डाक्टरसापलाई डुबाएपछि चाकरीबाजहरु दम्पट
मान्छे बिगार्न केहि गर्नु पर्दैन । चाकरी, चाप्लुसी, चाटुकारी, चम्चागिरी र सकेसम्म धुरीमै पुर्याउने गरि प्रशंसा गरिदिए पुग्छ । सधैं प्रथम हुने हाम्रा डाक्टर सापलाई उनका चाटुकरले त्यसै गरे । मुस्ताङ गाडी किन चढे ? यता मुस्ताङ चढेर किफायती गरेको दाम अन्त दुई गुणा खर्च गरेकि गरेनन् भन्ने तिनले हेरेनन् । मुस्ताङ चढेको भन्दै सगरमाथाको टाकुरामा अँचेटेर पुर्याए । न्युयोर्क जाँदा एकोनोमी क्लासको टिकट किने भनेर तिनले लौ अब नेपालको अनियमितताको दुल्कोनै टालिएर देश रातबिरात आर्थिक रुपमा झलझली चम्कने भो झैं गरे । यता बाबुराम । उता बाबुराम । रिक्सामा बाबुराम । मुस्ताङमा बाबुराम । मनाङमा बाबुराम । पार्टीमा बाबुराम । भात पसलमा बाबुराम । स्थानिय गनौटे चर्पीमा बाबुराम । हेल्लोपनि बाबुराम, नमस्तेपनि बाबुराम । ओहोहो बाबुरामको लिला । अ मेरिका, भारत, चिन, मालदिप्स जहाँपनि बाबुराम । रेडियो बाबुरामकै । फेसबुक उनैको । टिभीमा बाबुरामनै । तिनले एकाध समय ब्रह्माण्डनै बाबुराममय बनाए ।
उनका चाकरीबाज र अन्ध समर्थकलाई यस्सो हेरौं न त के पो गर्ने रहेछन् भन्नेसम्मपनि लागेन र तिनले बाबुरामको गूणगाण गाउनसम्म गाए । यस्सो कसैले बाबुरामको आलोचना गर्यो कि तिनले झम्टिए । सत्तोसराप गरे । लौ देशको मुहार हसाउनै लाका बेला खुट्टो काट्न लाग्यो झैं गरे । बाबुरामलाई उचाले । बाबुरामलाई हौस्याए । जे जे गर्न सकिन्छ बाबुरामलाई उचालेर तिनले हातमा मिठाइ राकिदिएको बच्चा झैं मख्ख बनाए । अन्तत मच्चियो मच्चियो थच्चियो भने झैं बाबुरामलाई डुबाएपछि अहिले तिनका समर्थक र अन्ध भक्तहरु कतै अलप भएका छन् ।
किनभने जानेर नजानेर ति बाबुरामका वैरी थिए । रचेर वा नरचिकन तिनले बाबुरामलाई भिरबाट गुल्ट्याउन त्यसरि चाकरी गरेका थिए । जब बाबुरामको साख ताछे तब तिनको काम फत्ते भयो अनि ति अलप भए । सबैभन्दा अग्रिम त उनैकि महान पत्नी भईन । पत्रपत्रीकाले भन्छन्, पत्नी हिसिलाको हिस्सी परेको मुहार अगाडि देख्नासाथ डाक्टर सापको मुहार न्याउरीमुसो देखेको सर्पझैं भैहाल्छ । त्यसैले हिसिलाले उनलाई उचाल्दा उचाल्दै डुबाइन् । सम्पती सार्वजनिक गर्दा गर्दै डुबाए उनलाई । पत्नी महँगो गाडीमा सरर हुइँकिने । पत्नीको घर हुने । बन्द ब्यापार नभएकि छोरीको नाममा १० लाख बचत । डाक्टर सापका गोजीमा सुपारी किन्ने पैसोपनि छैन रे । यो कसले पत्याउने ? सायद यहिँ बाट शुरु भयो डाक्टर सापलाई खुइल्याउने काम ।
हुँदा हुँदा पत्नीले डाक्टरसापका फाइल प्रधानमन्त्री निवास नपुग्दै बाटैमा झ्याप पारेर आफैं उपचार गर्न थालिन् । डाक्टर सापले थुम्थुम्याउने कर्मचारीका हुर्मत आफैंले लिन थालिन् । चन्दा माग्न आफैंले पठाउन थालिन । डाक्टर सापले भेट्ने बिदेशीलाई समेत ‘भित्र के के कुरो भो हँ’ भन्दै र्याखर्याखती पारेर सोध्न थालिन् । बाहिर शुसासनको नारा दिने डाक्टरसापलाई मठार्नसम्म मठारिन् आफ्नै पत्नी हिसिलाले । डाक्टरसाप त्यसैमा मख्ख परे । जुँगामा ताउ लगाए । दाह्री मुसारे र सोचे, यत्रो जिवन, जगत, आकाश र पाताल सारा मेरा पक्षमा भएपछि को चाहियो ? भन्छन् नी, कसका बाउका के तागत ? त्यहि