जेलमा कोच्नुपर्नेहरुलाई उल्टै प्रशंसा ?

जनता कतिसम्म नालायक बनाइए । कतिसम्म राज्यको लूट बैधानिक बन्यो । नागरिक कति निरिह बने । देशको सम्पत्ती कति सम्म लूटियो भन्ने यो पछिल्लो उदाहरण हो । सुन्दा आक्रोश जाग्छ । नेता संझेर लाजले मुख छोप्न मन लाग्छ । नागरिकलाई हेपेको, कुल्चेको, अनादार गरेको र देशको सम्पत्तीमा डढेलो लगाएको देख्दा कति निरिह भएछौं झैं लाग्छ । तर के गर्नु ? जसलाई लाज लाग्नुपर्ने हो उनीहरु बहादुरी देखाइरहेका छन् । देशको सम्पत्ती लूटेर मोज गर्नेहरुले नै बाध्यताबस फिर्ता गर्नुपर्दा उल्टो प्रशंसा खाइरहेका छन् । लूटेराहरुकै गाना सुन्नु परिरहेको छ । देश कंगाल पार्नेहरुकै तारिफ हेर्न बाध्य हुनु परेको छ । जो राष्ट्रिय सम्पत्ती दुरुपयोग गरेको अपराधमा जेलका कोठरीमा कोच्चिनुपर्ने हो उहि चर्कि चर्कि महान काम गरेझैं देश र जनताका सामू लाजै नमानी उफ्रिरहेको छ ।

जनताले एक निश्चित समयकालागि भोट दिए । चुने । आफू भोकै र नांगै बसेरपनि नेता पाले । सेवा दिए । आफू नांगा गोडाले हिँडेरपनि नेताले पजेरो चढेको सहे । आफू सिटामोलबिना मरे तर नेतालाई बिदेशकै महंगा अस्पत्तालमा पुर्‍याएरपनि उपचार गर्दा आगो बालेनन् । मारमुंग्रि मच्चाएनन् । देश बन्ला, बनाउलान् कि बिस्तारै भन्दै आशावादी भए । हत्यारालाइ फूल लगाइदिँदापनि सहे । भ्रस्टहरु पुरस्क्रित हुँदापनि दूर भविष्य उज्जल बनाउलान् कि भनेर आशाबादी बने ।

लूट्नपनि कतिसम्म नालायक बनेर लूटे भने तिनले चर्पीको पिँधैसम्म थुतुनो गाड्न पुगे ब्यक्तिगत सुख र मस्तिकालागि । मरेर गएका गिरिजाप्रसाद कोइराला र क्रिष्ण प्रसाद भट्टराईको नाममापनि दाम लिए । सुरक्षाकर्मी मागे । मिलेसम्म सब लिए । भ्याएसम्म राष्ट्रिय रकम चिथोरिराखे तर त्यसको बदला नेताले दिए के ? जनतालाई सास्ति । महँगी । आफ्नै मस्ति । आफन्तैको भलो । जनताको शक्ति र धैर्यतालाई अवमूल्यन् गरेर लूट्दै गए । तर जेकोपनि सिमा हुन्छ । लूट्दा लूट्दा यति लूटे कि सिमा नाघ्यो । संसार गन्हायो नेपालको लूट देखेर । नेताको मस्ति देखेर । अनि आखिर सर्बोच्चले बोल्यो ‘शक्तिमा बसेका बेला लिएको सेवा र सुबिधा सत्ता र शक्तिबाट हटेपछि लिन पाइन्न, त्यो गैह्र कानुनी हो’ ।

लाजले मुख छोप्दै बुझाउलान् महँगा गाडी, धनी देशका करोडपती चढ्ने सवारी साधन भन्ने थियो जनतालाई । तर तिनले त महान काम गरे झैं पत्रीका र रेडियोलाई खबर गरिगरि बुझाएको डिङ हाँके । देशको डकैती गरेको सम्पत्ती बाध्य भएर बुझाउनु परेकोमापनि मुसुक्क हाँस्दै टिभीका स्क्रिनमा छाए । जनताका अगाडि राष्ट्र लूटेका अनुहार लाज र घिन नमानी देखाए । जनताको रगत पिएको हाकाहाकी स्विकारे गर्वकासाथ । अझै कसले पहिले बुझाएर प्रथम हुने र नाम कमाउने भन्ने प्रतिस्पर्धा चल्दै छ ।

