माओवादीसँगै लुट्न पाउँदा त कांग्रेस र एमालेपनि चुपचाप

सरकारमा जान नपाएर रहेछ नेपाली कांग्रेस कुर्लने यो भएन र त्यो भएन भन्दै । प्रचण्ड र बाबुरामले चुस्न नपाएर, आफ्ना कार्यकर्तालाई लुट्न दिन नपाएर रहेछ सरकारको आलोचना गर्‍यो कि शान्ति संझौता भाँडिन्छ भन्दै धमास दिने । क्रान्तिकारी परिवर्तन र स्वच्छ छबी भनेका बैध्य बा पनि आफ्ना कार्ता पाल्न पाएर हो कि किन हो चुप्प बस्ने रहेछन् । एमाले त झन पायो कि गुट्मुट्याइहाल्ने पार्टी । मधेशी दलको त कमिला देखि हातीसम्म पाए लुट्ने नियतनै हो । यीनले चामल त के पाएसम्म धानको भुसपनि नेपालबाट भारततिर ओसार्छन् ।

आफूले देश लुट्न र चुस्न पाएसम्म बाँकी प्रजातान्त्रिक नामका सबै दललाई हाइसन्चो रहेछ । मिलाइ मिलाइ लुट्ने रहेछन् । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैका आँखा खोलिदिएपछि पो छर्लंग भयो त, स्थानिय निकायमा सबै दलले भागबण्डा गरिगरि देश चुसेका रहेछन् । सल्लाह गरिगरि भ्रस्टाचार गरिरहेका रहेछन् ।

तिनले स्थानिय निकाय सञ्चालनका नाममा सर्वदलिय संयन्त्र भन्ने साझा समूह गठन गरेर भ्रस्टाचार गर्दै आएका रहेछन् । २०६६ सालदेखि अहिलेसम्म जब स्थानिय निकाय खालि भयो तब सबै पार्टीका सदस्य छाने । स्थानिय निकाय सञ्चालन संयन्त्र भन्ने नेता नामका ठगहरुको समिति बनाए । अनि सबै दलले खान पाएपछि तैं चुप मैं चुप । खान नपाएको भए पो कुर्लन्थे । सबैले बराबरी खान पाएपछि को कराउने ? ति सब चुपचाप बसेर लुटिराखे । देशको सम्पत्तीमा नंग्रा गाडिराखे ।

यो साझा संयन्त्र नबनेसम्म स्थानिय निकाय सञ्चालन हुन नहुँदा जनतालाई मर्का पर्‍यो । स्थानिय स्तरमा जनताको सेवा भएन । जनताको काम भएन । स्थानिय विकास भएन । गएको रकम जनप्रतिनिधी नभएकोले गतिलोसित लगानी हुन नपाएर स्थानिय स्तरको विकास रोकियो भन्दै तिन वटै मुख्य पार्टीका नेता खुब कुर्लेका थिए । त्यसो भन्नुको कारण त संयन्त्र बन्नासाथ रकम ल्याउँला र लुटौंला भनेर पो रहेछ । जब संयन्त्र गठन भएर रकम खुरु खुरु स्थानिय निकायमा झर्न थाल्यो तब स्थानिय स्तरका नेता नामका देश लुटेराहरुले खुरु खुरु बगली भरे अनि चुपचाप भए ।

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बल्ल तिनको ठगीको, भ्रस्टाचारको, अनियमितताको, देशको सम्पत्तीमा गाडेका नंग्राको पोल खोलिदियो । उसले ठाडै भयो, स्थानिय निकाय सञ्चालन संयन्त्र भन्ने यो गैह्र कानुनी हो । यो सञ्चालन गर्ने संयन्त्रले भ्रस्टाचार गरेको छ । यो संयन्त्र संविधानले ब्यवस्था गरेअनुसारको पनि छैन ।

माओवादीले जनसेनाको रकम हिनामिना गर्‍यो भनेर कांग्रेस कति कुर्लेको बाबै नी ! उता एमालेका भुस तिघ्रेहरु यूवा रोजगारका नाममा आउने रकम दुरुपयोग गर्‍यो माओवादीले भन्दै काठमाडौंमा जुलुस लगेर कति हा हु मच्चाएका ! यतै भ्रस्टाचा रे । उतै भ्रस्टाचार रे माओवादीले । नेपाली कांग्रेसले सरकार चलाउन पाए त गाइको सुद्द दुधमा भएको पानीपनि निकालेर शुद्द दुध बाँड्ला झै गर्छ ।

एमाले र कांग्रेसले माओवादी जंगल बसुन्जेल देश टाट उल्ट्याउने गरि अरबौं खाएको कसरि भुलुन् ? कसरि माओवादीले खाएको सहुन् बाहिर बसेर टुलुटुलु हेर्दै ? तिपनि लुट्न नपाएर हो भन्ने स्थानिय निकाय सञ्चालनमा सहमती सहित गरेको भ्रस्टाचार र लूटले पुष्टी गरेको छ । नत्र माओवादीले भ्रस्टाचार गर्‍यो, देश बिगार्‍यो, लुट्यो भन्ने हुँदो हो त कांग्रेस र एमालेले स्थानिय निकायमा किन सहमती गरि गरि लुटे ? किन आफ्ना तर्फबाट भ्रस्टाचार हुँदा रोक्न खोजेनन् ? स्थानिय निकायको रकम लुट्न हुन्न भनेर किन आपत्ती देखाएनन् ? किनभने यीनलाईपनि त लुट्नु छ । पाएसम्म अझ धेरै देशलाई पातालमा भसाएर आफू किर्ना झैं ढाडिनु छ देशको रगत चुसेर, कार्यकर्ता पोस्नु छ । अहिले सरकार बाहिरबाट माओवादीको बिरोध गर्नुको कारण त यी सबै लुट्न नपाएर पो चर्केका रहेछन् !

तपाइँको प्रतिक्रिया