विश्वभरि बेइज्जत गराए प्रधानमन्त्रीका सल्लाहकारले
सगरमाथा क्षेत्रमा झण्डै दुई हजार पर्यटकको बिचल्ली भएको छ । कुहिरोले छेकेर उडान भर्न नपाउँदा ति अलपत्र छन् । बस्ने र खाने ठाउँको अभाव भएको छ । स्थानिय होटेल भरिएर त्यो चिसोमा अब बाहिर लड्नुपर्ने स्थिति स्रिजना हुँदै छ । यो खबरले सारा विश्व छपक्कै छाएको छ । यूरोप, अष्ट्रेलिया, जापानसम्मका सञ्चार माध्यमले चिन्ता ब्यक्त गरेका छन् । तर हाम्रा प्राधनमन्त्रीको पारा देख्दा लाग्छ, सरकार ढुक्क छ । किनभने यत्रो विषयलाई ध्यान नदिएर प्रधानमन्त्री मुगलिङको भात पसल निगरानीमा हिँडेका छन् । नियमित भ्रमण भन्दै गोरखा पुगेका छन् । पूलको निगरानी गर्दैछन् ।
सगरमाथामा बेलायत, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, जापान, स्पेन, नर्वे, स्विजरल्याण्ड लगायत सयौं देशका नागरिक बिचल्लीमा परेको खबर बुझ्न मैले थुप्रै बिदेशी सञ्चार माध्यम हेरें । साँच्चिकै संसार छाएको रहेछ । विश्व प्रसिद्द सञ्चार माध्यम डिस्कोभरी, नेशनल ज्योग्राफ्रि, इन्टरनेशन हेराल्ड ट्रिब्युन, बीबीसी लगायत इन्टरनेशनल बिजनेश टाइम्स, द डेली स्टार, साङ्घाई डेली, मकाउ डेली, द डेली स्टारले यसलाई महत्वका साथ स्थान दिएका छन् । उता रोयटर्स, ए एफ पी, एपी जस्ता समाचार सार्वजनिक गर्ने न्युज एजेन्सी र याहू न्युजसम्मले विश्वभरि बनाएका छन् । नेपालमै अमेरिकी दूतावासले समेत सतर्क गराएको छ । नेपालमै यो समाचारलाई महत्व नदिने कुनैपनि सञ्चार माध्यम छैन ।
फ्रान्सका टे एफ आँ टेलिभिजन लगायत प्रसिद्द ल मोंद लगायत अन्य मेडियालेपनि उत्तिकै चिन्ता ब्यक्त गरेर समाचार दिएका छन् । यस्तो आपत परेका बेला हामीले नेपाल घुम्न बोलाएका पर्यटकलाई उचित सुरक्षा, वास र तिनलाई बेलैमा सुरक्षापूर्वक गन्तब्य ल्याइदिने, कम्तिमा राजधानी ल्याउने, वस्ने र खाने ठाउँको प्रवन्ध मिलाउने जिम्मेवारी हाम्रो हो । यसमा प्रधानमन्त्री गम्भिर हुनुपर्थ्यो । तर देशमा केहि नभएझैं, हाइसन्चो मान्दै मुगलिङको सानो भात पसलमा छड्ने हान्दै हिँड्ने सुझाव कसले दियो प्रधानमन्त्रीलाई ?
कतिपय विदेशी मेडियाले त ‘नेपालमा हजारौं पर्यटक अलपत्र, प्रधानमन्त्री भात पसलको छ्ड्के जाँचमा’ भन्दै ब्यंग्य गरेर लेखेका छन् । उनीहरुले नेपाल घुम्न गएका हजारौं पर्यटकको सेवा, सुविधा र सुरक्षा भन्दा नेपालका प्रधानमन्त्रीलाई बसका यात्रुले खाने भात पसलको महत्व बढि हुने रहेछ भन्दै ब्यंग्य गरेका छन् । साँच्चिकै यसले नेपालको सरकार र प्रधानमन्त्री डा बाबुराम भट्टराईको बेइज्जति गरेको छ ।
पक्कैपनि प्रधानमन्त्रीले सारा देशका सबै समस्या एकै हेर्न र देख्न सक्दैनन् । त्यसैले हो सल्लाहकार, सहयोगि र विज्ञ नियुक्त गर्नु । उनका सल्लाहकार यो भन्दा अगाडिका कुनैपनि प्रधानमन्त्रीका भन्दा बढि छन् । राजनितिक सल्लाहकारनै गंगा श्रेष्ठ र देबेन्द्र पौडेल । त्यतिले नपुगेर नीजि सचिव छन् विश्वदिप पाण्डे । अझ आर्थिक सल्लाहकार छन्, पूर्व अर्थ सचिव रामेश्वर खनाल । प्रधानमन्त्रीले प्रेस सल्लाहकार समेत नियुक्त गरेका छन् । यी प्रेस सल्लाहकारको काम उहि नेपालका पत्रपत्रीका पल्टाउँदै ‘म त प्रधानमन्त्रीको प्रेस सल्लाहकार’ भनेर गमक्क पर्दै बस्ने रहेछ कि यस्सो बाहिरी जगतका मेडियाको रिपोर्ट पनि हेरेर सुझाव दिने रहेछ कुन्नी ! अरु सल्लाहकारको काम के हो ? देशमा के समस्या छ ? प्राथमिकता के हो भन्ने कुरो यीनले प्रधानमन्त्रीलाई जानकारी र सुझाव दिनुपर्छ कि पर्दैन ? हजारौं पर्यटकको बिचल्ली भएर सारा मित्र राष्ट्रहरुले आफ्ना नागरिकको सुरक्षाबारे चिन्ता ब्यक्त गर्दा दुई तिन वटा बसका यात्रुले भात खाने पसल निगरानी गर्न जाने सुझाव दिने यस्ता लम्पट सल्लाहकारको काम के हो ? के यीनको काम प्रधानमन्त्रीलाई फसाउने र बदनाम गराउने हो ?
प्रधानमन्त्रीले भात पसलको छड्के जाँच गर्ने मनशाय राखेपनि यीनले त्यसो गर्नुहुन्न, अहिलेको प्राथमिकता यो हो प्रधानमन्त्री ज्यु भन्नु पर्छ कि पर्दैन ? कि यीनको ध्येय मुख्य कामलाई पन्छाएर प्रधानमन्त्रीलाई झिँगा लखेट्ने सानातिना काममा अल्झाउने र नेपालको बेइज्जति गराउनु हो ? मुगलिङको पसलमा छापा हान्ने र नियमित भ्रमण भन्दै गोरखा भ्रमण गर्ने मेसो के एकाध दिनमा गर्ने हुन्थेन ? कम्तिमा प्रधानमन्त्री सगरमाथाको छेउछाउ सम्म पुगेर वा काठमाडौंबाटैपनि चासो राख्ने, उद्दारको कामलाई छरितो बनाउन निर्देशन दिने र कम्तिमा चासो देखाउने गर्न सक्थेनन् ?




