कांग्रेसका शहिद यस्ता हुन्छन् ? शान्तिपूर्ण बन्द यस्तो हुन्छ ?

नेपालको सबैभन्दा पूरानो प्रजातान्त्रिक (?) पार्टी रे नेपाली कांग्रेस । मानव अधिकार, प्राजातान्त्रिक मूल्य मान्यता अनि बिधिको शासनमा उ कुनै संझौता गर्दैन रे । शान्तिपूर्ण आन्दोलन मात्रै गर्ने । हत्या, हिंसा, मारपिट र अशान्ति कांग्रेसले जान्दैन रे ? हाहाहा हाहाहाहा हाहाहाहाहाहाहा !!! मुर्छा परिन्न त हाँसेर ?

गूण्डाको नाइकेलाई शहिद घोषणा गर्नुपर्छ भन्दै नेपाल बन्द गरायो नेपाली कांग्रेसले । यो बन्दमा पत्रकारका मोटरसाईकल जलाए । दुध बोक्ने गाडी खरानी पारे । बिरामी बोकेको एम्बुलेन्सपनि तोडफोड गरे । बाटोमा कुनै गाडी देख्यो कि कांग्रेसी कार्यकर्ताले निशाना बनाए । सवारी साधन देशैभरि फुटाए । आगो झोसे । देखिए र भेटिएजति रेलिङ भाँचे । बन्दको पूर्वजानकारि नदिइकनै एक्कासि सडक बन्द गरेर हजारौं यात्रुलाई बिचल्ली बनाए । सडकमा आगजनी गरे। हजारौं निमुखा नागरिकको रोजी रोटी खोसे । तर नेपाली कांग्रेसले प्रेस बिज्ञप्ती सार्वजनिक गर्‍यो, अभूतपूर्व शान्तिपूर्ण भो रे । एउटा गुण्डालाई सहिद घोषणा गरेर कांग्रेसको आदर्श अनुसार कस्ता मान्छे सहिद हुने रहेछन् भन्ने देखायो । यो भन्दा झुट, बेइज्जति केहि हुन्छ ?

प्रहरीको बुलेटिनले भन्छ, देशभरि सयौं गाडीमा आगो लगाए कांग्रेसी कार्यकर्ताले बन्दका क्रममा । सयौंमा आगो झोसे । स्थानिय खुद्रे ब्यापारीका पसल फुटाएर बिजोग पारिदिए । कांग्रेसको बन्दमा खिचिएका तस्विर र भिडियो साक्षी छन्, बन्द पुरै हिंसात्मक, तोडफोड र अशान्तिपूर्ण भयो भनेर । तर कांग्रेसको बिज्ञप्तीले लाजै नमानी भन्छ‘बन्दमा सम्पूर्ण नेपाली दाजुभाई दिदी–बहिनीहरुले देखाउनु भएको अभुतपूर्व सहभागिता, सहयोग, समर्थनप्रति धन्यवाद व्यक्त गर्दै बन्द कार्यक्रम स्थगित गर्ने निर्णय गर्दछ । बन्द आम रुपमा शान्तिपूर्ण रहयो, सामान्य कमी कमजोरीका कारण भएका छिटपुट घटनाबाट नागरिकमा पर्न गएको असुविधाप्रति नेपाली कांग्रेस दुःख व्यक्त गर्दछ।’

