माओबादी नेता: सिंह झैं गर्जन लुते कुकुरको चाला

शिव राज पन्त

माओबादी नेताहरु सत्तामा नजाउन्जेलसम्म खुब गर्जीन्थे | शान्ति, संबिधान , देश विकाश आफ्नै खल्तीमा भएको र आफुले सत्ता पाउने बित्तिकै जनतालाई चकलेट झैं बाँड्ने हो कि जस्तो गर्दथे | खरो राष्ट्रबादी भै भाषण गर्दथे, अमेरिकी पुंजिबाद र भारतीय बिस्तारबादलाइ घुंडा टेकाउने कुरा गर्दथे , सुरुंग युद्द नै झन्डै लडेका भारतसंग मुखले त माओबादी नेताहरुले | भारतीय लगानी ले नेपाली अर्थतन्त्र र श्रमिकको हित हुन नसक्ने उनीहरुको ठहर थियो | सबै असमान सन्धि सम्झौता खारेज गर्ने, मिचिएका सीमा हरु फिर्ता माग्ने भन्थे | भ्रष्टाचार जरै देखि उखेलेर फाल्नु पर्छ भन्थे | क्रान्तिकारी भूमिसुधार,  जसको जोत उसको पोत जस्ता लोभलाग्दा नाराहरु घन्काए |   शान्ति सुरक्षा र जनधन को रक्षामा कमि भो भनेर अरु दललाई खुब उडाउँथे |  आफु सत्तामा आए चुट्कीका भरमा सब समाधान गर्ने कुरा गर्दथे |

समग्रमा उनीहरु विकाश को लागि जादुको छडी, देश र जनताको मुक्तिको  लागि गान्धीको आत्मा, शान्ति सुरक्षाको लागि भिमसेनको आशिर्वाद लिएर आएका झैं गरी जनताको सामु खुब गर्जिए | तर सत्तामा गए पछी के भो ? के चाही आश्वासन पुरा गरे माओबादीले ? कुन कुरामा जनताले सन्तुष्टि मान्ने ? उल्टै इतिहासमै नभएको लज्जास्पद र घृणित काम माओबादी बाट भयो | यिनका एक एक टाउके नेताहरुले के भने र के गरे भन्ने विस्तारमै उल्लेख गर्न सकिन्छ | 

 सबभन्दा पहिले बैद्द बा बाट सुरु गरौं | बैद्द आफुलाई खाँटी क्रान्तिकारी ठान्छन | उनले सम्पूर्ण  देश र जनताको मुक्तिको लागि लडेको हो भन्दथे  | तर आजकल उनि लडाकुको बाहेक अरुको हितको बारेमा बोल्दैनन | लडाकुलाइ सम्मान, लडाकुकै हित, सेनामा ठुलो पद, मोटो रकमको आर्थिक सहयोग भन्नमै उनको बकबक सिमित रहेको छ | ठिक छ लडाकुको हितको बारेमा बोले, तर खै त राष्ट्रको सेना नेपाली सेनाको मर्यादा, अनुशाशन , त्यसको मापदण्डको अलिकति पनि ख्याल गरेको | कब्जा सम्पत्ति फिर्ता गर्न आए प्रतिकार गर्ने चेतावनी दिएका छन् | जबर्जस्ति बन्दुकको नालको भरमा अर्काको जग्गा लुटेर मस्ती गर्नेको वकालत गर्नेले खै त तिनको बारेमा सोचेको जसको सम्पत्ति लुटियो | या त बैद्द ले भन्न सक्नुपर्यो सम्पूर्ण भूमिहीन किसानले यो कब्जा प्रकरण बाट जग्गा पाएका छन् | अब कोहि राज्यमा भूमिहीन छैन, कोहि जमिन्दार छैन | होइन भने पार्टीको झन्डा बोक्नेलाई जग्गा दिने अनि पार्टीमा नालाग्नेको मान्छेको सम्पत्ति मात्र कब्जा गर्ने एकांगी र अन्यायपूर्ण काम  काम गरेर आफुलाई क्रान्तिकारी ठानी बस्ने पाखण्ड अब त्याग्नु पर्छ |

