किन पार्टी छाड्दै छन् सच्चा माओवादी कार्यकर्ता ?
• शिवराज पन्त
२०५७ / ५८ तिरको कुरा हो, म पशुपति क्याम्पस चावहिलमा स्नातक पढ्दै थिएँ । माओबादीले बेला बेला शैक्षिक हड्ताल गर्थे । बन्द हड्ताल हुँदा दुइ वटा कुराले रमाइलो लाग्दथ्यो : एउटा त कलेज आउनु परेन । अर्को माओबादीका पर्चा पढ्दा तिनका शैक्षिक क्रान्तिका कुरा । सर्वहारा बर्गको सत्ता स्थापना गर्ने कुरा । सामन्ती र शोषक हरुलाई लघार्ने कुरा । युवा रोजगारीका कुरा । यस्तै यस्तै हजारौं सुशासन र नयाँ नेपालका कुरा हुन्थे । तिनको बन्द सफल हुँदा मन हर्षित भएर आउँथ्यो । साँच्चै माओबादी सरकारमा पुगे त भ्रष्टाचार मुक्त नयाँ नेपाल नै बन्छ कि जस्तो लाग्थ्यो । आर्थिक क्रान्ति भएर सम्पूर्ण जनताको जीवनस्तर आकाशमा पुग्छ कि जस्तो लाग्थ्यो । त्यसैले नैतिक र सके भौतिक समर्थन गरेर त्यो युवा जोश र जाँगरका साथ सडक र सिंहदरबार घेर्नपनि निकै गइयो ।
अर्कोतिर म स्कुलमा पढाउँथें । कहिलेकाहिँ स्कुलका प्रिन्सिपलले बन्द बहिष्कार गर्ने कोसिस गर्थे । हामी शिक्षकहरुलाई अनिवार्य उपस्थित हुन धम्कि दिन्थे । अनि म सबै सहकर्मीलाई कलंकी चोकमा फोन गरि भेटेर सबै जनालाई स्कुल कोहि पनि उपस्थित नहुने योजना बनाउँथें । सबै शिक्षकहरुलाई विश्वस्त गराई उनीहरुलाई भरोषा दिलाउनु गार्हो काम थियो । तैपनि मैले सधैं त्यो गरें । र मैले पढाउने बिद्यालय माओबादीले आव्हान गरेको बन्दमा जहिले पनि बन्द रह्यो ।
हरेक शैक्षिक हड्ताल आव्हान गर्ने विज्ञप्तिमा एउटा हस्ताक्षर हुन्थ्यो, लेखनाथ न्यौपाने । त्यतिबेला त्यो अनुहार नदेखेको व्यक्तिप्रति मलाई श्रद्धा जागेर आउँथ्यो । आफ्नो ज्यान जोखिममा राखेर एउटा हस्ताक्षरको भरमा देश भरिका सैक्षिक संस्था ठप्प गर्न सक्ने व्यक्ति त्यो ब्यक्तिप्रति उत्सुकता जागेर आउँथ्यो । त्यो सब जोश, जाँगर, हौसलाका पछाडी लेखनाथले कति सपना देखेका थिए होला ? कति भरोषा गरेका थिए होला उनले प्रचण्ड र भट्टराईलाइ ? आफ्नो सम्पूर्ण युवावस्था माओबादीलाई मन, बचन र कर्मले समर्पित गरेका थिए उनले । साथीभाइ, घुमघाम, रमाइलो, परिवार जस्ता सम्पूर्ण कुराहरु त्यागेर प्रचण्ड र भट्टराइ जस्ता छेपाराहरुको कुरामा आफुलाई समर्पित गरे उनले । अब चाहिँ अतिनै भएछ क्यार उनलाई । प्रचण्ड र भट्टराईका कुकर्म, भ्रष्टता, छलकपट, ढोंग देखि दिक्क भएर उनले पार्टी परित्याग गर्ने निर्णय गरे । पार्टी सरकारमा गएको यतिका बर्ष भो उनलाई पार्टीले कुनै जिम्मेवारी दिएको रहेनछ । किनकि उनले प्रचण्ड र भट्टराइको व्यक्तिगत चाकरी र भक्ति गीत गाएनन । अनि उनले नेतृत्वको इशारामा कुनै हत्या पनि गरेका रहेनछन । त्यसकारण उनलाई कुनै जिम्मेवारी छैन । जिम्मेवारी उसले पाउँछ जसले नेतृत्वको भजन गाउँछ । या जसले गुन्डागर्दी, ठेक्कापट्टा, छलकपट, कालो धन्दा गरी पार्टीलाई द्रव्य सहयोग पुर्याउँछ । या त कुनै नेताको इशारामा व्यक्तिको हत्या मुद्दा लागेको हुन्छ ।
देखिएकै हो, भट्टराइले जिम्मेवारी दिएका प्रायजसो व्यक्तिहरु हत्या आरोपी थिए । या त हिसिलाका नातेदार । लेखनाथसँग सच्चा इमान्दारिता बाहेक केहि थिएन । त्यसैले उनि अयोग्य ठहरिए । कुनै जिम्मेवारी पाएनन् । बर्षमान पुन जस्तो प्रचण्डको हनुमानगिरि गरेको भए उनले पनि आशिर्वाद पाउँथे होला । तर उनले त्यसो गरेनन । केहि पाएनन् । शिविरमा हुँदै नभएको लडाकुको नामबाट पैसा असुलेर पार्टी बसिरहँदा त्यसको विरोध अरु दल वा व्यक्तिले भन्दा पहिले माओबादीकै युवा नेताहरुले गर्नुपर्थ्यो । प्रचण्ड र भट्टराइलाई उनीहरुले प्रश्न गर्न सक्नुपर्थ्यो, राज्यको ढुकुटी, जनताको पसिना कहाँ गयो भनेर । तर बर्षमान पुन, जयपुरी घर्ति जस्ता युवा नेताहरु प्रतिक्रिया नदिएर मौन बसे । यो एउटा माओबादी पार्टीको लागि लज्जाको विषय हो ।
