बिद्रोहबाटै सत्ता कब्जा गर्ने भए चुनाव लडेको किन ?
मलाई बडा अचम्म लाग्छ यो सत्ता र सरकार भन्ने कुरा कति प्रिय लाग्ने रहेछ नेताहरुलाई । सरकारमा बसेपछि मान्छे कति अन्धो हुने रहेछ । सरकार भन्ने कुर्सीमा के छ त्यस्तो कि जसले सबैलाई अन्धो बनाउँछ । एकपटक त्यो कुर्सीमा बसेपछि बसौं बसौं लाग्छ । छोड्नै मन लाग्दैन । पहिले नेपाली कांग्रेसलाई त्यस्तै लाग्थ्यो । नेपाली कांग्रेसले बल्ल बल्ल ज्यान जाला झैं गरेर सरकार छोड्यो संबिधान सभा चुनावको परिणामपछि । एमालेलाई त्यस्तै बनायो त्यो सत्ताले । राजाको शासनमा समेत “प्रतिगमन आधा सच्चियो” भन्दै गयो एमाले । कहिल्यै सत्तामा नपुगेकोले होला माओवादीहरुले त्यति बिघ्न लोभ गरे जस्तो लाग्दैनथ्यो । तर त्यो पनि गलत रहेछ ।
सत्ताले कसैलाई छोड्न नदिने रहेछ । “हाम्रा लागि सत्ता र सरकार ठुलो होइन” भन्दै आएका माओवादी (अहिले एकिक्रित नेकपा माओवादी) हरुपनि अहिले त “ज्यान जाला सरकार छोड्दैनौं” पो भन्न थालेका छन । तपाइहरुले याद गर्नु भएको होला । अहिले जहाँ गएपनि माओवादी नेताहरु ज्यान गए सरकार छोड्दैनौं भनिरहेका छन । तर मलाई प्रश्न उठाउन मन लाग्छ- बिद्रोह बाटै सत्ता कब्जा गर्ने भए चुनाब लडेको किन त ?
बाबुराम भट्टराई सबै भन्दा बढि कुर्लिने पर्छन सरका छोड्दैनौं भन्नेमा । जहाँ जतिखेर, जुनसुकै कार्यक्रममा पनि उनले देशी बिदेशी तत्वहरु सरकार गिराउन लागिपरेको तर आफुहरुले ज्यान जाला सरकार नछोड्ने दाबी गर्छन । कसैले चाहेरपनि सरकार गिराउन नसक्ने, आफुहरुले नै संबिधान नबनुन्जेल सरकार चलाउने ठोकुवा गर्छन उनी । पछिल्लो चरणमा प्रधानमन्त्री प्रचण्डलेपनि त्यहि बाटो समात्दै कुर्लिने गरेका छन ।
काठमाडौंमा एन्फोटेक मेला उद्घाटन गर्दा होस कि चितवन मेला वा हिजो माघी संक्रान्तिकालागि वर्दियामा सहभागी । उनले सरकार छोड्नु परे बिद्रोह गरेरै भोली पल्टै सत्ता कब्जा गर्ने पो दाबी गरे त । अचम्म रहेछ यो सत्ता र सरकार । चाख लाग्दो कुरो के छ भने तर त्यहि माओवादी भित्र जो सरकारमा गएर मन्त्री पद पड्काएको छैन उसले भने अझैपनि “हाम्रो लागि सरकारमा जानु र नजानु ठुलो कुरो होइन” नै भनिरहेछ । माओवादीका प्रचण्डलाई टक्करदिने नेता मोहन बैद्द (किरण) ले भने त्यहि भनिरहेका छन । त्यसलेपनि के देखाउँछ भने सरकारमा पुगेर स्वाद चाखेपछि ज्यानजाला त्यो कुर्सी छोड्न नचाहने रहेछन नेताहरु ।
संबिधान सभामा सबैभन्दा ठुलो दल माओवादी । उसले बहुमत पुर्याएर सरकार बनाएको छ । भोलि उ बाहेकका दलले बहुमत पुर्याएर बैधानिक रुपले सरकार बनाए भनेपनि नहुने ? जसरिपनि माओवादीकै सरकार हुनुपर्ने ? आफुले बैधानिक ढंगले सरकार बनाउँदा सबैले मान्नु पर्ने । तर अरुले त्यसैगरि सरकार बानाएभने चाहिँ बिद्रोह गर्ने ? त्यसलाईपनि प्रजातान्त्रिक संस्कार भन्न मिल्ला र ? बैधानिक तरिकाले नभए बिद्रोह गरेर भएपनि सरकार बनाउने हो भने त किन गएको निर्वाचनमा ?