दम्भले उनलाई बसिखान दिएन । संस्क्रितिमन्त्री रकम चेम्जोङ र टोप बहादुर जस्ता पुरेत्याइँशैलीमा आँखा चिम्लेर प्रशंसा गर्नेले उचालिरहे । तिनको चचहुइमा पिङ खेल्दा डाक्टर सापलाई आफ्नै पार्टीका सहयोद्दा चाहिन्छन् । उनलाई यहाँसम्म ल्याएको अहिले दूर डाँडाबाट चाकरी धस्काउनेले होइन, तिनै सहयोद्दाले हो भन्ने सोच्न दिएनन् । देशको चिन्ता गर्ने सहयोद्दा भल बाढी झैं बम्किने खहरे भन्दा मेरालागि हितकर हुन् भन्ने सोचेनन् । पार्टीलाई यहाँसम्म ल्याएर प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराउने शक्ति र पहुँच तिनै सहयोद्दाको रगत र पसिनाले सिंचिएको हो, तिनका सुझाव मैले सुन्नुपर्छ । ति मेरा हुन्, ति प्रिय हुन् भन्ने सोचलाई ताछेर ति शत्रु हुन् भन्ने बनाइदिए । अनि डाक्टर साप तिनैको ढाडमा चढेर हो मा हो मिलाउँदै दंग परे । त्यहि भएर तिनले डिङ हाँके “कसैले रोकेर रोकिन्न, जसले जे चाहेपनि हामी सहमती गर्दै जान्छौं, मन नलाग्नेहरु पार्टीबाट झोली तुम्बा बोके हुन्छ”। तिनको क्षणिक दम्भ यस्तो देखियो कि अब बाबुराम यो ब्रह्माण्डलाईनै जरक्क उचालेर मंगल ग्रहमा लैजान सक्षम भए, अरु कोहि चाहिन्न ।
हेर्दा हेर्दै सहयोद्दा चिढिए । पार्टीका मित्र आगो बनाए । प्रतिपक्षी दल रुस्ट भए । आलोचनात्मक सुझाव दिंदै आएकाहरुले जिब्रो टोके । तैपनि उनलाई उचाल्न चाहरीबाजहरुले छोडेनन् । यति हौसिएकी देशै टुक्रा पार्छु भनेर धमास दिँदापनि डाक्टर सापलाई हाइसन्चो लाग्ने बनाए । यति एकोहोरो बनाए कि देशको न्यायिक सर्बोच्च निकायले कारबाही गर्न सिफारिस गरेका ब्यक्तिलाईपनि माफी गर्न भन्दै उचाले । तिनले डाक्टर साप बरु युद्दकालका सबै घटनाहरु एक मुस्ट सुल्झाउने उपाय निकालौं भन्ने सुझाव दिएनन् । नाथे बिमानको टिकट सस्तो काटेर केहि हजार जोगाउन कस्सिएका डाक्टर सापलाई सिंह दरबारमै नअट्ने मन्त्री नियुक्त गर्न लगाएर राष्ट्रिय बेईज्जत गर्न लगाए । आफैंले तथानाम गाली गरेका देउवालाई पनि उछिनेर बिगतका आफ्नै अडान र बचनमाथि बलात्कार गर्न हौस्याए । उनी डुब्दा माओवादी पार्टीको साख, लोकप्रियता, आशा र भरोसा, माग र नीति सबै डुबेकोपनि उनले हेक्का राखेका छैनन् ।
उचाल्नसम्म उचालेर चाकरीबाजले आज बाबुरामलाई थाङ्नो पार्दै छन् । उनको बदनाम गर्नुसम्म गरेर अब छोक्रा झैं बनाइरहेका छन् । जनताले सबै भन्दा बढि आसा गरेका भनिएका उनलाई खुइल्याएर जनताका आसापनि खुइल्याउँदै छन् । देशमा ‘जो आएपनि सबै उस्तै फटाहा, नालायक त हुन् नी’ भन्ने निराशाको बिउ रोपेका छन् । पछिल्लो समयमा बाबुरामलाई हुने नहुने सबै काम गर्न उक्स्याउनेहरु अलप भैरहेका छन् । किनभने तिनले आफ्नो काम फत्ते गरिसके ।
देशको सम्पत्ती तलब मारेर प्रधानमन्त्रीलाई उचित सल्लाह दिन भन्दै बसेकाहरुपनि नालायक सिद्द भए । तिनको मानसिकतापनि सायद ‘यत्रा वर्ष जनयुद्द गरेर दुख गरियो अब मौका पाउँदा मोज गरिहालौं न’ भन्ने मात्रै रहेछ कि ? कि कुनै अद्रिष्य शक्तिको रिमोटमा बाबुरामलाईनै खुल्याउन बसेका रहेछन् कि ? नत्र बाबुरामलाई यति बिघ्न खुल्याउँदापनि तिनले के सुझाव दिए ? कि हिसिला भाउजैको हप्की र दप्कीका छायाँमा तिपनि निरिह बनेका हुन् ?