पञ्चायती कालका प्रधानमन्त्री मरिचमानको के आलोचना गर्नु ? सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दलाई के गाली गर्नु ? आखिर तिनको राज्यमा लूट छ भनेरै सुशासन दिन कांग्रेस, एमाले र माओवादीले जन आन्दोलन हाँके । राजा फाले । संविधान सभाको निर्वाचन गराए । अझ माओवादी त साम्यवादमा पुग्न भन्दै दगुरेको पार्टी । स्वच्छ छबीका, केहि नभएका सर्वहारा । जनताका सुख दुखसँगै हाँस्ने र रमाउने, रुने र बिलाप गर्ने । देश र जनताको मुक्तिकालागि भन्दै १६ हजार भन्दा बढि जनताको रगत धारोको पानी झैं बग्नुको कारक तिनै थिए । तर त्यहि पार्टीका बडे नेता, अन्तर्राष्ट्रिय स्तरका महान नेता प्रचण्डले नै ढाँटी ढाँटी, राज्यलाई छली छली घरभाडा लिएका । जबर्जस्ति गाडी चढेका । जनता नांगै खुट्टा हिँड्छन् उनी चढ्ने करोडौं मूल्यको गाडी राज्यलाई भसाएर ।

कांग्रेसको समाजवादमा पुग्ने बाटोपनि यस्तै ठगेर, चुसेर, लुटेर रहेछ कि ! एमाले त कम्युनिस्ट नामको देशै बेच्ने पार्टी । यो बेथिति र लूटको सबैभन्दा ठूलो जिम्मेवार नै एमाले हो । क्रिष्णबहादुर महरा ग्रिहमन्त्री हुँदा पूर्व ग्रिहमन्त्री भैकहएका केपी ओलीले लिएको गाडी सुबिधा फिर्ता गराउन खोज्दा उनले चर्को बिरोध गरे । भिम रावल अर्का डँकैत परे । पदबाट हिँडेने बेला करोड माथिको गाडी मगाएर लगे । फिर्ता गर्न लगाउँदा हाकै उनले फिर्ता गर्दिन भन्ने चुनौति दिए । झलनाथ झल्लु, वामदेव साराले त्यसैगरि सुबिधा लिए । तिनले गर्दा ‘ए हामीले चाहिँ किन छोड्ने सरकारी सुबिधा ?’ भन्ने प्रतिस्पर्धा चल्यो र झन राष्ट्रिय सम्पत्तीमाथि लूट मच्चियो । आखिर नेताको नाम बेचेर किन सुबिधा लिँदैनथे । तिनले पाए र मिले अझ कति नदी, जिल्ला, वनजंगल नै बेचेर रेल किन्ने थिए । यो सुबिधा आफू मर्दापनि नाती पलाँती खलाँतीसम्मलाई स्थानान्तरण गर्थे थिए । चाहे देश भासियोस । जुनसुकै भड्खालामा जाक्कियोस । जनता बाटाका कमिला झैं किन नकिचियुन् ।

राज्यको चौथोको अंग पत्रकार जगतको पारा देख्दा पो झन अचम्म लाग्छ । देश लूटेर वर्षौंदेखि खान पल्केकालाई सर्बोच्चले घाँटी न्याकेर बुझाउन लगाएपछि लिएको सुविधा फिर्ता गर्दापनि के के न जनतालाई ठूलै राहत दिएझैं भैंसी जत्रा अक्षरले प्रशंसा गरिगरि गाडी फिर्ता गरेको समाचार लेख्छन् । दिनभरि यो यो नेताले यसरि फिर्ता गर्ने भो गाडी भन्दै रेडियो र टिभीमा फलाकिरहेका छन् । कति स्वच्छ, कति ईमान्दार, कति राष्ट्रवादी, कति जनप्रिय, कति चिन्तित देश र जनताको सरोकारप्रति झैं गरेर तिनैलाई उचाली उचाली खबर दिइरहेका छन् । यीनले अहिलेसम्म जनता र देश लूटेको फिर्ता गर्नुपर्छ । राज्यले तिनको श्री सम्पत्ती जफत गरेरपनि असुल्नुपर्छ । तिर्न नसके राष्ट्रिय सम्पत्ती दूरुपयोग गरेकाले सजायँ दिनुपर्छ, जेलमा कोच्नुपर्छ भन्नु पर्ने हो । जनतालाई जगाएर माफी दिनुहुन्न भन्नुपर्ने हो । तर उल्टै तिनै लूटेराका पछाडी लागेर प्रशंसा पो गरिरहेका छन् । जस्ता नेता उस्तै पत्रकार ! तब न हाम्रो मुलुक दिनदिनै भासिएको हो ।

चिनमा भए यीनको बिकल्प भनेको गोली ठोक्ने हो । सिधा म्रित्यूदण्ड । किनभने हाम्रा नेताले ढाँटी ढाँटी, राज्यलाई छलेर गरेको यो अनियमितता भ्रस्टाचार हो । चिनमा यसरि राष्ट्रिय सम्पत्तीको भ्रस्टाचार गर्दा म्रित्युदण्ड दिइन्छ । तर हाम्रो देशमा भने उल्टै सारा देशका पत्रकार, मेडिया, कर्मचारी, पार्टी कार्यकर्ता उचालिएर वाही वाही गर्छन् । उनको गुण गाउँछन् । लूटेराहरुलाई महान बनाइन्छ । नेपालको दूर्भाग्य !

(फोटो : हाम्रो ब्लग )

तपाइँको प्रतिक्रिया