पुनेको प्यान्ट देख्या धुरुधुरु रोए फ्रान्सेली

          “नेपाली सेनालेपनि मार्छ र निर्दोष मान्छे ?”

सामान्य कुनै विषयमा गफ हुँदा प्रसंग निस्कियो ‘पुनेज ट्राउजर (पुनेको पाइन्ट) डकुमेन्ट्रीको । यो बनाएका थिए लेखक, पत्रकार, डकुमेन्ट्री निर्माता दाइ मोहन मैनालीले । यो हेर्ने रहर देखाउँदा उनले पठाइदिए । हेरें । त्यो हेरेको साँझ त खानापनि नखाउँ झैं भयो । अरुले दुख, पीर, पीडा, बेदना र सास्ती भोगेको हेर्‍यो । मन दुखायो । केहि गर्न सकिन्न अनि झन पीडा हुन्छ । एउटा नाथे पाइन्ट किन्न नसकेर एउटा कल्कालाउँदो केटो बिध्यालय जान सक्दैन । किनभने उसलाई साथीहरुले ‘ओइ तेरो पाइन्टमा दुल्को छ छि छि’ भन्दै जिस्काउँछन् भन्ने पीर लाग्छ । उमेरले पाको दाजूले त्यहि एउटा स्कूलको ड्रेस र पाइन्टपनि किनिदिन सक्दैन । ऋण माग्न गए कमाई धमाइ नहुनेलाई सय रुप्पेनै सहि कसले पत्याउँछ ? त्यहि पाइन्ट किन्न नसकेर पुने स्कूल जान छोड्छ ।

उसको यो कहानी अर्कै कथाबाट शुरु हुन्छ । अझ भक्कानो छुट्ने कथाबाट । ११ कात्तिक २०५९ को साँझ् बाजुराको अङ्गपानीका सात जना मानिसहरू घरभित्र तास खेलेर बसिरहेका थिए । आधारातसम्म कोदोको नल काटेर घर फर्केपछि उनीहरू तास खेल्न थालेका थिए । १२ कात्तिक बिहान झिसमिसमा अङ्गपानी पुग्दा नेपाली सेनाले बाटोछेउको हरिकृष्ण राउतको घरमा बत्ती बालेर मानिसहरू कुरा गरिरहेको सुनेपछि घरलाई घेरा हाले । भित्र को छ सोधे ।

छिमेकीहरूको अड्कल अनुसार भित्र तास खेल्नेले बाहिर बोल्ने मान्छेलाई माओवादी ठाने । माओवादीले तास खेल्नेलाई यातना दिने हुनाले उनीहरू डराएर बत्ती निभाए । नेपाली सेनाले तिनलाई बोलायो । ति डरले नबोलेपछि ढोका फोरेर भित्र पसेको फौजले ड्यामड्याम गोली हानेर त्यहाँ भएजति सातै जना सौर्य राउत, तुला राउत, नरबहादुर बोहरा, चन्दु बोहरा, रूप दमाई र काशी सार्कीलाई गोली ठोक्यो । ति तत्कालै ढले ।

निर्दोषहरु मारिए भनेर प्रशासनमा उजूरी गर्न जान लागेका केहि मान्छेले बाटै रेडियोमा सुने ‘ “पाण्डुसेनमा सात जना आतङ्ककारी मारिए ।”आतंककरीका मतियार भन्दै तिनलाईपनि दुख देला भन्ने डरले ति बाटैबाट फर्किए । नेपाली सेनाले सात जनालाई ठहरै पार्दा सात महिला विधवा भएभने ३० जना वालवालिका टुहुरा बने । बाँच्नेले मारिनेहरुलाई आतंककारीभन्दै सरकारले लगाएको आरोप खपेर बसे । यहि दुखद घटनालाई समेटेका छन् मोहन मैनालीले ‘पुनेज ट्राउजर’ मा ।

निर्दोष गाउँलेलाई मार्‍यो । आतंककारीको बिल्ला भिरायो । छोड्यो । पाउने राहतपनि ‘आतंककारी लाई के को राहत ?’ भन्दै बञ्चित गरायो । त्यत्रा गाउँलेलाई एकै चिहान पारिदिएपछि अभिभावक गुमे । कमाउने पाखुरी गुमे । अभिभावकत्व गुम्यो ।

यसैपनि त्यो नांगो पहाड । सिंचाइ हुन्न । पाखो बारीमा खेती हुने त्यहि कोदो र फापर अलि अलि हो । नजिक बजार छैन । यातायातको सुविधा छैन । दिने भनेको सरकारले हो उल्टो ढुकुर झै ज्यान मारेर आतंककारीको बिल्ला दिन्छ । तर जति सुकै कष्ट भएपनि स्कूलले लूगा किनिदिँदैनन् । फिस तिर्न पर्दैन भनिएपनि भर्ना खर्च, फर्निचर खर्च भन्दै केहि रकम लिन्छ । लगाउने ड्रेस चाहियो । आम्दानी भए पो एक सय केहि होइन । तर आम्दानी र सहयोगको नाममा केहि नभएपछि त्यहि एक सयपनि लाखौं झै हुन्छ । आम्दानी नहुनेलाई ऋण कसले दिन्छ ? लिएपनि कसरि तिर्ने ?