यति हिँसात्मक, त्यति धेरै तोडफोडलाई छिटफुट पो भन्ने रहेछ नेपाली कांग्रेसले । साँच्चै हिंसात्मक र अशान्तिपूर्ण भन्यो कांग्रेसले भने कस्तो गर्छन् होला ? देशमा पुरै आगो झोस्ने ? ग्यारेजका गाडी, बन्द कलकारखाना पुरै जलाउने ? नागरिकलाई घर घरबाट थुतेर सडकमा मार्ने ? अस्पत्ताल भित्रै पसेर कोठाकोठाका बिरामी पिट्ने ? कस्तोलाई भन्छ नेपाली कांग्रेसले अशान्तिपूर्ण ? यो बन्दमा नेपाली जनताको मानव अधिकार सुरक्षित भयो ? यस्तो तोडफोड सबै प्रजातान्त्रिक मूल्य र मान्यता भित्र पर्छ ? कि नेपाली कांग्रेसको प्रजातान्त्रिक मूल्य र मान्यता नै यहि हो ? यस्तै प्रजातान्त्रिक मूल्य र मान्यताकालागि लडेको हो नेपाली कांग्रेस  ? र अबको लडाइपनि यस्तै मानवअधिकार रक्षा, यस्तै प्रजातान्त्रिक मूल्य र मान्यता, यस्तै खाले शान्तिकालागि हो ?

नेपाली कांग्रेसको शहिद गुन्डाका नाइके ? मारपिट, लूटपाट, सार्वजनिक सम्पत्तीमा लूट, ढाड र ठेक्कापट्टा कब्जा । समूह समूहबिच लडाई । हातमा पेस्तोल, खुकुरी, भाला र ढुंगा लिएर हिँड्ने । चोक चोकमा आतंक मच्चाउने । मान्छे मार्ने । गुण्डागर्दी गर्ने । पैसो लूट्न नपाए राजनितिक पार्टीका कार्यकर्तामाथि आक्रमण गर्ने । ठेक्कापट्टा आफूले नपाए सडक छेक्ने । राजनितिक पार्टीलाई गुण्डागर्दी मच्चाउन, चोर्न, छल्न, मारकाट मच्चाउन सुरक्षित थलोका रुपमा उपयोग गर्ने । गुण्डागर्दी गर्दा गर्दै मारिएको । अपराधीका रुपमा जेल परेको । यस्तो मान्छे पो चाहिने रहेछ नेपाली कांग्रेसलाइ ? नेपाली कांग्रेसको प्राजातान्त्रिक मूल्य र मान्यतामा यस्तै गुण्डाहरु शहिद बन्छन् ? शहिदको सपना साकार बनाउने यस्तै फिरौती उठाउनेलाई सम्मान गरेर हो ? सबैभन्दा पुरानो र प्राजातान्त्रिक पार्टीले अरुलाई सिकाउन खोजेको पनि यहि हो ?

नेपाली कांग्रेसले शिव पौडेल जस्तो अपराधी र गुण्डालाई शहिद घोषणा गरेर यो पार्टीका आदर्श पुरुष कस्ता हुने रहेछन् भन्ने देखाएको छ । शहिद धर्मभक्त, शुक्रराज शास्त्री जस्ता शहिद अब नेपाली कांग्रेसको मूल्य र मान्यता अनुसार शहिद मान्न लायक देखिन्नन् । गुण्डा गर्दीमा, चोरी र अपराधीका रुपमा चिनिनेहरु शहिदको सूचीमा पर्न थालेपछि देश र जनताको वास्तबिक मुक्तिका लागि लड्नेहरु कांग्रेसलाई के काम ?

शिव पौडेललाई सहिद घोषणा गरेर अब फिरौती, गुण्डागर्दी, हत्या, चोरी, लूट, दादागिरि, आतंक, लडाईँ गर्ने कामलाई नेपाली कांग्रेसले आफ्नो आदर्शका रुपमा स्थापित गरेको छ । उसले यस्ता लूट र गुण्डागर्दीलाई प्रोत्साहित गरेको छ । ‘सकेजति लूटपाट गर, आतंक मच्चाउ, गुण्डागर्दी गर, कथंकदाचित मारियौ भने हामी सम्मान गरेर शहिद बनाउँछौं’ शिव पौडेललाई शहिद घोषणा गर्ने कांग्रेसको निर्णयले यहि भन्छ । शिव पौडेल जस्ता अपराधी र गुण्डाहरु कांग्रेसको आदर्श मानिन्छन् भने अरु को नै नअटाउलान् र नेपाली कांग्रेसका आदर्श पुरुषमा ?

तपाइँको प्रतिक्रिया