माओबादीबाट बज्रपात परेका अर्का युवा हुन् हिमाल शर्मा । उतिबेला माओबादीले बोर्डिंग स्कुलको खुब बिरोध गर्थे । हुनेखाने र सुकिला मुकिलाले आफ्ना सन्तान पढाउने निजि बिद्यालय । अनि अरु पार्टीका नेताहरुले आफ्ना सन्तानलाई विदेश पढ्न पठाएका कुरा माओबादीलाइ पच्दैनथ्यो । लाखौँ खर्च गरेर विदेशमा पढ्न पठाउने काम सहि होइन । यो सामान्य नेपालीले गर्नपनि सक्दैन । पार्टी सरकारमा आएपछि धेरै माओबादी नेताका सन्तान विदेश पढीरहेको कुरा उनलाई ठिक लागेन । उनले आफ्ना छोरालाई चीनबाट झिकाए जो त्यहाँ डाक्टरी पढ्दै थिए । कुनै सोर्स फोर्सले नभै आफ्नै मिहिनेत र लगनले त्यहाँसम्म पुगेका थिए । आफ्ना सन्तानलाई विदेशमा पढाएर यहाँका सिधा साधा जनताका छोरा छोरीलाई क्रान्तिको बाटोमा लाग्न आव्हान गरिरहेका माओबादी नेताहरुले पनि आफ्ना सन्तानलाइ विदेशबाट झिकाएर नेपालमै अध्यन गराई नयाँ क्रान्तिको सुरुवात गर्छन कि भन्ने आशले विचरा हिमालले यो कदम चालेका थिए । तर के भयो ?
सबैलाई थाहा छ, यसले माओबादीमा भूइँचालो गयो । त्यसपछि प्रचण्डले उनलाई ठाडो निर्देशन दिए, आफ्ना छोरा चिन फर्काउ तुरुन्तै भनेर । हिमालका छोरा पुन चिन गए । हिमाल झुके । प्रचण्ड र बाबुरामको तेजले हिमाल झुकाउन सक्ने रहेछ । लेखनाथलाई रुवाउन सक्ने रहेछ । आजका नयाँ सुकिला र सम्भ्रान्त प्रचण्ड र भट्टराईले आखिर सर्वहारा जनतालाइ पैंताला मुनि कुल्चेरै छाडे । आफ्नो असली रुप देखाएरै छाडे ।
तर यी हिमाल र लेखनाथहरुले पार्टी नेतृत्व चिन्न किन यति धेरै समय लगाए ? मैले त चाँडै नै माओबादीको असली रुप चिन्ने मौका पाएँ | तीन वटा घटना भए मेरो अघि । एउटा, माओबादीले मेरो गाउँको कालो व्यापारीलाई कारवाही गर्नुको सट्टा माला लगाएर पार्टी प्रवेश गरायो । अर्को घटनामा हाम्रो गाउँको गोरेटो बाटो मिचेर पर्खाल बनाउने नेपाली सेनाको मेजरको बचाउ गर्न माओबादी कार्यकर्ता कृष्ण केसी आएर उनलाई हामीले त्यहाँबाट भगाएका थियौं । तेस्रो घटना थियो निर्मल-पुस्कर हत्याकाण्ड । जुन काण्डमा माओबादीले आफुसँग फरक विचार राखेकै आधारमा ति दुइ युवाको हत्या गरि लाश जंगलमा गाडेका थिए । यी काला कर्तुतहरु आफ्नै आँखा अघि घटेपछि मलाई माओबादी प्रति अपार वितृष्णा जाग्यो र माओबादीको विपक्षमा नै उभिन थालेको हुँ । माओबादीलाइ नजिकबाट चिनेको मान्छे या त माओबादी विरोधी हुन्छ या प्रचण्ड भक्त । आफ्नो स्वार्थ पुरा गर्न | त्यसैले आज लक्ष्मण थारु, मात्रिका यादव जस्ता धेरै व्यक्तिले नयाँ पार्टी खोलेका छन् । लेखनाथ न्यौपाने जस्ता कर्मठ युवाहरु पार्टी परुत्याग गरि बसेका छन् ।
तर मलाई चित्त नबुझेको कुरा यदि पार्टीको नाम माओबादी नै राख्ने हो भने त प्रचण्ड र बाबुरामले पो नयाँ पार्टी खोल्नुपर्ने । पार्टीको बिधि बिधान भन्दा विपरित चल्ने त यी प्रचण्ड र यिनका हिमायती पो हुन । मात्रिका यादव, हिमाल शर्माहरु पो वास्तविक माओबादी हुन । प्रचण्ड, भट्टराई र उनका हिमायतीहरुलाई माओबादी र सर्वहारा बर्गको पार्टीका नेता हौं भन्ने कुनै अधिकार छैन । के प्रचण्डको जीवनशैलीमा माओबाद झल्कन्छ ? के भट्टराइको भारत परस्त व्यवहारमा माओबाद झल्कन्छ ? त्यसैले प्रचण्ड, भट्टराई र उनका हनुमानहरु मिलेर नव सामन्तबाद र पूँजीवादको समर्थनमा नयाँ पार्टी खोले हुन्छ । माओबादी पार्टी चाहिँ अब हिमाल शर्मा र लेखनाथ न्यौपानेहरुले नेत्रित्व गर्नुपर्छ ।




