माओवादी फुटे दुबै पक्ष सर्वनास

ईमान्दारिकासाथ भन्नुपर्दा पार्टी सिंगो देखिएपनि एकिक्रित नेकपा माओवादी सिंगो छैन । मन फुटेका छन् । आत्म बाझिएका छन् । ह्रिदय चिरा चिरा परेका छन् । तरपनि ति एकै ठाउँमा छन् । पार लाग्ने र सक्ने भए संस्थापन पक्षले गल्हत्याएर पठाउँने थिए मोहन बैध्य पक्षलाई । बिदेशीका दलाल, सामान्तवादीका संरक्षक, भारतीय गुप्तचर संस्था रअका मतियार भनेर आरोप लगाउन्जेलसम्म पक्कै सहने थिएनन् ।

उता, चट्टै निस्केर अर्को पार्टी बनाउँदा पार लाग्ने हो भनेपनि सायद बिद्रोही भनिएका मोहन बैध्य पक्ष एकै ठाउँ बसिरहने थिएनन् । तरपनि मुर्मुरिँदै, गाली सहँदै ति बसेका छन् किन ? ति फुट्यो भने न त शान्ति प्रक्रियाले सजिलोसित मुर्त रुप पाउँछ । न त जनबिद्रोह गर्छु भनेलेनै त्यो गर्न सक्छ । दुबै पक्ष हुने भनेको सत्यानाश हो ।

अहिले ति फुटेभने २५ प्रतिशत कार्यकर्ता त त्यसै पलायन हुन्छन् । बाँकि केहि प्रतिशत बिदेश पलायन होलान् । केहि प्रतिशत अब कतै लागिन्न, दुबै चोर हुन्, यीनले केहि गर्दैनन् भन्दै निस्क्रिय बन्छन् । यसै भएन उसै भएन, बरु ब्यक्तिगत समस्या र निजि स्वार्थ टार्नुपर्छ भन्दै केहि टाठा बाठा कार्यकर्ता कांग्रेस र एमालेतिर लाग्लान् केहि पाउने आशामा । बाँकि रहेका कार्यकर्तामापनि आकर्षण हुन्न । ति भद्दा र बोधा बन्छन् । कांग्रेसका बुढा कार्यकर्ता जस्ता । तिनको संगठन घट्नै, खिइँदै र चोइटिँदै जान्छ ।

जनसेना जति सबै समायोजनका पक्षमा, चाबी बुझाउने पक्षमा भनेर फुकेपनि शिविरमा दुबै पक्षका जनसेना छन् । धेरै एकातिर लागेपनि केहि अर्कोतिर लाग्छन् । तिनले जनयुद्द गर्ने भन्दै हिँडेभने शान्ति कायम हुन्न । तिनको भड्काउले अब बाबुराम र प्रचण्डको सरकारलाईपनि सजिलै गरिखान दिँदैन । त्यसो हुँदा जनयुद्द गर्ने त हिँड्यो, फेरि अहिंसा मच्चियो भने बाबुराम र प्रचण्डकै सरकारले दमन नगरि हुन्न । तर त्यो सहज नहोला किनभने फुटेर जानेले जनयुद्दकै मागहरुलाई लिएर हिँड्ने हुन् । हिजो जुन मागका लागि दशौं वर्ष जनयुद्द गर्‍यो, हजारौंको म्रित्युको कारक बन्यो आज तिनै माग लिनेबिरुद्द दमन गर्दा नांगिने दमनकारी हुन्छ । जनयुद्दले उठाएका मागको संवोधन गर्ने सामर्थ्यपनि ति सित हुन्न ।

