शिव पोडेल प्रकरणमा कांग्रेस किन जुर्मुरायो ?

शिवराज पन्त

धेरै समयपछि नेपाली राजनीतिमा यस्तो समय आयो कि माओबादी सरकारमा र नेपाली कांग्रेस बन्द हड्तालमा । नेपाली कांग्रेस लामो समयसम्म सत्तामा रहिरहेको पार्टी । उसलाई राणा शासनको विरुद्द आन्दोलन गरेको अनुभव छ । २०४६ सालको जनान्दोलन को अनुभव छ । दोस्रो जनआन्दोलनको अनुभव छ । तर पहिलोपटक सत्ता बाहिर भएर एउटा दल र त्यसको सरकार बिरुद्दको हड्ताल नौलो अनुभव हो उसलाई । आजसम्म देखिएका कुरा के हुन् भने बन्द हड्ताल, तोडफोड, राँके जुलुस आदि माओबादी र एमालेले मात्रै गर्दै आएका थिए । सत्तामानै धेरै बस्ने मौका पाएकोले काँग्रेसलाइ यसको आवश्यकता थिएन । 

तर संबिधान सभा चुनावमा माओबादी पहिलो र कांग्रेस दोस्रो अनि एमाले तेस्रो स्थानमा आए । उता मधेसबादी शक्तिहरु चौथो स्थानमा । यसबाट के देखियो भने देशमा कांग्रेस भन्दा वाम पन्थीहरुको नै बर्चस्व छ । मधेस तिर क्षेत्रिय पार्टीहरुको उदय र चौथो स्थान हासिल गरेपछी जनता त कांग्रेससंग अब छैनन कि भन्ने भान परेको थियो । माओबादीले सम्पूर्ण जनता नै आफ्नो पक्षमा छन् भन्ने ठानेको थियो । सत्तामा नहुनु र कुनै विरोधका गतिबिधि पनि नहुँदा केहि सुस्ताएको वा सेलाएको जस्तो देखिएको थियो कांग्रेस । राम्रो र जनताले समर्थन गर्ने खालको विषय नभई बन्द हड्ताल गर्दा संबिधान र शान्ति बिरोधि अनि सत्तामा बस्न नपाएको झोक भन्ने आरोप लाग्ने डरले पनि होला कांग्रेस चुपचाप बसेको ।  

हुन पनि कांग्रेस धेरै मौन बस्यो । प्रचण्डको गोप्य भिडिओहरु सार्वजनिक भएका थिए । त्यहाँ उनले लडाकु २/४ हजारमा सिमित भैसकेको तर क्यानटोनमेन्ट १९००० लडाकु राख्न सफल भएको कुरा खोलेका थिए । कांग्रेसले यहि कुरालाई निहुँ बनाएर बन्द हड्ताल गर्न सक्थ्यो । शान्ति प्रक्रियासंग सम्बन्धित पटक पटकको सहमतिमा माओबादीले कब्जा सम्पत्ति फिर्ता गर्ने भनेका छन् तर अहिलेसम्म लागु गरेका छैनन् । चाह्यो भने कांग्रेसले यसैमापनि आन्दोलन चर्काउन सक्छ । सबैभन्दा ठुलो कुरो त शिविरमा हुँदै नभएका लडाकुको नाममा माओबादीले कुम्ल्याएको झन्डै २ अरब रुपियाँको विषयमा कांग्रेसले ठुलै हलचल ल्याउन सक्थ्यो । यसले माओबादीलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बद्नाम गराउने थियो । तर यी सबै विषयमा कांग्रेसले त्यति चर्को आवाज उठाएन । यदि कुनै पनि बन्द हड्तालका कारण शान्तिप्रक्रिया र संबिधान लेखन अवरुद्द भएमा जनताको नज़रमा  दोषी देखिने डरले कांग्रेसले केहि बोलेन । तर शिव पोडेल प्रकरणमा काँग्रेस किन जुर्मुरायो ? किन देश व्यापी विरोध भयो र कार्यकर्ताले एमाले र माओबादी जस्तो चरित्र देखाए तोडफोड र आगजनी गरेर ?  