त्यहि कठिनाईले गर्दा पुनेका दाजुले उनलाई पाइन्ट किनिदिन सक्दैनन् र उ स्कूल जान छोड्छ । हेर्नुस त हाम्रा नेताका देशलाई स्विजरल्याण्ड, सिंगापुर बनाउने भाषण र देशको बिकट ग्रामिण भागको यथार्थता !

यो द्रिष्य देखेपछि फ्रान्सेलीहरु कोहि सुक्सुकाउन थाले । कोहि आँशु बरर झारे । कोहि हैन यसरिपनि मान्छे मार्न पाइन्छ ? भनेर सोध्थे । नांगो डाँडा । तिनको घरमा मकै वा कोदोको पिठोको बाक्लो न बाक्लो रोटी । सितन खुर्सानी र नुन । थोरै सागमा पानीको तलाउ बनाएर मुछ्दै खाएको द्रिष्य । फ्रान्सेलीलाई नछुने कुरै भएन । हलुवा बनाएर किताब र कापीमा, पत्रीका ओछ्याएर हारालुछ गर्दै वालवालिकाले खाएको द्रिष्य देख्दा फ्रान्सेलीहरुले साह्रै मन दुखाए । फिस तिर्न नसकेर, ड्रेस किन्ने एकाध सय पैसोपनि नभएर बाजुराका धेरै वालवालिका स्कूल जान्नन् भन्ने जान्दा तिनले ‘यस्ता स्कूलहरुमा हामीले गतिलो शंयन्त्र बनाएर सहयोग गर्नुपर्छ लौ न लौ’ भन्थे ।

कोहि ‘सरकार हुन त खुब सजिलो रहेछ है नेपालमा ? केहि दिनु नपर्ने । जनतालाई हेर्न नपर्ने । अझ मन नपरेपछि झ्याम झ्याम मारेर फालिदिए हुने । आरोप मन लागेको लगाइदिए पाइने ।’ यस्तै भनेर सुनाउँथे । एक जना महिलाले त ‘म यो द्रिष्य हेर्न सक्दिन’ भन्दै जुरुक्कै उठिन् । उनी रुँदै थिईन । यस्ता अवोध वालवालिकाका अभिभावकलाई टुहुरो बनाएर त्यत्तिकै छोड्ने यस्तो सरकार किन चाहियो ? भन्दै थिए कोहि ।

धेरै फ्रान्सेलीहरुलाई माओवादीले मात्रै मान्छे मारेको लाग्ने रहेछ जनयुद्दका बेला । फ्रान्सेली पत्रपत्रीकामा यस्तै सुन्ने र पढ्ने रहेछन् । अनि माओवादीहरु असाध्यै क्रुर । सरकार ठिक थियो भन्ने रहेछ । तर मोहन मैनालीको यो डकुमेन्ट्री देख्दा छक्कै परे । जनयुद्दका बेला माओवादीले करिब ३ हजार र सरकारी सुरक्षाकर्मीले १३ हजार जतिको हत्या गरेको मैले बताउँदा ति जिल्लै परे । तिनलाई एकछिन त पत्याउन गाह्रो भयो । तिनले मलाई हाकै भने ‘ओहो हामीले त उल्टो पो सुने जानेका रहेछौं नेपालबारे । नेपालबारे बल्ल पो जान्दै छौं, बुझ्दै छौं’। यो डकुमेन्ट्री हेरेपछि सरकारी सेनालाई हेर्ने द्रिष्टिकोण पुरै बदलिएको, नेपालको अवस्था एकाध पटक नेपाल जाँदैमा नजानिने रहेछ भनेर चुकचुकाउनेपनि थिए । ‘यस्तो डकुमेन्ट्री त सिधै फ्रान्सेली भाषामा भैदिएको भए है ?’ सोध्दै थिए ।

(दाइ मोहन मैनालीलाई नसोधी तस्बिर सार्बजनिक गरेकोमा क्षमा माग्दै तस्बिरका लागि धन्यावाद) ।

तपाइँको प्रतिक्रिया