झारपात, कुँडा कर्कट सबै सोहोर्ने प्रतिस्पर्धामा एमाले र माओवादी

फलामे अनुशासन पालना गर्नुपर्छ भन्छन कम्युनिष्ठहरु । तर त्यो फलामे अनुशासन त परै जाओस, अहिले माओवादी र एमालेको पार्टीलाई धोका दिएका, जनतामाथि गद्दारी गरेका, आफ्नै श्रीमती हुँदाहुँदै अर्कि महिलामाथि अनुचित संबन्ध राखेका समेतलाई माओवादी र एमालेले धमाधम पार्टीमा हुलिरहेका छन्   आफ्नै सहकर्मी पक्राउ गर्न तानाशाही सरकारको बर्दी लगाएर भेष बदल्दै तिनको खोजि गर्दै हिँडेका, झारपात, पञ्चायति प्रशासक, कुँडा कर्कट, झ्याँस, झारपात र कसिंगर सारा बटुलेर हुल्न उनीहरुको अहिले प्रेतिष्पर्धानै चलेको छ । माओवादीले अहिले केन्द्रिय समितिमा लगेका कतिपय नेताको हालत देख्दा पछाडि फर्केर हाँस्न मन लाग्छ । कति भाग्यमानी त ? त्यस्तो ब्यक्तित्व हुँदा हुँदैपनि ति झन ठुलो एकिक्रित कम्युनिष्ट पार्टीको केन्द्रिय समिति सदस्य । कोहि त पोलिटब्युरोमापनि 

 

 

कम्युनिष्ट पार्टी भित्र देश र जनताको हित बिरुद्द लागेर सुराकि गर्नेलाई हदैसम्मको करवाहि गरिन्छ । माओवादीको भात्रि संगठन अखिल क्रान्तिकारीको अध्यक्ष हुँदै नेकपा माओवादीको केन्द्रिय समिति सदस्य बनेका क्रिष्णध्वज खड्का र नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्ष भएकि रेखा शर्मामाथि त्यहि आरोपमा कारवाही गरिएको थियो । यिनिहरुले कतिसम्म सुराकी गरेका थिए भने संकटकालमा सैन्य हिरासहमा भएका बेला पार्टीकै अरु नेतालाई पक्राउ गर्न हिँडेका थिए सैनिकहरुसँगै सैनिक बर्दी लगाएर । उनीहरु पार्टीको हेडक्वार्टरनै देखाइदिएर तहसनहस पार्ने योजनामा हिंडेका । यिनैको सुराकिका कारण धेरै केन्द्रिय नेता भागभाग गर्नुपर्‍यो सेल्टर छोडेर । पार्टीको भूमिगत कार्यालय सार्नु पर्‍यो ।  माओवादी आफैंले लगाउँदै आएका आरोप हुन यि । त्यहि अनुरुप उनीहरुले कारवाही भोग्दै आएका थिए । अहिले यि दुबैलाई केन्द्रिय समितिमा पुर्‍याएको छ माओवादीले । उनीहरुलाई झैं पार्टी हित बिरुद्द लागेको भनेर कारवाही गरिएका हिमाल राई, भरत बम र कुमार पौडेलपनि केन्द्रिय समितिमा पुगे ।

एकता केन्द्र मसालसँग पार्टी एकता भनेर ठुलो तामझाम गरिएपनि एकता भएको पार्टी कुन हैसियतको थियो गएका निर्वाचनहरुले देखाउँदै आएका हुन । माओवादीले समर्थन नगरेको अवस्थामा देशभरिबाट एक सिटपनि जित्न सक्ने हैसियतमा थिएन एकता केन्द्र मसाल । त्यसैले माओवादीले एकता केन्द्र मसालका केहि उम्मेदवारलाई समर्थन गरेको थियो । त्यसैगरि माओवादी समर्थनमा जितेका थिए अमिक शेरचनले । तर गत राष्ट्रपती चुनावमा शेरचनले माओवादीका उम्मेदवारलाई हालेनन भोट । नेपाली कांग्रेसका रामवरण यादवलाई हाले । अहिले तिनै शेरचनलाई एकिक्रित नेकपा माओवादीको सचिवालय सदस्य रकेन्द्रिय पोलिटब्युरो बनाइयो । निर्वाचनमा लाठि खानेको हालत उस्तै छ तर वामपन्थि बिरुद्द लाग्नेले झन एकिक्रित पार्टीको पोलिटब्युरो सदस्य पद । जसका बिरुद्द भोट हाल्यो उहि पुरस्क्रित।

नेकपा एकता केन्द्र मसालबाट आएका विश्वभक्त दुलाल (आहुती) को त झन के कुरा गर्ने ? महिला हित, लैंगिक समानताको गफ गरेर कहिल्यै नथाकेर के गर्नु ? उनले बिवाहित हुँदाहुँदै पार्टीमा तल्लो निकायमा रहेकि अर्कि महिलासित अनैतिक संबन्ध राखे । एक छोरी सहितकि आफ्नी श्रीमती अंजना विशंखे (जो सभासद पनि हुन) लाई त्यागेर अर्को विवाह गरे । लामो समयसम्म आफ्नो अनैतिक संबन्धलाई उनले ढाकछोप गरेर राखे । पछि पार्टी र पत्नीको दबाबमा मात्रै उनले स्विकार गरेका थिए । अब यस्ता नैतिकहिनलाई पार्टीको पोलिटब्युरोमा लगेर कस्तो उपलब्धि हुने होला ? बरु यस्ता ब्यक्तिको उपस्थितिले अरु महिला झस्किनु पर्ने होला ।