के गैर माओबादी व्यक्ति मान्छे होइनन  ? बैद्दका नज़रमा के ति जनता होइनन ? तथा कथित जनयुद्द कसका विरुद्द लडेका थिए माओबादीले ? सम्पूर्ण शाशन प्रणाली विरुद्द, राज्य विरुद्द नभई के यो युद्द र यत्रो विनाश अनि नरसंहार दुइचार व्यक्ति को विरुद्द थियो आज जसका सम्पति लुटिए ? यदि यो युद्द महान थियो र हो भने स सम्मान ति कब्जा गरिएका सम्पति क्षतिपूर्ति सहित फिर्ता हुनुपर्ने | युद्दलाइ सघाएकोमा तिनले धन्यबाद पाउनुपर्ने | र वास्तविक भूमिहीन र किसानलाई राज्यको स्तर र तर्फबाट जोत्ने जमीनको व्यवस्था गर्नुपर्ने | अनि वास्तविक क्रान्ति हुन्छ | कुनै झुण्ड वा व्यक्तिलाई एउटाको  सम्पत्ति कब्जा गरेर अर्कोलाई दिने अधिकार हुँदैन| बैद्द र उनका एकाध धुपौरेहरुलाई पनि यो अधिकार छैन |  सारा जनताको हित र भलोको बारेमा विचार नगरी आफ्ना अरौटे भरौटे लाइ मात्र च्याप्ने हो भने जनताले बहिष्कार गर्ने छन्, लखेट्ने छन् निकट भविष्यमै | 

 अब महाबली प्रचण्डको कुरा गरौं | भारतलाइ विस्तारबादी भन्दै भारत विरुद्द सुरुंग युद्द लड्नुपर्छ भनेर खोक्थे उनि | सम्पूर्ण असमान सन्धी सम्झौता तुरुन्त खारेज हुनुपर्छ, मिचिएका भुमि फिर्ता पाउनुपर्छ भन्थे | अरु दललाई यसो गर्न नसकेकोमा पुंजीपतिको नोकर र विस्तारवादीको गुलाम भन्ने आरोप लगाउँथे | उनले आफ्नै पार्टीका बाबुराम भट्टराईलाइ समेत भारतपरस्त भएको आरोप लाउँदै आफुलाई खाँटी भारत विरोधीको रुपमा प्रस्तुत् गरे | समय चक्र घुम्दै गयो   | उनि प्रम भए |  भारत भ्रमणपनि तय भयो | उनि भारत पुगे | तर उनि भारत पुगेपछि गज़बको तमासा भयो | उनले मनमोहन सिङ लाई करिब आधा घण्टा अँगालो हाले | त्यहाँ खाए पिए तर असमान सन्धी र मिचिएका सीमाको बारेमा चुँइक्क पनि बोल्ने उनमा हिम्मत आएन | बल्ल बल्ल पाएको कुर्सीको दिर्घायुको लागि भिख माग्दै निर्लज्ज फिर्ता भए | उनले काठमाडौँका जनतालाई सुकिला मुकिला को संज्ञा दिए | आफुले डेढ लाखको पलंग चढे | रोलेक्स घडीमा ठाँटिए | आज उनको सम्पति विवरण विवरण कसैलाई थाहा छैन | रातारात उनि करोडपति भैसके | उनले लगाउने कपडाहरु विदेशबाट मगाउछन |

बाबुराम प्रम भएपछी उनले अब सत्ता छोडेर शान्ति र संविधानको लागि आफ्नो समय र शक्ति लगाउने घोषणा गरे | उनले आफ्नो पालामा केहि लछारपाटो लाउन सकेका थिएनन | ७ बुंदे सहमति गरेपछि बाध्य भएर कब्जा सम्पत्ति फिर्ताको पहल गर्नुपर्ने भयो | पटक पटक सहमतिमा हस्ताक्षर गरेर कार्यन्वयन गर्न नसकेको लाज प्रचण्ड र बाबुरामलाई लागिरहेकै थियो | त्यसकारण अब चाही संबिधान सभाको म्याद थप्ने बेला पनि भएको र दलहरुको दवावपनि आएको कारणले प्रचण्ड आफै अघि सरे | कब्जा सम्पत्ति फिर्ता कार्यन्वयनमा कुनै विलम्ब नहुने घोषणा गर्दै उनि कैलाली हान्निए जहाँ सबभन्दा बढी व्यक्तिका सम्पति कब्जा भएको छ  | त्यहाँ गएपछि सम्पति कब्जा गरेर बसेका दुइ चार बैद्द पक्षधर कार्यकर्ताले थर्काए पछी उनले किसानले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न नहुने भन्दै भाषण दिएर फर्के |

