार्टीमा बिक्रिति बढ्नु, पार्टी मरिरहनु, असल कार्यकर्ता बाहिरिनु, ब्यक्तिगत स्वार्थ हाबी हुनुको मुख्य कारक पार्टी अध्यक्ष आफैं हुन् । यसको पूर्ण जिम्मेवारी लिएर त्यसलाइ सुधार गर्ने उपाय सुझाउनुको साटो ति कमजोरी सम्पूर्ण पार्टी पंक्तिमाथि छोड्नु उनको नालायकिपन हो । ईमान्दार कार्यकर्तामाथिको अन्याय हो । अझैपनि यसरि आफ्ना कमजोरी ढाक्ने र पार्टीमा ढाँटछल गरेर, आफ्ना कमजोरी सम्पूर्ण पार्टीमाथि छोडिदिएर अझै षडयन्त्र गरेरै पार्टी हाँक्ने, पार्टीलाई अझै धरासायी बनाउने उनको यो षडयन्त्रपनि हो । उनले पार्टी केन्द्रिय समिति बैठकमा पेश गरेको काइते राजनितिक प्रस्तावले त्यहि भन्छ ।

तपाइँको प्रतिक्रिया