लुकिलुकि आक्रमण गर्नेलाई सजिलो हुन्छ भने सरकार चलाउनेलाई उतिनै कठिन । यता जनयुद्द गर्ने भन्दै एक पक्ष हिँड्यो भने एमाले, कांग्रेस र अन्य दलको पेलान् संस्थापन पक्षलाई उत्तिकै हुन्छ । किनभने ति अहिलेझै बलिया र प्रमुख दलका रुपमा रहन्नन् । दशक लामो जनयुद्दबाट बल्ल पार पाउँदै छन् । जनता थाकेका छन् । युद्द लडेकैहरुमा पनि फेरी युद्द लड्ने हिम्मत देखिन्न । यतिका वर्ष युद्द लडे तर जनयुद्दले स्थापित गरेका मान्यता र मागहरु संवोधन हुनु त कहाँ कहाँ बेपत्ताहरुको खोजि होला, शहिदहरुको सम्मान होला भन्ने सम्म छैन । बरु जनतामाथि गोलीका पर्रा हान्ने अपराधी दुर्जकुमार राइ जस्तालाई प्रधानमन्त्री बाबुराम भट्टराईले पदोन्नती गरेर जनआन्दोलनकै खिल्ली उडाउँदै छन् । हाम्रो सरकार बनेपछि घर जग्ग दिम्ला, कोहि भोको र नांगो अनि आकाशमुनी हुनु पर्दैन भनेका बाचाहरु हराएर आफैंले बाँडेका जग्गाजमिन फिर्ता गर्दैछन् । तर तिनलाई कुनै बिकल्प दिने योजना छैन । जनयुद्द हुन्जेल शुरुङ युद्द गर्न उक्साउनेहरु लत्रिएर अब भारतका सामु कुनै राष्ट्रिय मुद्दासम्म उठाउन नसक्ने अवस्थामा पुगे । अब तत्कालै अर्को जनयुद्द गर्छु भन्दा जनताले पत्याइहाल्ने कसरि ?

माओवादी फुट्यो भने उनीहरु मात्रै फुट्ने होइन कि सारा देश बिभाजित हुन्छ । अहिले जसरि माओवादी नेताले एक आपसमा आरोप प्रत्यारोप लगाएका छन् त्यसको दशौं गुणा बढ्छ । जनयुद्दका बेला कसले कति पैसा कहाँबाट ल्यायो, कहाँ लग्यो ? कहाँ कोसित पैसो ल्याएर कसलाई पोस्यो । ककसले ककस्ता कारवाही भोगेका थिए । भारतीय गुप्तचर संस्था रअ लाई भेट्नेको नाम आएझैं सायद सि आइ ए र अन्य गुप्तचरसितको भेट, सामान्तहरुसितको हिमचिम, कुन कुन ब्यक्ति को कसले मारे र कसरि त्यो फत्ते गरियो । जनयुद्दकाल भरिका सारा कमीकमजोरीहरु पोलापोल गर्न थाल्छन् । त्यसले दुबै पक्षलाई जनताका अगाडि नांगो पार्ने बाहेक अरु काम गर्दैन ।

एक अर्काका सेल्टर, चलाखि, कामको तौर तरिका सबै जाने बुझेका माओवादीका कार्यकर्तानै गाउँ गाउँमा कुटाकुट गर्न थाल्छन् । साम्राज्यवादी, बिस्तारवादी र सामान्तवादीको दलाल भन्दै एक अर्काले गाउँ गाउँमा आक्रमण गर्ने, लखेट्ने, कुटपिट गर्ने र गाउँबाट खेदाउने काम शुरु हुन्छ । हतियार बनाउन र चलाउन जानेका दुई शक्तिबिच द्वन्द हुनासाथ तिनको गाउँ गाउँमै हानाहान शुरु हुन्छ । पूर्व जनसेना संभवत फेरी जनयुद्द गर्ने भन्दै एकगठ हुन सक्छन् । यसरि माओवादी आफू आफूमै लडेर सकिन्छ ।

सायद यहि बुझेर होला, न त संस्थापन पक्षले अँचेटेर वा कारवाही गरेर लखेट्ने हिम्मत गरेको छ अल्पमत भनिने बैध्य पक्षलाई । न त अहिलेको संझौता धोका हो भन्दा भन्दैपनि उनीहरु छोडेर हिँड्ने सकेका छन् । तैपनि पार्टीमा तिनको द्वन्द यति चर्किसकेको छ कि ति सहज तरिकाले कसरि बस्लान् ? कुनैपनि विषयमा कसरि साझा सहमती होला र जस्तो लाग्छ । फुट्न र जुट्न दुबै नसक्ने अवस्थामा ति एकै ठाउँमा छन् ।

तपाइँको प्रतिक्रिया