जाने बेलामा उनले सोचेका थिए, म सिंह हुँ  | जंगलको राजा अर्थात् माओबादी अध्यक्ष | मेरो छाया पर्नासाथ सम्पूर्ण कार्यकर्ता लज्जावती झार झैं निहुरिने छन् र भनेको खुरुक्क मान्ने छन् | तर दुइ चार जनाले चेतावनी दिनासाथ प्रचण्ड लुते भैहाले र तुरुन्त आफुलाई परिवर्तन गरे | अनि उनीहरुले चाहे जस्तै शब्दहरु बोलेर फिर्ता आए | आजकल कब्जा सम्पत्ति को कसैले कुरा गर्यो भने उनि सरकार तिर संकेत गर्छन तर सबलाई थाहा छ सरकार उनकै हो , माओबादी पार्टीको जसको उनि अध्यक्ष छन् | 

 अब बयान गरौं प्रतापी बाबुरामको | उनि जनताले सबैभन्दा बढी आशा गरेका व्यक्ति त्यही भएर उनले जनतालाई सबै भन्दा बढी निराश तुल्याए | बहुमतीय प्रणाली को घोर विरोध गर्ने उनि बहुमतीय प्रणालीबाटै प्रम बने | संबिधान सभापछी बनेको सबै भन्दा बढी अवसरवादी, राष्ट्रघाती र नालायक सरकार | आफुलाई मितव्ययी देखाउन नेपालमा बनेको मुस्तांग गाडी चढेका उनले इतिहासकै ठुलो मन्त्रिमण्डल निर्माण गरे सत्ता टिकाउन र मधेशी दललाई खुशी पार्न | आर्थिक क्रान्तिको कुरा गर्ने उनले भारतीय लगानी को सुरक्षाको लागि बिपा सम्झौता गरेपनि आफ्नै पार्टीले बम हानी ध्वस्त पारेका नेपालका उद्योग हरुलाई कुनै सहयोग र क्षतिपूर्ति को कुरा गरेनन | कुनै पनि कर्मचारीको सरुवा गर्दिन भने तर गच्छदारले गृहसचिवको सरुवा गर्दा चुँईक्क बोलेनन् | भ्रष्टाचार विरुद्द शुन्य सहनशीलता भनेर फलाकेका उनले आफ्नै मन्त्रीहरु भ्रष्टाचारमा लिप्त हुँदा कुनै कारवाही गर्न वा सुधार गर्न सकेनन | मधेशका २२ जिल्ला टुक्राउने अभिव्यक्ति दिएका शरत सिंह भण्डारीलाइ समेत भट्टराईले दुइ शब्द बोल्न सकेनन | आर्थिक क्रान्तिका नायक आफुलाई ठान्ने उन्ले नक्कली भ्याट बिल प्रयोग गर्ने व्यापारीहरुलाई अहिलेसम्म कारवाही गर्न सकेका छैनन् | बरु उल्टै भ्याट बिल छानबिन गर्ने कर्मचारी नै सरुवा गरिदिए अर्थ मन्त्रि पुनले |

उनले नियुक्त गरेका मन्त्रि वा राज्यमन्त्रीहरु हत्याका आरोपित वा दोषी थिए | प्रभु साह जस्ता अपराधीलाई उनले मन्त्रि बनाएका थिए | अर्जुन लामाको हत्याको अभीयोगी राजकुमार दोंग जस्ता राज्य मन्त्रि थिए उनको सरकारमा | उनले गरेको सबैभन्दा निकृष्ट काम थियो बालकृष्ण ढुंगेल जस्तो विसुद्द अपराधीलाई माफीको पहल गर्नु | ढुंगेलको कारणले उज्जन कुमार श्रेष्ठ लगायत उनको परिवारको अन्य दुइ सदस्यले ज्यान गुमाउनु परेको थियो | उज्जन कि दिदि अहिले सम्म अड्डा अदालत धाइरहेकी छन् भाइ र परिवारको अन्य दुइ सदस्यको हत्यारालाई कानुनको दायरामा ल्याउनको लागि | एउटा महिला , पिडित , न्याय पाउने आशमा भौतारिरहेकी उनलाई ठुलो अन्याय र चोट दिंदै भट्टराई ले घृणित रुपमा यो माफीको पहल थाले | उनलाई आफ्नो श्रीमतीले छानेका आफन्त हरु लाइ कहाँ जागिर दिने भन्ने चिन्ता नै बढी छ | पद नै खाली नभएको संस्थामा समेत हिसिला आफ्ना नातेदार घुसाउने प्रयत्नमा छिन | 

यसरी क्रान्ति, सुशाशन, भूमिसुधार, न्याय, विकाश, सुरक्षा को ठुला ठुला भाषण गरेर झाँगिएको माओबादी सत्तामा गएर आज सम्पूर्ण रुपमा नांगिएको छ | माओबादी नेताको हैसियत, उद्देश्य र वास्तविक अनुहार अब जनतालाई छर्लंग भएको छ |

तपाइँको प्रतिक्रिया