के अनुमान गर्न सकिन्छ भने कांग्रेसलाइ कुनै न कुनै बहानामा शक्ति प्रदर्शन गर्नु थियो । प्रतिपक्षी भएर पनि मित्र शक्ति जस्तो व्यबहार देखाइरहनु उचित पनि थिएन । उसलाई आफुसंग पनि देशभरिका जनताको समर्थन छ भन्ने पुष्टि गर्नु थियो । कता कता माओबादीको डर धम्किका कारण जनताले आ फूलाई संबिधान सभामा भोट नदिएको हो कि भन्ने पनि लागेको होला । अनि यतिका समय निष्क्रिय बस्दा कार्यकर्ता र भ्रात्री संगठनहरु सेलाएका पो छन् कि भनेर कांग्रेसले यो कदम चालेको हुन् सक्छ । यो प्रकरणले आफूले शक्ति प्रदर्शन गर्ने मौका त पाउने तर शान्ति प्रक्रिया खलबलिन्छ भनेर भट्टराईले धम्कि दिन पनि नपाउने समयको कांग्रेसले सदुपयोग गरेको हो कि भन्न सकिन्छ । मुख्य कुरो त हामीसंग पनि देशैभरि समर्थक र जनता छन् भनेर माओबादी र एमालेलाई देखाउन पाउँदा कांग्रेसलाइ सन्तुष्टि पनि मिल्यो होला । शहिद घोषणा गर्नुपर्ने कुरा जायज नभएपनि क्षतिपूर्ति र दोषीलाई सजायको कुरा कसैले नाजायज भन्न सक्दैन ।  

अर्कोतर्फ सधै विरोध र हड्ताल मात्र गरेका, सरकार र मन्त्रीहरुको पुत्ला दहन गरेर बसेका माओबादी तथा एमालेलाई एउटा कुराको ज्ञान भयो होला । त्यो के हो भने हामीले गरिराखेको यो बन्द हड्ताल त सजिलो तर नराम्रो काम रहेछ । यो त कांग्रेसले पनि गर्न सक्दो रहेछ जस्तो एमाले र माओबादीलाई लाग्यो होला । उता सधै सरकार समक्ष माग मात्र तेर्स्याई रहने बानि परेको माओबादीको अहिले सरकार छ | उसलाई त्यो मागहरुको सम्बोधन गर्नुपर्ने बेला आएको छ । कस्तो लाग्यो होला भट्टराईलाइ अहिले ति विरोध हेर्न र माग हरुको सुनुवाई गर्न ? खोइ भट्टराईबाट केहि प्रतिक्रिया आएको सुनिँदैन ।  

अर्को कुरा शिव पौडेलको हत्या (उसको चरित्र जस्तो भएपनि) कारागार भित्र भएको थियो । कारागारमा राज्यले तलव दिएर सुरक्षाकर्मी राखेका हुन्छन । ति सुरक्षाकर्मी कता थिए त्यतिखेर ? यसबाट यो हत्या सुनियोजित भएको देखिन्छ । सुरक्षाकर्मीको मिलेमतो बिना यो हुनसक्ने काण्ड नै हैन । यस्तो अवस्थामा विरोध नै नगरी चुप लागेर बस्ने हो भने गृहमन्त्रीलाई माला लाइदिए बराबर हुन्छ । अनि देशको सुरक्षा अवस्थापनि सन्तोषजनक नै रहेछ भन्ने सरकारलाई भ्रम पर्छ । सबभन्दा ठुलो कुरो दोषीको मनोबल बढछ । उसले सजायबाट मुक्ति पाउन सक्छ । त्यसैले यो विरोधमा तोडफोड र आगजनी हुनु अनि जनतालाई कष्ट हुनु नकारात्मक पक्ष भएपनि सरकार, सुरक्षा संयन्त्र, कारागार सुरक्षा जस्ता विषयहरुमा सम्बन्धित निकायको ध्यान आकृष्ट अपरिहार्य थियो । यो कोणबाट हेर्दा हामीले विरोधको समर्थन गर्ने पर्छ ।

तपाइँको प्रतिक्रिया