देबी खड्का, तिम्रा दाजुका हत्यारालाई कारवाही गर्ने यहि सरकारले होइन र ?

माओवादी सभासद बालकृष्ण ढुंगेललाई आम माफी दिने मन्त्री परिषदको निर्णय बिरुद्द एमाले र कांग्रेस चर्किएर देखा परे । त्यसलाई मुकाबिला गर्न माओवादी सभासद देबी खड्का जमेर संसदमै प्रस्तुत भईन् । उनले आफ्ना दाजु तत्कालिन माओवादीका केन्द्रिय सदस्य रित बहादुर खड्काको हत्यारा माधव नेपाल हुन् भनेर ठुकुवा नै गरिन् । संसद बैठक चलिरहेका बेला सभामुख समक्ष समय मागि मागि उनले माधव नेपालकै सामुन्ने चुनौति दिईन्, मेरा दाजु मार्ने माधव नेपालका सुरक्षाकर्मी हुन् । त्यो सत्य हो भने सजाय ढुंगेलले बोक्नुपर्छ भने माधव कुमार नेपाललेपनि भोग्नुपर्छ कि पर्दैन ? उज्जन कुमार श्रेष्ठका हत्याराले सजायँ पाउंदा देवी खड्काका दाजुको हत्यारा यदि माधव कुमार नेपालनै हुन् भने उनले पाउनुपर्छ कि पर्दैन ?

देबी खड्काले नबुझेको वा बुझेरपनि बुझ पचाएको एउटा पक्ष चाहिँ के हो भने रित बहादुर खड्काका हत्यारा यीनै हुन् भनेर किटानी भएको छैन । अदालतमा किटानी सहित मुद्दा परेर अदालतले कसैलाईपनि आरोपित सिद्द गरेको छैन । त्यसैले उज्जन कुमार श्रेष्ठका हत्यारा भनिएका ढुंगेलसित रित कुमार खड्काका हत्यारालाई जोड्न मिल्दैन । किनकि बालक्रिष्ण ढुंगेल सर्बोच्च अदालतबाटै किटान भएका छन् ।

राजनितिक आस्थाका आधारमा कुनैपनि ब्यक्तिको हत्या गरिन पाइन्न । त्यस्ता ब्यक्तिलाई सजायँ दिनुपर्छ । तर सजायँ दिने कसले ? समस्या यहिँ छ । देबी खड्काले मागेको न्याय जायज हो । उनका दाजुको हत्या राजनितिक आस्थाकै आधारमा भएको हो । तर देबी खड्काले बुझ्नुपर्ने के छ भने त्यो कारवाही गर्ने निकायमा अहिले माओवादी नै छ । सरकार माओवादी नेत्रित्वको भएकाले त्यसको उचित पहल आफ्नै सरकारले गर्ने हो । संविधान सभाको निर्वाचन पछि माओवादी नै पटक पटक सरकारमा गएको छ । तर त्यसमा माओवादीलेनै ध्यान दिएको छैन ।

सरकारमा जानु अघि माओवादीलेनै चर्को आवाज उठाएको हो, रायमाझी आयोगले सजाय दिन भनेर सिफारिस गरेका जनआन्दोलनका दोषीहरुलाई यथाशिघ्र कारवाही गर्नुपर्छ भन्दै । त्यसैले, जनयुद्दकालमा आस्थाकै आधारमा ज्यान लिनेमाथि कारवाहीका लागि शसक्त बन्नुपर्ने माओवादी नै हो । बेपता नागरिकको खोजि गर्न तात्नुपर्ने पनि उहि हो । किनभने तिनै शहिद र बेपताको ब्याज खाएर अहिले माओवादी नेता झण्डा हल्लाउँदै दौडिरहेका छन्, देश बिदेश चहारेका छन् । बलेरो र पजेरोको सयर गरिरहेका छन् । तारेका सपेटा र रसपानमा रमाएका छन् । त्यसैले कारवाहीका लागि माओवादीलेनै बढि पहलकदमी लिनुपर्थ्यो । तर लिएन । उल्टो जनआन्दोलनमा जनताका छातीमा ताकी ताकि राजधानीमै गोली ठोक्नेलाई पदोन्नती र पुरस्कार दिएर जनआन्दोलनको मर्ममाथि लात्तो बजार्‍यो । अब कसरि रित बहादुर खडकाका हत्यारालाई माओवादीले कारवाही गर्ने ? कसरि पूर्ण बस्नेतको शरिर खोज्ने ?