रामहरी हत्याकाण्डले पार्टीलाई ठुलो घाटा लाग्यो, बदनामी गर्‍यो भनेर प्रधानमन्त्री प्रचण्डले नै हाकै भनेका हुन । तर त्यहि हत्याकाण्डमा आरोपित कालीबहादुर खाम ´विविध´लाई केन्द्रिय समितिमा लगे । दुख र संकटका बेला माओवादीलाई नै सहयोग गरेका भनिका ब्यक्तिकै हत्यामा संलग्न भएका ब्यक्तिलाई पुरस्क्रित गरेर कुन संदेश दिन खोजेको होला माओवादीले ? यस्ता ब्यक्तिलाई त्यसरी पुरस्क्रित गर्दा हत्याराहरुको मनोबल झन उच्च नहोला ?

माओवादीले भित्र्याएका सूर्य बहादुर सेन ओलीको त झन नाम लिँदापनि नाक दुर्गन्धित हुन्छ । पञ्चायककालमा यि सगरमाथा र कोशी अञ्चलका अञ्चलाधिश थिए । त्यहि बेला उनले प्रजातान्त्रिक शक्तिलाई दबाउनसम्म दबाए । अरुलाई न्याय दिने ठाउँमा बसेका यिनले आफ्नै पत्नी र छोरीलाई समेत न्याय दिन सकेनन । जेठी पत्नीलाई हेला गरेर अर्को बिवाह गर्न बाध्य मात्रै पारेनन कि जेठी पत्नी पट्टीकि शुस्त मनस्थितिकि एक छोरीलाई करिब दुई दशक  कैलालीको घरमा बँधुवा बनाएर राखे । त्यति बेला आफ्नी जेठी श्रीमतीले उपचार गराउन खोज्दा समेत छोरीको उपचार गर्न दिएनन । शिक्षाबाट बञ्चित गराए नै, यिनले आफ्नी आमासँग भेट्नपनि दिएनन । आफु भने कान्छी स्वास्नीसहित काठमाडौं र अन्य कार्यक्षेत्रमा बसे उनको अत्याचारबारे सार्वजनिक भएपछि दुर्गा पोखरेल महिला आयोगको अध्यक्ष भएका बेला काठमाडौंबाटै महिला प्रहरी लगेर उनको घरमा छापा हानेर उनकि बँधुवा छोरीको उद्दार गरियो । त्यतिबेला उसकि छोरीलाई अनुराधा कोइरालाको माईती नेपालमा राखिएको थियो । जेलमा कोच्नुपर्ने यस्ता अपराधीलाई माओवादीले रातो टिका लगाएर सम्मानकासाथ भित्र्याए । अपराधीलाई चोख्याए । अहिले उनै राष्ट्रवादी मोर्चा खोलेर शानले हिँड्छन । माओवादीको वकालत गर्छन । राष्ट्रवादको उपदेश बाँड्छन ।

       एमाले झन के कम ? 

उता एमाले झन के कम ? यो पार्टीले त झनै जस्ता घँसेटापनि थुपार्ने गरेकै हो । पार्टी नेतानै भ्रष्ट भएपछि कस्ता मानिस अटाउने ? ज्ञानेन्द्रको हुकुमी शासनका बेला सारा जनता त्यसलाई उल्टाउन एक जुट भैरहेका थिए । गोली वर्षिंदा जनताले टाउको थापे । छाती तेर्स्याए । कोहि मारिए । कोहि सदाका लागि अपांग बने । तर त्यहि बेला जनता बिरुद्द लागेर ज्ञानेन्द्रको तानाशाही ब्यवस्था टिकाउन गएकालाई एमालेले अहिले धमाधम टिका लगाएर हुल्दै छ पार्टीमा । अस्ति शुक्रबार एमालेका महासचिव झलनाथ खनालले विनोदकुमार शाह (दैलेख), पदम भण्डारी (इलाम), यज्ञराज न्यौपाने लगायतका ज्ञानेन्द्रमार्गीहरुलाई एमालेमा भित्र्याए । अचम्म त के भने महासचिव खनालले बिगतमा जस्तोसुकै कारणले भएपनि पार्टी छोडेकालाई पुन भित्रिन स्वागत गरिने बताए । त्यसरि आउनेलाई कुनै भेदभाव नगरि जिम्मेवारी दिने रे   बिगतमा जस्तोसुकै अपराध गर, जनबिरोधी काम गर, ठग, भ्रष्टाचार गर, अरुकै शासनमा जाउ तर उता केहि नपाउने भएपछि पुन एमालेमा फर्किन पाउने । यस्तोपनि कम्युनिष्ट पार्टी हुन्छ ? यस्तै हो कम्युनिष्ट पार्टीमा हुनु पर्ने आचरण ? ब्रिहद कम्युनिष्ट पार्टी बनाउने कति राम्रो प्रतिष्पर्धा माओवादी र एमालेको !!

तपाइँको प्रतिक्रिया