माग्न जानेलाई कसले दिन्छ त समान हैशियत ?
सामुहिक हित र सामनताको आधारमा नाता भनेर पो के गर्नु ? जतिसुकै क्रान्तिकारी नारा, स्पष्ठ बक्ता र डा साप भएर पो के ? भारतले भुषडी ठान्ने रहेछ । उताका प्रधानमन्त्री होइन राज्यमन्त्री आउँदापनि हाम्रा कम्तिमा उपप्रधानमन्त्री बुर्कुसी मार्दै बिमानस्थल पुग्छन् । त्यति नभएपनि परराष्ट्र मन्त्री त निहुँरिँदै पुगिहाल्छन् । यस अगाडि भएको त्यहि हो ।
तर हेर्नुस् त, प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कत्रो महत्व दिएको भनेको भारतले उहि भुषडी नै ठान्यो । सरकार प्रमुख जस्तो ब्यक्ति, उसैले बोलाएर औपचारिक भ्रमणमा जाँदापनि भारतले आफ्नो राज्यमन्त्री जतिपनि महत्व दिएन । बिमानस्थलमा भट्टराईलाई लिन त उहि भारतीय विदेश मन्त्रालयका सहसचिव अखिलेश्वर मिश्र र प्रमुख शिष्टाचार महापाल रुचिरा काम्बोज पो आए । हाम्रा प्रधानमन्त्रीको हैसियत त भारतीय सहसचिव को जति ।
पहिलो त बेलायती औपनिवेशिक मानसिकता र पाठमा हुर्के बढेका भारतीय शासक वर्गको मानसिकता अहिलेपनि उस्तै छ । उनीहरु ठूल्दाइ र दक्षिण एशियाका अरु सबै मुलुक भाइ । तिनलाई छिमेकीलाई दबाएर, चेपेर, हेपेरै राख्नुपर्छ भन्ने मानसिकता छ । तर त्यसको दोष भारतलाई मात्रै दिनु उचित छैन । किनभने हाम्रै नेता, हाम्रै शासक वर्गको दमित मानसिकताको उपज पनि हो त्यो । भारतको कुनै भुसुने पार्टीको सदस्य आयो नेपाल भनेपनि हाम्रा सके त प्रधानमन्त्री नत्र मन्त्रीहरु हारालुछ गर्दै स्वागतमा जान्छन् । आफू भन्दा अगाडि कोहि पुगिहाल्यो भने अर्कोले चाकरि गरेर आफ्नो बनाउला, आफू चिल्लै परिएला झैं । अनि अन्य पार्टीका नेताको कुरा काट्न थाल्छन् । नेपाललाई कसरि निचोर्न सक्छ भारतले भनेर सिकाउँछन् । नेपालका गोप्यताहरुको बेलिबिस्तार सुनाउँछन् । अनि भारतीय नेताले किन त्यस्तो नगरुन् । गुणपनि हाम्रो नेताको भारतीय सचिवको जत्ति हुन्न, भारतीय सचिवले जत्ति पनि आफ्ना देशकालागि अडान लिँदैनन् अनि स्तर सुहाउँदो ब्यवहार गर्ने नै भयो ।
अर्को महत्वपूर्ण कारण के हो भने हामी सधैं नगद माग्ने तर सम्पदा दिने गर्छौं । भारतसित हत्त र पत्त रकमको प्रस्ताब गरिहाल्ने । अहिले भट्टराईपनि उहि आर्थिक प्याकेज भन्दै टोपी थाप्न गएका छन् । नाथे मगन्तेलाई कसले तामझाम गरेर स्वागत गर्छ ? देशको सम्पत्ती पनि दिनु भिखारीलाई अनि उसलाई दुख गरि गरि स्वागतपनि गर्नु ? टोकरी बोकेर पैसो थाप्न आउने मगौटेलाई के को स्वागत भन्छ अनि भारतले हेप्छ । सम्पदा भनेको नगद होइन । त्यो कलान्तरमा हुने फाइदा न हो । औषधी बनाउने झारपात जस्तो । बुझ्नेले झारपातको महत्व बुझ्छ । तर अबुझले औषधी मात्रै देख्छ । लाखौं आउने झारपात सित्तिमा दिन्छ र एक हजार रुपियाँ पाएपनि त्यसैमा मख्ख पर्छ । भारतले हेर्ने यसरिपनि न हो ।
फेरी यसैपनि नेपालका अधिकांश नेतालाई भारतले पालिरहेकै छ । धेरैका छोरा छोरी उतै सित्तिमा पढिरहेकै छन् । उतैको रेखदेख, औषधीमुलो, घरजग्गामा बाँचेका छन् । उतैको गाडी, उतैको सुबिधा । नाथे छोरा छोरी पढाइदिएकै भरमा गुलाम बनाउन सफल भारतीय नेताले समान आदर कसरि गरुन् ? नत्र उताका मन्त्री आउँदा मन्त्री जाने । भारतले सचिव पठाए नेपालले पनि सचिव नै पठाए के हुन्छ ? एक पटक नेपाललेपनि सचिव नै पठाइदिए पो भारतलाईपनि पाठ हुन्छ । तर हाम्रा नेताको त के ह्याउ ? तिनको पैतालामुनि १२ रेक्टरको भूकम्प जान्छ भारतीय नेता आउने भनेपछि । अनि ति सारा छोडेर ओईरो लाग्छन् एयरपोर्टमा । यस्तै चाकरी, चाप्लुसी, हेपिएको मानसिकता र मगन्ते पाराले गर्दा न हो भारतले यसरि हेप्ने । त्यसको ख्यालपनि सायद हुन्न हाम्रा नेतालाई । ति सचिव नै आएपनि सहि सायद दंग पर्दा हुन् स्वागत न हो जसले गरेपनि दाईले स्वागत गर्न पठायो भन्दै ।