सायद देबी खण्डा भ्रममा छिन् अझै कि यो सरकारले जनयुद्दका मागहरुलाई स्थापित गर्ने छ । दण्डहिनता रोक्ने छ । शहिदको आँसु खेर जान दिने छैन । बेपत्ता सहकर्मी र कार्यकर्ताको खोजि गर्ने छ । अत्याचार गर्नेमाथि कारवाही गर्ने छ । तर खै त्यतातिर यो सरकारको ध्यान ? सरकारलाई मन्त्री भर्ति गर्दै फूर्सद छैन । भर्ति गरेपछि तिनलाई उचित कार्यालय, नीजि सचिव, गाडी र बस्ने ठाउँ दिनैको रन्कोले प्रधानमन्त्रीको टाउको खाइरहेछ सायद । देबी खड्का तिमीले बुझ्नुपर्ने के छ भने तिम्रो पार्टी सरकार टिकाउने खेलमै अल्झिएर फूर्सद पाएको छैन जनयुद्दका मागहरु हेर्ने, अत्याचारीलाई कारवाही गर्ने अनि बेपताहरु खोज्ने । नत्र अधिकार सम्पन्न एउटा आयोग तत्कालै बनाएर खुरुक्क काम गर्न केले रोक्छ ? प्रधानमन्त्री कार्यालयमा हेलो सरकार भन्दै कर्मचारी तुरुन्तै बनाएर एउटा कक्ष सञ्चालन गर्न सक्ने सरकार, प्रधानमन्त्रीले के त्यस्तो आयोगको पहल गर्न सक्दैनन् ?

तर सरकार त्यो गर्ने पक्षमै छैन । किनभने त्यस्तो आयोग बनाएर निस्पक्ष ढंगले छानबिन गर्ने हो भने अहिलेका सबै दलका दर्जनौं नेता मुछिने संभावना छ । राजनितिक आस्थाका आधारमा अहिलेका धेरै नेताले जनताको ज्यान लिएका छन् । धेरै नेताका हात निर्दोष जनताका रगतले भिजेका छन् । तिमाथि भटाभट कारवाही गर्ने हो भने देबी खड्काको सरकार टिक्छ र ? उस्तै परे शान्ति प्रक्रियालेनै हावा खान बेर मान्दैन । त्यसरि छानबीन गर्दा आफ्नै पार्टीका पनि कति पर्ने हुन् ढुंगेल जस्ता । यस्तो जोखिम, यस्तो लेठो किन गर्थे बौद्दिक प्रधानमन्त्रीले ? किन टाउको दुखाउँथे पार्टी अध्यक्ष प्रचण्डले ? जोखिम नउठाइ सरकार चलिरहेका बेला अनावश्यक जोखिम किन लिने ? कसले लिने ?

तरपनि देबी खड्काका परिवारले न्याय पाउनुपर्छ । आफूले न्याय पाउनकालागि फलानोलाई नछोड्ने भए फलानोलाई आरोपित गर्छौं भन्नु ब्यक्तिको ज्यानलाई साटासाट गर्नु सरह हो । ढुंगेलले आम माफी पाएपनि रितबहादुर खड्का वा अन्य कुनै ब्यक्तिका हत्याराले छुट पाउनुपर्छ भन्ने छैन । बरु उनलेपनि न्यायकालागि आवश्यक पहल गर्नुपर्छ । यदि माधव कुमार नेपाल रित बहादुर खड्काका हत्यारा सावित हुन्छन् भने तिनलाइपनि झ्यालटुङ पार्दै न्यायको कठघरामा उभ्याउनुपर्छ । देबी खड्काले आफ्ना दाजूका हत्यारासित ढुंगेलको आममाफीलाई साट्न खोज्नु न्यायसंगत छैन । र अहिले आफ्नै सरकारको नेत्रित्व भएकाले त्यस्ता हत्यारालाई कारवाही गराउन उपयुक्त पहलका लागि दबाब दिने कामपनि देबी खड्का जस्तै कार्यकर्ता र सभासदको हो ।

तपाइँको प्रतिक्रिया